Bible Explorer एप लिनुहोस्

बाइबल › श्रेष्ठगीत › 5

ULB · अध्याय 5 / 8

श्रेष्ठगीत 5

1हे मेरी बहिनी, मेरी दुलही, म मेरो बगैँचामा आएको छु। आफ्नो सुगन्धित मसालासँगै मैले मेरो मूर्र जम्मा गरेको छु। मैले आफ्नो महसँगै महको चाका खाएको छु। मैले आफ्नो दूधसँगै मेरो दाखमद्य पिएको छु। हे मित्रहरू हो, खाओ। पिओ र प्रेमले मात।

2म सुतेँ, तर मेरो हृदय जागै थियो। मेरा प्रेमीले ढकढक्याइरहेको आवाज आउँदै छ, “हे मेरी बहिनी, मेरी प्रिय, मेरी शुद्ध ढुकुर्नी, ढोका खोल, किनकि मेरो शिर शीतले र मेरो कपाल रातको चिसोले भिजेको छ।”

3“मैले मेरो लुगा फुकालेको छु। के मैले यसलाई फेरि लगाउने? मैले मेरो खुट्टा धोएको छु। के मैले यसलाई फेरि फोहोर बनाउने?”

4मेरा प्रेमीले छेस्किनी खोल्न हात हाल्नुभयो, र मेरो हृदय उहाँको लागि उत्तेजित भयो।

5मेरा प्रेमीको लागि ढोका खोल्न म उठेँ। मेरा हातहरूबाट मूर्र चुहुँदै थियो, र मेरा औँलाहरूबाट ढोकाको ताल्चामा गिलो मूर्र चुहुँदै थियो।

6मैले मेरा प्रेमीको लागि ढोका खोलेँ, तर मेरा प्रेमी फर्केर गइसक्‍नुभएको रहेछ। उहाँ बोल्नुहुँदा मेरो हृदय शोकित भयो। मैले उहाँको खोजी गरेँ, तर मैले उहाँलाई भेट्टाइनँ। मैले उहाँलाई डाकेँ, तर उहाँले मलाई जवाफ दिनुभएन।

7पहरेदारहरू सहरमा घुम्दा तिनीहरूले मलाई भेट्टाए। तिनीहरूले मलाई प्रहार गरी चोटै-चोट पारे। पर्खालमाथि भएका पहरेदारहरूले मेरो खास्टो पनि खोसेर लगे।

8हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूसित वाचा बाँध्छु, कि तिमीहरूले मेरा प्रेमीलाई भेट्टायौ भने तिमीहरूले उहाँलाई के भन्‍ने छौ? म प्रेमले बिरामी परेकी छु भनी बताइदिनू।

9हे स्‍त्रीहरूमध्ये असाध्यै सुन्दरी, अर्को प्रिय पुरुषभन्दा तपाईंका प्रेमी कसरी उत्तम छन्? अर्को प्रिय पुरुषभन्दा तपाईंको प्रेमी किन उत्तम छन्, ताकि तिमी हामीलाई यस्तो शपथ खान लगाउँछ्यौ?

10मेरा प्रेमी उज्‍ज्वल र स्वस्थ, दस हजारका बिचमा श्रेष्‍ठ हुनुहुन्छ।

11उहाँको शिर निखुर सुनको छ। उहाँको कपाल घुम्रिएको र कागजस्तै कालो छ।

12उहाँका आँखा पानीको खोलाको छेउमा बस्‍ने ढुकुरहरूजस्ता छन्, दूधले नुहाएको, गर्गहना जडिएका जस्ता छन्।

13उहाँका गालाहरू सुगन्धित मसालाहरूको ड्याङजस्ता छन्, जसले बास्‍ना फिँजाउँछन्।

14उहाँका ओठ मूर्रको रस चुहाउने लिली फुलहरूजस्ता छन्।

15उहाँका पाखुरा गर्गहना जडिएका गोलो सुनजस्ता छन्। उहाँको पेट नीरले ढाकिएको हस्ती-हाडजस्तो छ।

16उहाँका गोडाहरू निखुर सुनका अड्याइएका सिङ्गमरमरका खम्बाहरूजस्ता छन्। उहाँको आकार लेबनानजस्तै, उत्तम देवदारुजस्तै छ। उहाँको मुख ज्यादै मिठो छ। उहाँ पूर्ण रूपमा मायालु हुनुहुन्छ। हे यरूशलेमका छोरीहरू हो, उहाँ नै मेरा प्रेमी हुनुहुन्छ, र मेरा मित्र हुनुहुन्छ।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org