Bible Explorer एप लिनुहोस्

बाइबल › लुका › 10

ULB · अध्याय 10 / 24

लुका 10

1अब यी कुराहरूपछि, प्रभुले अरू सत्तरी जनालाई नियुक्‍त गर्नुभयो, र जहाँ उहाँ आफैँ जान चाहनुहुन्थ्यो हरेक सहर र ठाउँमा तिनीहरूलाई उहाँको अगि-अगि जोडी-जोडी बनाएर पठाउनुभयो।

2उहाँले तिनीहरूलाई भन्‍नुभयो, “फसल प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। यसकारण फसलका प्रभुसँग जरुरी प्रार्थना गर, ताकि उहाँले खेतालाहरूलाई उहाँको फसलमा पठाऊन्।

3तिम्रो मार्गमा गई राख। हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बिचमा भेडाजस्तै पठाउँदै छु।

4पैसाको थैली नबोक, यात्राको निम्ति झोला नबोक, न त फाल्तु चप्पलहरू, र बाटोमा कसैलाई अभिवादन नगर।

5तिमीहरू जुन घरमा पस्छौ, पहिला यसो भन “यस घरमा शान्ति होस्।”

6यदि एउटा शान्तिको मानिस त्यहाँ छ भने, तिमीहरूको शान्ति उसँग रहनेछ, तर यदि होइन भने, यो तिमीहरूमा नै फर्कनेछ।

7तिनीहरूले जे दिन्छन्, त्यहीँ खादै र पिउँदै त्यही घरमा रहो, किनकि खेताला उसको ज्यालाको योग्य हुन्छ। एउटा घरबाट अर्को घरमा नजाओ।

8तिमीहरू जुन सहरमा जान्छौ, त्यहाँ तिनीहरूले स्वागत गरे भने तिमीहरूका अगि जे राखिएको छ खाओ,

9र त्यहाँ भएका बिरामीहरूलाई निको पार। तिनीहरूलाई भन, “परमेश्‍वरको राज्य तिमीहरूको नजिक आएको छ।”

10तर तिमीहरू जुन सहरमा प्रवेश गर्छौ र तिनीहरूले तिमीहरूलाई स्वागत गरेनन् भने, त्यस सहरका सडकहरूमा गएर यसो भन,

11“तिमीहरूको सहरबाट हाम्रा खुट्टाहरूमा टाँसिएका धुला पनि तिमीहरूको विरुद्ध टकटकाउदँ छौ। तर यो जान कि परमेश्‍वरको राज्य तिमीहरूको नजिक आएको छ।”

12म तिमीहरूलाई भन्दछु, कि न्यायको दिन त्यस सहरलाई भन्दा सदोमका निम्ति सह्‍य हुनेछ।

13खोराजीन, तँलाई धिक्‍कार छ! बेथसेदा, तँलाई पनि धिक्‍कार छ! यदि तिमीहरूमा गरिएका शक्‍तिशाली कामहरू टुरोस र सिदोनमा गरिएका भए, तिनीहरूले भाङ्ग्रा र खरानी लगाएर पश्‍चात्ताप गरिसक्थे।

14तर न्यायको दिनमा तिमीहरूलाई भन्दा टुरोस र सदोमलाई बढी सहज हुनेछ।

15तँ कफर्नहुम, के तँ स्वर्गतिर उचालिन्छस् जस्तो लाग्छ? होइन, तँलाई पातालमा ल्याइनेछ।

16जसले तिमीहरूले भनेको सुन्छ, त्यसले मैले भनेको सुन्छ, जसले तिमीहरूलाई इन्कार गर्छ, त्यसले मलाई इन्कार गर्छ, र जसले मलाई इन्कार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई इन्कार गर्छ।

17सत्तरी जना आनन्दित हुँदै फर्के र भने, “प्रभु, तपाईंको नाउँमा भूतहरू पनि हाम्रो वशमा आउँछन्।”

18येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुलीजस्तै खसेको देखिरहेको थिएँ।

19हेर, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्‍तिमाथि कुल्चने अधिकार दिएको छु र कुनै कुराले तिमीहरूलाई हानि पुर्‍याउनेछैन।

20तथापि आत्माहरू तिमीहरूको वशमा पर्छन् भनेर मात्र नरमाओ, तर तिमीहरूको नाम स्वर्गमा लेखिएका छन् भनेर अझ बढी आनन्दित होओ।”

21त्यही समय उहाँ पवित्र आत्मामा आनन्दित हुनुभयो, “हे पिता, पृथ्वी र स्वर्गका प्रभु, म तपाईंको प्रशंसा गर्छु, किनभने तपाईंले यी कुराहरू बुद्धिमान् र समझदारहरूबाट लुकाउनुभयो र साना बालकहरूजस्ता अन्जानहरूलाई प्रकट गर्नुभयो। हे पिता, किनभने यो नै तपाईंको दृष्‍टिमा असल थियो।”

22सबै कुराहरू पिताबाट मलाई सुम्पिएको छ र पितालेबाहेक पुत्र को हो भनी कसैले जान्दैन र पुत्रले उहाँलाई प्रकट गर्ने इच्छा गरेकोले बाहेक पिता को हो भनी कसैले जान्दैन।”

23चेलाहरूतिर फर्केर उहाँले गुप्‍त रूपले भन्‍नुभयो, “तिमीहरूले देखेका कुरा देख्‍नेहरू धन्यका हुन्।

24म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्‍ताहरू र राजाहरूले तिमीहरूले देखेको कुरा देख्‍ने इच्छा गरे र तिनीहरूले देखेनन्, तिमीहरूले सुनेको कुरा सुन्‍ने इच्छा गरे र पनि तिनीहरूले सुनेनन्।”

25हेर, एउटा यहूदी व्यवस्थाका शिक्षक खडा भएर यसो भन्दै उहाँलाई जाँचे “गुरु, मैले अनन्त जीवन पाउन के गर्नुपर्छ?”

26येशूले तिनलाई भन्‍नुभयो, “व्यवस्थामा के लेखिएको छ? तिमीहरू यसलाई कसरी पढ्छौ?”

27तिनले जवाफ दिँदै भने, “तिमीले आफ्ना सारा हृदयले, आफ्ना सारा प्राणले, आफ्ना सारा सामर्थ्यले र आफ्ना सारा मनले परमेश्‍वरलाई प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर्नू।”

28येशूले तिनलाई भन्‍नुभयो, “तिमीले ठिकसँग जवाफ दियौ। यसै गर, र तिमी बाँच्‍नेछौ।”

29तर ती व्यवस्थाको शिक्षकले आफैँलाई धर्मी ठहराउने विचारले येशूलाई यसो भने, “मेरो छिमेकी को हो?”

30येशूले जवाफ दिँदै भन्‍नुभयो, एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदै थियो। ऊ लुटेराहरूको हातमा पर्‍यो, जसले उसका सम्पत्तिहरू लुटे र उसलाई पिटे, अनि उसलाई अर्ध-मृत अवस्थामा छोडे।

31त्यसै बेला एक जना पुजारी त्यही बाटो भएर झरे र जब उनले त्यसलाई देखे, तिनी अर्को छेउबाट भएर गए।

32यसै गरी, एक जना लेवी पनि त्यस ठाउँमा आइपुगे र त्यसलाई देखे र अर्को छेउबाट भएर गए।

33तर एक जना सामरी पनि यात्रा गर्दा त्यो भएको ठाउँमा आइपुगे। जब उनले त्यसलाई देखे, उनी दयाले भरिए।

34उनी त्यसको नजिक गए र उसको घाउमा पट्टी बाँधिदिए अनि तेल र दाखमद्य लगाइदिए। उनले आफ्नो जनावरमाथि राखेर त्यसलाई धर्मशालामा ल्याए र उसको हेरचाह गरे।

35अर्को दिन उनले दुई दिनार झिकेर धर्मशालाका चौकीदारलाई दिएर भने, “यसको हेरचाह गर, तिमीले गरेको अन्य खर्च पछि म फर्कंदा तिमीलाई तिर्नेछु।”

36यी लुटेराहरूको हातमा पर्नेको छिमेकी यी तिनजनामध्ये कुनचाहिँ हो जस्तो तिमीलाई लाग्छ?”

37ती शिक्षकले भने, “जसले त्यसलाई दया देखायो।” येशूले तिनलाई भन्‍नुभयो, “जाऊ र तिमीले पनि त्यसै गर।”

38जब तिनीहरू यात्रा गरिरहेका थिए, उहाँ एउटा गाउँमा पस्‍नुभयो, र मार्था नाउँ गरेकी एउटी स्‍त्रीले उहाँलाई तिनको घरमा स्वागत गरिन्।

39मरियम नाउँ गरेकी तिनकी एउटी बहिनी थिइन्, जो प्रभुको चरणमा बसेर उहाँका वचन सुन्दथिन्।

40तर मार्था खाना पकाउने काममा अत्ति नै व्यस्त थिइन्। तिनी येशूकहाँ आइन्, र भनिन्, “प्रभु, मेरी बहिनीले पकाउने काममा मलाई एकलै छोडेकी तपाईंलाई थाहा छैन? त्यसकारण, मलाई सहायता गर्न तिनलाई भनिदिनुहोस्।”

41तर प्रभुले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराको बारेमा चिन्ता गर्दछ्यौ।

42तर एउटा मात्र कुरा आवश्यक छ। मरियमले सबैभन्दा असल कुरा चुनेकी छिन् जुन कुरा तिनीबाट खोसिनेछैन।”

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org