Bible Explorer एप लिनुहोस्

बाइबल › व्यवस्था › 33

ULB · अध्याय 33 / 34

व्यवस्था 33

1यो आफ्नो मृत्युअगि परमेश्‍वरका मानिस मोशाले इस्राएलीहरूलाई दिएको आशिष् हो।

2तिनले भनेः “परमप्रभु सीनैबाट आउनुभयो, र तिनीहरूमाथि सेइरबाट उदय हुनुभयो। उहाँ पारान पर्वतबाट चम्कनुभयो, र उहाँ दसौँ हजार पवित्र जनसित आउनुभयो। उहाँको दाहिने हातमा बिजुलीको प्रकाश थियो।

3वास्तवमा उहाँले मानिसहरूलाई प्रेम गर्नुहुन्छ। उहाँका सबै पवित्र जन उहाँको हातमा छन्, र तिनीहरूले तपाईंको पाउमा शिर निहुराउँछन्। तिनीहरूले तपाईंका वचनहरू प्राप्‍त गरे।

4मोशाले हामीलाई व्यवस्था दिए, जुन याकूबको समुदायको सम्पत्ति हो।

5तब मानिसका अगुवाहरू र इस्राएलका सबै कुल एकै ठाउँमा जम्मा हुँदा यशूरूनमा राजा हुनुहुन्थ्यो।

6रूबेन बाँचून्, र नमरून, तर तिनका मानिसहरू थोरै होऊन्।

7यो यहूदाको निम्ति आशिष् हो। मोशाले भनेः हे परमप्रभु, यहूदाको सोर सुन्‍नुहोस्, र तिनलाई फेरि आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस्। तिनको पक्षमा लड्नुहोस्। तिनका शत्रुहरूको विरुद्धमा सहायता बन्‍नुहोस्।

8लेवीको विषयमा मोशाले भनेः तपाईंको तुम्मीम र तपाईंको ऊरीम तपाईंको राजकीय जनसित छ, जसलाई तपाईंले मस्साहमा जाँच्नुभयो, जोसित तपाईंले मेरीबाको पानीमा झगडा गर्नुभयो।

9तिनले आफ्ना बुबा र आमाको विषयमा भने, “मैले उहाँहरूलाई देखेको छैनँ।” न तिनले आफ्ना दाजुभाइहरूलाई स्वीकर गरे, न त तिनले आफ्नै सन्तानको वास्ता गरे। किनकि तिनले तपाईंको वचनको रखवाली गरे, र तपाईंको सन्दूकलाई सुरक्षा दिए।

10तिनले याकूबलाई तपाईंका विधिहरू र इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछन्। तिनले तपाईंको सामु धूप बाल्छन्, र तपाईंको वेदीमा सबै होमबलि चढाउँछन्।

11हे परमप्रभु, तिनका सबै सम्पत्तिमा आशिष् दिनुहोस्, र तिनका हातका काम स्वीकार गर्नुहोस्। तिनको विरुद्धमा खडा हुनेहरू र तिनलाई घृण गर्नेहरूका कम्मरमा हिर्काउनुहोस् ताकि तिनीहरू फेरि उठ्न नसकून्।

12बेन्यामीनको विषयमा मोशाले भनेः परमप्रभुका प्रिय उहाँको छेउमा सुरक्षित रहून्। परमप्रभुले तिनको जीवनभर रक्षा गर्नुहुन्छ, र तिनी परमप्रभुको पाखुराको बिचमा बस्छन्।

13योसेफको विषयमा मोशाले भनेः माथि आकाशबाट झर्ने अनमोल शीत र तल गहिराइको पानीले तिनको देश परमप्रभुद्वारा आशिषित् होस्।

14तिनको देश सूर्यको ताप र महिनैपिच्छेका उब्जनीका अनमोल कुराहरूले आशिषित् होस्।

15साथै, प्राचीन पर्वतहरूका उत्तम कुराहरू, र अनन्तका पर्वतहरूका अनमोल कुराहरूले आशिषित् होस्।

16तिनको देश पृथ्वीका अनमोल कुराहरू र यसको प्रचुरता अनि जलिरहेको पोथ्रामा बस्‍नुहुनेको निगाहले आशिषित् होस्। योसेफको शिरमा आशिष् आओस्, र आफ्ना दाजुभाइहरूमाथिका राजकुमारको शिरमा आशिष् आओस्।

17ऐश्‍वर्यमा तिनी पहिले बियाएका बाछोझैँ छन्, र तिनका सिङ अर्नाका सिङ हुन्। तीद्वारा नै तिनले सबै मानिसलाई पृथ्वीको पल्लो छेउसम्म हान्‍ने छन्। यी एफ्राइमका दसौँ हजार हुन् र मनश्शेका हजारौँ हुन्।

18जबूलूनको विषयमा मोशाले भनेः ए जबूलून तिमी बाहिर जाँदा र ए इस्साखार तिमी आफ्ना पालहरूमा बस्दा आनन्दित होओ।

19तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउने छन्। त्यहाँ तिनीहरूले धार्मिकताका बलिदानहरू चढाउने छन्। किनकि तिनीहरूले समुद्रको प्रचुरता र समुद्रीतटको बालुको सम्पत्ति उपभोग गर्ने छन्।

20गादको विषयमा मोशाले भनेः गादलाई वृद्धि गर्ने धन्यका हुन्। त्यहाँ तिनी सिंहिनीझैँ बस्‍ने छन्, र तिनले मुखियाको पाखुरा लुछिदिने छन्।

21तिनले आफ्नो निम्ति सबैभन्दा उत्तम जग्गा छाने, किनकि नायकको हिस्सा तिनको निम्ति अलग गरिएको थियो। तिनी मानिसहरूका अगुवाहरूसँगै आए। तिनले इस्राएलसितै परमप्रभुको न्याय र उहाँका विधिहरू पुरा गरे।

22दानको विषयमा मोशाले भनेः दान बाशानबाट हामफाल्दै आउने सिंहको डमरु हो।

23नप्‍तालीको विषयमा मोशाले भनेः नप्‍ताली परमप्रभुको आशिष्‌को भरिपूर्णता र स्‍नेहद्वारा सन्तुष्‍ट भएका छन्। तिनले पश्‍चिम र दक्षिणको देश अधिकार गर्ने छन्।

24आशेरको विषयमा मोशाले भनेः आशेर अन्य छोराहरूमध्ये सबैभन्दा बढी आशिषित् होऊन्। तिनी आफ्ना दाजुभाइहरूकहाँ स्वीकारयोग्य होऊन्, र तिनले आफ्नो खुट्टा जैतूनको तेलमा धोऊन्।

25तिनको सहरका बारहरू फलाम र काँसाका होऊन्। तिमी बाँचुञ्‍जेसम्म तिम्रो सुरक्षा हुने छ।

26यशूरूनमा परमेश्‍वरजस्तो कोही छैन। उहाँ सत्य हुनुहुन्छ जो तिम्रो सहायताको लागि आफ्नो प्रतापमा बादलमाथि स्वर्गबाट सवार भएर आउनुहुन्छ।

27अनन्त परमेश्‍वर शरणस्थान हुनुहुन्छ, र मुनितिरचाहिँ अनन्त पाखुरा छन्। उहाँले तिमीहरूका सामुन्‍नेबाट शत्रुलाई धपाउनुहुने छ, र उहाँले भन्‍नुभयो, “नाश पार्!”

28इस्राएल सुरक्षामा बस्यो। अन्‍न र नयाँ मद्यको देशमा याकूबको सन्तान सुरक्षित थियो। वास्तवमा तिनको आकाशले तिनमाथि शीत झारून्।

29ए इस्राएल, तिम्रा आशिष्‌हरू अनगिन्ती छन्। परमप्रभुद्वारा बचाइएको जाति तिमीजस्तै को छ र? उहाँ तिम्रो सहायताको ढाल हुनुहुन्छ, र तिम्रो प्रतापको तरवार हुनुहुन्छ। तिम्रा शत्रुहरू काँप्दै तिमीकहाँ आउँछन्। तिमीले तिनीहरूका अग्ला-अग्ला ठाउँहरूमा कुल्चने छौ।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org