Bible Explorer एप लिनुहोस्

बाइबल › मर्कूस › 4

ULB · अध्याय 4 / 16

मर्कूस 4

1फेरि उहाँले समुद्रको छेउमा सिकाउन थाल्नुभयो। अनि धेरै ठुलो भिड उहाँको वरिपरि भेला भयो। त्यसैले, उहाँ समुद्रमा भएको एउटा डुङ्गामा चढ्नुभयो र बस्‍नुभयो। सबै भिड समुद्र किनारको छेउमा थिए।

2उहाँले तिनीहरूलाई धेरै कुरा दृष्‍टान्तमा सिकाउनुभयो र सिकाउँदै गर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो,

3“सुन, बिउ छर्ने बिउ छर्न निस्क्यो।

4त्यसले बिउ छर्दा केही बिउ बाटोमा परे र चराहरू आएर ती बिउहरू खाइदिए।

5अरू बिउहरूचाहिँ त्यति माटो नभएको ढुङ्गेनी जमिनमा परे। तिनीहरू तुरुन्तै उम्रिए, किनभने त्यहाँ माटो गहिरो थिएन।

6तर जब घाम लाग्यो, तिनीहरू ओइलाए, अनि तिनीहरूको जरा नभएकोले र ती सुकिहाले।

7अरू बिउहरू काँढाका झाङहरूमा परे। काँढाका झाङहरू बढे, र ती निसासिए, अनि तिनीहरूले कुनै फल फलाएनन्।

8अरू बिउहरू असल जमिनमा परे, र यो बढ्दै र हुर्कंदै गर्दा फल फलाए, केहीले तिस गुणा, साठी गुणा र सय गुणाभन्दा बढी फल फलाए।”

9अनि उहाँले भन्‍नुभयो, “जसको सुन्‍ने कान छ, त्यसले सुनोस्।”

10येशू एकलै हुनुहुँदा उहाँका नजिकका मानिसहरू र बाह्र जना चेलाले उक्‍त दृष्‍टान्तको बारेमा उहाँसँग सोधे।

11उहाँले तिनीहरूलाई भन्‍नुभयो, तिमीहरूलाई परमेश्‍वरको राज्यको रहस्य दिइएको छ। तर बाहिरकाहरूलाई हरेक कुरा दृष्‍टान्तहरूमा दिइएको छ।

12त्यसैले, जब तिनीहरूले हेर्छन्, हो, तिनीहरूले हेर्छन्, तर देख्दैनन्, र जब तिनीहरूले सुन्छन्, हो, तिनीहरूले सुन्छन्, तर बुझ्दैनन्, नत्रता तिनीहरू फर्कन्थे र परमेश्‍वरले तिनीहरूलाई क्षमा गर्नुहुने थियो।”

13अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले यो दृष्‍टान्त बुझ्दैनौ? त्यसो भए, तिमीहरूले अरू दृष्‍टान्तहरू कसरी बुझ्‍नेछौ?”

14बिउ छर्नेले वचन छर्छ।

15वचन छर्दा बाटोतिर परेका केही बिउ यी नै हुन्। जब तिनीहरूले वचन सुन्छन्, र तुरुन्तै शैतान आउँछ र तिनीहरूमा छरिएका वचन खोसेर लैजान्छ।

16ढुङ्गेनी जमिनमा छरिएका केही बिउचाहिँ यी नै हुन्, जब तिनीहरूले वचन सुन्छन्, तिनीहरूले यसलाई तुरुन्तै आनन्दसाथ ग्रहण गर्छन्।

17तिनीहरूको आफ्‍नो कुनै जरा हुँदैन, तर केही समयसम्म मात्र टिक्छन्। वचनको कारणले सङ्कष्‍ट वा सतावट आउँदा तिनीहरूले तुरुन्तै ठेस खान्छन्।

18अरूहरूचाहिँ ती हुन्, जो काँढाका झाङहरूका माझमा छरिएका छन्। तिनीहरूले वचन सुन्छन्,

19तर संसारको फिक्री, धन-सम्पत्तिको छल र अन्य कुराहरूको लालसा प्रवेश गर्छन् जसले वचनलाई निसासिदिन्छन् र यो फलदायी हुँदैन।

20असल जमिनमा छरिएका बिउहरूचाहिँ ती नै हुन्। तिनीहरूले वचन सुन्छन्; यसलाई ग्रहण गर्छन् अनि केहीले तिस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा फल फलाउँछन्।”

21येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले बत्तीलाई पाथीमुनि अथवा खाटमुनि राख्‍न घरभित्र ल्याउँछौ? तिमीहरूले यसलाई ल्याउँछौ र सामदानमाथि राख्छौ।

22किनभने प्रकट नहुने गरी कुनै पनि कुरा लुकाइएको छैन, र खुलस्त नै नहुने कुनै पनि गुप्‍त कुरा छैन।

23यदि कसैको सुन्‍ने कान छ भने, त्यसले सुनोस्।”

24उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे सुन्छौ, किनभने त्यसमा ध्यान देओ, किनभने जुन नापले तिमीहरू नाप्‍छौ, त्यही नापले तिमीहरूलाई पनि नापिनेछ (मापन गरिनेछ), र यो तिमीहरूलाई थपिनेछ।

25किनभने जोसँग छ, त्यसलाई अझ बढ्ता गरी दिइनेछ र जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ।”

26येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य जमिनमा बिउ छर्ने मानिसजस्तो हो।

27ऊ रातमा सुत्छ अनि दिन भएपछि उठ्छ, अनि कसरी भयो भन्‍ने उसले नजाने पनि बिउ उम्रन्छ र बढ्छ।

28जमिन आफैँले अन्‍न (फल) फलाउँछः पहिला टुसा पलाउँछ, त्यसपछि बाला लाग्छ अनि बालामा अन्‍न पाक्छ।

29जब अन्‍न पाक्छ, तुरुन्तै उसले त्यसलाई हँसियाले काट्छ, किनभने कटनीको समय आएको छ।”

30उहाँले भन्‍नुभयो, “हामीले परमेश्‍वरको राज्यलाई केसँग तुलना गर्ने अथवा यसलाई व्याख्या गर्न कुन दृष्‍टान्त प्रयोग गर्न सकिन्छ?

31यो रायोको (तोरीको) बिउजस्तो हो। यसलाई छर्दा पृथ्वीका बिउहरूमध्ये यो सबैभन्दा सानो हुन्छ।

32तैपनि यसलाई छरेपछि यो बढ्छ र बगैँचाका सबै बिरुवाभन्दा ठुलो हुन्छ। यसमा ठुला हाँगाहरू पलाउँछ, ताकि आकाशमा उड्ने चराहरूले त्यसको छहारीमा गुँड बनाउन सकून्।

33यस्ता धेरै दृष्‍टान्तद्वारा तिनीहरूले बुझ्‍न सक्‍नेसम्म उहाँले तिनीहरूलाई वचन सुनाउनुभयो।

34अनि उहाँले दृष्‍टान्तविना केही बताउनुभएन। तर उहाँ गुप्‍तमा हुनुहुँदा उहाँले आफ्ना चेलाहरूलाई सबै कुरा व्याख्या गरिदिनुभयो।

35त्यो दिन जब साँझ पर्‍यो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तालको पारिपट्टि जाऔँ।”

36त्यसैले, तिनीहरूले येशूलाई साथैमा लिएर त्यो भिडलाई छोडी राखेर गए, किनकि उहाँ पहिले नै डुङ्गामा हुनुहुन्थ्यो। उहाँसँग अरू डुङ्गाहरू पनि साथमा थिए।

37त्यहाँ भयङ्कर आँधी चल्न थाल्यो र छालहरू डुङ्गामा पस्‍न लागे, अनि डुङ्गा पानीले भरिन लाग्यो।

38तर येशू डुङ्गाको पछिल्लो भागमा सिरानी लगाएर मस्‍त निदाउनुभएको थियो। तिनीहरूले भने, “गुरुज्यू, हामी मर्न लागिसक्दा पनि तपाईंलाई वास्ता छैन?”

39अनि उहाँ ब्युँझनुभयो र बतासलाई हप्काउनुभयो अनि समुद्रलाई भन्‍नुभयो, “शान्त हो र रोकिजा।” अनि बतास चल्न रोकियो र त्यहाँ सन्‍नाटा छायो।

40उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन डराएको? के तिमीहरूसँग अझै विश्‍वास छैन?”

41तिनीहरू साह्रै डराए र एकले अर्कालाई भने, “यिनी को हुन्, किनभने बतास र समुद्रले पनि यिनले भनेको मान्छन्?”

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org