गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2026 नोभेम्बर › नोभेम्बर 1
अर्थोडक्स पात्रो · अक्टोबर 19 (पुरानो शैली)
अर्थोडक्स दैनिक पाठहरू — 2026 नोभेम्बर 1
आइतबार · स्वर 5
पर्व र सन्तहरू
पेन्तिकोसपछिको 22औँ आइतबार
उपवास
उपवास छैन
यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।
दिनका पाठहरू
बिहानको प्रार्थनाको 11औँ सुसमाचार
15तिनीहरूले खाजा खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ?” पत्रुसले उहाँलाई भने, “हो प्रभु, तपाईं जान्नुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु।” येशूले तिनलाई भन्नुभयो, “मेरा थुमाहरूलाई खुवाऊ।” 16उहाँले तिनलाई फेरि दोस्रो पटक भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले उहाँलाई जवाफ दिए, “हो प्रभु, तपाईं जानुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु।” येशूले तिनलाई भन्नुभयो, “मेरा भेडाहरूको हेरचाह गर।” 17उहाँले तिनलाई तेस्रो पटक भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुस निराश भए, किनकि येशूले तिनलाई “के तिमी मलाई प्रेम गर्छौ?” भनी तेस्रो पटक सोध्नुभएको थियो। तिनले उहाँलाई भने, “प्रभु, तपाईं सबै थोक जानुहुन्छ, कि म तपाईंलाई प्रेम गर्छु।” येशूले तिनलाई भन्नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ।” 18साँचो साँचो म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफैँ कपडा लगाउँथ्यौ र जहाँ जान चाहन्थ्यौ त्यतै जान्थ्यौ, तर जब तिमी वृद्ध हुन्छौ, तिमीले आफ्ना हात पसार्नेछौ र कसैले तिमीलाई कपडा लगाइदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमीलाई बोकेर लगिन्छ। 19पत्रुसले कस्तो किसिमको मृत्युले परमेश्वरलाई महिमा दिन्छ भनी सङ्केत गर्न येशूले यसो भन्नुभयो। उहाँले यो बताउनुभएपछि पत्रुसलाई भन्नुभयो, “मलाई पछ्याऊ।” 20पत्रुस फर्केर हेर्दा तिनले येशूले प्रेम गर्नुभएका चेला अर्थात् भोजमा येशूको छातीमा अडेस लगाएर बस्ने र उहाँलाई, “प्रभु, तपाईंलाई विश्वासघात गर्ने को हो?” भनी सोध्ने चेला उहाँहरूको पछिपछि आइरहेको देखे। 21पत्रुसले तिनलाई देखे, र येशूलाई भने, “प्रभु, यी मानिसले चाहिँ के गर्नेछन्?” 22येशूले तिनलाई भन्नुभयो, “यदि म नआउञ्जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त? मलाई पछ्याऊ।” 23त्यसैले, ती चेला मर्नेछैनन् भन्ने यो भनाइ भाइहरूमाझ फैलियो। तरै पनि येशूले पत्रुसलाई अर्का चेला मर्दैनन् भन्नुभएन, तर “यदि म नआउञ्जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त?” भन्नुभएको थियो। 24यी कुराहरूको गवाही दिने, र यी कुराहरू लेख्ने यिनै चेला हुन्, र हामी जान्दछौँ, कि तिनको गवाही सत्य छ। 25येशूले गर्नुभएका अरू धेरै कुराहरू पनि छन्। यदि ती सबै लेखिएका भए, मलाई लाग्छ, ती लेखिएका पुस्तकहरू संसारमा पनि अटाउने थिएनन्।
पत्र
11हेर मैले आफ्नै हातले कति ठुला-ठुला अक्षरहरूमा तिमीहरूलाई लेखिरहेछु। 12शारीरिक रूपमा प्रभाव पार्न चाहनेहरूले तिमीहरूलाई खतना गर्न बाध्य गराउँछन्। ख्रीष्टको क्रुसको खातिर सतावट भोग्नु नपरोस् भनेर मात्र तिनीहरूले यसो गर्छन्। 13किनकि खतना भएकाहरूले नै व्यवस्थाको पालन गरेका हुँदैनन्। बरु, तिमीहरूका शरीरका विषयमा घमण्ड गर्न सकून् भनेर तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन्। 14हाम्रा प्रभु येशू ख्रीष्टको क्रुसबाहेक मैले अरू कुनै कुरामा कहिल्यै गर्व गर्न नपरोस्। उहाँद्वारा नै म संसारको लागि र संसार मेरो लागि क्रुसमा टाँगिएको छ। 15किनकि न त खतना न बेखतना कुनै मूल्यको हो। बरु, नयाँ सृष्टि महत्त्वपूर्ण छ। 16यही नियमअनुसार जिउने सबैमा अनि परमेश्वरको इस्राएलमा शान्ति र कृपा रहोस्। 17अब उप्रान्त मलाई कसैले दु:ख नदेओस्, किनकि म आफ्नो शरीरमा येशूका चिन्हहरू धारण गर्दछु। 18भाइहरू हो, तिमीहरूका आत्मामा हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह रहोस्। आमेन।
सुसमाचार
5“एउटा बिउ छर्ने केही बिउहरू छर्नलाई निस्क्यो। उसले छर्दा केही बिउहरू बाटोमा परे र ती बिउहरू खुट्टाले कुल्चिए, र आकाशका चराहरूले ती खाए। 6अरू बिउ ढुङ्गेनी जमिनमा परे र चाँडै ती बोटको रूपमा बढे र सुकिहाले, किनकि त्यो जमिन ओबानो थियो। 7अझै अरू बिउहरू काँढाँका बिरुवाहरूमा परे, र बिउहरू सँगसँगै बिरुवाहरू पनि बढे र बिउहरूलाई काँढे झाडीले निसासिदियो। 8तर केही बिउहरू असल जमिनमा परे र सय गुणा फल फलाए।” येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँले बोलाउनुभयो, जससँग सुन्ने कानहरू छन् त्यसले सुनोस्। 9त्यसपछि उहाँका चेलाहरूले उहाँलाई यो दृष्टान्तको अर्थ के हुन सक्छ भनी सोधे। 10येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई परमेश्वरका राज्यका रहस्यका कुराहरू बुझ्ने अवसर दिइएको छ, तर बाँकी मानिसहरूलाई दृष्टान्तमा सिकाइने छ। त्यसकारण ‘वास्तवमा तिनीहरूले हेरेर पनि देख्नेछैनन्, सुनेर पनि बुझ्नेछैनन्।’ 11अब दृष्टान्तको अर्थ यही होः बिउ परमेश्वरको वचन हो। 12बाटोको किनारमा परेका बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, तर दुष्ट आउँछ र तिनीहरूको हृदयमा भएका वचन खोसेर लैजान्छ ताकि तिनीहरूले विश्वास नगरून् र नबाँचून्। 13त्यसपछि ढुङ्गेनी जमिनमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, खुसीसाथ ग्रहण गर्छन्, तर तिनीहरूको गहिराइ नभएकोले केवल एक क्षणका लागि मात्र विश्वास गर्छन् र जाँचको समयमा तिनीहरू पतन भएर जान्छन्। 14काँडाको झाडीमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुनेका छन्, तर जीवन जिउने क्रममा, संसारका धन सम्पत्तिको फिक्री, सुख विलासका कारण निसासिएर परिपक्व फल फलाउन सक्दैनन्। 15तर असल जमिनमा परेका बिउ ती मानिसहरूजस्तउ हुन्, जसले इमानदार र असल हृदयसाथ वचन सुनेर यसलाई सुरक्षितसाथ पक्री राख्छन् र धैर्यसाथ फल फलाउँछन्।
मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको अक्टोबर 19 नागरिक पात्रोमा नोभेम्बर 1 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार