Bible Explorer एप लिनुहोस्

बाइबल › मर्कूस › 3

ULB · अध्याय 3 / 16

मर्कूस 3

1उहाँ फेरि सभाघरभित्र जानुभयो, र त्यहाँ एक जना हात सुकेको मानिस थियो।

2उहाँले त्यसलाई शबाथको दिनमा निको पार्नुहुन्छ, कि भनेर केही मानिसहरूले चेवा गरे, ताकि तिनीहरूले उहाँलाई दोष लगाउन सकून्।

3येशूले हात सुकेको मानिसलाई भन्‍नुभयो, “उठ र यहाँ सबैका माझमा खडा होऊ।”

4तब उहाँले मानिसहरूलाई भन्‍नुभयो, “शबाथ-दिनमा असल गर्नु वा हानि गर्नु के उचित हुन्छ; जीवन बचाउनु वा मार्नु के उचित हुन्छ?” तर उनीहरू चुप लागे।

5तिनीहरूका कठोर हृदयको कारण दुःखित हुँदै उहाँले रिसाएर वरिपरि तिनीहरूतिर हेर्नुभयो, र उहाँले मानिसहरूलाई भन्‍नुभयो, “तिम्रो हात पसार।” त्यसले हात पसार्‍यो र येशूले त्यसका हातलाई पहिलेको जस्तै बनाइदिनुभयो।

6तुरुन्तै फरिसीहरू गए र तिनीहरूले उहाँलाई मार्न हेरोदीहरूसँग उहाँको विरुद्धमा षड्यन्त्र रचे।

7तब येशू उहाँका चेलाहरूसँग समुद्रतिर जानुभयो, अनि जब तिनीहरूले उहाँले गरिरहनुभएका सबै कुरा सुने तब गालील, यहूदिया,

8यरूशलेम, इदुमिआ, यर्दन पारी, टुरोस र सीदोन वरिपरिबाट आएका मानिसहरूको ठुलो भिड पछि लाग्यो र उहाँकहाँ आयो।

9भिडको कारण उहाँले आफ्ना चेलाहरूलाई आफ्नो लागि एउटा सानो डुङ्गा तयार गर्न लाउनुभयो, ताकि तिनीहरूले उहाँलाई नकुल्चून्।

10किनभने उहाँले धेरैलाई निको पार्नुभयो। त्यसैले, कष्‍टमा परेकाहरू उहाँलाई छुन उत्सुकतासाथ उहाँको नजिक गए।

11जब अशुद्ध आत्माहरूले उहाँलाई देख्‍थे उहाँको सामु ढल्थे र चिच्‍च्याउँथे, अनि तिनीहरूले भन्थे, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ।”

12उहाँलाई नचिनाउन उहाँले तिनीहरूलाई कडा आज्ञा दिनुभयो।

13उहाँ डाँडामाथि जानुभयो, र उहाँले चाहनुभएकाहरूलाई बोलाउनुभयो, अनि तिनीहरू उहाँकहाँ आए।

14उहाँले बाह्र जनालाई नियुक्‍त गर्नुभयो, (जसलाई उहाँले प्रेरित नाउँ दिनुभयो), ताकि तिनीहरू उहाँसँग रहन सकून् र उहाँले तिनीहरूलाई प्रचार गर्न पठाउन सक्‍नुभएको होस्,

15अनि भूतहरूलाई निकाल्ने अधिकार होस्।

16अनि उहाँले यी बाह्र जनालाई नियुक्‍त गर्नुभयोः सिमोन, जसलाई उहाँले पत्रुस नाउँ दिनुभयो;

17जब्दियाका छोरा याकूब र याकूबका भाइ यूहन्‍ना, जसलाई उहाँले बोअनर्गेश अर्थात् गर्जनका छोराहरू नाउँ दिनुभयो;

18अनि अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन कनानी,

19अनि यहूदा इस्करयोत, जसले उहाँलाई धोखा दिने थियो।

20तब उहाँ घर जानुभयो, र फेरि धेरै भिड जम्मा भए। त्यसकारण, उहाँले खानसम्म पनि पाउनुभएन।

21जब उहाँको परिवारले यसबारे सुन्यो, तिनीहरू उहाँलाई पक्रन गए, किनकि तिनीहरूले भने, “उहाँको दिमाग बिग्रेको छ।”

22यरूशलेमबाट आएका शास्‍त्रीहरूले भने, “त्यसलाई बालजिबुल लागेको छ” र “त्यसले भूतहरूका शासकद्वारा भूतहरू निकाल्छ।”

23येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई दृष्‍टान्तमा भन्‍नुभयो, “शैतानले शैतानलाई कसरी निकाल्‍न सक्छ?”

24यदि राज्य आफैँमा विभाजित हुन्छ भने, त्यो राज्य टिक्‍न सक्दैन।

25यदि घर आफैँमा विभाजित हुन्छ भने, त्यो घर टिक्‍न सक्दैन।

26यदि शैतान आफ्नै विरुद्धमा खडा भएको छ भने त्यो टिक्‍न सक्दैन, तर त्यसको अन्त आएको हुन्छ।

27तर कसैले पनि पहिले बलियो मानिसलाई नबाँधीकन त्यसको घरमा पस्‍न र त्यसका सम्पत्ति चोर्न सक्दैन, त्यसपछि त्यसले त्यसको घर लुट्नेछ।

28म तिमीहरूलाई साँचो साँचो भन्दछु, कि मानिसहरूका सन्तानहरूका सबै पाप क्षमा गरिनेछन्, तिनीहरूले गरेका सबै ईश्‍वर-निन्दा पनि क्षमा गरिनेछन्,

29तर पवित्र आत्माको विरुद्धमा गरिने ईश्‍वर-निन्दा कहिल्यै क्षमा हुनेछैन, तर त्यो अनन्त पापको दोषी हुन्छ।

30येशूले यसो भन्‍नुभयो, किनकि तिनीहरूले यसो भनिरहेका थिए, “त्योसँग अशुद्ध आत्मा छ।”

31उहाँकी आमा र उहाँका भाइहरू आए र बाहिर उभिए अनि उहाँलाई बोलाउन पठाए।

32एउटा भिड उहाँको वरिपरि बस्यो, र तिनीहरूले उहाँलाई भने, “तपाईंका आमा र भाइहरू बाहिर छन्, अनि उहाँहरूले तपाईंलाई खोजिरहेका छन्।”

33उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा आमा र भाइहरू को हुन्?”

34उहाँले उहाँका वरिपरि गोलाकारमा बसिरहेकाहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यहाँ छन्!”

35जसले परमेश्‍वरको इच्छालाई पालन गर्छ, तिनीहरू नै मेरा भाइहरू र बहिनीहरू र मेरी आमा हुन्।”

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org