ULB · अध्याय 23 / 34
व्यवस्था 23
1लिङ्ग किचिएको वा काटिएको मानिसलाई परमप्रभुको सभामा प्रवेश गर्न निदनू।
2कुनै अवैध बच्चा परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन। त्यसको दस पुस्तासम्म त्यसको कोही सन्तान पनि परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन।
3अम्मोनी वा मोआबी परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन। त्यसको दस पुस्तासम्म त्यसको कोही सन्तान पनि परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन।
4किनकि तिमीहरू मिश्रबाट आउँदा बाटोमा तिनीहरूले रोटी र पानी लिएर तिमीहरूलाई भेट्न आएका थिएनन्, र तिमीहरूको विरुद्धमा श्राप दिन तिनीहरूले पतोरमा बस्ने बओरका छोरा बालामलाई भाडामा लिएका थिए।
5तर परमप्रभु तिमीहरूका परमेश्वरले बालामको कुरा सुन्नुभएन। बरु, तिमीहरूका परमेश्वरले श्रापलाई आशिष्मा परिणत गरिदिनुभयो किनकि तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्थ्यो।
6तिमीहरूका जीवनभर तिमीहरूले तिनीहरूका शान्ति वा उन्नतिको खोजी नगर्नू।
7तिमीहरूले कुनै एदोमीलाई तिरस्कार नगर्नू। कुनै मिश्रीलाई घृणा नगर्नू किनकि तिमीहरू त्यसको देशमा परदेशी थियौ।
8तिनीहरूबाट जन्मेका तेस्रो पुस्ताका सन्तानहरू परमप्रभुको सभामा पस्न सक्छन्।
9तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्धमा जाँदा तिमीहरूले आ-आफूलाई दुष्ट कुराहरूबाट अलग राख।
10तिमीहरूका बिचमा रातम कुनै पुरुष स्वप्न-दोषको कारणले गर्दा अशुद्ध भएको छ भने त्यो सेनाको छाउनीबाट बाहिर जाओस् र छाउनीमा फर्केर नआओस्।
11साँझ परेपछि त्यसले पानीले नुहाओस्। सूर्य अस्ताएपछि त्यो छाउनीमा आओस्।
12छाउनीबाहिर तिमीहरूका लागि एउटा ठाउँ हुनुपर्छ।
13खन्नका लागि तिमीहरूसित सामग्रीहरू हुनुपर्छ। दिसा बसिसकेपछि खाल्डो खनेर दिसा पुरिदिनू।
14किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विजय दिन र तिमीहरूका शत्रुहरूलाई तिमीहरूका हातमा दिन उहाँ तिमीहरूको छाउनीको बिचमा हिँडडुल गर्नुहुन्छ। त्यसकारण, तिमीहरूको छाउनी पवित्र हुनुपर्छ ताकि तिमीहरूका बिचमा कुनै अशुद्ध कुरा देखेर उहाँ तिमीहरूका बिचबाट तर्केर नजानुभएको होस्।
15आफ्नो मालिकबाट भागेर आएको कमारालाई त्यसको मालिककहाँ नफर्काउनू।
16त्यसले जुनसुकै सहर छाने तापनि त्यसलाई तिमीहरूसँगै बस्न दिनू। त्यसलाई थिचोमिचो नगर्नू।
17इस्राएलीका छोरीहरू र छोराहरूका बिचमा कसैले पनि मन्दिरको वेश्यावृत्तिमा काम नगरोस्।
18तिमीहरूले कुनै भाकलको निम्ति वेश्यावृत्तिको ज्याला वा कुकुरको ज्याला परमप्रभु तिमीहरूका परमेश्वरको भवनमा नल्याउनू। किनकि यी दुवै परमप्रभु तिमीहरूका परमेश्वरका लागि घृणित कुराहरू हुन्।
19ब्याज प्राप्त गर्न सकिने रुपियाँ-पैसा, भोजन वा अन्य कुनै पनि कुरो आफ्नो इस्राएली भाइलाई ऋणस्वरूप दिँदा त्यसबाट ब्याज नलिनू।
20परदेशीबाट भने तिमीहरूले ब्याज लिन सक्छौ। तर आफ्नो इस्राएली भाइबाट भने तिमीहरूले ब्याज लिनुहुँदैन। यसरी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूको हात परेको हरेक थोकमा आशिष् दिनुभएको होस्।
21तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई भाकल गर्दा यसलाई पुरा गर्न विलम्ब नगर किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट यो चाहनुहुन्छ। भाकल पुरा नगर्नु पाप हो।
22तर भाकलै गरेका छैनौ भने यो तिमीहरूका लागि पाप हुँदैन।
23परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले भाकल गरेअनुसार वा तिमीहरूका मुखले स्वैच्छापूर्वक प्रतिज्ञा गरेअनुसार तिमीहरूका मुखबाट निस्केको कुरा पुरा गर्नुपर्छ।
24तिमीहरू आफ्नो छिमेकीको दाखबारीमा जाँदा इच्छा लागेअनुसार चाहेजति दाख खान सक्छौ, तर आफ्नो टोकरीमा भने नहाल।
25तिमीहरू आफ्नो छिमेकीको अन्न पाकेको खेतमा जाँदा तिमीहरूले आफ्ना हातले अन्नका बाला टिप्न सक्छौ, तर पाकेको बालीमा हँसिया नलगाओ।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org