Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 अगस्ट › अगस्ट 18

अर्थोडक्स पात्रो · अगस्ट 5 (पुरानो शैली)

अर्थोडक्स दैनिक पाठहरू — 2027 अगस्ट 18

बुधबार · पेन्तिकोसपछिको 9औँ हप्ता · स्वर 7

पर्व र सन्तहरू

Forefeast of the Transfiguration of the Lord

मरियमको शयन-पर्वको उपवास

कडा उपवास (सुक्खा खाना: रोटी, तरकारी, फलफूल)

यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।

दिनका पाठहरू

पत्र

१ कोरिन्थी 13:4–14:5

4प्रेम सहनशील र दयालु हुन्छ। प्रेमले डाह वा घमण्ड गर्दैन। यो अहङ्कारी हुँदैन। 5वा प्रेम रुखो हुँदैन। यसले आफ्नै स्वार्थ खोज्दैन। यो सजिलै रिसाउँदैन न त यसले खराबीको हिसाब राख्छ। 6प्रेम अधार्मिकतामा खुसी हुँदैन। बरु, यो सत्यतामा रमाउँछ। 7प्रेमले सबै कुरा सहन्छ; सबै कुरामा विश्‍वास गर्छ; सबै कुरामा आत्मविश्‍वासी हुन्छ अनि सबै कुरामा स्थिर रहन्छ। 8प्रेमको कहिलै अन्त्य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्। भाषाहरू बन्द हुनेछन्। अनि ज्ञान बितेर जानेछ। 9किनकि हामी थोरै जान्दछौँ र थोरै अगमवाणी बोल्छौँ। 10तर जब सिद्ध आउँछ अनि अपूर्ण कुरा बितेर जानेछ। 11जब म बालक थिएँ बालकले जस्तै बोलेँ र बालकले जस्तै सोचेँ अनि बालकले जस्‍तै तर्कहरू गरेँ। जब वयस्क भएँ बालकका चालहरू छोडी दिएँ। 12किनकि अहिले हामी ऐनामा अप्रत्यक्ष देख्छौँ, तर त्यस बेला आमने-सामने देख्‍नेछौँ। अहिले म थोरै जान्दछु, तर त्यस बेला म पूर्ण रूपमा जान्‍नेछु, जसरी म पूर्ण रूपमा जानिएको छु। 13तर अब यी तिनवटा कुरा रहन्छन्: विश्‍वास, भविष्‍यको निश्‍चयता र प्रेम। तर यी सबैमा सर्वोत्तमचाहिँ प्रेम नै हो। 14:1प्रेममा लागिरहो र आत्मिक वरदानहरूका लागि जोसिलो होओ, विशेष गरी अगमवाणी बोल्ने चाहना गर। 2किनभने अन्य भाषामा बोल्नेले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग बोल्दछ। उसले गुप्‍त कुराहरूलाई आत्मामा बोल्दछ र उसको कुरा कसैले पनि बुझ्‍न सक्दैन। 3तर अगमवाणी गर्नेले मानिसहरूसँग बोलेर तिनीहरूलाई निर्माण गर्ने, उत्साह प्रदान गर्ने र सान्त्वना दिने काम गर्दछ। 4अन्य भाषामा बोल्नेले आफैँलाई निर्माण गर्छ तर अगमवाणी गर्नेले मण्डलीलाई निर्माण गर्दछ। 5तिमीहरू सबै जना अन्य भाषा बोल भन्‍ने म चाहना गर्दछु। तर त्योभन्दा पनि अझ बढी अगमवाणी गर भन्‍ने म चाहना गर्दछु। (मण्डली वृद्धि होस् भनेर कसैले त्यसको अर्थ नखोलेसम्म) अन्य भाषा बोल्नेभन्दा पनि अगमवाणी गर्ने महान् हुन्छ।

पत्र (बिहीबारको निम्ति)

१ कोरिन्थी 14:6–19

6तर भाइहरू हो, यदि म तिमीहरूकहाँ अन्य भाषामा बोल्दै आएँ भने मैले तिमीहरूलाई कसरी फाइदा पुर्‍याउँछु र? जबसम्म मैले प्रकाश वा ज्ञानमा वा अगमवाणी वा शिक्षाको लागि मा तिमीहरूसँग बोल्दिनँ तबसम्म फाइदा पुर्‍याउँदिनँ। 7यदि मुरली वा वीणाजस्ता निर्जीव साधनहरूले फरक खालका आवाजहरू निकाल्दैनन् भने कसैले कसरी कुनचाहिँ साधन बजाइएको हो भनेर जान्‍न सक्छ? 8यदि तुरहीलाई नचिनिने आवाजमा बजाउने हो भने कसरी कसैले लडाइँको लागि तयार हुने समय हो भनेर जान्‍ने? 9तिमीहरूका लागि पनि त्यस्तै हो। यदि तिमीहरूले नबुझिने तरिकाले बोल्यौ भने तिमीहरूले बोलेका कुरा कसरी बुझ्ने? तिमीहरू बोलिरहन्छौ र कसैले पनि तिमीहरूको कुरा बुझ्‍नेछैन। 10संसारमा धेरै भाषाहरू छन् भन्‍ने कुरामा कुनै शङ्का छैन र कुनै पनि अर्थ बिनाका छैनन्। 11तर यदि मैले भाषाको अर्थ बुझिनँ भने म त्यस व्यक्‍तिको लागि र त्यो व्यक्‍ति मेरो लागि विदेशी हुनेछ। 12तिमीहरूका निम्ति पनि यस्तै हो। तिमीहरू आत्माको प्रकटीकरणको लागि उत्सुक भएझैँ मण्डलीलाई निर्माण गर्ने कार्यमा जोसिलो बन। 13यसरी नै अन्य भाषामा बोल्ने व्यक्‍तिले त्यसको अर्थ खोल्न सकोस् भनेर प्रार्थना गरोस्। 14किनकि यदि मैले अन्य भाषामा प्राथना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो दिमागचाहिँ निष्फल हुन्छ। 15मैले के गर्ने त? म मेरो आत्माले प्रार्थना गर्नेछु, तर म मेरो दिमागले पनि प्रार्थना गर्नेछु। म मेरो आत्माले गाउनेछु र म मेरो दिमागले पनि गाउनेछु। 16नत्रता यदि तिमीले आत्मामा धन्यवाद दिँदा यदि तिमीले भनेका कुरा बाहिरकाहरूले बुझेनन् भने कसरी तिनीहरूले आमेन भन्‍ने? 17किनकि तिमीले त निश्‍चय नै प्रशस्‍त मात्रामा धन्यवाद दिन्छौ, तर त्यसले अर्को व्यक्‍तिको वृद्धि गर्दैन। 18म परमेश्‍वरलाई धन्‍यवाद दिन्छु कि म तिनीहरू सबैभन्दा बढी नै अन्य भाषाहरूमा बोल्दछु। 19तर म मण्डलीमा अन्य भाषामा दस हजारवटा शब्द बोल्नुको साटो आफ्नै समझमा पाँचवटा शब्द बोल्न चाहन्छु।

सुसमाचार

मत्ती 20:1–16

1किनकि परमेश्‍वरको राज्य एक जना जमिन मालिकजस्तै हो, जो दाखबारीको लागि खेतालाहरूलाई ज्यालादारीमा लगाउन एका बिहानै बाहिर गए। 2ती कामदारहरूसँग दिनको एक दिनारमा काम गराउन उनी सहमत भएपछि उनले तिनीहरूलाई दाखबारीमा पठाए। 3उनी नौ बजे बाहिर गए र बजारमा अरू कामदारहरूलाई केही काम नगरी उभिरहेको देखे। 4उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ, त्यो म तिमीहरूलाई दिनेछु।’ यसैकारण तिनीहरू काम गर्न गए। 5फेरि उनी बार्‍ह बजे र तिन बजे बाहिर गए र त्यसै गरे। 6एक पटक फेरि उनी पाँच बजे बाहिर गए र अरूहरूलाई केही काम नगरी उभिरहेको भेट्टाए। उनले तिनीहरूलाई भने, ‘तिमीहरू दिनभरि नै यहाँ किन व्यर्थमा केही काम नगरी बसिरहेका छौ?’ 7तिनीहरूले उनलाई भने, ‘किनकि कसैले पनि हामीलाई काममा लगाएको छैन।’ उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ।’ 8जब साँझ पर्‍यो, ती दाखबारीका मालिकले उनका व्यवस्थापकलाई भने, ‘ती कामदारहरूलाई बोलाऊ र अन्तिममा आएकोबाट सुरु गर्दै तिनीहरूलाई तिनीहरूका ज्याला तिरिदेऊ।’ 9जब पाँच बजे काममा लगाइएका कामदारहरू आए, तिनीहरू सबैले एक दिनार पाए। 10जब सुरुका कामदारहरू आए, तिनीहरूले धेरै पाउनेछन् भनी तिनीहरूले विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनार नै प्राप्‍त गरे। 11जब तिनीहरूले आफ्ना ज्यालाहरू प्राप्‍त गरे, तिनीहरूले त्यस जमिन मालिकको विरुद्धमा गनगन गरे। 12तिनीहरूले भने, ‘यी अन्तमा आएका कामदारहरूले एक घण्टा मात्र काममा बिताएका थिए, तर तपाईंले उनीहरूलाई हामी समान बनाउनुभएको छ, हामीहरू जसले सारा दिनको बोझ र पोल्ने घामलाई सह्‍यौँ।’ 13तर ती मालिकले जवाफ दिए र तिनीहरूमध्ये एक जनालाई भने, ‘मित्र, मैले तिमीलाई कुनै खराबी गरेको छैनँ। के तिमी मसँग एक दिनारमा मञ्जुर भएका थिएनौ र? 14जे तिम्रो हो त्यो लेऊ र आफ्नो बाटो लाग। मैले तिमीलाई दिए जत्तिकै म यी अन्त्यमा काममा लगाइएका कामदारहरूलाई पनि दिने इच्छा गर्दछु। 15के मैले मेरो आफ्नो सम्‍पत्तिलाई मैले चाहना गरेजस्तो गर्नु न्यायसङ्गत होइन र? वा म असल भएको कारणले तिम्रा आँखा दुष्‍ट भएको हो?’ 16यसैले पछिल्लो पहिलो हुनेछ, र पहिलोचाहिँ पछिल्लो हुनेछ। बोलाइएका धेरै छन्, तर चुनिएका थोरै मात्र छन्।”

सुसमाचार (बिहीबारको निम्ति)

मत्ती 20:17–28

17जसै येशू यरूशलेमतिर जाँदै हुनुहुन्थ्यो, उहाँले ती बार्‍है जना चेलालाई अलग्गै राख्‍नुभयो, र बाटोमा जाँदै गर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो, 18“हेर, हामीहरू यरूशलेमतर्फ जाँदै छौँ, र मानिसका पुत्र मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातमा सुम्पिनेछन्। तिनीहरूले उनलाई मृत्युदण्डको दोष लगाउनेछन्, 19र उहाँको ठट्टा गर्न, उहाँलाई कोर्रा लगाउन, र क्रुसमा झुण्ड्याउनको लागि तिनीहरूले उनलाई गैरयहूदीहरूका हातमा सुम्पनेछन्। तर उनी तेस्रो दिनमा उठाइनेछन्।” 20त्यसपछि जब्दियाका छोराहरूकी आमा आफ्ना दुई छोराका साथमा येशूकहाँ आइन्। तिनी उहाँको अगाडि घोप्‍टो परिन् र उहाँबाट केही कुरा पाउनलाई उहाँसँग बिन्ती गरिन्। 21येशूले तिनलाई भन्‍नुभयो, “तिमीले के कुराको चाहना गर्छौ?” तिनले उहाँलाई भनिन्, “तपाईंको राज्यमा यी मेरा दुई जना छोरामध्ये एउटा तपाईंको दायाँ हातपट्टि र अर्को बायाँ हातपट्टि बसून् भनेर आज्ञा गर्नुहोस्।” 22तर येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “तिमीहरूले के मागिरहेका छौ, सो तिमीहरूलाई थाहा छैन। के मैले पिउन गइरहेको कचौराबाट पिउन तिमीहरू सक्षम छौ र?” तिनीहरूले उहाँलाई भने, “हामीहरू सक्षम छौँ।” 23उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले मेरो कचौराबाट त पिउनेछौ। तर मेरो दाहिने हातपट्टि र मेरो देब्रे हातपट्टि बस्‍न दिने मैले होइन, तर यो तिनीहरूका निम्ति हो, जसका निम्ति मेरा पिताद्वारा तयार पारिएको छ।” 24जब अरू दस जना चेलाले यो कुरालाई सुने, तिनीहरू यी दुई जना दाजुभाइसँग अति नै रुष्‍ट भए। 25तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “तिमीहरू जान्दछौ, कि गैरयहूदीहरूका शासकहरूले तिनीहरूलाई अधीनमा राख्छन्, र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्दछन्। 26तर तिमीहरूका बिचमा यस्तो हुनुहुँदैन। बरु, जो तिमीहरूका बिचमा महान् हुने चाहना गर्दछ, ऊ तिमीहरूको सेवक हुनुपर्दछ। 27र जो तिमीहरूका बिचमा पहिलो हुने इच्छा गर्दछ, ऊ तिमीहरूको दास हुनुपर्दछ, 28जसरी मानिसका पुत्र सेवा पाउनलाई आएका होइनन्, तर सेवा दिनलाई आएका हुन्, र धेरैका मोल तिर्नको निम्ति आफ्नो जीवन दिनलाई आएका हुन्।”

मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको अगस्ट 5 नागरिक पात्रोमा अगस्ट 18 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार