बाइबल › १ कोरिन्थी › 14
ULB · अध्याय 14 / 16
१ कोरिन्थी 14
1प्रेममा लागिरहो र आत्मिक वरदानहरूका लागि जोसिलो होओ, विशेष गरी अगमवाणी बोल्ने चाहना गर।
2किनभने अन्य भाषामा बोल्नेले मानिसहरूसँग होइन, तर परमेश्वरसँग बोल्दछ। उसले गुप्त कुराहरूलाई आत्मामा बोल्दछ र उसको कुरा कसैले पनि बुझ्न सक्दैन।
3तर अगमवाणी गर्नेले मानिसहरूसँग बोलेर तिनीहरूलाई निर्माण गर्ने, उत्साह प्रदान गर्ने र सान्त्वना दिने काम गर्दछ।
4अन्य भाषामा बोल्नेले आफैँलाई निर्माण गर्छ तर अगमवाणी गर्नेले मण्डलीलाई निर्माण गर्दछ।
5तिमीहरू सबै जना अन्य भाषा बोल भन्ने म चाहना गर्दछु। तर त्योभन्दा पनि अझ बढी अगमवाणी गर भन्ने म चाहना गर्दछु। (मण्डली वृद्धि होस् भनेर कसैले त्यसको अर्थ नखोलेसम्म) अन्य भाषा बोल्नेभन्दा पनि अगमवाणी गर्ने महान् हुन्छ।
6तर भाइहरू हो, यदि म तिमीहरूकहाँ अन्य भाषामा बोल्दै आएँ भने मैले तिमीहरूलाई कसरी फाइदा पुर्याउँछु र? जबसम्म मैले प्रकाश वा ज्ञानमा वा अगमवाणी वा शिक्षाको लागि मा तिमीहरूसँग बोल्दिनँ तबसम्म फाइदा पुर्याउँदिनँ।
7यदि मुरली वा वीणाजस्ता निर्जीव साधनहरूले फरक खालका आवाजहरू निकाल्दैनन् भने कसैले कसरी कुनचाहिँ साधन बजाइएको हो भनेर जान्न सक्छ?
8यदि तुरहीलाई नचिनिने आवाजमा बजाउने हो भने कसरी कसैले लडाइँको लागि तयार हुने समय हो भनेर जान्ने?
9तिमीहरूका लागि पनि त्यस्तै हो। यदि तिमीहरूले नबुझिने तरिकाले बोल्यौ भने तिमीहरूले बोलेका कुरा कसरी बुझ्ने? तिमीहरू बोलिरहन्छौ र कसैले पनि तिमीहरूको कुरा बुझ्नेछैन।
10संसारमा धेरै भाषाहरू छन् भन्ने कुरामा कुनै शङ्का छैन र कुनै पनि अर्थ बिनाका छैनन्।
11तर यदि मैले भाषाको अर्थ बुझिनँ भने म त्यस व्यक्तिको लागि र त्यो व्यक्ति मेरो लागि विदेशी हुनेछ।
12तिमीहरूका निम्ति पनि यस्तै हो। तिमीहरू आत्माको प्रकटीकरणको लागि उत्सुक भएझैँ मण्डलीलाई निर्माण गर्ने कार्यमा जोसिलो बन।
13यसरी नै अन्य भाषामा बोल्ने व्यक्तिले त्यसको अर्थ खोल्न सकोस् भनेर प्रार्थना गरोस्।
14किनकि यदि मैले अन्य भाषामा प्राथना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो दिमागचाहिँ निष्फल हुन्छ।
15मैले के गर्ने त? म मेरो आत्माले प्रार्थना गर्नेछु, तर म मेरो दिमागले पनि प्रार्थना गर्नेछु। म मेरो आत्माले गाउनेछु र म मेरो दिमागले पनि गाउनेछु।
16नत्रता यदि तिमीले आत्मामा धन्यवाद दिँदा यदि तिमीले भनेका कुरा बाहिरकाहरूले बुझेनन् भने कसरी तिनीहरूले आमेन भन्ने?
17किनकि तिमीले त निश्चय नै प्रशस्त मात्रामा धन्यवाद दिन्छौ, तर त्यसले अर्को व्यक्तिको वृद्धि गर्दैन।
18म परमेश्वरलाई धन्यवाद दिन्छु कि म तिनीहरू सबैभन्दा बढी नै अन्य भाषाहरूमा बोल्दछु।
19तर म मण्डलीमा अन्य भाषामा दस हजारवटा शब्द बोल्नुको साटो आफ्नै समझमा पाँचवटा शब्द बोल्न चाहन्छु।
20भाइहरू हो, आफ्नो सोचाइमा बालक नबन। खराबीको निम्ति बालक बन। तर आफ्नो सोचाइमा परिपक्व बन।
21व्यवस्थामा यस्तो लेखिएको छ “अनौठो भाषामा बोल्ने मानिसहरूद्वारा र विदेशीहरूका ओठद्वारा म यी मानिसहरूसँग बोल्नेछु, तर पनि तिनीहरूले मलाई सुन्नेछैनन्” परमप्रभु भन्नुहुन्छ।
22त्यसकारण, अन्य भाषा विश्वास नगर्नेहरूको लागि चिह्न हो, विश्वासीहरूको लागि होइन। तर अगमवाणीचाहिँ विश्वासीहरूका लागि चिह्न हो, विश्वास नगर्नेहरूका लागि होइन।
23त्यसकारण, यदि सम्पूर्ण मण्डली भेला हुँदा सबै जनाले अन्य भाषा बोल्दा बाहिरकाहरू तथा विश्वास नगर्नेहरू त्यहाँ आउँदा तिनीहरूले तिमीहरू पागल हौ भनेर भन्दैनन् र?
24तर तिनीहरू सबै जनाले नै अगमवाणी गर्छौ र कोही अविश्वासी वा बाहिरको व्यक्ति भित्र आयो भने उसले सुनेको कुराले उसलाई पापको बोध हुनेछ। भनिएका सबै कुराहरूद्वारा ऊ जाँचिनेछ।
25उसको हृदयका गोप्य कुराहरू प्रकट हुन्छन्। परिणामस्वरूप, उसले परमेश्वरको सामु घोप्टो परी आराधना गर्नेछ। उसले परमेश्वर साँच्चै तिनीहरूका बिचमा हुनुहुन्छ भनेर घोषणा गर्नेछ।
26भाइहरू हो, अब के त? जब तिमीहरू भेला हुन्छौ, तब कसैसँग भजन, शिक्षा, प्रकाश, अन्य भाषा वा अर्थ खोल्ने काम हुन्छ। सबै कुरा मण्डलीको वृद्धिको लागि गर।
27यदि कसैले अन्य भाषामा बोल्छ भने दुई वा तिनले पालैपालो बोलून्। र कसैले बोलिएको कुराको अर्थ खोलोस्।
28तर यदि त्यहाँ अर्थ खोल्ने कोही पनि छैन भने मण्डलीमा रहेको हरेक व्यक्ति चुप बसोस्। ऊ आफैँ र परमेश्वरसँग एकलै बोलोस्।
29दुई वा तिन जना अगमवक्ता बोलून् र अरूले त्यो भनिएको कुरालाई ध्यानसँग त्यसको जाँच गर्दै सुनून्।
30तर यदि त्यो सेवामा बसिरहेको कसैलाई अन्तर्दृष्टि प्राप्त भयो भने बोलिरहेको व्यक्ति चुप लागोस्।
31किनकि तिमीहरू एक-एक गरेर हरेक व्यक्तिले अगमवाणी गर्न सक्छौ ताकि हरेकले सिक्न सकोस् र सबै जना नै उत्साहित बनून्।
32अगमवक्ताका आत्माहरू अगमवक्ताकै नियन्त्रणमा हुन्छन्।
33किनकि परमेश्वर अन्योलका होइन तर शान्तिका परमेश्वर हुनुहुन्छ। विश्वासीहरूका अन्य मण्डलीहरूमा भएजस्तै
34स्त्रीहरू मण्डलीहरूमा चुपचाप रहून्। किनकि तिनीहरूलाई बोल्नका लागि अनुमति दिइएको छैन। बरु, तिनीहरू व्यवस्थाले भनेअनुसार समर्पित हुनुपर्छ।
35यदि तिनीहरूले केही सिक्ने चाहना गर्छन् भने तिनीहरूले आफ्ना घरमा तिनीहरूका पतिहरूलाई सोधून्। किनकि स्त्रीहरू मण्डलीमा बोल्नु शर्मको कुरो हो।
36के परमेश्वरको वचन तिमीहरूबाट आएको थियो? के यो तिमीहरूकहाँ मात्र आएको थियो?
37यदि कसैले आफैँलाई अगमवक्ता वा आत्मिक सम्झन्छ भने मैले तिमीलाई लेखेका कुराहरू परमप्रभुका आज्ञाहरू हुन् भनी उसले स्वीकार गर्नुपर्छ।
38तर यदि कसैले यसलाई स्वीकार गर्दैन भने उसलाई पनि स्वीकार नगरियोस्।
39यसैले भाइहरू हो, अगमवाणी गर्ने दृढ चाहना गर र कसैलाई पनि अन्य भाषा बोल्नदेखि नरोक।
40तर सबै कामहरू उचित तरिकाले र व्यवस्थित रूपमा गर।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org