बाइबल › न्यायकर्ताहरू › 1
ULB · अध्याय 1 / 21
न्यायकर्ताहरू 1
1यहोशूको मृत्युपछि, इस्राएलका मानिसहरूले परमप्रभुलाई यसो भनेर सोधे, “हाम्रा निम्ति कनानीहरूका विरुद्धमा युद्ध लड्नलाई तिनीहरूलाई पहिला कसले आक्रमण गर्नुपर्छ?”
2परमप्रभुले भन्नुभयो, “यहूदाले आक्रमण गर्नेछ। हेर, मैले तिनीहरूलाई यस देशमाथि अधिकार दिएको छु।”
3यहूदाका मानिसहरूले आफ्ना दाजुभाइ शिमियोनीहरूलाई यसो भने, “हामीलाई दिइएको इलाकामा हामीसँग आओ, यसरी कनानीहरूका विरुद्ध हामीले एकसाथ युद्ध लड्न सक्छौं। त्यसरी नै हामी पनि तिमीहरूलाई दिइएको इलाकामा तिमीहरूसँग जानेछौं।” यसैले शिमियोनी कुल तिनीहरूसँग गए।
4यहूदाका मानिसहरूले आक्रमण गरे, र परमप्रभुले तिनीहरूलाई कनानीहरू र परिज्जीहरूमाथि विजय दिनुभयो। तिनीहरूले बेजेकमा तिनीहरूका दश हजार जनालाई मारे।
5तिनीहरूले बेजेकमा अदोनी-बेजेकलाई भेट्टाए, र उनको विरुद्ध तिनीहरू लडे, अनि कनानीहरू र परिज्जीहरूलाई परास्त गरे।
6तर अदोनी-बेजेक भागे, र तिनीहरूले उनलाई लखेटे र समाए, र तिनीहरूले उनका हात र खुट्टाका बुढी औंला काटिदिए।
7अदोनी-बेजेकले भने, “हात र खुट्टाका बुढी औंला काटिएका सत्तरी जना राजाले मेरो टेबिलको मुनिबाट आफ्नो निम्ति भोजन बाटुल्थे। मैले जस्तो गरेको थिएँ, परमेश्वरले मलाई त्यस्तै गर्नुभएको छ।” तिनीहरूले उनलाई यरूशलेममा ल्याए, र उनी त्यहीं मरे।
8यहूदाका मानिसहरू यरूशलेम सहरको विरुद्धमा युद्ध गरे र त्यसलाई कब्जामा लिए। तिनीहरूले त्यो सहरलाई तरवारको धारले आक्रमण गरे र त्यसमा आगो लगाइदिए।
9त्यसपछि, यहूदाका मानिसहरू पहाडी देश, नेगेव र पश्चिमी पहाडका फेदीहरूमा बसोबास गर्ने कनानीहरूकहाँ युद्ध गर्न गए।
10यहूदा हेब्रोनमा बस्ने (हेब्रोनको नाउँ पहिला किर्यत-अर्बा थियो) कनानीहरूतर्फ अगाडि बढे, र तिनीहरूले शेशै, अहीमन, र तल्मैलाई परास्त गरे।
11त्यहाँबाट यहूदाका मानिसहरू दबीरका बासिन्दाहरूतर्फ अगि बढे (पहिला दबीरको नाउँ किर्यत-सेपेर थियो)।
12कालेबले भने, “जसले किर्यत-सेपेरलाई आक्रमण गर्छ र त्यसलाई लिन्छ, त्यसको पत्नी हुनलाई मेरी छोरी अक्सालाई म दिनेछु।”
13कालेबका भाइ कनजका छोरा, ओत्निएलले दबीरमाथि कब्जा गरे, यसैले कालेबले आफ्नी छोरी अक्सा तिनकी पत्नी हुनलाई दिए।
14चाँडै नै अक्सा ओत्निएलकहाँ आइन्, र आफ्ना बुबासँग तिनको निम्ति एउटा जमिन मागिदिनलाई बिन्ती गरिन्। तिनी आफ्नो गधाबाट तल झर्दै गर्दा, कालेबले तिनलाई सोधे, “तिम्रो निम्ति म के गर्न सक्छु?”
15तिनले उनलाई भनिन्, “मलाई एउटा आशिष् दिनुहोस्। तपाईंले मलाई नेगेवको भूमि दिनुभएको छ, मलाई पानीका मूलहरू पनि दिनुहोस्।” यसैले कालेबले तिनलाई माथिल्लो र तल्लो पानीका मूलहरू दिए।
16मोशाका ससुराका वंश, केनीहरू खजूरका रूखहरूको सहरबाट आरादको नजिक यहूदाको उजाड-स्थानमा त्यहाँका मानिसहरूसँग बस्न गए, जुन नेगेवमा पर्छ।
17यहूदाका मानिसहरू आफ्ना दाजुभाइ शिमियोनका मानिसहरूसँग गए र तिनीहरूले सपतमा बसोबास गर्ने कनानीहरूलाई आक्रमण गरे र त्यसलाई पूर्ण रूपमा नाश गरे। त्यस सहरको नाउँ होर्मा थियो।
18यहूदाका मानिसहरूले गाजा र त्यसको आसपासको क्षेत्र, अश्कलोन र त्यसको आसपासको क्षेत्र, अनि एक्रोन र त्यसको आसपासको क्षेत्र पनि कब्जा गरे।
19परमप्रभु यहूदाका मानिसहरूसँग हुनुहुन्थ्यो र तिनीहरूले पहाडी देशमाथि अधिकार गरे, तर तिनीहरूले मैदानका बासिन्दाहरूलाई बाहिर निकाल्न सकेनन्, किनभने तिनीहरूसँग फलामका रथहरू थिए।
20कालेबलाई हेब्रोन दिइयो (मोशाले भनेझैं), र तिनले त्यहाँबाट अनाकका तिन जना छोरालाई बाहिर निकाले।
21तर बेन्यामीनका मानिसहरूले यरूशलेममा बसोबास गर्ने यबूसीहरूलाई बाहिर निकालेनन्। यसैले यरूशलेममा आजको दिनसम्मै यबूसीहरू बेन्यामीनका मानिसहरूसँग बसोबास गर्दै आएका छन्।
22योसेफका घरानाले बेथेललाई आक्रमण गर्नको निम्ति तयारी गरे, र परमप्रभु तिनीहरूसँग हुनुहुन्थ्यो।
23तिनीहरूले बेथेलमा जासुसी गर्न मानिसहरू पठाए (त्यो सहरलाई पहिला लूज भनिन्थ्यो)।
24ती जासुसहरूले सहरबाट एक जना मानिस बाहिर निस्कँदै गरेको देखे, र तिनीहरूले त्यसलाई भने, “सहरभित्र कसरी प्रवेश गर्ने भनेर कृपया हामीलाई देखाउनुहोस्, र तपाईंप्रति हामी दयालु हुनेछौं।”
25उसले तिनीहरूलाई त्यो सहरभित्र जाने बाटो देखायो, र यसैले तिनीहरूले त्यो सहरलाई तरवारको धारले आक्रमण गरे, तर तिनीहरूले त्यस मानिस र उसका जम्मै परिवारलाई जान दिए।
26तब त्यो मानिस हित्तीहरूको देशमा गयो र एउटा सहर निर्माण गर्यो अनि त्यसलाई लूज नाउँ दियो, र आजसम्मै त्यसको नाउँ हो।
27मनश्शेका मानिसहरूले बेथ-शान, तानाक, डोर, यिबलाम, र मगीद्दो र ती सबैका गाउँहरूमा बसोबास गर्नेहरूलाई बाहिर निकालेनन्, किनभने कनानीहरूले ती ठाउँहरूमा बस्ने पक्का गरेका थिए।
28जब इस्राएल शक्तिशाली भ ए, तिनीहरूले कनानीहरूलाई आफ्नो निम्ति कडा परिश्रमले सेवा गर्न लगाए, तर तिनीहरूलाई कहिल्यै पनि पूर्ण रूपमा बाहिर निकालेनन्।
29एफ्राइमले गेजेरमा बसोबास गर्ने कनानीहरूलाई बाहिर निकालेनन्, यसैले कनानीहरू गेजेरमा तिनीहरूका माझमा नै बसोबास गरे।
30जबूलूनले कित्रोन वा नहलोलमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेनन्, र यसैले कनानीहरू तिनीहरूका माझमा नै बसोबास गरे, तर जबूलूनले कनानीहरूलाई कडा परिश्रमसँग तिनीहरूहरूको सेवा गर्न लगाए।
31आशेरले अक्को, सीदोन, अहलाब, अक्जीब, हेलवा, अपेक, र रहोबमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेनन्।
32यसैकारण आशेरको कुल कनानीहरूसँग (जो त्यस देशमा बसोबास गर्थे) बसोबास गरे, किनभने तिनीहरूले उनीहरूलाई बाहिर निकालेनन्।
33नप्तालीका कुलले बेथ-शेमेश र बेथ-अनातमा बसोबास गर्नेहरूलाई बाहिर निकालेनन्। यसैले नप्तालीको कुल कनानीहरूका (ती मानिसहरू जो त्यस देशमा बसोबास गर्थे) बिचमा बसोबास गरे। तथापि बेथ-शेमेश र बेथ-अनातका बासिन्दाहरूलाई नप्तलीको निम्ति कडा परिश्रम गर्न लगाइयो।
34एमोरीहरूले दानका कुललाई पहाडी देशमा बसोबास गर्न बाध्ये पारे, र तिनीहरूलाई तल मैदान आउन दिएनन्।
35यसैले एमोरीहरू हेरेस पर्वत, अय्यालोन, र शाल्बीममा बसोबास गरे, तर योसेफका घरानाको सैन्य शक्तिले तिनीहरूलाई परास्त गर्यो, र तिनीहरूलाई कडा परिश्रमले उनीहरूको सेवा गर्न लगाइयो।
36एमोरीहरूको सिमाना अक्रब्बीमको उकालोदेखि पहाडी देश सेलादेखि माथिसम्म पर्थ्यो।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org