Bible Explorer एप लिनुहोस्

बाइबल › न्यायकर्ताहरू › 3

ULB · अध्याय 3 / 21

न्यायकर्ताहरू 3

1यति बेला इस्राएलको अर्थात् कनानमा लडिएका कुनै पनि युद्धको अनुभव नभएका इस्राएलका हरेक व्‍यक्‍तिको जाँच गर्नलाई परमप्रभुले यी जातिहरूलाई छोडिदिनुभयो।

2(युद्धको विषयमा पहिले जानकरी नभएका इस्राएलीहरूका नयाँ पुस्तालाई त्यसबारे सिकाउन उहाँले यसो गर्नुभयो।)

3ती जातिहरू यी नै हुन्: पलिश्तीहरूका पाँच राजाहरू, सबै कनानीहरू, सीदोनीहरू, र लेबनानका पर्वतहरूमा बाल-हर्मोनदेखि हमात-पाससम्म बस्‍ने हिव्वीहरू।

4इस्राएलको जाँच गर्न, अनि परमप्रभुले मोशाद्वारा तिनीहरूका पुर्खाहरूलाई दिनुभएका आज्ञाहरू तिनीहरूले पालन गर्छन् कि गर्दैनन् भनेर निश्‍चित रूपमा थाहा पाउनलाई यी जातिहरूलाई छोडिएको थियो।

5यसैले इस्राएलका मानिसहरू कनानीहरू, हित्तीहरू, एमोरीहरू, परिज्‍जीहरू, हिव्वीहरू, र यबूसीहरूसँगै बसोबास गरे।

6तिनीहरूका छोरीहरूलाई उनीहरूले आफ्ना पत्‍नीहरू बनाएर ल्याए, र उनीहरूका आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई दिए र तिनीहरूका उनीहरूका देवताहरूका सेवा गरे।

7परमप्रभुको नजरमा जे कुरा दुष्‍ट थियो, इस्राएलका मानिसहरूले त्यही गरे र परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से। तिनीहरूले बाल देवताहरू र अशेरा देवीहरूका पुजा गरे।

8यसकारण इस्राएलको विरुद्ध परमप्रभुको क्रोध आगोझैं दन्कियो, र उहाँले तिनीहरूलाई अराम नाहारैमका राजा कूशन-रिशातैमको हातमा बेचिदिनुभयो। इस्राएलका मानिसहरूले आठ वर्षसम्‍म कूशन-रिशातैमको सेवा गरे।

9जब इस्राएलका मानिसहरूले परमप्रभुलाई पुकारे, इस्राएलका मानिसहरूलाई सहायता गर्ने र तिनीहरूलाई बचाउने कोही एक जनालाई परमप्रभुले खडा गर्नुभयोः उनी कनाजका छोरा ओत्‍निएल (कालेबका भाइ) थिए।

10परमप्रभुको आत्माले उनलाई शक्ति दिनुभयो, र उनले इस्राएलको न्याय गरे र उनी युद्धमा गए। परमप्रभुले उनलाई अरामका राजा कूशन-रिशातैममाथि विजय दिनुभयो। ओत्‍निएलका हातले नै कूशन-रिशातैमलाई परास्त गरे।

11देशमा चालिस वर्षसम्म शान्ति भयो। त्यसपछि कनजका छोरा ओत्‍निएलको मृत्यु भयो।

12त्यसपछि, इस्राएलीहरूले परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थियो, फेरि त्यही गरे, र परमप्रभुले मोआबका राजा एग्लोनलाई इस्राएलीहरूमाथि अधिकार गर्न दिनुभयो।

13एग्लोन अम्मोनीहरू र अमालेकीहरूसँग मिले र तिनीहरू गए र इस्राएललाई हराए, अनि खजूरका रूखहरूको सहरमाथि अधिकार गरे।

14इस्राएलका मानिसहरूले अठार वर्षसम्‍म मोआबका राजा एग्लोनको सेवा गरे।

15जब इस्राएलका मानिसहरूले परमप्रभुको पुकारा गरे, तिनीहरूलाई सहायता गर्नलाई परमप्रभुले कोही एक जना बेन्यामिनी गेराका छोरा देब्रे हात चलाउने मानिस एहूदलाई खडा गर्नुभयो। इस्राएलका मानिसहरूले उनको साथमा मोआबका राजा एग्लोनकहाँ कर पठाए।

16एहूदले आफ्नो निम्ति एक हात लामो दुई धारे तरवार बनाए। त्‍यो तिनले आफ्नो दाहिने जाँघमा आफ्‍नो लुगाभित्र बाँधे।

17तिनले मोआबका राजा एग्लोनलाई त्यो कर तिरे। (एग्लोन धेरै मोटो मानिस थिए।)

18एहूदले कर तिरिसकेपछि, ती ल्याउनेहरूसँगै उनी फर्के।

19गिलगालको नजिक कुँदेर बनाएका मुर्तिहरूको ठाउँमा जसै एहूद पुगे, उनी फर्के र फिर्ता गए, र भने, “मेरा राजा, तपाईंको निम्ति मसँग एउटा गुप्‍त सन्देश छ।” एग्लोनले भने, “शान्त होओ!” यसैले उनको सेवा गर्ने सबैले त्यो कोठा छोडेर बाहिर गए।

20एहूद तिनीकहाँ आए। राजाचाहिं माथिल्लो शीतल कक्षमा एक्लै बसिरहेका थिए। एहूदले भने, “मसँग तपाईंको निम्ति परमेश्‍वरको एउटा सन्देश छ।” राजा आफ्नो ठाउँबाट उठे।

21एहूदले आफ्नो देब्रे हातले आफ्‍नो दाहिने जाँघबाट तरवार झिके, र त्‍यो तिनले राजाको शरीरमा रोपिदिए।

22त्यो तरवार बींडसितै छिर्‍यो। उनको पछिल्तिरबाट त्यो तरवारको टुप्पो निस्कियो र बोसोले त्यसलाई ढाक्यो, अनि एहूदले उनको पेटबाट त्यो तरवार झिकेनन्।

23त्यसपछि एहूद कौसीमा निस्के र माथिल्लो कक्षका आफू पछाडिका ढोकाहरू थुनिदिए र ताल्चा लगाइदिए।

24एहूद गइसकेपछि, राजाका सेवकहरू आए। तिनीहरूले माथिल्लो कक्षका ढोकाहरूमा ताल्चा लागेको देखे। यसैले तिनीहरूले विचार गरे, “पक्‍कै पनि उहाँ माथिल्लो शीतल कक्षमा दिसा गरिरहनुभएको होला।”

25राजाले माथिल्लो कक्षका ढोकाहरू नखोलेपछि, आफ्नो जिम्मेवारी पुरा नगरेकोझैं तिनीहरूलाई महसुस भएको हुनाले तिनीहरूलाई चिन्ता भयो। यसैले तिनीहरूले साँचो लिए र ढोकाहरू खोले, र आफ्ना मालिकलाई भुइँमा मृत अवस्थामा ढलेको देखे।

26अब के गर्ने भनेर सेवकहरू कुरिरहेका बेला, एहूद भागेर कुँदेर बनाइएका मुर्तिहरू भएका ठाउँभन्दा पर पुगे, र उनी सीरामा भागे।

27जब उनी आइपुगे, उनले एफ्राइमको पहाडी देशमा तुरही फुके। त्यसपछि इस्राएलका मानिसहरू उनीसँगै पहाडहरूबाट तल ओर्ले, र उनले तिनीहरूलाई नेतृत्व गरे।

28उनले तिनीहरूलाई भने, “मेरो पछि लाग, किनकि परमप्रभुले तिमीहरूका शत्रु मोआबीहरूलाई परास्त गर्न लाग्‍नुभएको छ।” तिनीहरू उनको पछि लागे र तिनीहरूले मोआबीहरूबाट यर्दनका जँघारहरू लिए, र तिनीहरूले कसैलाई पनि त्यो नदी तर्न दिएनन्।

29त्यस बेला तिनीहरूले मोआबका दश हजार मानिसहरूलाई मरे, र तिनीहरू सबै बलिया र सक्षम मानिसहरू थिए। एउटा पनि उम्केन।

30यसैले त्यस दिन मोआब इस्राएलको शासनको अधीनमा आयो, र देशमा असी वर्षसम्म शान्ति भयो।

31एहूदपछि अनातका छोरा शमगर अर्का न्यायकर्ता भए जसले पाल्तु पशु धपाउने लौरोले पलिश्तीहरूका छ सय मानिसहरूलाई मरे। उनले इस्राएललाई खतराबाट पनि छुट्कारा दिए।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org