Bible Explorer एप लिनुहोस्

बाइबल › लुका › 6

ULB · अध्याय 6 / 24

लुका 6

1अब विश्रामको दिनमा यस्तो भयो कि येशू चेलाहरूसँग अन्‍नको खेतको बाटो भएर जाँदै गर्नुहुँदा तिनीहरूले हातले अन्‍नका बाला टिप्दै र तिनीहरूका हातमा माडिरहेका र अन्‍न खाइरहेका थिए।

2तर केही फरिसीहरूले भने, “किन तिमीहरूले विश्रामको दिनमा व्यवस्थाअनुसार गर्न नहुने काम गरिरहेका छौ?”

3येशूले तिनीहरूलाई जवाफ दिँदै भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू भोकाएका बेला दाऊदले के गरे भनी तिमीहरूले पढेका छैनौ?

4तिनी परमेश्‍वरको भवनभित्र पसेर पूजारीहरूले बाहेक अरूले खान निषेध गरिएको परमेश्‍वरको उपस्थितिको रोटीबाट आफूले केही खाए र केही आफूसँग भएका मानिसहरूलाई पनि दिए।”

5तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र विश्राम दिनको पनि प्रभु हो।”

6अर्को विश्राममा यसो भयो कि उहाँ सभाघरमा जानुभयो र त्यहाँ भएका मानिसहरूलाई सिकाउनुभयो। त्यहाँ दाहिने हात सुकेको एक जना मानिस थियो।

7उहाँले विश्रामको दिनमा कसैलाई निको पार्नुहुन्छ कि हुन्‍न भनेर शास्‍त्रीहरू र फरिसीहरूले नजिकबाट उहाँलाई नियाली राखेका थिए ताकि तिनीहरूले उहाँलाई केही गल्ती गरेको कारण दोष भेट्टाउन सकियोस्।

8तर तिनीहरूले के सोचिरहेका थिए भनी उहाँलाई थाहा थियो, र हात सुकेको मानिसलाई भन्‍नुभयो, “उठ र सबैका बिचमा खडा होऊ।” त्यसकारण, त्यो मानिस उठ्यो र त्यहाँ सबैका बिचमा उभियो।

9येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई सोध्छु, विश्रामको दिनमा कसैको असल गर्नु वा हानि गर्नु, जीवन बचाउनु वा नाश गर्नु कुन ठिक हो?”

10तब उहाँले तिनीहरूका वरिपरि हेर्नुभयो र त्यस मानिसलाई भन्‍नुभयो, “तेरो हात पसार्।” उसले त्यसै गर्‍यो र उसको हात पहिलाको जस्तै भयो।

11तर तिनीहरू रिसले चूर भए र येशूको बारेमा के गर्न सकिन्छ भनी एक अर्कामा कुराकानी गरे।

12उहाँ डाँडामा प्रार्थना गर्न जानुभएको बेला ती दिनहरूमा यसो भएको हो। उहाँले परमेश्‍वरसँग रातभर निरन्तर प्रार्थनामा बिताउनुभयो।

13जब उज्यालो भइसकेको थियो। उहाँले चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूमध्येबाट बाह्र जनालाई चुन्‍नुभयो जसलाई “प्रेरित” नाउँ दिनुभयो।

14पप्रेरितहरूका नाउँहरू थिएः सिमोन (जसलाई उहाँले पत्रुस भनी नाउँ दिनुभयो) र उनका भाइ अन्द्रियास, याकूब, यूहन्‍ना, फिलिप, बारथोलोमाइ,

15मत्ती, थोमा, अल्फयासका छोरा याकूब, सिमोन जसलाई विद्रोही भनिन्थ्यो,

16याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो एक धोकेबाज हुन पुग्यो।

17त्यसपछि येशू तिनीहरूसँगै डाँडाबाट तल ओर्लनुभयो र समथर ठाउँमा उभिनुभयो। त्यहाँ उहाँका चेलाहरूको ठुलो भिड थियो र त्यसै गरी ठुलो सङ्ख्यामा यहूदिया, र यरूशलेम, र सिदोन, टुरोसको समुद्री तटका बासिन्दाहरू पनि थिए।

18तिनीहरू उहाँका वचन सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुनलाई आएका थिए। अशुद्ध आत्माले सताइएका मानिसहरू पनि निको भए।

19भभिडमा भएका सबैले उहाँलाई छुन खोजे, किनभने निको पार्ने शक्‍ति उहाँबाट गइहेको थियो र उहाँले सबैलाई निको पार्नुभयो।

20उहाँले चेलाहरूतर्फ हेर्नुभयो र भन्‍नुभयो, “धन्य तिमीहरू जो दीन छौ, परमेश्‍वरको राज्य तिमीहरूकै हो।

21धन्य तिमीहरू जो अहिले भोकाउँदछौ, तिमीहरू तृप्‍त हुनेछौ। धन्य तिमीहरू जो अहिले रुन्छौ, तिमीहरू हाँस्‍नेछौ।

22जब मानिसका पुत्रका खातिर बहिष्कार गरी साथीहरूबाट अलग गरेर तिमीहरूलाई निकाल्दछन् र दुष्‍ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्दछन्। धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई घृणा गर्दछन्।

23त्यसदिन तिमीहरू रमाओ र आनन्दले उफ्र, किनकि निश्‍चय नै स्वर्गमा तिमीहरूका लागि ठुलो इनाम हुनेछ। किनकि तिनीहरूका पुर्खाहरूले पनि अगमवक्‍ताहरूलाई त्यसै गरेका थिए।

24तर धिक्‍कार तिमीहरू जो धनी छौ! तिमीहरूले आफ्ना सान्त्वना पाइसकेका छौ।

25धिक्‍कार तिमीहरूलाई जो आहिले तृप्‍त छौ! तिमीहरू पछि भोकाउनेछौ। धिक्‍कार तिमीहरू जो अहिले हाँस्‍छौ! तिमीहरू पछि रुनेछौ र विलाप गर्नेछौ।

26धिक्‍कार तिमीहरू मानिसहरूबाट प्रशंसा पाउनेहरू! तिम्रा पुर्खाहरूले झुटा अगमवक्‍ताहरूलाई पनि त्यसै गरेका थिए।

27तर म तिमीहरूलाई भन्दछु जसले सुनिरहेका छौ, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर।

28तिमीहरूलाई सराप्‍नेहरूलाई आशिष्‌ देऊ र तिमीहरूलाई दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर।

29तिम्रो एउटा गालामा हिर्काउनेलाई अर्को पनि थापिदेऊ। यदि कसैले तिम्रो कोट खोस्‍छ भने उसलाई दौरा पनि दिइहाल।

30तिमीसँग माग्‍ने सबैलाई देऊ। यदि कसैले तिम्रो केही कुरा लगेमा त्यससँग फिर्ता नमाग।

31मानिसहरूले तिमीलाई जसो गरेको चाहन्छौ, तिमीले पनि तिनीहरूलाई त्यस्तै गर्नुपर्छ।

32तिमीलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने के लाभ भयो र? किनकि पापीहरूले पनि तिनीहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छन्।

33यदि तिमीहरूलाई असल गर्नेलाई मात्र असल गर्छौ भने के लाभ भयो र? पापीहरूले पनि त त्यसै गर्छन्।

34यदि तिमीले तिनीहरूले फिर्ता गर्न सक्छन् भन्‍ने आशामा मात्र ऋण दिन्छौ भने तिमीलाई के लाभ भयो र? पापीहरूले पनि पापीहरूलाई ऋण दिन्छन् र उत्तिकै मात्रामा फिर्ता पाउने आशा राख्दछन्।

35तर तिम्रा शत्रुहरूलाई प्रेम गर र तिनीहरूको भलाइ गर। पैँचो माग्‍नेहरूलाई केही पनि फिर्ता पाउने आशा नगरीकन देऊ ताकि तिम्रो इनाम ठुलो हुनेछ। तिमी सर्वोच्‍चका छोराहरू हुनेछौ, किनकि उहाँ आफैँ अधन्यवादी र खराब मानिसहरूप्रति कृपालु हुनुहुन्छ।

36तिम्रा पिता कृपालु हुनुभएझैँ तिमी पनि कृपालु होऊ।

37कसैको न्याय नगर र तिम्रो न्याय गरिनेछैन। दोष नलगाऊ र तिमी दोषी ठहरिनेछैनौ; अरूलाई क्षमा देऊ र तिमीलाई पनि क्षमा गरिनेछ।

38अरूहरूलाई देऊ र तिमीहरूलाई पनि दिइनेछ। प्रशस्त परिमाणमा खाँदी-खाँदी, हल्लाई-हल्लाई पोखिने गरी, तिनीहरूले तिमीहरूका पोल्टामा खन्याउनेछन्। जुन नापले तिमीहरू नाप्‍तछौ, त्यहीँ नापले तिमीहरू पनि नापिनेछौ।”

39त्यसपछि उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्त पनि भन्‍नुभयो, “के एक जना अन्धा मानिसले अर्को अन्धा मानिसलाई डोर्‍याउन सक्छ? त्यसो गरे दुवै जना खाल्डोमा पर्दैनन् र?

40एउटा चेला आफ्नो गुरुभन्दा महान् हुन सक्दैन। तर हेरक जसले तालिम प्राप्‍त गर्छ, तब ऊ आफ्नो गुरुजस्तै हुनेछ।

41तिमीले तिम्रो भाइको आँखामा मात्र किन सानो कसिङ्गर देख्‍तछौ तर आफ्नै आँखामा भएको मुढाचाहिँ किन देख्दैनौ?

42कसरी तिमीले आफ्नो भाइलाई भन्‍न सक्छौ, भाइ मलाई तिम्रा आँखामा भएको कसिङ्गर निकाल्न देऊ जब कि तिमीले आफ्नै आँखामा भएको मुढा देख्दैनौ? हे पाखण्डी हो! पहिले तिम्रा आँखाबाट मुढा निकाल तब तिमीले तिम्रो भाइको आँखामा भएको कसिङ्गर निकाल्न स्पष्‍टसँग देख्‍नेछौ।

43किनकि कुनै असल रुखले कुहिएको फल फलाउँदैन, न त कुहिएको रुखले असल फल फलाउन सक्छ।

44किनभने प्रत्येक रुख त्यसको फलले नै चिनिन्छ। किनकि काँडाको रुखबाट कसैले अञ्‍जीर बटुल्न सक्दैन, न त काँडे झाडीबाट अङ्गुर बटुल्न सक्छ।

45असल मान्छेले आफ्नो हृदयको भण्डारबाट असल कुरा निकाल्छ र खराब मान्छेले आफ्नो हृदयको भण्डारबाट खराब कुरा नै निकाल्दछ। किनकि उसले आफ्नो हृदयको प्रशस्तबाट त्यही बोल्दछ र जे भण्डार गरी राखेको छ, त्यहीँ निकाल्छ।

46तिमीहरू मलाई किन “प्रभु, प्रभु” भन्दछौ, जब कि मैले भनेका कुराहरूचाहिँ तिमीहरूले पालना गर्दैनौ?

47हरेक व्यक्‍ति जो मकहाँ आउँछ र मेरा वचन सुन्छ र पालन गर्छ, म तिमीहरूलाई भन्दछु, ऊ कस्तो मानिस हो।

48ऊ एक जना घर बनाउने मानिसजस्तो हो, जसले जमिन गहिरो गरी खन्यो र घरको जग बलियो चट्टानमाथि बसाल्यो। जब जलप्रवाह भयो, तब बाढी उर्ली आएर त्यस घरलाई प्रहार गर्‍यो, तर त्यसलाई हल्लाउन सकेन, किनभने त्यो राम्ररी बनाइएको थियो।

49तर एक जना मानिस जसले मेरा वचनहरू सुन्छ र पालन गर्दैन्, त्यो मानिस जमिनमाथि विनाजग घर बनाउने मानिसजस्तो हो। जब जलप्रवाह उर्ली आयो र त्यस घरलाई प्रहार गर्‍यो तब त्यो घर तुरुन्तै ढली हाल्यो र त्यस घरको पुरै विनाश भयो।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org