Bible Explorer एप लिनुहोस्

बाइबल › १ कोरिन्थी › 13

ULB · अध्याय 13 / 16

१ कोरिन्थी 13

1मानौँ, म मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोल्छु, तर मसँग प्रेम छैन भने म हल्ला मच्‍चाउने घण्टा र झ्याइँ-झ्याइँ गर्ने झ्याली मात्र हुन्छु।

2मानौँ, मसँग अगमवाणी गर्ने वरदान छ र म लुकेका रहस्यहरू बुझ्‍न सक्छु र मसँग पहाडहरू हटाउन सक्‍ने सम्मको विश्‍वास छ, तर मसँग प्रेम छैन भने म केही पनि होइनँ।

3र मानौँ, मसँग भएका सबै थोकहरू गरिबहरूलाई खुवाउनको लागि दिन्छु अनि मेरो शरीरलाई जलाउन दिन्छु, तर मसँग प्रेम छैन भने मलाई केही पनि फाइदा हुँदैन।

4प्रेम सहनशील र दयालु हुन्छ। प्रेमले डाह वा घमण्ड गर्दैन। यो अहङ्कारी हुँदैन।

5वा प्रेम रुखो हुँदैन। यसले आफ्नै स्वार्थ खोज्दैन। यो सजिलै रिसाउँदैन न त यसले खराबीको हिसाब राख्छ।

6प्रेम अधार्मिकतामा खुसी हुँदैन। बरु, यो सत्यतामा रमाउँछ।

7प्रेमले सबै कुरा सहन्छ; सबै कुरामा विश्‍वास गर्छ; सबै कुरामा आत्मविश्‍वासी हुन्छ अनि सबै कुरामा स्थिर रहन्छ।

8प्रेमको कहिलै अन्त्य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्। भाषाहरू बन्द हुनेछन्। अनि ज्ञान बितेर जानेछ।

9किनकि हामी थोरै जान्दछौँ र थोरै अगमवाणी बोल्छौँ।

10तर जब सिद्ध आउँछ अनि अपूर्ण कुरा बितेर जानेछ।

11जब म बालक थिएँ बालकले जस्तै बोलेँ र बालकले जस्तै सोचेँ अनि बालकले जस्‍तै तर्कहरू गरेँ। जब वयस्क भएँ बालकका चालहरू छोडी दिएँ।

12किनकि अहिले हामी ऐनामा अप्रत्यक्ष देख्छौँ, तर त्यस बेला आमने-सामने देख्‍नेछौँ। अहिले म थोरै जान्दछु, तर त्यस बेला म पूर्ण रूपमा जान्‍नेछु, जसरी म पूर्ण रूपमा जानिएको छु।

13तर अब यी तिनवटा कुरा रहन्छन्: विश्‍वास, भविष्‍यको निश्‍चयता र प्रेम। तर यी सबैमा सर्वोत्तमचाहिँ प्रेम नै हो।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org