ULB · अध्याय 2 / 16
मर्कूस 2
1केही दिनपछि जब येशू कफर्नहुममा फर्केर आउनुभयो, उहाँ घरमा हुनुहुन्छ भन्ने सुनियो।
2यति धेरै मानिसहरू भेला भए, कि त्यहाँ ढोकामा समेत पनि कुनै खाली ठाउँ थिएन अनि येशूले तिनीहरूलाई वचन प्रचार गर्नुभयो।
3केही मानिसहरू उहाँकहाँ आए, जसले एक जना पक्षाघातीलाई ल्याइरहेका थिए; चार जना मानिसले त्यसलाई बोकिरहेका थिए।
4भिडले गर्दा तिनीहरू उहाँको नजिक जान सकेनन्। तिनीहरूले उहाँ हुनुभएको ठिक माथि छानो हटाए, र तिनीहरूले यसमा प्वाल पारे, अनि तिनीहरूले त्यस पक्षाघाती सुतेको ओछ्यानलाई तल झारे।
5तिनीहरूको विश्वास देखेर येशूले पक्षाघाती मानिसलाई भन्नुभयो, “छोरो, तिम्रा पापहरू क्षमा भएका छन्।”
6तर त्यहाँ बसिरहेका शास्त्रीहरूमध्ये केहीले तिनीहरूका मनमा तर्क वितर्क गरे।
7“यो मानिसले कसरी यसरी बोल्न सक्छ? यसले त ईश्वर-निन्दा गर्यो! परमेश्वरले बाहेक कसले पाप क्षमा गर्न सक्छ?”
8तिनीहरूले के सोचिरहेका छन् भन्ने येशूले आफ्नो आत्मामा तुरुन्तै थाहा पाउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले आफ्नो हृदयमा किन यस्तो विचार गर्छौ?”
9पक्षाघाती मानिसलाई के भन्न सजिलो हुन्छ, ‘तिम्रा पापहरू क्षमा भयो’ भन्नु कि ‘उठ र आफ्नो ओछ्यान बोक र हिँड’ भन्नु?”
10तर तिमीहरूले यो जान्न सक, कि पृथ्वीमा मानिसका पुत्रसँग पाप क्षमा गर्ने अधिकार छ।” उहाँले पक्षाघातीलाई भन्नुभयो,
11“म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोक र तिम्रो घर जाऊ।”
12त्यो मानिस उठ्यो र तुरुन्तै आफ्नो ओछ्यान बोक्यो र सबै मानिसको अगाडिबाट नै घर गयो। त्यसैले, तिनीहरू छक्क परे, र परमेश्वरलाई महिमा दिए, अनि तिनीहरूले भने, “हामीले यस्तो कहिल्यै देखेका थिएनौँ।”
13फेरि उहाँ तालको छेउ भएर जानुभयो र सबै भिड उहाँकहाँ आए र उहाँले तिनीहरूलाई सिकाउनुभयो।
14उहाँ जाँदै गर्नुहुँदा उहाँले अल्फयसका छोरा लेवी कर उठाउने ठाउँमा बसिरहेको देख्नुभयो र उहाँले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” तिनी उठे, र उहाँको पछि लागे।
15जब येशूले लेवीको घरमा खाना खाँदै हुनुहुन्थ्यो, धेरै पापीहरू, कर उठाउनेहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाइरहेका थिए, किनकि त्यहाँ धेरै जना थिए र तिनीहरूले उहाँलाई पछ्याएका थिए।
16जब शास्त्रीहरू, जो फरिसीहरू थिए, तिनीहरूले येशू पापीहरू र कर उठाउनेहरूसँग खाना खाइरहेको देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने “उहाँले किन पापीहरू र कर उठाउनेहरूसँग खानुहुन्छ?”
17जब येशूले यो सुन्नुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “जो मानिस शरीरमा बलियो छ, त्यसलाई वैद्यको आवश्यक पर्दैन; तर बिमारीलाई मात्र वैद्यको आवश्यक पर्छ। म धर्मीहरूलाई बोलाउन आएको होइनँ, तर पापीहरूका लागि आएको हुँ।”
18यूहन्नाका चेलाहरू र फरिसीहरू उपवास बसिरहेका थिए। केही मानिसहरू आए र उहाँलाई भने, “यूहन्नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?”
19येशूले तिनीहरूलाई भन्नुभयो, “के जन्ती दुलहाको साथमा हुँदा विवाहमा आउनेहरू उपवास बस्छन् र? दुलहा तिनीहरूसँग भएसम्म तिनीहरू उपवास बस्न सक्दैनन्।
20तर दिन आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, ती दिनमा तिनीहरू उपवास बस्नेछन्।
21कसैले पनि पुरानो लुगालाई नयाँ कपडाले टाल्दैन, नत्रता त्यो टालेको कपडा यसबाट अर्थात् पुरानोबाट नयाँ च्यातेर जानेछ, अनि उक्त फटाइ झनै नराम्रो हुनेछ।
22कसैले पनि नयाँ दाखरस पुरानो मशकमा हाल्दैन, नत्रता दाखमद्यले छालालाई फटाउँछ अनि दाखमद्य र मशक दुवै गुम्नेछन्। बरु नयाँ दाखमद्य नयाँ मशकमा हाल।”
23शबाथ-दिन येशू अन्नको खेतबाट भएर जानुभयो र उहाँका चेलाहरूले अन्नका बाला टिप्न थाले।
24अनि फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तिनीहरूले शबाथ-दिनमा किन अनुचित कुरा गरिरहेका छन्?”
25उहाँले तिनीहरूलाई भन्नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू खाँचोमा परेका र भोकाएका बेला तिनीहरूले के गरे भन्ने के तिमीहरूले कहिल्यै पढेका छैनौ?”
26अबियाथार प्रधान पुजारी हुँदा तिनी कसरी परमेश्वरको भवनभित्र गए र उपस्थितिको रोटी खाए, जुन पुजारीबाहेक अरू कसैले खानु हुँदैनथ्यो, अनि केही तिनीसँग हुनेहरूलाई पनि दिए?
27येशूले भन्नुभयो, “शबाथ मानव-जातिको निम्ति बनाइएको थियो, मानव-जाति शबाथको निम्ति बनाइएको होइन।
28यसकारण मानिसका पुत्र शबाथको पनि प्रभु हो।”
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org