Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2026 अक्टोबर › अक्टोबर 31

अर्थोडक्स पात्रो · अक्टोबर 18 (पुरानो शैली)

अर्थोडक्स दैनिक पाठहरू — 2026 अक्टोबर 31

शनिबार · पेन्तिकोसपछिको 22औँ हप्ता · स्वर 4

पर्व र सन्तहरू

Holy Apostle and Evangelist Luke (1st C)

उपवास

उपवास छैन

यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।

दिनका पाठहरू

साँझको प्रार्थना: पाठ

१ यूहन्ना 1:1–7

1सुरुदेखि नै हुनुभएको जीवनको वचनको बारेमा, जुन हामीले सुनेका छौँ, हाम्रा आफ्नै आँखाले देखेका छौँ, हामीले विचार गरेका छौँ र हाम्रा आफ्नै हातहरूले छोएका छन् 2(अनि जीवन प्रकट गरियो र हामीले देखेका छौँ, गवाही दिन्छौँ, अनि तिमीहरूलाई अनन्त जीवन घोषणा गर्छौं जुन पितासँग थियो, र हामीलाई प्रकट गरिएको थियो); 3जुन हामीले देखेका र सुनेका छौँ, हामी तिमीहरूलाई पनि घोषणा गर्छौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस्। हाम्रो सङ्गति पिता र उहाँको पुत्र येशू ख्रीष्‍टसँग हुन्छ। 4र तिमीहरूको आनन्‍द पुरा होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्छौँ। 5हामीले उहाँबाट सुनेको वचन यही हो र हामी तिमीहरूलाई घोषणा गर्छौं, कि परमेश्‍वर ज्योति हुनुहुन्छ र उहाँमा कुनै अन्धकार छैन। 6हामीले उहाँसँग सगङ्‌ति गर्छौं भनी भन्‍छौँ र अन्धकारमा हिँड्छौँ भने, हामी झुट बोल्छौँ र सत्य व्यवहार गर्दैनौँ। 7तर उहाँ ज्योतिमा हुनुभएझैँ हामी ज्योतिमा हिँड्छौँ भने, हामी एक अर्कासँग सङ्‌गति गर्छौं, र उहाँका पुत्र येशू ख्रीष्‍टको रगतले हामीलाई हाम्रा सबै पापबाट शुद्ध पार्छ।

साँझको प्रार्थना: पाठ

याकूब 1:1–12

1परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टका सेवक याकूबबाट, छरपष्‍ट भएका बाह्र कुललाई अभिवादन। 2मेरा भाइहरू हो, तिमीहरूले अनेकौँ किसिमका समस्याहरूको अनुभव गर्दा त्यसलाई पूर्ण रूपमा आनन्द सम्झ, 3तिमीहरू जान्दछौ, कि तिमीहरूको विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँदछ। 4धैर्यलाई पूर्ण रूपमा काम गर्न देओ, ताकि तिमीहरू सम्पूर्ण रूपमा सुधारिएको र पूर्ण हुन सक र तिमीहरूमा कुनै कुराको कमी नहोस्। 5तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने, माग्‍ने जति सबैलाई उदारतासँग र नहप्काइकन दिनुहुने परमेश्‍वरसँग उसले मागोस् र उहाँले उसलाई त्यो दिनुहुनेछ। 6तर उसले शङ्का नगरी विश्‍वाससाथ मागोस्। किनभने शङ्का गर्नेचाहिँ बतासले हुत्त्याउने र यताउता पल्टाउने समुद्रको छालजस्‍तो हुन्छ। 7त्यस्तो व्यक्‍तिले परमप्रभुबाट कुनै पनि कुरा पाउनेछु भनी नसोचोस्। 8त्यस्तो व्यक्‍ति दोहोरो मनको हुन्छ, र आफ्ना सबै चालमा ऊ अस्थिर हुन्छ। 9दीन भाइले आफ्नो उच्‍च अवस्थामा गर्व गरोस्, 10तर धनी मानिसले आफ्नो दीनतामा गर्व गरोस्, किनभने ऊ घाँसमा फलेको जङ्गली फुलझैँ ओइलाएर बितिजानेछ। 11किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्‍छ। फुल झर्छ, र त्‍यसको सौन्‍दर्य नष्‍ट हुन्छ। त्यसै गरी, धनी मानिस आफ्नो यात्राको बिचमा नै बिलाएर जानेछ। 12त्‍यो मानिस धन्‍यको हो जो परीक्षामा स्‍थिर रहन्‍छ। किनभने परीक्षामा सफलता प्राप्‍त गरिसकेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्‍वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ।

साँझको प्रार्थना: पाठ

यहूदा 1:1–7, 17–25

1येशू ख्रीष्‍टका एक सेवक र याकूबका भाइ यहूदाबाट, बोलाइएकाहरू र परमेश्‍वर पितामा प्रिय अनि येशू ख्रीष्‍टको निम्ति राखिएकाहरूलाई, 2अनुग्रह, शान्ति र प्रेम तिमीहरूका निम्ति प्रशस्त हुँदै जाओस्। 3प्रियहरू, हाम्रो साझा मुक्तिको विषयमा मैले तिमीहरूलाई लेख्‍न प्रयत्‍न गर्दा, विश्‍वासीहरूलाई सधैँको निम्ति दिइएको विश्‍वासको लागि साँचो रूपमा सङ्घर्ष गर्न उपदेश दिनलाई मैले तिमीहरूलाई यो लेख्‍न आवश्यक भयो। 4किनकि तिमीहरूका माझमा कोही मानिसहरू गुप्‍त रूपमा घुसेका छन्। यी ती मानिसहरू हुन् जो दण्डको निम्ति चुनिएका थिए। यी परमेश्‍वरको भय नमान्‍ने मानिसहरू हुन् जसले परमेश्‍वरको अनुग्रहलाई कामुकताको निम्ति भ्रष्‍ट पार्दछन्, र हाम्रा एक मात्र मालिक र प्रभु येशू ख्रीष्‍टलाई इन्कार गर्दछन्। 5तिमीहरूले एक पटक यसलाई पूर्ण रूपमा जानेका भए, तापनि अब म तिमीहरूलाई यो सम्झना दिलाउन चाहन्छु, कि परमेश्‍वरले मिश्र देशबाट मानिसहरूलाई बचाउनुभयो, तर पछि विश्‍वास नगर्नेहरूलाई उहाँले नष्‍ट गर्नुभयो। 6आफ्नो अधिकारको प्रतिष्‍ठालाई कायम नगरेका तर आफ्नो उचित बासस्थानलाई त्यागेका स्वर्गदूतहरूलाई परमेश्‍वरले अनन्तका साङ्लाहरूमा त्यस महान् दिनमा इन्साफको निम्ति पूर्ण अन्धकारमा राख्‍नुभएको छ। 7यो त सदोम र गमोरा र वरपरका सहरहरूजस्तै हो, जसले आफैँलाई कामुक अनैतिकतामा संलग्‍न गराए र तिनीहरू अस्वाभाविक अभिलाषाहरूको निम्ति लागिपरे। अनन्तको आगोमा दण्ड भोग्‍नेहरूको उदाहरणको रूपमा तिनीहरू प्रकट गरिए। 17तर प्रिय हो, तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍टका प्रेरितहरूले पहिले बोलेका वचनहरूलाई स्मरण गर। 18उनीहरूले तिमीहरूलाई यसो भने, “अन्त्यको समयमा गिल्ला गर्नेहरू हुनेछन् जसले आफ्नै ईश्‍वरहीन अभिलाषाहरूलाई पछ्याउँछन्।” 19यी फुट ल्याउने मानिसहरू हुन्। तिनीहरू सांसारिक हुन् र तिनीहरूसँग पवित्र आत्मा छैन। 20तर मेरा प्रियहरू, तिमीहरू आफैँलाई सबैभन्दा पवित्र विश्‍वासमा निर्माण गर, र पवित्र आत्मामा प्रार्थना गर। 21तिमीहरू आफैँलाई परमेश्‍वरको प्रेममा राख, हाम्रा प्रभु येशू ख्रीष्‍टको कृपाको निम्ति प्रतिक्षा गर जसले तिमीहरूकहाँ अनन्त जीवन ल्याउँदछ। 22शङ्का गर्नेहरूसँग दयालु होओ। 23अरूहरूलाई आगोबाट बाहिर निकालेर बचाओ। अरूहरूसँग होसियारीसाथ दयालु होओ। शरीरद्वारा कलङ्‌कित भएको वस्‍त्रलाई समेत घृणा गर। 24अब तिमीहरूलाई लडखडाउनदेखि जोगाउन सक्‍नुहुने र उहाँको महिमामय उपस्थितिको सामु निष्कलङ्क बडो रमाहटसँग तिमीहरूलाई खडा हुन सक्षम बनाउनुहुने, 25हाम्रा उद्धारक एक मात्र परमेश्‍वरलाई सारा समयभन्दा पहिलेदेखि, अहिले र अनन्तसम्म हाम्रा प्रभु येशू ख्रीष्‍टबाट महिमा, गरिमा, प्रभुत्व र शक्‍ति रहिहोस्। आमेन।

बिहानको प्रार्थना: सुसमाचार

यूहन्ना 21:15–25

15तिनीहरूले खाजा खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ?” पत्रुसले उहाँलाई भने, “हो प्रभु, तपाईं जान्‍नुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा थुमाहरूलाई खुवाऊ।” 16उहाँले तिनलाई फेरि दोस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले उहाँलाई जवाफ दिए, “हो प्रभु, तपाईं जानुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूको हेरचाह गर।” 17उहाँले तिनलाई तेस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुस निराश भए, किनकि येशूले तिनलाई “के तिमी मलाई प्रेम गर्छौ?” भनी तेस्रो पटक सोध्‍नुभएको थियो। तिनले उहाँलाई भने, “प्रभु, तपाईं सबै थोक जानुहुन्छ, कि म तपाईंलाई प्रेम गर्छु।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ।” 18साँचो साँचो म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफैँ कपडा लगाउँथ्यौ र जहाँ जान चाहन्थ्यौ त्यतै जान्थ्यौ, तर जब तिमी वृद्ध हुन्छौ, तिमीले आफ्ना हात पसार्नेछौ र कसैले तिमीलाई कपडा लगाइदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमीलाई बोकेर लगिन्छ। 19पत्रुसले कस्तो किसिमको मृत्युले परमेश्‍वरलाई महिमा दिन्छ भनी सङ्केत गर्न येशूले यसो भन्‍नुभयो। उहाँले यो बताउनुभएपछि पत्रुसलाई भन्‍नुभयो, “मलाई पछ्याऊ।” 20पत्रुस फर्केर हेर्दा तिनले येशूले प्रेम गर्नुभएका चेला अर्थात् भोजमा येशूको छातीमा अडेस लगाएर बस्‍ने र उहाँलाई, “प्रभु, तपाईंलाई विश्‍वासघात गर्ने को हो?” भनी सोध्‍ने चेला उहाँहरूको पछिपछि आइरहेको देखे। 21पत्रुसले तिनलाई देखे, र येशूलाई भने, “प्रभु, यी मानिसले चाहिँ के गर्नेछन्?” 22येशूले तिनलाई भन्‍नुभयो, “यदि म नआउञ्‍जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त? मलाई पछ्याऊ।” 23त्यसैले, ती चेला मर्नेछैनन् भन्‍ने यो भनाइ भाइहरूमाझ फैलियो। तरै पनि येशूले पत्रुसलाई अर्का चेला मर्दैनन् भन्‍नुभएन, तर “यदि म नआउञ्‍जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त?” भन्‍नुभएको थियो। 24यी कुराहरूको गवाही दिने, र यी कुराहरू लेख्‍ने यिनै चेला हुन्, र हामी जान्‍दछौँ, कि तिनको गवाही सत्य छ। 25येशूले गर्नुभएका अरू धेरै कुराहरू पनि छन्। यदि ती सबै लेखिएका भए, मलाई लाग्छ, ती लेखिएका पुस्तकहरू संसारमा पनि अटाउने थिएनन्।

पत्र

२ कोरिन्थी 5:1–10

1हामी जान्दछौँ, कि हामीले बास गरेको यो यो पार्थिव शरीर नष्‍ट भयो भने पनि हामीसँग परमेश्‍वरले दिनुभएको भवन छ। यो मानिसको हातले बनाएको घर होइन, तर स्वर्गमा रहेको अनन्तसम्म रहने घर हो। 2किनकि हाम्रो स्वर्गीय बासस्थानको पोशाक पहिरिने आशामा हामी यो पालमा पीडाले आर्तनाद गर्छौं। 3हामी यसको इच्छा गर्छौं किनकि यसलाई पहिरिएपछि हामी नाङ्गा हुनेछैनौँ। 4किनकि जबसम्म हामी यस पालमा छौँ, बोझले भरिएर हामी आर्तनाद गर्छौं। हामी निर्वस्‍त्र हुन चाहँदैनौँ। तर जे मरणशील छ, त्यो जीवनमा समावेश होस् भनेर हामी वस्‍त्र पहिरन चाहन्छौँ। 5हामीलाई यसको निम्ति तयार गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ, जसले हाम्रो निम्ति पछि आउने कुराको बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ। 6त्यसैले, सधैँ विश्‍वस्त रहो। यो जानी राख कि जब हामी हाम्रो शारीरिक घरमा रहन्छौँ, हामी परमेश्‍वरबाट टाढा रहन्छौँ। 7हामी विश्‍वासद्वारा हिँड्छौँ, देखिने कुराको आधारमा होइन। 8त्यसैले, हामी विश्‍वस्‍त छौँ। हामी शरीरबाट टाढा रहेर प्रभुसँग हुन रुचाउँछौँ। 9त्यसैले, घरमा वा त्यसबाट टाढा जहाँ रहे पनि हाम्रो उद्देश्य उहाँलाई प्रसन्‍न पार्नु हो। 10किनकि हामी सबै ख्रीष्‍टको न्याय आसनको अगाडि खडा हुनुपर्छ, ताकि हरेकले शरीरमा हुँदा गरेको असल वा खराब कार्यको निम्ति प्रतिफल पाओस्।

पत्र (सन्त लूकाका निम्ति)

कलस्सी 4:5–9, 14, 18

5बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर्दै हिँड, अनि तिमीहरूको समयलाई बुद्धिमानीपूर्वक प्रयोग गर। 6तिमीहरूका वचनहरू सधैँ अनुग्रहसहित होस्। तिनीहरू नुनले स्वादिलो पारिएको जस्तै होऊन्, र हरेक मानिसलाई तिमीहरूले कसरी जवाफ दिनुपर्छ, सो तिमीहरूले जान्‍न सक। 7तुखिकसले मेरो बारेमा सबै कुराहरू तिमीहरूलाई बताउनेछन्। तिनीचाहिँ मेरा प्रिय भाइ, विश्‍वासयोग्य दास र प्रभुमा सङ्गी सेवक हुन्। 8यही कार्यको निम्ति मैले तिनलाई तिमीहरूकहाँ पठाएँ, ताकि तिमीहरूले हामीहरूको विषयमा जान्‍न सक, र तिनले तिमीहरूका हृदयलाई प्रोत्साहित पार्न सकून्। 9तिमीहरूमध्येका एक, विश्‍वासयोग्य र प्रिय भाइ ओनेसिमससँगै मैले तिनलाई तिमीहरूकहाँ पठाएँ। तिनीहरूले यहाँ भएका सबै कुराहरू तिमीहरूलाई बताउँनेछन्। 14प्रिय चिकित्सक लूका र डेमासले तिमीहरूलाई अभिवादन पठाएका छन्। 18यो अभिवादनको पत्र म पावलको आफ्नै हातले लेखेको हुँ। मेरा साङ्लाहरूलाई याद गर। तिमीहरूमा अनुग्रह होस्।

सुसमाचार

लुका 6:1–10

1अब विश्रामको दिनमा यस्तो भयो कि येशू चेलाहरूसँग अन्‍नको खेतको बाटो भएर जाँदै गर्नुहुँदा तिनीहरूले हातले अन्‍नका बाला टिप्दै र तिनीहरूका हातमा माडिरहेका र अन्‍न खाइरहेका थिए। 2तर केही फरिसीहरूले भने, “किन तिमीहरूले विश्रामको दिनमा व्यवस्थाअनुसार गर्न नहुने काम गरिरहेका छौ?” 3येशूले तिनीहरूलाई जवाफ दिँदै भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू भोकाएका बेला दाऊदले के गरे भनी तिमीहरूले पढेका छैनौ? 4तिनी परमेश्‍वरको भवनभित्र पसेर पूजारीहरूले बाहेक अरूले खान निषेध गरिएको परमेश्‍वरको उपस्थितिको रोटीबाट आफूले केही खाए र केही आफूसँग भएका मानिसहरूलाई पनि दिए।” 5तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र विश्राम दिनको पनि प्रभु हो।” 6अर्को विश्राममा यसो भयो कि उहाँ सभाघरमा जानुभयो र त्यहाँ भएका मानिसहरूलाई सिकाउनुभयो। त्यहाँ दाहिने हात सुकेको एक जना मानिस थियो। 7उहाँले विश्रामको दिनमा कसैलाई निको पार्नुहुन्छ कि हुन्‍न भनेर शास्‍त्रीहरू र फरिसीहरूले नजिकबाट उहाँलाई नियाली राखेका थिए ताकि तिनीहरूले उहाँलाई केही गल्ती गरेको कारण दोष भेट्टाउन सकियोस्। 8तर तिनीहरूले के सोचिरहेका थिए भनी उहाँलाई थाहा थियो, र हात सुकेको मानिसलाई भन्‍नुभयो, “उठ र सबैका बिचमा खडा होऊ।” त्यसकारण, त्यो मानिस उठ्यो र त्यहाँ सबैका बिचमा उभियो। 9येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई सोध्छु, विश्रामको दिनमा कसैको असल गर्नु वा हानि गर्नु, जीवन बचाउनु वा नाश गर्नु कुन ठिक हो?” 10तब उहाँले तिनीहरूका वरिपरि हेर्नुभयो र त्यस मानिसलाई भन्‍नुभयो, “तेरो हात पसार्।” उसले त्यसै गर्‍यो र उसको हात पहिलाको जस्तै भयो।

सुसमाचार (सन्त लूकाका निम्ति)

लुका 10:16–21

16जसले तिमीहरूले भनेको सुन्छ, त्यसले मैले भनेको सुन्छ, जसले तिमीहरूलाई इन्कार गर्छ, त्यसले मलाई इन्कार गर्छ, र जसले मलाई इन्कार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई इन्कार गर्छ। 17सत्तरी जना आनन्दित हुँदै फर्के र भने, “प्रभु, तपाईंको नाउँमा भूतहरू पनि हाम्रो वशमा आउँछन्।” 18येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुलीजस्तै खसेको देखिरहेको थिएँ। 19हेर, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्‍तिमाथि कुल्चने अधिकार दिएको छु र कुनै कुराले तिमीहरूलाई हानि पुर्‍याउनेछैन। 20तथापि आत्माहरू तिमीहरूको वशमा पर्छन् भनेर मात्र नरमाओ, तर तिमीहरूको नाम स्वर्गमा लेखिएका छन् भनेर अझ बढी आनन्दित होओ।” 21त्यही समय उहाँ पवित्र आत्मामा आनन्दित हुनुभयो, “हे पिता, पृथ्वी र स्वर्गका प्रभु, म तपाईंको प्रशंसा गर्छु, किनभने तपाईंले यी कुराहरू बुद्धिमान् र समझदारहरूबाट लुकाउनुभयो र साना बालकहरूजस्ता अन्जानहरूलाई प्रकट गर्नुभयो। हे पिता, किनभने यो नै तपाईंको दृष्‍टिमा असल थियो।”

मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको अक्टोबर 18 नागरिक पात्रोमा अक्टोबर 31 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार