Bible Explorer एप लिनुहोस्

बाइबल › उत्पत्ति › 7

ULB · अध्याय 7 / 50

उत्पत्ति 7

1परमप्रभुले नोआलाई भन्‍नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र आओ। किनकि मेरो सामु यो पुस्तामा मैले तँलाई धर्मी देखेको छु।

2हरेक जातका शुद्ध पशुबाट तैँले आफूसित सात भाले र सात पोथी ल्याउनू। अशुद्ध पशुहरूबाट चाहिँ तैँले दुईवटा अर्थात् भाले र पोथी ल्याउनू।

3अनि आकाशका पक्षीहरूबाट तिनीहरूको जातिलाई पृथ्वीको सतहमा जीवित राख्‍न सात जोडी भाले र पोथी ल्याउनू।

4किनकि अबको सात दिनमा म चालिस दिन र चालिस रात पृथ्‍वीमा पानी बर्साउनेछु। मैले बनाएको हरेक जीवित प्राणीलाई म पृथ्वीको सतहबाट नष्‍ट गर्नेछु।”

5परमप्रभुले आज्ञा गर्नुभएझैँ नोआले सबै गरे।

6पृथ्वीमा जलप्रलय हुँदा नोआ छ सय वर्षका थिए।

7जलप्रलयको पानीको कारणले नोआ, तिनका छोराहरू, तिनकी पत्‍नी र तिनका बुहारीहरू सँगसँगै जहाजभित्र प्रवेश गरे।

8शुद्ध र अशुद्ध पशुहरू, पक्षीहरू र भुइँमा घस्रने हरेक प्राणी, परमेश्‍वरले नोआलाई आज्ञा गर्नुभएझैँ

9भाले र पोथी गरी जोडी-जोडी नोआकहाँ आए र जहाजभित्र प्रवेश गरे।

10सात दिनपछि पृथ्वीमा जलप्रलयको पानी पर्न लाग्यो।

11नोआको जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा विशाल अगाधका मूलहरू फुटे र आकाशका झ्यालहरू खुले।

12चालिस दिन र चालिस रातसम्म पृथ्वीमा पानी परिरह्‍यो।

13त्यही दिनमा नोआ, तिनका छोराहरू शेम, हाम र येपेत अनि तिनकी पत्‍नी र तिनका तिन जना बुहारी जहाजभित्र प्रवेश गरे।

14हरेक जङ्गली जनावरको जात-जातअनुसार, हरेक पाल्तु पशुको जात-जातअनुसार, भुइँमा घस्रने हरेक घस्रने जन्तुको जात-जातअनुसार र पखेटा भएको हरेक पक्षीको जात-जातअनुसार सँगसँगै तिनीहरू जहाजभित्र प्रवेश गरे।

15जीवनको सास हुने सबै प्राणीका जोडी-जोडी नोआकहाँ आएर जहाजभित्र प्रवेश गरे।

16भित्र प्रवेश गरेका प्राणीहरू सबैका भाले र पोथी थिए। परमेश्‍वरले आज्ञा दिनुभएझैँ तिनीहरू भित्र प्रवेश गरे।

17त्यसपछि परमप्रभुले ढोका बन्द गरिदिनुभयो। अनि पृथ्वीमा चालिस दिनसम्म जलप्रलय भयो र पानीले जहाजलाई जमिनबाट माथि उचाल्यो।

18पानीले सारा पृथ्वीलाई पूर्ण रूपमा ढाक्यो अनि जहाज पानीको सतहमाथि तैरियो।

19आकाशमुनिका सबै अग्‍ला-अग्‍ला पर्वतहरूलाई ढाक्‍ने गरी पृथ्वीमा पानी चौपट्टै भरियो।

20पानी पर्वतहरूको टुप्पोमा सात मिटर माथिसम्म आयो।

21पक्षीहरू, पालिने पशुहरू, जङ्गली जनावरहरू, जमिनमा ठुलो सङ्ख्यामा बसोबास गर्ने सबै प्राणी र सबै मानव-जाति जो पृथ्वीमा चलहल गर्थे, ती सबै मरे।

22जमिनमा बस्‍ने सबै जीवित प्राणी जसले आ-आफ्ना नाकबाट जीवनको सास फेर्थे, ती सबै मरे।

23यसरी, मानव-जातिदेखि ठुला जनावरहरू र घस्रने जन्तुसम्म पृथ्वीको सतहमा भएको हरेक प्राणीसाथै आकाशका चराचुरुङ्गीहरू मासिए। तिनीहरू सबै नै पृथ्वीबाट नष्‍ट गरिए। नोआ र तिनीसित जहाजमा हुनेहरू मात्र बाँचे।

24एक सय पचास दिनसम्म पृथ्वीमा पानी घटेन।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org