गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 मे › मे 1
अर्थोडक्स पात्रो · अप्रिल 18 (पुरानो शैली)
अर्थोडक्स दैनिक पाठहरू — 2027 मे 1
शनिबार · पवित्र हप्ता
पर्व र सन्तहरू
महान् र पवित्र शनिबार
महान् उपवास
कडा उपवास (सुक्खा खाना: रोटी, तरकारी, फलफूल)
यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।
दिनका पाठहरू
बिहानको प्रार्थना (अगमवाणी)
1परमप्रभुको हात ममाथि थियो, र उहाँले मलाई परमप्रभुको आत्माले बाहिर ल्याउनुभयो र एउटा बेसीको बिचमा मलाई राख्नुभयो। त्यो हाडहरूले भरिएको थियो। 2त्यसपछि उहाँले मलाई ती वरिपरि घुमाउनुभयो। हेर, त्यहाँ बेसीमा तिनीहरूका सङ्ख्या धेरै थिए। हरे, ती धेरै सुक्खा थिए। 3उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, के यी हाडहरू फेरि जीवित हुन सक्छन्?” यसैले मैले जवाफ दिएँ, “हे परमप्रभु परमेश्वर, यो त तपाईंले मात्र जान्नुहुन्छ।” 4तब उहाँले मलाई भन्नुभयो, “यी हाडहरूमाथि अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘ए सुक्खा हाडहरू, परमप्रभुको वचन सुन। 5परमप्रभु परमेश्वर यी हाडहरूलाई यसो भन्नुहुन्छ: हेर, मैले तिमीहरूभित्र सास हाल्न लागेको छु, र तिमीहरू जीवित हुनेछौ। 6म तिमीहरूमा नसाहरू राखिदिनेछु र तिमीहरूमा मासु भरिदिनेछु। म तिमीहरूलाई छालाले ढाक्नेछु र तिमीहरूमा सास हाल्नेछु, यसरी तिमीहरू जीवित हुनेछौ। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ।’” 7यसैले जस्तो मलाई आज्ञा गरियो तेस्तै मैले अगमवाणी गरें। जसै मैले अगमवाणी गरें, हेर, थर्केको आवाज आयो। अनि हाडहरू नजीक आए—हाड-हाडसँग टाँसियो। 8मैले हेरें र हेर, तिनीहरूमा नसा आएका थिए र मासु बढ्यो र छालाले तिनीहरूलाई ढाके। तर तिनीहरूमा अझै पनि सास थिएन। 9तब परमप्रभुले मलाई भन्नुभयो, “ए मानिसको छोरो, सासको निम्ति अगमवाणी गर, र सासलाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ए सास, चारैतिरबाट बतास आइज, र यी मारिएकाहरूमाथि फुकिदे, यसरी तिनीहरू जीवित हुनेछन्।’” 10यसैले मलाई आज्ञा भएझैं मैले अगमवाणी गरें। तिनीहरूमा सास आयो र तिनीहरू जीवित भए। त्यसपछि तिनीहरू आफ्ना खुट्टामा, एउटा ठुलो फौज खडा भए। 11तब परमप्रभुले मलाई भन्नुभयो, “ए मानिसको छोरो, यी हडाहरूचाहिं इस्राएलका सम्पूर्ण घराना हुन्। हेर, तिनीहरू यसो भन्दैछन्, ‘हाम्रा हाडहरू सुकेका छन्, र हाम्रा आशा हराएको छ। हामी बहिष्कृत भएका छौं।’ 12यसकारण अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हेर, ए मेरा मानिसहरू, म तिमीहरूका चिहान उघार्नेछु र त्यहाँबाट तिमीहरूलाई बाहिर निकाल्नेछु। तिमीहरूलाई म इस्राएल देशमा फर्काएर ल्याउनेछु। 13ए मेरा मानिसहरू, जब म तिमीहरूका चिहान उघार्नेछु र तिमीहरूलाई त्यहाँबाट बाहिर निकाल्नेछु, तब म नै परमप्रभु हुँ भनी तिमीहरू जान्नेछौ। 14तिमीहरूभित्र म आफ्नो आत्मा हालिदिनेछु, यसरी तिमीहरू जीवित हुनेछौ, र म नै परमप्रभु हुँ भनी जब तिमीहरूले जान्नेछौ, तब तिमीहरूलाई आफ्नै देशमा म विश्राम दिनेछु। म यो घोषणा गर्छु र यो गर्नेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो।’”
बिहानको प्रार्थना: पत्र
१ कोरिन्थी 5:6–8 · गलाती 3:13–14
6तिमीहरूको घमण्ड ठिक होइन। के थोरै खमिरले पुरै रोटीलाई खमिरी बनाउँछ भन्ने तिमीहरू जान्दैनौ? 7पुराना खमिरबाट आफैलाई शुद्ध गर ताकि तिमीहरू नयाँ मुछेको पिठो बन्न सक; फलस्वरूप तिमीहरू अखमिरी रोटी बन्न सक। किनभने हाम्रा निस्तार-चाडको थुमा ख्रीष्टको बलिदान भइसकेको छ। 8त्यसैकारण, पुरानो खमिर अर्थात् दुष्टता तथा खराब आचरणसाथ होइन, बरु इमानदार तथा सत्यताको अखमिरी रोटीका साथ चाड मनाऔँ। 3:13हाम्रो निम्ति ख्रीष्ट श्रापित हुनुभएर उहाँले हामीलाई व्यवस्थाको श्रापबाट मुक्त गराउनुभयो। किनकि यसरी लेखिएको छ, “काठमा झुण्डिने हरेक श्रापित हुन्छ।” 14यसको उद्देश्य यही थियो, कि अब्राहाममा भएको आशिष् ख्रीष्ट येशूद्वारा गैरयहूदीहरूमाझ आउन सकोस्, ताकि हामीले विश्वासद्वारा पवित्र आत्माको प्रतिज्ञा प्राप्त गर्न सकौँ।
बिहानको प्रार्थना: सुसमाचार
62अर्को दिन जुन तयारीको दिनको भोलिपल्ट थियो, मुख्य पुजारीहरू र फरिसीहरू पिलातससँग भेला भएका थिए। 63तिनीहरूले भने, “हजुर, हामीलाई सम्झना छ, कि त्यो ठगाहा जिउँदो हुँदा त्यसले भनेको थियो, ‘तिन दिनपछि म फेरि उठ्नेछु।’ 64त्यसकारण, तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्नलाई हुकुम गर्नुहोस्। नत्रता त्यसका चेलाहरू आउलान् र उनलाई चोरेर लगेर मानिसहरूलाई भन्लान्, ‘उहाँ मृतकहरूबाट जीवित हुनुभएको छ।’ अनि यो अन्तिम धोका पहिलेको भन्दा झन् नराम्रो हुनेछ।” 65पिलातसले तिनीहरूलाई भने, “एक जना पहरेदार लेऊ। जाऊ र त्यसलाई तिमीहरूले सकेसम्म सुरक्षित राख।” 66त्यसैले, तिनीहरू गए र ढुङ्गामा मोहर लगाए र पहरेदारहरू खटाएर चिहानलाई सुरक्षित राखे।
साँझको प्रार्थना: पाठ (पहिलो पाठ)
1आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो। 2पृथ्वी निराकार र शून्य थियो। समुद्रको सतहमाथि अन्धकार थियो। परमेश्वरका आत्मा सारा समुद्रमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो। 3परमेश्वरले भन्नुभयो, “उज्यालो होस्,” र त्यहाँ उज्यालो भयो। 4परमेश्वरले उज्यालोलाई हेर्नुभयो, र त्यो असल थियो। उहाँले उज्यालोलाई अन्धकारबाट छुट्ट्याउनुभयो। 5परमेश्वरले उज्यालोलाई “दिन”, र अन्धकारलाई “रात” भन्नुभयो। साँझ पर्यो र बिहान भयो - पहिलो दिन। 6परमेश्वरले भन्नुभयो, “पानीको बिचमा एउटा क्षेत्र होस्, र त्यसले पानीलाई दुई भागमा विभाजन गरोस्।” 7परमेश्वरले त्यो क्षेत्र बनाएर त्यसमुनि र माथिको पानीलाई विभाजन गर्नुभयो। तब त्यस्तै भयो। 8परमेश्वरले त्यस क्षेत्रलाई “आकाश” भन्नुभयो। साँझ पर्यो र बिहान भयो - दोस्रो दिन। 9परमेश्वरले भन्नुभयो, “आकाशमुनिको जम्मै पानी एक ठाउँमा जम्मा होस्, र ओभानो जमिन देखा परोस्।” तब त्यस्तै भयो। 10परमेश्वरले ओभानो जमिनलाई “पृथ्वी” भन्नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्नुभयो। उहाँले हेर्नुभयो, र त्यो असल थियो। 11परमेश्वरले भन्नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको वनस्पति, बिउ हुने बोट-बिरुवाहरू र फलभित्रै बिउ हुने फल-फलाउने रुखहरू उमारोस्।” तब त्यस्तै भयो। 12पृथ्वीले वनस्पति, आ-आफ्नो प्रजातिअनुसारका बिउ हुने बोट-बिरुवाहरू र आफ्नै फलभित्र बिउ हुने फल-फलाउने रुखहरू उमार्यो। परमेश्वरले हेर्नुभयो, र त्यो असल थियो। 13साँझ पर्यो र बिहान भयो - तेस्रो दिन।
साँझको प्रार्थना: पाठ (दोस्रो पाठ)
1उठ्, प्रकाशमान् हो, किनकि तेरो प्रकाश आएको छ र परमप्रभुको महिमा तँमाथि उदाएको छ। 2पृथ्वीलाई अँध्यारोले र जातिहरूलाई बाक्लो अँध्यारोले ढाके तापनि, परमप्रभु तँमाथि उदाउनुहुनेछ र उहाँको महिमा तँमा देखिनेछ। 3जातिहरू तेरो प्रकाशमा आउनेछन् र राजाहरू उदाउँदै गरेको तेरो चहकिलो प्रकाशमा आउनेछन्। 4वरिपरि चारैतिर हेर् र देख्। तिनीहरू सबै आफै भेला हुन्छन् र तँकहाँ आउँछन्। तेरा छोराहरू टाढाबाट आउनेछन् र तिनीहरूका हातले तेरी छोरीहरूलाई बोकेर ल्याउनेछन्। 5तब तैंले हेर्नेछस्, प्रज्वलित हुनेछस्, तेरो हृदय आनन्दित हुनेछ र भरिएर पोखिनेछ, किनभने समुद्रको प्रशस्तता तँलाई खन्याइनेछ र जातिहरूका सम्पत्ति तँकहाँ आउनेछन्। 6ऊँटका बथानहरू, मिद्यान र एपाका सवार गर्ने ऊँटहरूले तँलाई ढाक्नेछन्। ती सबै शेबाबाट आउनेछन्। तिनीहरूले सुन र धूप ल्याउनेछन् र परमप्रभुको प्रशंसा गाउनेछन्। 7केदारका सबै भेडाबाख्रालाई तँकहाँ जम्मा पारिनेछन्। नबायोतका भेडाहरूले तेरो आवश्यक्ता पुरा गर्नेछन्। तिनीहरू मेरो वेदीमा स्वीकारयोग्य बलिदान हुनेछन्। अनि आफ्नो महिमित भवनलाई म महिमित बनाउनेछु। 8बादलझैं र ढुकुरहरू आफ्ना गुँडहरूमा गएझैं उड्ने यी को हुन्? 9समुद्र किनारहरूले मेरो खोजी गर्छन्। टाढाबाट परमप्रभु तिमीहरूका परमेश्वर र इस्राएलका परमपवित्रको निम्ति तिमीहरूका छोराहरूलाई आफूसँग भएका सुन र चाँदीसँगै ल्याउनलाई तर्शीशका जहाजहरूले नेतृत्व गर्छन्, किनभने उहाँले तँलाई इज्जत गर्नुभएको छ। 10विदेशीहरूका छोराहरूले तेरा पर्खालहरू पुनःनिर्माण गर्नेछन् र तिनीहरूका राजाहरूले तेरो सेवा गर्नेछन्। मेरो क्रोधमा मैले तँलाई दण्ड दिए तापनि मेरो कृपामा म तँलाई दया देखाउनेछु। 11तेरा ढोकाहरू पनि निरन्तर रूपमा खुला रहनेछ। ती दिन वा रात कहिल्यै बन्द गरिनेछैन, ताकि जातिहरूका सम्पत्ति तिनीहरूका राजाहरूलाई अगि राखेर ल्याउन सकियोस्। 12वास्तवमा, तेरो सेवा नगर्ने जातिहरू र राज्यहरू नाश हुनेछन्। ती जातिहरू पुर्ण रूपमा नष्ट पारिनेछ। 13लेबनानको महिमा तँकहा आउनेछ। सल्लो र धूपीका रूखहरू मेरो पवित्रस्थानलाई सुन्दर बनाउन आउनेछन्। अनि म मेरो पाउ राख्ने ठाउँलाई महिमित तुल्याउनेछु। 14तँलाई तुच्छ पार्नेहरूका छोराहरू तँलाई दण्डवत गर्न आउनेछन्। तिनीहरूले तेरा पाउ ढोग्नेछन्। तिनीहरूले तँलाई परमप्रभुको सहर अर्थात् इस्राएलको परमपवित्रको सियोन भन्नेछन्। 15तँबाट भएर कोही नहिंड्ने गरी त्यागिएको र घृणा गरिएको अवस्थामा रहनुको साटोमा, म तँलाई सदाको निम्ति गौरवको वस्तु, पुस्तादेखि पुस्तासम्मको निम्ति आनन्द बनाउनेछु। 16तैंले जातिहरूको दूध पनि पिउनेछस् र राजहरूका दूध कानेछस्। म, परमप्रभु नै तेरो उद्धारक र मुक्तिदाता, याकूबको शक्तिशाली हुँ भन्ने तैंले जान्नेछस्।
साँझको प्रार्थना: पाठ (तेस्रो पाठ)
1परमप्रभु मिश्र देशमा मोशा र हारूनसित बोल्नुभयो। उहाँले भन्नुभयो, 2“तिमीहरूका लागि यो महिनाहरूको सुरु हुनेछ। यो महिना तिमीहरूका लागि वर्षको पहिलो महिन हुनेछ। 3इस्राएलको समुदायलाई भन्, 'यो महिनाको दसौँ दिनमा हरेक परिवारले हरेक घरानाको लागि एउटा-एउटा पाठो ल्याउनुपर्छ। 4एउटा पाठोको लागि घराना ज्यादै सानो भएमा त्यो घराना र नजिकैको छिमेकी मिलेर एउटा थुमा वा पाठो ल्याउनुपर्छ जुन ती मानिसहरूको सङ्ख्याको लागि पर्याप्त हुनेछ। हरेकलाई खानको लागि यो पर्याप्त हुनेछ। 5त्यसैले सबैलाई खुवाउन तिनीहरूले पर्याप्त मासु तयार गर्नुपर्छ। तिमीहरूको थुमा वा पाठो खोटरहित हुनुपर्छ र यो एक वर्षको हुनुपर्छ। तिमीहरूले भेडा वा बाख्राहरूबाट त्यो लिनू। 6तिमीहरूले यसलाई त्यो महिनाको चौधौँ दिनसम्म राख्नुपर्छ। त्यसपछि इस्राएलको सारा समुदायले यी पशुहरूलाई साँझमा मार्नू। 7जुन-जुन घरमा त्यो मासु खाइन्छ, त्यहाँ तिमीहरूले केही रगत लिई घरको ढोकाको चौकोसका दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा लगाऊन्। 8त्यस रात तिमीहरूले आगोमा पोलेर त्यो मासु खानू। तितो सागसित खमिर नहालेको रोटीसितै तिमीहरूले त्यो खानू। 9काँचो वा पानीमा उमालेर नखाओ। बरु, यसको टाउको, यसका खुट्टा र भित्री भागहरूसमेत आगोमा पोलेर खाओ। 10बिहानसम्ममा कुनै पनि भाग नउबार्नू। बिहानसम्म केही उब्रियो भने त्यसलाई जलाइदिनू। 11पटुका कसेर, खुट्टामा जुत्ता लगाएर र हातमा लट्ठी बोकेर तिमीहरूले खानू। तिमीहरूले हतारसँग खानुपर्छ। यो परमप्रभुको निस्तार-चाड हो।
साँझको प्रार्थना: पाठ (चौथो पाठ)
1अब अमित्तैका छोरा योनाकहाँ परमप्रभुको वचन यसो भनेर आयो, 2“उठ् र त्यो ठुलो सहर निनवेमा जा, र त्यसको विरुद्धमा बोल्, किनभने मेरो सामु तिनीहरूको दुष्टता अति धेरै भएको छ।” 3तर परमप्रभुको उपस्थितिबाट भाग्न, र तर्शीशतिर जानलाई योना उठे। तिनी तल योप्पामा गए र तर्शीशतिर जाने एउटा पानी-जहाज फेला पारे। त्यसैले तिनले जहाजको भाडा तिरे र परमप्रभुको उपस्थितिबाट टाढा तर्शीशमा तिनीहरूसितै जानलाई त्यही जहाजमा चढे। 4तर परमप्रभुले समुद्रमा एउटा ठुलो बतास पठाउनुभयो र त्यो समुद्रमा एउटा शक्तिशाली आँधी बन्यो। जहाज चाँडै नै नष्ट हुन लाग्दैछ भन्ने थाहा भयो। 5तब नावीकहरू धेरै डराए र हरेक मानिसले आ-आफ्नै देवतालाई पुकार्यो। जहाजलाई हलुको बनाउनका निम्ति त्यसका मालसामान तिनीहरूले समुद्रमा फाले। तर योनाचाहिं जहाजको भित्री भागमा तल गएका थिए, र तिनी त्यहाँ मस्त निद्रामा सुतिरहेका थिए। 6यसैले जहाजका कप्तान तिनीकहाँ आए र तिनलाई भने, “तिमी यहाँ सुतेर के गरिरहेका छौ? उठ! आफ्नो देवतालाई पुकार! सायद तिम्रा देवताले हाम्रो वास्ता गर्नेछन् र हामी नष्ट हुनेछैनौं।” 7तिनीहरू सबैले एकआपसमा यसो भने, “आओ, हामी चिट्ठा हालौं, यसरी हामीमाथि आइपरेको यस खराबीको कारण को हो भन्ने कुरा हामीले जान्नेछौं।” यसैले तिनीहरूले चिट्ठा हाले, र त्यो चिट्ठा योनाको नाउँमा पर्यो। 8तब तिनीहरूले योनालाई भने, “कृपागरी, हामीमाथि आइपरेको यस खराबीको कारण को हो, हामीलाई बताऊ। तिमी के काम गर्छौ, र तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो, र तिमी कुन मानिसबाट हौ?” 9योनाले तिनीहरूलाई जवाफ दिए, “म एक जना हिब्रू हुँ। अनि परमप्रभु स्वर्गका परमेश्वरको भय म मान्छु जसले समुद्र र सुख्खा जमिन बनाउनुभएको छ।” 10त्यसपछि ती मानिसहरू झन् धेरै डराए र योनालाई भने, “तिमीले गरेको यो के हो?” तिनी परमप्रभुको उपस्थितिबाट टाढा भागिरहेका थिए भनी ती मानिसहरूले थाहा पाए, किनभने तिनले उनीहरूलाई त्यसै भनेको थिए। 11तब तिनीहरूले योनालाई भने, “तिमीलाई हामी के गरौं, जसले गर्दा समुद्र शान्त होस्?” किनकि समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो। 12योनाले तिनीहरूलाई भने, “मलाई उठाओ र समुद्रमा मलाई फालिदेओ। त्यसपछि तिमीहरूका निम्ति यो समुद्र शान्त हुनेछ, किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो ठुलो आँधी चल्दैछ भनी म जान्दछु।” 13तापनि, ती मानिसहरूले जहाजलाई जमिनमा लानलाई सकसपुर्वक खियाए, तर तिनीहरूले त्यसो गर्न सकेनन्, किनकि तिनीहरूको विरुद्ध समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो। 14यसकारण तिनीहरूले परमप्रभुलाई पुकारा गरे र यसो भने, “हे परमप्रभु, हामी तपाईंसँग बिन्ती गर्छौं, यस मानिसको प्राणको कारणले हामीलाई नष्ट हुन नदिनुहोस्, र यस मानिसको मृत्युको दोष हामीमाथि नहालिदिनुहोस्, किनभने तपाईं, परमप्रभुलाई जे गर्ने इच्छा भयो, त्यही तपाईंले गर्नुभयो।” 15यसैले तिनीहरूले योनालाई उठाए र तिनलाई समुद्रमा फालिदिए, र समुद्र उथल-पुथल हुन छाड्यो। 16त्यसपछि ती मानिसहरूले परमप्रभुको भय अत्यन्तै माने। तिनीहरूले परमप्रभुलाई बलिदानहरू चढाए र उहाँमा भाकलहरू गरे। 17यति बेला योनालाई निल्नको निम्ति परमप्रभुले एउटा ठुलो माछालाई तयार पार्नुभएको थियो, र तिन दिन र तिन रातसम्म योना माछाको पेटमा नै रहे। 2:1तब योनाले त्यस माछाको पेटबाट आफ्ना परमप्रभु परमेश्वरसँग प्रार्थना गरे। 2तिनले भने, “मेरो सङ्कष्टको बारेमा मैले परमप्रभुलाई पुकारें र उहाँले मलाई जवाज दिनुभयो। चिहानको गर्भबाट मैले सहायताको निम्ति पुकारें! तपाईंले मेरो सोर सुन्नुभयो। 3तपाईंले मलाई गहिरा ठाउँहरूमा, समुद्रको अन्तस्करणमा नै फाल्नुभएको थियो, अनि धारहरूले मलाई घेरे, र तपाईंका सबै छालहरू र लहरहरू ममाथि भए। 4मैले भनें, ‘तपाईंको नजरबाट म हटाइएको छु, अझै म फेरि तपाईंको पवित्र मन्दिरतिर आफ्ना आँखा लगाउनेछु।’ 5पानीले मेरा घाँटीसम्म नै भर्यो। र मेरो सबैतिर समुद्रको गहिराइ थियो, र मेरो टाउकोमा समुद्रका झारहरू बेहेरिए। 6पहाडका फेदहरूमा म तल गएँ, र पृथ्वीले आफ्ना घेराहरूले सदाको निम्ति मलाई थुनिदियो। तापनि हे परमप्रभु, मेरा परमेश्वर, तपाईंले मेरो जीवनलाई खाडलबाट माथि ल्याउनुभयो। 7जब मेरो प्राणले मभित्रै मुर्छा खायो, तब मैले परमप्रभुलाई याद गरें, अनि मेरो प्रार्थना तपाईंकहाँ, तपाईंको पवित्र मन्दिरमा आयो। 8तिनीहरूले प्रेमपुर्ण विश्वस्ततालाई प्रेम गर्न छोड्दा, तिनीहरूले बेकारका देवताहरूमाथि ध्यान लगाए। 9तर मेरो बारेमा, उच्च सोरले म तपाईंलाई धन्यवादको बलिदान चढाउँछु। मैले गरेको भाकल म पुरा गर्नेछु। मुक्ति परमप्रभुबाट नै आउँछ!” 10त्यसपछि परमप्रभुले माछालाई आज्ञा गर्नुभयो, र त्यसले योनालाई सुख्खा जमिनमा उकेलिदियो। 3:1परमप्रभुको वचन योनाकहाँ दोस्रो पटक यसो भनेर आयो, 2“उठ्, र त्यस ठुलो सहर निनवेमा जा र त्यसलाई दिनलाई मैले तँलाई आज्ञा गरेको सन्देश घोषणा गर्।” 3यसैले योना उठे र परमप्रभुको वचनमा आज्ञाकारी भएर निनवेमा गए। त्यस बेला निनवे अत्यन्तै ठुलो सहर थियो। त्यहाँ पुग्न तिन दिनको यात्रा गर्नुपर्थ्यो। 4योना सहरभित्र प्रवेश गर्न थाले र एक दिनको यात्रापछि उनले कराए र यसो भने, “अबको चालीस दिनमा निनवे नाश हुनेछ।” 5निनवेका मानिसहरूले परमेश्वरलाई विश्वास गरे र तिनीहरूले उपवासको घोषणा गरे। तिमध्ये ठुलादेखि लिएर सानासम्म सबैले भाङ्ग्रा लगाए। 6त्यो खबर चाँडै नै निनवेका राजाकहाँ पुग्यो। तिनी आफ्ना सिंहासनबाट उठे, आफ्नो वस्त्र उतारे, आफूलाई भाङ्ग्रा ढाके, र खरानीमा बसे। 7तिनले एउटा यस्तो घोषणाको सन्देश पठाए, “निनवेमा, राजा र भारदारहरूको अधिकारले, कुनै मानिस वा गाईबस्तु वा भेडाबाख्राले कुनै कुरा खानेछैनन्। तिनीहरूले खाना नखाऊन्, न पानी पिऊन्। 8तर मानिस र पशु दुबैले भाङ्ग्राले ढाकून्, र तिनीहरूले ठुलो सोरले परमेश्वारमा पुकारा गरून्। हरेक व्यक्ति आफ्ना दुष्ट मार्ग र आफ्ना हातले हिंसात्मक कामबाट फर्कून्। 9कसलाई जान्दछ? परमेश्वर नरम बन्न र आफ्नो मनलाई बद्लन र आफ्नो भयङ्कर क्रोधबाट फर्कन सक्नुहुन्छ, जसले गर्दा हामी नष्ट हुनेछैनौं।” 10तिनीहरूले जे गरे त्यो परमेश्वरले देख्नुभयो। यसरी तिनीहरू आफ्ना दुष्ट मार्गहरूबाट फर्के। यसैले परमेश्वरले तिनीहरूलाई दिन्छु भन्नुभएको दण्डको बारेमा उहाँले आफ्नो मन परिवर्तन गर्नुभयो, र उहाँले त्यसो गर्नुभएन। 4:1तर यो कुराले योनालाई अप्रसन्न बनायो र तिनी धेरै रिसाए। 2यसैले योनाले परमप्रभुसँग प्रार्थना गरे र यसो भने, “हे परमप्रभु, के म आफ्नो देशमा हुँदा मैले यही कुरा भनेको थिइनँ र? यसकारण म तर्शीशमा भागेर जाने प्रयत्न गरें, किनभने मलाई थाहा थियो, कि तपाईं अनुग्रही परमेश्वर हुनुहुन्छ, दयाले पूर्ण, रिसाउनमा ढिलो र प्रतिज्ञामा विश्वसनीय हुनुहुन्छ, र तपाईंले विपत्ति पठाउन रोक्नुहुन्छ। 3यसकारण, अब हे परमप्रभु, तपाईंसँग म बिन्ती गर्छु, मबाट मेरो प्राण लिनुहोस्, किनकि मेरो निम्ति जिउनुभन्दा मर्नु नै असल छ।” 4परमप्रभुले भन्नुभयो, “के तँ यति धेरै रिसाउनु ठिक हुन्छ र?” 5तब योना त्यस सहरबाट बाहिर गए र सहरको पुर्वपट्टि बसे। त्यहाँ उनले एउटा छाप्रो बनाए र त्यसको छायामा बसे जसले गर्दा त्यो सहरलाई के हुँदोरहेछ भनी तिनले हेर्न सक्थे। 6परमप्रभु परमेश्वरले एउटा बिरुवा उमार्नुभयो र त्यसलाई योनाको माथि बढाउनुभयो, जसले गर्दा तिनको कष्ट कम गर्न त्यसले तिनको शिरमा छाया प्रदान गरोस्। त्यो बिरुवाको कारणले योना असाध्ये खुशी भए। 7तर अर्को बिहानीको सुर्योदयमा परमप्रभुले एउटा कीरा खटाउनुभयो। त्यो बिरुवालाई त्यसले काटिदियो, र त्यो बिरुवा सुक्यो। 8अर्को बिहानी सुर्योदय हुँदा यसो भयो। परमप्रभुले तातो पुर्वी हावा पठाउनुभयो। अनि योनाको टाउकोमाथि टन्टलापुर घाम पर्यो र उनी मुर्छै पर्न लागे। तब योनाले आफू मर्न पाए हुन्थ्यो भनी इच्छा गरे। तिनले आफैलाई भने, “मेरो निम्ति त जिउनुभन्दा मर्नु नै बेस हुन्छ।” 9तब परमप्रभुले योनालाई भन्नुभयो, “के तँ यो बिरुवाको निम्ति धेरै रिसाउनु ठिक हुन्छ र?” तब योनाले भने, “म मरुन्जेलसम्म पनि रिसाउन ठिक हुन्छ।” 10परमप्रभुले भन्नुभयो, “तैंले मेहनत नै नगरेको, र तैंले नहुर्काएको बिरुवाको तँलाई यति धेरै माया लाग्यो। त्यो एक रातमै बढ्यो र एक रातमै मर्यो। 11यसैले मेरो बारेमा, क मैले त्यो ठुलो सहर निनवेलाई दया नदेखाउनू, जसमा एक लाख बिस हजारभन्दा धेरै मानिसहरू बस्छन्, जसलाई आफ्नो दाहिने र देब्रे हात बिचको भिन्नता थाहा छैन, र धेरै गाई-वस्तुहरू छन्?”
साँझको प्रार्थना: पाठ (पाँचौँ पाठ)
10इस्राएलका मानिसहरूले गिलगालमा छाउनी हाले। तिनीहरूले त्यही महिनाको चौधौँ दिनको साँझ यरीहोको मैदानमा निस्तार-चाड मनाए। 11निस्तार-चाडपछि त्यसै दिन तिनीहरूले त्यो भूमिको केही उब्जनीबाट अखमिरी रोटी र भुटेको अन्न खाए। 12तिनीहरूले त्यस भूमिको उब्जनीबाट खाएपछि त्यही दिन मन्न रोकियो। इस्राएलका मानिसहरूका निम्ति कुनै मन्न थिएन, तर तिनीहरूले त्यस वर्ष कनानको भूमिको उब्जनीबाट खाए। 13यहोशू यरीहोको नजिक हुँदा तिनले माथि हेरे र हेर, एउटा मानिस तिनको सामु उभिरहेका थिए। तिनको हातमा नाङ्गो तरवार थियो। यहोशू तिनीकहाँ गएर सोधे, “तपाईं हाम्रो वा हाम्रा शत्रुको पक्षमा हुनुहुन्छ?” 14तिनले भने, “कुनै पक्षको होइन। किनभने म परमप्रभुको फौजको सेनापति हुँ। अहिले म आएको छु।” अनि यहोशूले जमिनमा घोप्टो परेर आराधना गरे र तिनलाई भने, “मेरा मालिकले उहाँको दासलाई के भन्नुहुन्छ?” 15परमप्रभुको फौजका सेनापतिले यहोशूलाई भने, “तेरो खुट्टाको जुत्ता फुकाल्, किनभने तँ उभिरहेको ठाउँ पवित्र छ।” यहोशूले त्यसै गरे।
साँझको प्रार्थना: पाठ (छैटौँ पाठ)
20इस्राएलीहरू सुक्कोतबाट यात्रा गरी उजाड-स्थानको नजिकै एथाममा आइपुगे र त्यहाँ तिनीहरूले पाल टाँगे। 21परमप्रभु दिनमा बादलको खाँबो बनी तिनीहरूको अगिअगि जानुहुन्थ्यो। रातमा आगोको खाँबो बनी उहाँले तिनीहरूलाई ज्योति दिनुहुन्थ्यो। यसरी तिनीहरू दिन र रातमा यात्रा गर्न सक्थे। 22परमप्रभुले दिनमा बादलको खाँबो र रातमा आगोको खाँबो मानिसहरूबाट हटाउनुभएन। 14:1तब परमप्रभुले मोशालाई यसो भन्नुभयो, 2“इस्राएलीहरू फर्केर मिग्दोल र समुद्रको बिचमा बाल-सेफोनको अगाडि पी-हहीरोतका सामु पाल टाँगेर बसून्। तिमीहरूले पी-हहीरोतको सामुन्ने समुद्रनेर पाल टाँग्नुपर्छ। 3फारोले इस्राएलीहरूको बारेमा भन्नेछन्, “तिनीहरू देशमा भौतारिहरहेका छन्। उजाड-स्थानले तिनीहरूलाई थुनिदिएको छ।' 4म फारोको ह्रदय कठोर बनाउनेछु र त्यसले तिमीहरूको पिछा गर्नेछ। फारो र त्यसका सबै सेनाको कारणले गर्दा मैले आदर पाउनेछु। म नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्नेछन्।” इस्राएलीहरूलाई आज्ञा गरिएझैँ तिनीहरूले पाल टाँगे। 5इस्राएलीहरू भागे भनी जब मिश्रका राजालाई बताइयो फारो र तिनका अधिकारीहरूको मन इस्राएलीहरूको विरुद्धमा फर्कियो। तिनीहरूले भने, “हामीले के गर्यौँ? हामीले इस्राएललाई हाम्रो सेवा गर्नबाट छाडिदिएछौँ।” 6तब फारोले आफ्ना रथहरू तयार पारे र आफ्नो सेना लिएर अगाडि बढे। 7तिनले छ सयवटा रोजाइका रथसाथै मिश्रका अन्य सबै रथहरू र तीमाथि अधिकृतहरूलाई लिएर गए। 8परमप्रभुले मिश्रका राजा फारोको ह्रदय कठोर पारिदिनुभएको थियो। त्यसैले राजाले इस्राएलीहरूको पिछा गरे। इस्राएलीहरू विजयका साथ गइसकेका थिए। 9तर मिश्रीहरूले आफ्ना सबै घोडा, रथ, घोडचढी र सेना लिएर तिनीहरूको पिछा गरे। तिनीहरूले इस्राएलीहरूलाई बाल-सेफोनको अगाडि पी-हहीरोतनेर पाल टाँगेर बसिरहेको भेट्टाए। 10जब फारो नजिक आइपुगे इस्राएलीहरूले माथि हेरे र तिनीहरू छक्क परे। मिश्रीहरू तिनीहरूको पिछा गर्दै अगाडि बढ्दै थिए। इस्राएलीहरू अत्यन्तै डराए। तिनीहरूले परमप्रभुलाई पुकारे। 11तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहान नभएकोले तपाईंले हामीलाई यस उजाड-स्थानमा मर्न ल्याएउनुभएको हो? मिश्रबाट बाहिर निकाली किन तपाईंले हामीसित यसरी व्यवहार गर्नुभएको? 12के मिश्रमा छँदा नै हामीले यसको भनेका थिएनौँ र? हामीले तपाईंलाई भन्यौँ, 'मिश्रीहरूका निम्ति काम गर्न हामीलाई एक्लै छाडिदिनुहोस्।' उजाड-स्थानमा मर्नुभन्दा त तिनीहरूकै निम्ति काम गर्नु असल हुनेथियो।” 13मोशाले मानिसहरूलाई भने, “नडराओ। स्थिर रहो, र आज परमप्रभुले तिमीहरूलाई दिनुहुने छुटकारालाई हेर। किनकि आज तिमीहरूले देखेका यी मिश्रीहरूलाई तिमीहरूले फेरि कहिल्यै देख्नेछैनौ। 14परमप्रभु तिमीहरूका पक्षमा लड्नुहुनेछ। तिमीहरू केवल स्थिर भएर बस।” 15तब परमप्रभुले मोशालाई भन्नुभयो, “ए मोशा, किन तँ मेरो पुकार गर्दै छस्? इस्राएलीहरूलाई अगाडि बढ्न आज्ञा दे। 16तेरो लट्ठी उठाएर तेरो हात समुद्रतिर पसार् र यसलाई दुई भागमा विभाजन गर् ताकि इस्राएलका मानिसहरू सुक्खा भूमिबाट हिँडेर जान सकून्। 17मिश्रीहरू तिमीहरूका पिछा गरून् भनेर म तिनीहरूका ह्रदय कठोर पारिदिनेछु भन्ने कुरामा सचेत हो। फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउनेछु। 18तब फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउँदा म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन्।” 19इस्राएलीहरूको अगिअगि गएका परमेश्वरका दूत त्यहाँबाट तिनीहरूका पछिल्तिर सरे। मिश्रको छाउनी र इस्राएलको छाउनीको बिचमा बादल आएर बस्यो। 20यो मिश्रीहरूको लागि अन्धकार बादल थियो जब कि यसले इस्राएलीहरूलाई रातमा प्रकाश दिन्थ्यो। तिनीहरू रातभरि एक-अर्काको नजिक आएनन्। 21मोशाले समुद्रतिर आफ्नो हात पसारे। परमप्रभुले रातभरि सबैभन्दा शक्तिशाली पूर्वीय बतास चलाइदिनुभयो र समुद्रलाई सुक्खा भूमिमा परिणत गराइदिनुभयो। 22इस्राएलीहरू समुद्रको बिचबाट ओबानो भूमिबाट गए। पानीले तिनीहरूको दायाँ र बायाँ खम्बाको रूपमा काम गर्यो। 23मिश्रीहरूले तिनीहरूको पिछा गरिरहे। फारोका सबै घोडा, रथ र घोडचढीहरू समुद्रको बिचमा तिनीहरूको पछिपछि लागे। 24तर बिहानी पखतिर परमप्रभुले आगो र बादलको खाँबोबाट मिश्री सेनालाई हेर्नुभयो। उहाँले मिश्रीहरूका बिचमा अलमल गराइदिनुभयो। 25तिनीहरूका रथका पाङ्ग्राहरू फुस्काइदिनुभयो र घोडचढीहरूलाई अगाडि बढ्न मुश्किल भयो। त्यसैले मिश्रीहरूले भने, “हामी इस्राएलबाट भागौँ किनकि परमप्रभु नै तिनीहरूको पक्षमा रही हाम्रो विरुद्धमा लड्दै हुनुहुन्छ।” 26परमप्रभुले मोशालाई भन्नुभयो, “पानी मिश्रीहरू, तिनीहरूका रथहरू र तिनीहरूका घोडचढीहरूमाथि आओस् भनेर तेरो हात समुद्रमाथि पसार्।” 27त्यसैले मोशाले आफ्नो हात समुद्रमाथि पसारे र बिहान हुँदा यो आफ्नो सामान्य मार्गमा आयो। मिश्रीहरू समुद्रमा भागे, र परमप्रभुले मिश्रीहरूलाई समुद्रको बिचमा फ्याँकिदिनुभयो। 28पानी फर्केर आयो र इस्राएलीहरूको पिछा गर्ने फारोका रथ, घोडचढी र तिनका पुरै सेनालाई पानीले ढाकिदियो। कोही पनि बाँचेन। 29तर इस्राएलीहरू समुद्रको बिचमा ओबानो भूमिबाट हिँडेर गए। पानी तिनीहरूको दायाँ र बायाँ पर्खालको रूपमा खडा रह्यो। 30यसरी त्यस दिन परमप्रभुले इस्राएललाई मिश्रीहरूको हातबाट बचाउनुभयो, र इस्राएलले समुद्री तटमा मिश्रीहरूका लाशहरू देखे। 31परमप्रभुले मिश्रीहरूको विरुद्धमा प्रयोग गर्नुभएको महान् शक्तिलाई जब इस्राएलले देख्यो मानिसहरूले परमप्रभुको आदर गरे, र तिनीहरूले परमप्रभु र उहाँका दास मोशामाथि भरोसा गरे। 15:1तब मोशा र इस्राएलका मानिसहरूले परमप्रभुको निम्ति यो गीत गाए। तिनीहरूले भने, “म परमप्रभुको निम्ति गाउनेछु किनकि उहाँले महिमामा विजय हासिल गर्नुभएको छ। घोडा र यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ। 2परमप्रभु मेरो शक्ति र गीत हुनुहुन्छ, र उहाँ मेरा उद्धार हुनुभएको छ। उहाँ मेरा परमेश्वर हुनुहुन्छ, र म उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा पिता-पुर्खाका परमेश्वर हुनुहुन्छ र म उहाँलाई उचाल्छु। 3परमप्रभु मेरा योद्धा हुनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो। 4उहाँले फारोका रथहरू र सेनालाई समुद्रमा फालिदिनुभएको छ। फारोका छानिएका अधिकृतहरू लाल समुद्रमा डुबे। 5गहिराइले तिनीहरूलाई छोप्यो। तिनीहरू पत्थरजस्तै गहिराइमा डुबे। 6हे परमप्रभु, तपाईंको दाहिने बाहुली शक्तिमा महिमित छ। हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुलाई चकनाचुर पारिदिएको छ। 7महान् गौरवमा तपाईंले तपाईंको विरुद्धमा उठ्नेहरूलाई तल झारिदिनुभयो। तपाईंले आफ्नो क्रोध पठाउनुभयो। यसले तिनीहरूलाई ठोसालाई झैँ भस्म पार्यो। 8तपाईंको नाकको सासले पानीको थुप्रो लाग्यो। बगिरहेको पानी स्थिर भई उभियो। गहिरो पानी समुद्रको मुटुमा जम्यो। 9शत्रुले भन्यो, 'म पिछा गर्नेछु; म जित्नेछु; म लुटका मालहरू बाँड्नेछु। मेरो इच्छा तिनमा तृप्त हुनेछ। म मेरो तरवार थुत्नेछु। मेरा हातले तिनीहरूलाई नष्ट पार्नेछन्।' 10तर तपाईंले आफ्नो बतास चलाइदिनुभयो, र समुद्रले तिनलाई ढाक्यो। तिनीहरू उर्लंदो भेलमा सिसाजस्तै डुबे। 11हे परमप्रभु, देवहरूका बिचमा तपाईंजस्तो को छ र? पवित्रतामा तपाईं वैभवशाली, प्रशंसामा आदरणीय, आश्चर्यकर्म गर्नुहुने तपाईंजस्तै को छ र? 12तपाईंले आफ्नो दाहिले बाहुली पसार्नुभयो, र पृथ्वीले तिनीहरूलाई निल्यो। 13तपाईंको करारको बफादारीमा तपाईंले आफूले छुटकारा दिनुभएका मानिसहरूलाई डोर्याउनुभएको छ। तपाईंको शक्तिमा तपाईंले तिनीहरूलाई तपाईंको पवित्र वासस्थानमा डोर्याउनुभएको छ। 14जाति-जातिहरूले सुन्नेछन्, र तिनीहरू थरथर काँप्नेछन्। त्रासले पलिश्तीहरूका बासिन्दाहरूलाई पक्रनेछ। 15तब एदोमका मुखियाहरू डराउनेछन्। मोआबका सिपाहीहरू हल्लिनेछन्। कनानका सबै बासिन्दा पग्लनेछन्। 16आतङ्क र त्रास उनीहरूमाथि पर्नेछन्। हे परमप्रभु, तपाईंका मानिसहरू पार नहोउञ्जेल र तपाईंले छुटकारा दिनुभएका मानिसहरू पार नहोउञ्जेल तपाईंको पाखुराको शक्तिको कारणले तिनीहरू पत्थरझैँ अचल रहनेछन्। 17तपाईंले तिनीहरूलाई ल्याउनुहुनेछ, र तिनीहरूलाई तपाईंको उत्तराधिकारको पर्वतमा रोप्नुहुनेछ। हे परमप्रभु, यो त्यो ठाउँ हो जहाँ तपाईंले आफ्नो बासस्थान बनाउनुभयो, हे हाम्रा प्रभु जुन पवित्रस्थानलाई तपाईंका हातले बनाएका छन्। 18परमप्रभुले सदासर्वदा शासन गर्नुहुनेछ।” 19किनकि फारोका घोडाहरू तिनीहरूका रथहरू र घोडचढीहरूसँगै समुद्रमा पुगे। परमप्रभुले तिनीहरूमाथि फेरि समुद्रको पानी फर्काएर ल्याउनुभयो। तर इस्राएलीहरू समुद्रको बिचमा ओबानो भूमिबाट हिँडेर गए।
साँझको प्रार्थना: पाठ (सातौँ पाठ)
8त्यसैकारण जुन दिनसम्म म शिकारलाई पक्रनको निम्ति उठ्दिनँ, त्यस बेलासम्म मलाई पर्ख, परमप्रभु घोषणा गर्नुहुन्छ। किनकि मेरो निर्णय जाति-जातिहरूलाई एकठ्ठा गर्ने, राज्यहरूलाई जम्मा गर्ने, र तिनीहरूमाथि मेरो क्रोध, मेरो सम्पूर्ण ज्वलन्त क्रोध खन्याउने हो, किनभने मेरो डाहको आगोमा सारा पृथ्वी भस्म हुनेछ। 9तर त्यसपछि म मानिसहरूका ओठहरूलाई शुद्ध पार्नेछु, ताकि तिनीहरू सबैले काँधमा काँध मिलाएर परमप्रभुको सेवा गर्नको निम्ति उहाँको नाउँ पुकारून्। 10कूशका नदीहरूको पारिबाट मेरो आराधना गर्नेहरू, र तितरबितर भएका मेरा मानिसहरूले मेरो निम्ति बलिदानहरू ल्याउनेछन्। 11त्यस दिन तैँले मेरो विरुद्ध गरेका सबै कामहरूको कारण तँ शर्ममा पारिनेछैनस्, किनभने त्यस समयमा तेरो घमण्डको उत्सव मनाउनेहरूलाई तेरो बिचबाट म हटाइदिनेछु, र मेरो पवित्र पर्वतमा अबदेखि उसो तैँले अहङ्कारी भएर काम गर्नेछैनस्। 12तर तेरो बिचमा म नम्र र गरीब मानिसहरूलाई छोडिदिनेछु, र तिनीहरूले परमप्रभुको नाउँमा शरण पाउनेछन्। 13इस्राएलका बाँकी रहेकाहरूले अब उसो अन्याय गर्नेछैनन् वा झुटो बोल्नेछैनन्, र तिनीहरूको मुखमा छलपूर्ण जिब्रो पाइनेछैन। यसैकारण तिनीहरू खानेछन् र पल्टिनेछन्, र तिनीहरू भयभीत हुनेछैनन्।” 14ए सियोनकी छोरी, गा! इस्राएल, उच्च सोरमा करा। यरूशलेमकी छोरी आनन्दित हो र आफ्नो सारा हृदयले रमाहट गर्। 15परमप्रभुले तेरो दण्ड तँबाट टाढा गरिदिनुभएको छ, तेरा शत्रुहरूलाई धपाइदिनुभएको छ। तेरो बिचमा परमप्रभु इस्राएलका राजा हुनुहुन्छ। अबदेखि उसो तैँले दुष्टको भय मान्नेछैनस्।
साँझको प्रार्थना: पाठ (आठौँ पाठ)
8परमप्रभुको वचन तिनीकहाँ आयो, 9“उठेर सीदोनको सारपातमा जा, र त्यही बस्। हेर्, तेरो खानाको बन्दोवस्त मिलाउन मैले त्यहाँ एउटी विधवालाई आज्ञा दिएको छु।” 10त्यसैले तिनी उठेर सारपातमा गए। तिनी सहरको मुल ढोकामा आइपुग्दा एउटी विधवाले दाउरा बटुल्दै थिइन्। तिनले उनलाई डाकेर भने, “मलाई पिउनलाई यो भाँडोमा थोरै पानी ल्याइदिनुहुन्छ कि?” 11उनी पानी लिन जाँदै गर्दा तिनले उनलाई भने, “तपाईंको हातमा रोटीको टुक्रा पनि ल्याइदिनुहोस्।” 12उनले भनिन्, “परमप्रभु तपाईंका परमेश्वरको नाउँमा म भन्दछु, कि मसित कुनै रोटी छैन, तर भाँडामा एक मुट्ठी पिठो र ढुङ्ग्रोमा अलकति तेल छ। हेर्नुहोस्, म र मेरो छोरोको लागि खाना बनाई खाएर हामी नमरूँ भनी मैले दुईचार टुक्रा दाउरा बटुल्दै छु।” 13एलियाले उनलाई भने, “नडराऊ। गएर मैले भनेझैँ गर, तर पहिले मेरो निम्ति सानो रोटी बनाएर ल्याऊ। त्यसपछि तिमी र तिम्रो छोरोको निम्ती केही रोटी बनाऊ। 14किनकि इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ, 'परमप्रभुले पृथ्वीमा वृष्टि नपठाउञ्जेलसम्म पिठोको भाँडो रित्तो हुने छैन, न त ढुङ्ग्रोबाट तेल आउन रोकिने छ।” 15त्यसैले उनले एलियाले भनेझैँ गरिन्। उनी र एलियालगायत उनको घरानाले धेरै दिनसम्म खाए। 16परमप्रभुले एलियाद्वारा बोल्नुभएको वचनले भनेझैँ पिठोको भाँडो रित्तो भएन, न त ढुङ्ग्रोबाट तेल आउन रोकियो। 17यी कुरापछि ती स्त्री अर्थात् त्यस घरको मालिक्नीको छोरो बिरामी पर्यो। त्यसको रोग यति गम्भीर थियो कि त्यसले सास फेर्नै छोड्यो। 18त्यसैले त्यसकी आमाले एलियालाई भनिन्, “हे परमेश्वरका जन, मेरो विरुद्धमा तपाईंसित के छ? के तपाईं मेरो पापलाई स्मरण गराई मेरो छोरोलाई मार्न आउनुभएको हो?” 19तब एलियाले उनलाई जवाफ दिए, “तपाईंको छोरो मलाई दिनुहोस्।” तिनले उनका पाखुराबाट शरीरलाई लिई आफू बसेको कोठामा लगे, र आफ्नै ओछ्यानमा सुताए। 20तिनले परमप्रभुलाई पुकारे, “हे परमप्रभु मेरा परमेश्वर, के तपाईंले म जुन विधवासित बसिरहेको छु, उनको छोरोलाई मारेर उनीमाथि विपत्ति ल्याउनुभएको हो?” 21त्यसपछि एलिया त्यस बालकमाथि तिन पटक लम्पसार परेर सुते। तिनले परमप्रभुलाई पुकारे, “हे परमप्रभु मेरा परमेश्वर, यो बालकको जीवन फर्कोस् भनी म तपाईंलाई बिन्ती गर्दछु।” 22परमप्रभुले एलियाको कुरा सुन्नुभयो। बालकको जीवन फर्केर आयो र त्यो जीवित भयो। 23एलियाले बालकलाई लिई कोठाबाट बाहिर ल्याए। बालकलाई त्यसकी आमाको जिम्मा लगाएर तिनले भने, “हेर, तिम्रो छोरो बाँचेको छ।” 24ती स्त्रीले एलियालाई भनिन्, “अब मलाई थाहा भयो, कि तपाईं परमेश्वरका जन हुनुहुँदोरहेछ र तपाईंको बोलीमा भएको परमप्रभुको वचन तपाईंको मुखमा साँचो रहेछ।”
साँझको प्रार्थना: पाठ (9औँ पाठ)
10परप्रभुमा म अत्यन्तै आनन्दित हुनेछु। मेरो परमेश्वरमा म धैरै खुसी हुनेछु। किनकि उहाँले मलाई उद्धारको पोशाक लगाउनुभएको छ। उहाँले मलाई धार्मिकताको वस्त्रले ढाक्नुभएको छ, जसरी एउटा दुलहाले आफूलाई मुकुटले सजाउँछ र एउटी दुलहीले आफूलाई गहनाहरूले सजाउँछे। 11किनकि जसरी पृथ्वीले आफ्ना बिरुवाहरू उमार्छ र जसरी बगैंचाले त्यसका बिरुवाहरू बढाउँछ, त्यसरी नै पमरमप्रभु परमेश्वरले सबै जातिहरूका सामु धार्मिकता र प्रशंसा निस्कने बनाउनुहुनेछ। 62:1किनकि सियोनको खातिर चूप लाग्नेछैन र यरूशलेमको खातिर म मौन रहनेछैन, जबसम्म त्यसको धार्मिकता चहकिलो रूपमा बढ्दैन र त्यसको उद्धार दन्केको एउटा राँकोझैं हुँदैन। 2जातिहरूले तेरो धार्मिकता र राजाहरूले तेरो महिमा देख्नेछन्। परमप्रभुले चुन्नुहुने नयाँ नाउँले तँलाई बोलाइनेछ। 3परमप्रभुको हातमा तँ एउटा सुन्दरताको मुकुट र आफ्नो परमेश्वरको हातमा राजकीय मुकुट हुनेछस्। 4तेरो बारेमा कदापि “त्यागिएकी” भनिनेछैनस्। न त तेरो देशलाई फेरि कहिलै “उजाडिएको” भनिनेछ। तँलाई साँच्चै, “त्योसँग म खुसी छु” र तेरो देशलाई “विवाहित” भनिनेछ, किनकि परमप्रभु तँमा खुसी हुनुहुन्छ र तेरो देश विवाहित हुनेछ। 5साँच्चै एक जना जवान मानिसले जवान स्त्रीलाई विवाह गरेझैं, तेरा छोराहरूले तँलाई विवाह गर्नेछन्। अनि एक जना दुलहा आफ्नी दुलहीसँग आनन्दित भएझैं तेरा परमेश्वर तँसित आनन्दित हुनुहुनेछ।
साँझको प्रार्थना: पाठ (10औँ पाठ)
1यी कुराहरूपछि परमेश्वरले अब्राहामको जाँच गर्नुभयो। उहाँले तिनलाई भन्नुभयो, “ए अब्राहाम!” अब्राहमले भने, “म यहीँ छु।” 2त्यसपछि परमेश्वरले भन्नुभयो, “तैँले माया गर्ने तेरो छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा जा। त्यहाँको कुनै एक डाँडामा त्यसलाई होमबलि गर्, जुन म तँलाई बताउनेछु।” 3त्यसैले अब्राहाम बिहानै उठेर गधामा काठी कसे, अनि आफ्ना दुई जवान मानिसहरू र आफ्नो छोरो इसहाकलाई साथमा लिए। उनले होमबलिको निम्ति दाउरा चिरे, त्यसपछि परमेश्वरले तिनलाई भन्नुभएको ठाउँतर्फ यात्रा सुरु गरे। 4तेस्रो दिन अब्राहामले माथि हेरे र टाढा त्यो ठाउँ देखे। 5अब्राहामले आफ्ना जवान मानिसहरूलाई भने, “तिमीहरू गधासँग यहीँ बस, अनि म र यो केटो त्यहाँ जानेछौँ। हामी पूजा गर्नेछौँ र तिमीहरूकहाँ फेरि फर्केर आउनेछौँ।” 6त्यसपछि अब्राहामले होमबलिको निम्ति दाउरा लिए र आफ्नो छोरो इसहाकलाई बोकाए। उनले आगो र छुरी आफ्नो हातमा लिए अनि ती दुवै जना सँगसँगै गए। 7इसहाकले आफ्ना पिता अब्राहामलाई भने, “बुबा,” अनि तिनले भने, “म यहीँ छु, मेरो छोरा।” त्यसले भन्यो, “आगो र दाउरा त यहाँ छन्, तर होमबलिको लागि थुमाचाहिँ खोइ?” 8अब्राहामले भने, “मेरो छोरा, परमेश्वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ।” अनि ती दुवै सँगसँगै गए। 9परमेश्वरले तिनलाई भन्नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्यहाँ एउटा वेदी बनाएर दाउरा राखे। त्यसपछि तिनले आफ्नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे। 10अब्राहामले आफ्नो छोरालाई मार्न छुरी उठाए। 11त्यसपछि परमप्रभुका एक जना दूतले स्वर्गबाट तिनलाई भने, “ए अब्राहाम, अब्राहाम!” तिनले भने, “म यहीँ छु।” 12उनले भने, “तेरो हात त्यस केटामाथि नउठा, न त त्यसलाई केही गर, आफ्नो एक मात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस् भन्ने देखेर तैँले परमेश्वरको भय मान्दोरहेछस् भनी मैले अब थाहा पाएँ 13।” अब्राहामले माथितिर हेरे र एउटा भेडा झाडीमा सीङ अल्झेर फसेको देखे। अब्राहामले गएर त्यस भेडालाई ल्याए, र तिनका छोराको सट्टामा त्यसैलाई होमबलि चढाए। 14यसकारण अब्राहामले त्यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्छ” राखे, र “परमप्रभुको डाँडामा जुटाइनेछ” भनी आजसम्म पनि भनिन्छ। 15परमप्रभुका दूतले दोस्रो पल्ट स्वर्गबाट अब्राहामलाई बोलाएर भने, 16यो परमप्रभुको घोषणा हो, “मैले आफ्नै नाउँमा शपथ खाएको छु, कि तैंले यो काम गरेकोले र तेरो छोरो, अर्थात् तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले 17म निश्चय नै तँलाई आशिष् दिनेछु र म तेरा सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह तुल्याउनेछु। तेरा सन्तानले आफ्ना शत्रुहरूका ढोकाहरू पार गर्नेछन्। 18तेरा सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशिषित्् हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्।”
साँझको प्रार्थना: पाठ (11औँ पाठ)
1परमप्रभु परमेश्वरको आत्मा ममाथि हुनुहुन्छ, किनभने कष्टमा परेकाहरूलाई सुसमाचार घोषणा गर्न परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। तोडिएका हृदय भएकाहरूलाई निको पार्न, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र बन्धनमा परेकाहरूलाई कैदबाट छुटकारा दिन उहाँले मलाई पठाउनुभएको छ। 2परमप्रभुको कृपाको वर्ष, हाम्रा परमेश्वरको बदलाको दिनको घोषणा गर्न र शोक गर्नेहरू सबैलाई सान्त्वना दिन उहाँले मलाई पठाउनुभएको छ। 3सियोनमा शोक गर्नेहरू, तिनीहरूलाई खरानीको सट्टामा एउटा मुकुट, शोकको सट्टामा आनन्दको तेल, निराशाको आत्माको सट्टामा प्रशंसाको आवरण दिन, तिनीहरूलाई धर्मिकताका फलाँटहरू, परमप्रभुको बिरुवा भन्न उहाँले मलाई पठाउनुभएको छ, ताकि उहाँलाई नै महिमा होस्। 4तिनीहरूले प्राचीन भग्नावशेषहरूको पुनःनिर्माण गर्नेछन्। तिनीहरूले पहिलेका उजाड अवस्थाहरूबाट पुनर्स्थापना गर्नेछन्। तिनीहरूले भग्नावशेष भएका सहरहरू र पुरानो पुस्ताका उजाड अवस्थाहरूबाट पुनर्स्थापना गर्नेछन्। 5विदेशीहरू खडा हुनेछन् र तिमीहरूका भेडाबाख्रा चराउनेछन्, र विदेशीका छोराहरूले तिमीहरूका खेतबारी र दाखबारीहरूमा काम गर्नेछन्। 6तिमीहरूलाई परमप्रभुको पुजारीहरू भनिनेछ। तिनीहरूले तिमीहरूलाई हाम्रा परमेश्वरका सेवकहरू भन्नेछन्। तिमीहरूले जातिहरूकि सम्पत्ति खानेछौ र तिनीहरूका धनहरूमा तिमीहरूले गर्व गर्नेछौ। 7तिमीहरूको शर्मको साटोमा तिमीहरूले दोब्बर पाउनेछौ। अनि अपमनाको साटोमा तिनीहरू आफ्ना अंशमा आनन्दित हुनेछन्। यसरी तिनीहरूले आफ्नो देशको दोब्बर अंश पाउनेछन्। अनन्तको आनन्द तिनीहरूकै हुनेछ। 8किनकि म परमप्रभुले न्यान मन पराउँछु र म डकैती र अन्यायलाई घृणा गर्छु। तिनीहरूलाई इमानदार भएर म प्रतिफल दिनेछु र तिनीहरूसित म अनन्तको करार बाँध्नेछु। 9तिनीहरूका सन्तानहरू जातिहरूका माझमा र तिनीहरूका सन्तानहरू मानिसहरूका बिचमा चिनिनेछन्। तिनीहरूलाई देख्ने सबैले तिनीहरू परमप्रभुले आशिष् दिनुभएका मानिसहरू हुन् भनी स्वीकार गर्नेछन्।
साँझको प्रार्थना: पाठ (12औँ पाठ)
8एक दिन एलीशा शूनेममा गए जहाँ एक जना प्रतिष्ठित स्त्री बस्थिन्। उनले तिनलाई तिनीसँगै खाना खान अनुरोध गरिन्। त्यसैले जब एलीशा त्यो बाटो भएर जान्थे, तब तिनी खानको लागि त्यहाँ रोकिन्थे। 9ती स्त्रीले आफ्ना पतिलाई भनिन्, “हेर्नुहोस्, अब मलाई थाहा भयो, कि यिनी परमेश्वरका पवित्र मानिस हुन् जो सधैँ यो बाटो हिंड्छन्। 10कौसीमा एलीशाको लागि एउटा सानो कोठा बनाऔँ, र त्यसमा एउटा खाट, टेबल, आसन र बत्ती राखौँ। तब तिनी हामीकहाँ आउँदा तिनी त्यहीँ बस्नेछन्।” 11यसरी फेरि एक दिन आयो जतिबेला एलीशा त्यहाँ रोकिए, तिनी त्यो कोठामा बसे, र त्यहीँ विश्राम गरे। 12एलीशाले आफ्नो सेवक गेहजीलाई भने, “ती शूनम्मीलाई बोला।” त्यसले तिनलाई बोलाएपछि तिनी एलीशाको सामु खडा भइन्। 13एलीशाले उसलाई भने, “तिनलाई भन्, 'हाम्रो वास्ता गर्न तिमीले यो सबै कष्ट झेलेकी छ्यौ। तिम्रो लागि के गर्न सकिन्छ? के हामी तिम्रो लागि राजा वा सेनापतिसित कुरा गरौं'?” तिनले जवाफ दिइन्, “मेरा आफ्नै जातिको बिचमा म बस्दैछु।” 14त्यसैले एलीशाले भने, “त्यसो हो भने, तिनको लागि हामी के गर्न सक्छौँ त?” गेहजीले जवाफ दियो, “वास्तवमा तिनीसँग छोरो छैन, र तिनका पति बुढो भएका छन्।” 15त्यसैले एलीशाले भने, “तिनलाई बोला।” जब त्यसले तिनलाई बोलायो, तिनी ढोकामा खडा भइन्। 16एलीशाले भने, “एक वर्षपछि यही समयमा तिम्रो काखमा एउटा छोरो हुनेछ।” तिनले जवाफ दिइन्, “होइन, हे मेरा मालिक र परमेश्वरका मानिस, आफ्नी दासीसित झुट नबोल्नुहोस्।” 17तर एलीशाले त्यो स्त्रीलाई भनेझैँ तिनी गर्भवती भइन् र अर्को वर्ष ठिक त्यही समयमा एउटा छोरो जन्माइन्। 18बालक हुर्केपछि एक दिन त्यो आफ्नो बुबाकहाँ गयो जो कटनी गर्नेहरूसँगै थिए। 19त्यसले आफ्नो बुबालाई भन्यो, “मेरो टाउको दुख्यो। मेरो टाउको दुख्यो। उसका बुबाले आफ्नो सेवकलाई भने, “त्यसलाई त्यसकी आमाकहाँ लिएर जाऊ।” 20जब नोकरले केटोलाई उठाएर त्यसकी आमाकहाँ ल्यायो तब केटो मध्यान्हसम्म आमाको काखमा बस्यो, र त्यो मर्यो। 21त्यसैले ती स्त्री उठिन्, र केटोलाई परमेश्वरका मानिसको ओछ्यानमा सुताइन्, ढोका बन्द गरेर बाहिर निस्किन्। 22तिनले आफ्ना पतिलाई बोलाइन् र भनिन्, “कृपया, मलाई एक जना नोकर र एउटा गधा पठाउनुहोस् ताकि म छिटो परमेश्वरका मानिसकहाँ जान र फर्केर आउन सकूँ।” 23तिनका पतिले भने, “किन तिमी आजै उहाँकहाँ जान चाहन्छ्यौ? आज न औँसी हो, न त शबाथ हो।” उनले जवाफ दिइन्, “यो ठिक हुनेछ।” 24त्यसपछि उनले गधामा काठी कसिन्, र आफ्नो सेवकलाई भनिन्, “छिटो कुदा। मैले नभनेसम्म दौडन ढिला नगर।” 25त्यसैले तिनी गइन् र कर्मेल डाँडामा परमेश्वरका मानिस भएको ठाउँमा आइन्। जब परमेश्वरका मानिसले टाढैबाट तिनलाई देखे तिनले आफ्नो सेवक गेहजीलाई भने, “हेर्, शूनम्मी स्त्री आउँदैछिन्। 26तिनलाई भेट्न दौडेर जा र तिनलाई सोध, 'तिमी, तिम्रा पति र छोरोलाई सबै ठिकै छ'?” तिनले भनिन्, “ठिकै छ।” 27जब तिनी डाँडामा परमेश्वरका मानिस भएको ठाउँमा आइपुगिन् तब तिनले एलीशाको पाउ समातिन्। गेहजी तिनलाई हटाउनलाई अगाडि बढ्यो, तर परमेश्वरका मानिसले भने, “तिनलाई नछोऊ किनकि तिनी अत्यन्तै दुखी छिन्, र परमप्रभुले मबाट समस्या लुकाउनुभएको छ, र मलाई केही भन्नुभएको छैन।” 28तब तिनले भनिन्, “हे मेरा मालिक, मैले, तपाईंसँग छोरो मागेकी थिएँ र? मैले 'मलाई नछकाउनुहोस्' भनेकी थिइनँ र'?” 29तब एलीशाले गेहजीलाई भने, “यात्राको लागि लुगा लगा, र तेरो हातमा मेरो लट्ठी समात्। तिनको घरमा जा। कुनै मानिसलाई भेटिस् भने अभिवादन नगर्, र कसैले तँलाई अभिवादन गर्यो भने जवाफ नदे। बालकको अनुहारमा मेरो लट्ठी राखिदे।” 30तर बालककी आमाले भनिन्, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर म भन्छु, कि म तपाईंलाई छाड्दिनँ।” त्यसैले एलीशा उठे, र तिनको पछि लागे। 31गेहजी तिनीहरूभन्दा अगिअगि गयो र बाललको अनुहारमा लट्ठी पसार्यो, तर बालकले बोलेन र सुनेन। त्यसैले गेहजी एलीशालाई भेट्न फर्क्यो र तिनलाई यसो भन्यो, “बालक ब्युँझेको छैन।” 32जब एलीशा घरमा आइपुगे, तब बालक मरिसकेको थियो, र ओछ्यानमा शान्त थियो। 33त्यसैले एलीशा भित्र गएर बालक र आफूलाई राखेर ढोका बन्द गरे, र परमप्रभुलाई प्रार्थना चढाए। 34तिनी ओछ्यानमाथि चढे र बालकमाथि सुते। तिनले आफ्नो मुख उसको मुखमा, आफ्ना आँखा उसको आँखामा, र आफ्ना हात उसको हातमा राखे। तिनले आफैलाई बालकमाथि लमतन्न पारे, र बालकको शरीर न्यानो भयो। 35तब एलीशा उठे, र कोठाको वरिपरि घुमे अनि तिनी फेरि ओछ्यानमा चढे र बालकमाथि लमतन्न परे। बालकले सात पटक छिउँ काड्यो र आफ्ना आँखा खोल्यो। 36त्यसैले एलीशाले गेहजीलाई बोलाए र भने, “शूनम्मीलाई बोला।” त्यसले उनलाई बोलायो, र जब तिनी कोठाभित्र आइन्, तब एलीशाले भने, “तिम्रो छोरोलाई बोक।” 37तब एलीशाको पाउमा तिनी भुइँसम्मै घोप्टो परिन्, अनि आफ्नो छोरोलाई उठाइन् र बाहिर गइन्।
साँझको प्रार्थना: पाठ (13औँ पाठ)
11उहाँका मानिसहरूले मोशाको प्राचीन समयको बारेमा विचार गरे। तिनीहरूले भने, “परमेश्वर कहाँ हुनुहुन्छ जसले आफ्ना बथानका गोठालाहरूसँगै तिनीहरूलाई समुद्रबाट ल्याउनुभयो? परमेश्वर कहाँ हुनुहुन्छ जसले आफ्नो पवित्र आत्मा तिनीहरूका बिचमा राख्नुभयो? 12परमेश्वर कहाँ हुनुहुन्छ जसले मोशाको दाहिने हातसँगै आफ्नो महिमित शक्ति जान दिनुभयो र आफ्नो निम्ति अनन्तको नाउँ बनाउन तिनीहरूका सामु भएको पानीलाई विभाजन गर्नुभयो? 13परमेश्वर कहाँ हुनुहुन्छ जसले तिनीहरूलाई गहिरो पानीबाट डोर्याउनुभयो? मैदानमा घोडा दौडेझैं, तिनीहरूले ठेस खाएनन्। 14गाइवस्तु बेसीमा झरेझैं, परमप्रभुको आत्माले तिनीहरूलाई विश्राम दिनुभयो। यसरी आफ्नो निम्ति प्रशंसाको नाउँ बनाउनलाई तपाईंले आफ्ना मानिसहरूलाई डोर्याउनुभयो? 15स्वर्गबाट तल हेर्नुहोस् र आफ्नो पवित्र र महिमित वासस्थानबाट दृष्टि लगाउनुहोस्। तपाईंको जोश र तपाईंको शक्तिशाली कामहरू कहाँ छन्? तपाईंको दया र तपाईंको कृपापुर्ण कामहरू हामीबाट अलग राखिएका छन्। 16किनकि तपाईं हाम्रा पिता हुनुहुन्छ। अब्राहामले हामीलाई नचिने र इस्राएलले हामीलाई नचिने तापनि, तपाईं परमप्रभु हाम्रो पिता हुनुहुन्छ। प्राचीन समयदेखि तपाईंको नाउँ 'हाम्रा उद्धारक' हो। 17हे परमप्रभु, हामीलाई किन तपाईंको मार्गहरूबाट तर्कने र हाम्रा हृदयहरूलाई कठोर पार्ने बनाउनुहुन्छ, यसैले हामीले तपाईंका आज्ञा पालन गर्दैनौं? तपाईंको सेवक, तपाईंको उत्तराधिकारका कुलहरूका निम्ति फर्कनुहोस्। 18तपाईंका मानिसहरूले तपाईंको पवित्र ठाउँलाई छोटो समय अधिकार गरे, तर हाम्रा शत्रुहरूले त्यसलाई कुल्चे। 19हामी त तपाईंले हामीमाथि कहिल्यै शासन नगर्नुभएजस्तो र तपाईंको नाउँद्वारा कहिल्यै नबोलाइएजस्तै भएका छौं।” 64:1ओहो, तपाईंले आकाशलाई चिरेर खोल्नुभएको र तल आउनुभएको भए त हुन्थ्यो! तपाईंको उपस्थितिमा पहाडहरू काम्ने थिए, 2जसरी आगोले अम्रिसो जलाउँछ वा आगोले पानी उमाल्छ। ओहो, तपाईंका विरोधीहरूले तपाईंको नाउँ जानेको भए त, तपाईंको उपस्थितिमा जातिहरू काम्ने थिए। 3पहिले हामीले आशा नै नगरेको अचम्मका कामहरू तपाईंले गर्नुहुँदा, तपाईं तल आउनुभयो र तपाईंको उपस्थितिमा पहडाहरू कामे। 4प्रचीन समयदेखि नै कसैले पनि सुनेको वा देखेको छैनन्, न त आँखाले तपाईंबाहेक अरू कुनै परमेश्वरलाई देखेको छन्, जसले आफ्नो आशा गर्नेहरूका निम्ति कामहरू गर्नुहुन्छ। 5जे ठिक छ त्यो गर्न खुसी हुने, तपाईंका मार्गहरू मनमा याद गर्ने र तिनीहरूलाई पालन गर्नेहरूलाई सहायता गर्न तपाईं आउनुहुन्छ। हामीले पाप गर्दा तपाईं रिसाउनुभयो। तपाईंका मर्गहरूमा हामी सधैं बचाइनेछौं।
साँझको प्रार्थना: पाठ (14औँ पाठ)
31यो परमप्रभुको घोषणा हो, हेर्, यस्ता दिनहरू आउँदैछन्, जुना बेला म इस्राएल र यहूदाका घरानासित एउटा नयाँ करार स्थापित गर्नेछु। 32मैले तिनीहरूका पुर्खाहरूसित बाँधेको करारजस्तो यो हुनेछैन, जब मैले तिनीहरूलाई तिनीहरूका हात समातेर मिश्रदेशबाट बाहिर ल्याएँ, किनकि तिनीहरूले मेरो करार भङ्ग गरे तापनि म तिनीहरूका पति भएँ, यो परमप्रभुको घोषणा हो। 33इस्राएलको घरानासित मैले बाँध्ने करार यही हो, यो परमप्रभुको घोषणा हो। यी दिनपछि म आफ्नो व्यवस्था तिनीहरूभित्र हाल्नेछु, र तिनीहरूका हृदयमा यो लेख्नेछु, किनकि म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन्। 34तब हरेक मानिसले फेरि आफ्नो छिमेकी वा हरेक मानिसले आफ्नो भाइलाई यसो भनेर सिकाउने छैन, 'परमप्रभुलाई चिन।' किनकि सानादेखि ठुलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन्, यो यो परमप्रभुको घोषणा हो। किनकि म तिनीहरूको अधर्म क्षमा दिनेछु, र फेरि तिनीहरूका पाप सम्झनेछैनँ।”
साँझको प्रार्थना: पाठ (15औँ पाठ)
पत्र
3के जतिलाई ख्रीष्ट येशूमा बप्तिस्मा दिइएका छन् उनीहरूलाई उहाँको मृत्युमा बप्तिस्मा दिइएका छन् भन्ने तिमीहरू जान्दैनौ? 4हामी बप्तिस्माद्वारा मृत्युमा उहाँसँगै गाडियौँ। ताकि जसरी ख्रीष्ट पिताको महिमाद्वारा मृतकहरूबाट जीवित पारिनुभयो, त्यसरी नै हामी जीवनको नवीनतामा हिँड्न सकौँ। 5किनकि यदि हामी उहाँको मृत्युको स्वरूपमा एक भएका छौँ भने हामी उहाँको पुनरुत्थानमा पनि एक हुनेछौँ। 6हामी जन्दछौँ, कि हाम्रो पुरानो मनुष्यत्वलाई उहाँसँगै क्रुसमा टाँगिएको थियो, ताकि पापको शरीरलाई नाश गर्न सकियोस्; ताकि हामी पापको दास बन्न नपरोस्। 7जो मरेको छ, पापको सम्बन्धमा त्यसलाई धर्मी घोषित गरिन्छ। 8तर यदि हामी ख्रीष्टसँग मरेका छौँ भने, हामी विश्वास गर्छौं, कि हामी पनि उहाँसँगै जिउनेछौँ। 9हामी जान्दछौँ, कि ख्रीष्ट मृतकबाट जीवित पारिनुभएको छ र अब उहाँ मृत हुनुहुन्न। अब मृत्युले उहाँमाथि राज्य गर्दैन। 10मृत्युको विषयमा उहाँ पापको लागि मर्नुभयो, उहाँ एकै पल्ट हामी सबैका लागि मर्नुभयो। तथापि जुन जीवन उहाँ जिउनुहुन्छ, त्यो उहाँले परमेश्वरको निम्ति जिउनुहुन्छ। 11त्यसै गरी, तिमीहरूले पनि पापको निम्ति मरेको, तर ख्रीष्ट येशूमा परमेश्वरमा जीवित ठान्नुपर्छ।
सुसमाचार
1अब शबाथको समय सकिनै लाग्दा हप्ताको पहिलो दिनको झिसमिसेमा मरियम मग्दलिनी र मरियम नाउँ गरेकी अर्की स्त्री चिहान हेर्न आए। 2हेर, त्यहाँ विशाल भूकम्प गयो, किनकि परमप्रभुका एक स्वर्गदूत स्वर्गबाट तल ओर्ले; अनि ढुङ्गा हटाए, र त्यसमाथि बसे। 3तिनको रूप बिजुलीजस्तो थियो, र पहिरन हिउँजस्तै सेतो थियो। 4पहरेदारहरू डरले थरथर काँपे र मरेका मानिसहरूजस्तै भए। 5स्वर्गदूतले ती स्त्रीहरूलाई सम्बोधन गरे र भने, “भयभीत नहोओ, किनकि मलाई थाहा छ, कि तिमीहरूले क्रुसमा टाँगिनुभएका येशूलाई खोज्दै छौ। 6उहाँ यहाँ हुनुहुन्न, तर जस्तो उहाँले भन्नुभएको थियो, उहाँ जीवित भई उठ्नुभएको छ। आएर प्रभुलाई राखिएको ठाउँ हेर। 7झट्टै जाओ र उहाँका चेलाहरूलाई भन, ‘उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएको छ। हेर, उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ। त्यहीँ नै तिमीहरूले उहाँलाई देख्नेछौ।’ हेर, मैले तिमीहरूलाई बताइदिएको छु।” 8ती स्त्रीहरू तुरुन्तै डर र आनन्दका साथ चिहानबाट निस्के, अनि उहाँका चेलाहरूलाई यो बताउनको निम्ति दौडे। 9हेर, येशूले तिनीहरूलाई भेट्नुभयो र भन्नुभयो, “सबैलाई अभिवादन छ।” ती स्त्रीहरू आए, उहाँका पाउ पक्रे, र उहाँलाई दण्डवत् गरे। 10त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “नडराओ। जाओ मेरा भाइहरूलाई गालीलमा जानू भनेर भनिदेओ। त्यहाँ तिनीहरूले मलाई भेट्नेछन्।” 11जब ती स्त्रीहरू जाँदै थिए, हेर, केही पहरेदारहरू सहरमा गए र मुख्य पुजारीहरूलाई त्यहाँ भएका सबै घटना बताइदिए। 12जब पुजारीहरूले एल्डरहरूलाई भेटे र ती सबै घटनाको बारेमा तिनीहरूसँग छलफल गरे, तिनीहरूले सिपाहीहरूलाई धेरै पैसा दिए, 13र तिनीहरूलाई भने, “तिमीहरूले अरूहरूलाई यस्तो भन, ‘हामी सुतिरहेका बेला येशूका चेलाहरू आए र उनको मृत शरीरलाई चोरेर लगे।’ 14यदि यो खबर हाकिमकहाँ पुग्यो भने, हामी उहाँलाई राजी गराउनेछौँ र तिमीहरूलाई कुनै समस्यामा पर्न दिनेछैनौँ।” 15अनि ती सिपाहीहरूले पैसा लिए र उनीहरूलाई जस्तो निर्देशन दिइएको थियो, त्यस्तै गरे। यही खबर यहूदीहरूका माझमा सर्वत्र फैलियो र आजको दिनसम्म पनि यही कायम छ। 16तर एघार जना चेला गालीलको त्यस डाँडामा गए जहाँ येशूले जानू भनी तिनीहरूलाई निर्देशन दिनुभएको थियो। 17जब उनीहरूले उहाँलाई देखे, उनीहरूले उहाँलाई दण्डवत् गरे, तर कतिले चाहिँ शङ्का गरे। 18येशू उनीहरूकहाँ आउनुभयो र उनीहरूसँग बोल्नुभयो र भन्नुभयो, “स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ। 19यसकारण, जाओ र सबै देशका जातिलाई चेला बनाओ। पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ। 20मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। र हेर, यस संसारको अन्तसम्म पनि म सधैँ तिमीहरूको साथमा छु।”
मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको अप्रिल 18 नागरिक पात्रोमा मे 1 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार