Bible Explorer एप लिनुहोस्

बाइबल › व्यवस्था › 24

ULB · अध्याय 24 / 34

व्यवस्था 24

1आफूले बिहे गरेर ल्याएकी पत्‍नीमा कुनै खोट पाएकोले पुरुषले त्यसलाई त्याग्‍न चाह्यो भने त्यसले त्यागपत्र लेखेर उसको हातमा थमाइदिएर उसलाई आफ्नो घरबाट पठाओस्।

2त्यो आफ्नो घरबाट गइसकेपछि त्यो कसैकी पत्‍नी हुन सक्छे।

3दोस्रो पतिले पनि त्यसलाई घृणा गरी त्यागपत्र लेखी त्यसको हातमा थमाइदिएर उसलाई घरबाट पठाइदियो वा दोस्रो पतिको पनि मृत्यु भयो भने

4त्यसको पहिलेको पति अर्थात् उसलाई घरबाट पठाउने पतिले त्यस स्‍त्री अशुद्ध भएपछि त्यसलाई आफ्नी पत्‍नी हुनलाई नलिन पनि सक्छ। किनकि त्यसो गर्नु परमप्रभुको लागि घृणित कुरो हो। तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिन लाग्‍नुभएको देशलाई दोषी नबनाओ।

5भर्खरै बिहे गरेको पुरुष सेनासँगै युद्धमा नजाओस् न त जबरजस्ती उसलाई कुनै जिम्मेवारी दिइयोस्। त्यो एक वर्षसम्म घरमा रही त्यसले भर्खरै ल्याएकी पत्‍नीसित रमाओस्।

6कसैले धितोको रूपमा जाँतो वा जाँतोको माथिल्लो ढुङ्गा नलिओस् किनकि त्यसो गर्नु भनेको त्यस व्यक्तिको जीवन लिनु बराबर हो।

7इस्राएलीहरूका बिचबाट कसैले आफ्ना दाजुभाइमध्ये एउटालाई अपहरण गरी त्यसलाई नोकरसरह व्यवहार गरी बेचिदिएको छ भने त्यो अपहरणकारी मारिनैपर्छ। यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टतालाई हटाउने छौ।

8कुष्‍ठरोगको विपत्तिको बारेमा तिमीहरूले ध्यान देओ ताकि पुजारीहरू अर्थात् लेवीहरूले तिमीहरूलाई सिकाएका हरेक निर्देशनलाई तिमीहरूले होसियारीसाथ पछ्याई पालन गर्न सक। मैले तिनीहरूलाई आज्ञा गरेमुताबिक तिमीहरूले गर्नू।

9तिमीहरू मिश्रबाट आइरहँदा परमप्रभु तिमीहरूका परमेश्‍वरले मिरियमलाई के गर्नुभयो, सो सम्झ।

10तिमीले आफ्नो छिमेकीलाई कुनै किसिमको ऋण दिँदा धरौटी लिन उसको घरभित्र प्रवेश नगर।

11तिमी बाहिरै पर्ख, र तिमीले ऋण दिएको व्यक्ति धरौटी लिएर बाहिरै आओस्।

12त्यो गरिब रहेछ भने त्यसको आफ्नो सम्पत्ति ठानी धरौटीसितै नसुत्‍नू।

13सूर्य अस्ताउनुअगि तिमीले त्यसको धरौटी फिर्ता गरिदिनू ताकि त्यो आफ्नो ओढ्नेमा सुत्‍न सकोस् र तिमीलाई आशिष् दिन सकोस्। परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु यो तिम्रो निम्ति धार्मिकता हुने छ।

14तिमीहरूले गरिब र दरिद्र ज्यालादारी नोकरलाई थिचोमिचो नगर, चाहे त्यो तिमीहरूकै सहरभित्र तिमीहरूको देशमा भएको इस्राएली भाइ होस् वा परदेशी होस्।

15तिमीहरूले हरेक दिन त्यसलाई त्यसको ज्याला दिनू। सूर्य अस्ताउनुअगि यो विषय सुल्झोस् किनकि त्यो गरिब हो र यसमा नै भर पर्छ। यसो गर्नू ताकि त्यसले परमप्रभुको सामु पुकार नगरोस्, र यो तिमीहरूले गरेका पाप नबनोस्।

16छोराछोरीका कारणले बुबाआमालाई नमार्नू, न त बुबाआमाको कारणले छोराछोरीलाई मार्नू। बरु, हरेक मानिस आफ्नै पापको निम्तो मरोस्।

17परदेशी वा अनाथले पाउने न्याय हरण गर्न दमन नगर। विधवाको ओढ्ने धरौटीको रूपमा नराख।

18बरु, तिमीहरू मिश्रमा कमारा थियौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई त्यहाँबाट छुटकारा दिनुभयो भनी याद गर्नू। त्यसकारण, यो आज्ञा पालन गर्न मैले तिमीहरूलाई निर्देशन दिएको छु।

19तिमीहरूले आफ्नो खेतमा फसलको कटनी गर्दा अन्‍नको एक बिटा बिर्सेका छौ भने त्यसलाई लिन फर्केर नजाओ। यो परदेशी, अनाथ वा विधवाको लागि होस् ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काममा आशिष् दिनुभएको होस्।

20तिमीहरूले भद्राक्षको रुखलाई हल्लाउँदा तिमीहरू फेरि हाँगाहरूमा नजाओ। यो परदेशी, अनाथ वा विधवाको लागि होस्।

21तिमीहरूले आफ्नो दाखबारीबाट दाख बटुल्दा तिमीहरूले फेरि सोहोरसाहर नगर्नू। छाडिएको चाहिँ परदेशी, अनाथ र विधावाको लागि हुने छ।

22तिमीहरू मिश्रमा कमारा थियौ भनी याद राख्‍नू। त्यसकारण, मैले तिमीहरूलाई आज्ञा गरेको यो निर्देशन मान्‍नू।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org