Bible Explorer एप लिनुहोस्

बाइबल › श्रेष्ठगीत › 3

ULB · अध्याय 3 / 8

श्रेष्ठगीत 3

1रातमा मेरो ओछ्यानमा मेरो प्राणले प्रेम गरेको प्रेमीलाई मैले खोज्दै थिएँ। मैले उहाँको खोजी गरेँ, तर उहाँलाई भेट्टाउन सकिनँ।

2मैले आफैलाई भनेँ, “म उठ्ने छु, र सहरबाट जाने छु, गल्ली र चोकहरूबाट जाने छु। मेरो प्राणले प्रेम गरेको प्रेमीलाई म खोज्ने छु।” मैले उहाँको खोजी गरेँ, तर उहाँलाई भेट्टाउन सकिनँ।

3पहरेदारहरू सहरमा घुम्दै गर्दा तिनीहरूले मलाई भेट्टाए। मैले तिनीहरूलाई सोधेँ, “मेरो प्राणले प्रेम गर्ने मेरा प्रेमीलाई के तपाईंहरूले देख्‍नुभएको छ?”

4तिनीहरूबाट गएको केही समयपछि मात्रै मेरो प्राणले प्रेम गर्ने मेरा प्रेमीलाई मैले भेट्टाएँ। मैले उहाँलाई समातेँ, र मेरी आमाको घरमा, मलाई जन्म दिनुहुनेको कोठाभित्र नल्याएसम्म मैले उहाँलाई जान दिइनँ।

5हे यरूशलेमका छोरीहरू हो, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा म तिमीहरूसित वाचा बाँध्छु, कि आफूले नचाहेसम्म प्रेमलाई नबिउँझाओ वा नजगाओ।

6व्यापारीहरूद्वारा बेचिएका सबै मसलाबाट बनिएको मूर्र र धूपले सुगन्धित भएर धूवाँको मुस्लोझैँ उजाड-स्थानबाट माथि आउँदै गरेको के हो?

7हेर, यो त सोलोमनको पलङ्ग पो रहेछ। इस्राएलका साठी जना योद्धाले यसको वरिपरि सुरक्षा दिँदै छन्।

8तिनीहरू सबै तरवार चलाउन सिपालु छन्, र युद्धमा अनुभवी छन्। रातको त्रासको विरुद्धमा लड्न हरेकले तरवार भिरेको छ।

9राजा सोलोमनले आफ्नै निम्ति लेबनानको काठबाट पालकी बनाउनुभयो।

10यसका डन्डाहरू चाँदीका थिए। यसको पछाडिको भाग सुनबाट बनेको थियो, र आसनचाहिँ बैजनी वस्‍त्रले ढाकिएको थियो। यसको भित्री भागचाहिँ यरूशलेमका छोरीहरूको प्रेमले सजिएको थियो।

11हे सियोनका छोरीहरू हो, बाहिर गएर राजा सोलोमनलाई एकटक लगाएर हेर, जसले मुकुट लगाउनुभएको छ, जुन उहाँकी आमाले विवाहको दिनमा, उहाँको हृदय आनन्दले भरिएको दिनमा उहाँलाई पहिराइदिएकी थिइन्।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org