बाइबल › न्यायकर्ताहरू › 4
ULB · अध्याय 4 / 21
न्यायकर्ताहरू 4
1एहूद मरेपछि, परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो, इस्राएलका मानिसहरूले फेरि त्यही गरे।
2परमप्रभुले तिनीहरूलाई कनानका राजा याबीनको हातमा बेचिदिनुभयो जसले हासोरमा राज्य गर्थे। तिनको सेनाका कमाण्डरको नाउँ सीसरा थियो, र उनी हरोशेत हग्गोयिममा बस्थे।
3इस्राएलका मानिसहरूले परमप्रभुलाई सहायताको निम्ति पुकारे, किनभने सीसरासँग नौ सय फलामका रथहरू थिए र तिनले इस्राएलका मानिसलाई बिस वर्षसम्म बलपुर्वक अत्याचार गरे।
4त्यस समय इस्राएलमा एक अगमवादिनी, दबोरा (लप्पीदोतकी पत्नी) नेतृत्व गर्ने न्यायकर्ताको थिइन्।
5तिनी एफ्राइमको पहाडी देशमा रामा र बेथेलको बिचमा दबोराको खजुरको रूखमुनि बस्ने गर्थिन्, र इस्राएलका मानिसहरू आफ्ना विवादहरू मिलाउन तिनीकहाँ आउँथे।
6तिनले नाप्तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइन् र तिनलाई भनिन्, “परमप्रभु, इस्राएलका परमेश्वरले तिमीलाई यस्तो आज्ञा गर्नुहुन्छ, ‘तबोर डाँडामा जाऊ, र नाप्ताली र जबूलूनबाट तिमीसँग दश हजार मानिसहरू ल्याऊ।
7याबीनका सेनाका कमाण्डर सीसरालाई त्यसका रथहरू र त्यसका सेनाका साथमा कीशोन खोलामा तिमीसित भेट्नलाई म ल्याउनेछु, र तिमीलाई म त्यसमाथि विजयी बनाउनेछु।’”
8बाराकले तिनलाई भने, “तपाईं मसँग जानुभयो भने म जान्छु, तर तपाईं मसँग जानुभएन भने म जान्नँ।”
9तिनले भनिन्, “निश्चित रूपमा म तिमीसँग जानेछु। तर जुन बाटो तिमी जाँदैछौ त्यसले तिमीलाई सम्मान दिनेछैन, किनकि परमप्रभुले सीसरालाई एउटी स्त्रीको हातमा बेचिदिनुहुनेछ।” त्यसपछि दबोरा खडा भइन् र बाराकसँग केदेशमा गइन्।
10बाराकले जबूलून र नाप्तालीका मानिसहरूलाई उनीसँगै केदेशमा जानको निम्ति बोलाए। दश हजार जना मानिसहरू तिनको पछि आए र दबोरा पनि तिनीसँगै गइन्।
11यति बेला केनीहरू, अर्थात् होबाबका (मोशाका ससुराका) सन्तानबाट हेबेरले (केनीले) आफूलाई अलग्यएका, र आफ्नो पाललाई केदेश नजिकैको सानान्नीममा फलाँटको रूखको छेउमा टाँगेका थिए।
12अबीनोअमका छोरा बाराक तबोर डाँडामा गएका थिए भन्ने कुरा जब तिनीहरूले सीसरालाई भने,
13तब सीसराले आफ्ना सबै रथहरू, नौ सय फलामका रथहरू, र हरोशेत हग्गोयिमदेखि कीशोन खोलासम्म आफूसँग भएका सबै सेनालाई बोलाए।
14दबोराले बाराकलाई भनिन्, “जाऊ! किनकि परमप्रभुले तिमीलाई सीसरामाथि विजय दिनुभएको दिन आजै हो। के परमप्रभुले तिमीलाई अगुवाइ गर्नुभएको छैन र?” यसैले आफ्नो पछि लागेका दश हजार मानिसलाई साथमा लिएर बाराक तबोर डाँडाबाट तल गए।
15सीसरा र उनका सबै रथहरू र उनका सबै सेनालाई तरवारको धारले परमप्रभुले अलमल पारिदिनुभयो। अनि सीसरा आफ्नो रथबाट तल झरे र पैदल नै भागे।
16तर बाराकले रथहरू र सेनालाई हरोशेत हग्गोयिमसम्म लखेटे, र सीसराका सम्पुर्ण सेना तरवारको धारले मारिए, र एक जना मानिस पनि बाँचेन।
17तर सीसरा केनी हेबेरकी पत्नी याएलको पालमा भागेर गए, किनकि हासोरका राजा याबीन र केनी हेबेरको परिवारका बिचमा मिलाप थियो।
18याएल सीसरालाई भेट्न बाहिर गइन् र भनिन्, “मेरा मालिक यता फर्कनुहोस् र नडराउनुहोस्।” यसैले उनी तिनीतिर फर्के र तिनको पालभित्र पसे, र तिनले उनलाई एउटा कम्बल ओढाइदिइन्।
19उनले तिनलाई भने, “मलाई अलिकता पानी पिउन देऊ, किनकि मलाई तिर्खा लागेको छ।” तिनले दूध हालिएको मशक खोलिन् र तिनलाई पिउन दिइन्, र तिनले उनलाई फेरि ओढाइदिइन्।
20उनले तिनलाई भने, “पालको ढोकामा खडा बस। कोही आएर यहाँ कोही छ भनी तिमीलाई सोध्यो भने, ‘छैन’ भन्नू।”
21त्यसपछि याएल (हेबेरकी पत्नी) पालको एउटा कीला र मुङ्ग्रो आफ्नो हातमा लिइन् र विस्तारै उनको नजिक गइन्, किनकि उनी मस्त निद्रामा थिए र उनको कन्चटबाट त्यो पालको कीलालाई भुइँमा नछेडिंदासम्म तिनले ठोकिदिइन् र उनी मरे।
22बाराकले सीसरालाई खोज्दै गर्दा, याएल उनलाई भेट्न बाहिर गइन् र तिनलाई भनिन्, “आउनुहोस्, तपाईंले खोजिरहनुभएको मानिस म तपाईंलाई देखाउनेछु।” यसैले उनी तिनीसँग भित्र गए, र सीसराको कन्चटमा पालको कीला गाडिएर ऊ त्यहाँ मरेर ढलेको थियो।
23यसरी त्यस दिन परमेश्वरले कनानका राजा याबीनलाई इस्राएलका मानिसहरूका सामु परास्त गर्नुभयो।
24इस्राएलका मानिसहरूले कनानका राजा याबीनलाई नष्ट नगरेसम्म उनको विरुद्ध तिनीहरूको सामर्थ बढ्दै गयो।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org