ULB · अध्याय 19 / 34
व्यवस्था 19
1परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई नष्ट गरी तिनीहरूको देश तिमीहरूलाई अधिकार गर्न दिनुहुँदा तिनीहरूपछि तिमीहरू तिनीहरूका सहर र घरहरूमा आएर बस्ने छौ।
2तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्नुभएको देशको बिचमा आफ्नो लागि तिनवटा सहर रोज्नू।
3परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्नुभएको देशलाई तिन भागमा विभाजन गरी ती सहरहरूमा जाने सिमाना निर्धारण गर्नू ताकि ज्यानमारा त्यहाँ भागेर जान सकोस्।
4जसले आफ्नो छिमेकीलाई पहिले घृणा गर्दैनथ्यो र त्यसले अजानमा उसलाई मार्यो भने मारेर त्यहाँ बस्न जाने व्यक्तिको विषयमा भएको व्यवस्था यही हो।
5उदाहरणको लागि, कुनै मानिस आफ्नो छिमेकीसँगै दाउरा काट्न जङ्गलमा जान्छ र रुख ढाल्नलाई बञ्चरो चलाउँदा बञ्चरो बीँडबाट फुस्केर छिमेकीलाई लागेर त्यो मर्यो भने त्यो मान्छे यीमध्ये कुनै एउटा सहरमा भागेर आफ्नो ज्यान बचाउन सक्छ।
6नत्रता बाटो लामो छ भने बदला लिने व्यक्ति त्यो ज्यान मार्नेको पछि गई त्यसको तातो रिसमा त्यसलाई उछिनी त्यसलाई प्रहार गरेर मार्न सक्छ यद्यपि त्यो मानिस मारिने योग्यको भने थिएन किनकि विगतमा त्यसले आफ्नो छिमेकीलाई घृणा गरेको थिएन।
7त्यसकारण, तिमीहरूले आफ्ना लागि तिनवटा सहर अलग गर्नू भनी म आज्ञा दिन्छु।
8परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएअनुसार उहाँले तिमीहरूका सिमाना बढाइदिनुभयो र तिमीहरूलाई पिता-पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएका सबै देश दिनुभयो भने
9र आज मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै आज्ञा अर्थात् परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्ने र सधैँ उहाँका मार्गहरूमा हिँड्ने आज्ञाहरू तिमीहरूले पालन गर्यौ भने तिमीहरूले यी तिनवटा सहरका अतिरिक्त अन्य तिनवटा पनि थप्नुपर्छ।
10परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा निर्दोष रगत नबगाइयोस् र त्यसको दोष तिमीहरूमाथि नलागोस् भन्नाका लागि यसो गर।
11तर कसलै आफ्नो छिमेकीलाई घृणा गर्छ र ढुकेर बसी त्यसको विरुद्धमा उठेर त्यसलाई मर्ने गरी हिर्काउँछ र त्यो यी तिनवटा सहरमध्ये एउटामा भाग्छ भने
12त्यसको सहरका धर्म-गुरुहरूले मान्छे पठाई त्यसलाई त्यहाँबाट ल्याउनुपर्छ र जिम्मेवार नातेदारको हातमा सुम्पनुपर्छ अनि त्यसको रगतको बदला लिइयोस्।
13तिमीहरूका आँखाले त्यसलाई दया देखाउनुहुँदैन। बरु, तिमीहरूले इस्राएलबाट निर्दोषको हत्याको दोषलाई निर्मूलन गर्नुपर्छ ताकि तिमीहरूको भलो हुन सकोस्।
14परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई निज सम्पत्तिको रूपमा अधिकार गर्न दिन लाग्नुभएको देशमा लामो समयदेखि राखिएको आफ्नो छिमेकीको सिमानाको ढुङ्गो नहटाओ।
15कुनै पनि विषयमा कुनै पनि अपराध वा पापको लागि एउटै मात्र साक्षी खडा नहोस्। दुई वा तिन जनाको साक्षीको आधारमा त्यस विषयको पुष्टि होस्।
16कसैले गलत काम गरेको छ भनी कुनै अधर्मी मानिस खडा हुन सक्छ।
17कुरा नमिलेको दुवै जना व्यक्ति परमप्रभु, पुजारीहरू र ती दिनमा सेवा गर्ने न्यायकर्ताहरूको सामु खडा होऊन्।
18न्यायकर्ताहरूले दत्तचित्तसाथ जाँचबुझ गरून्। हेर, साक्षी झुटो रहेछ र त्यसले आफ्नो भाइको विरुद्धमा झुटो गवाही दिएको रहेछ भने
19त्यसले आफ्नो भाइलाई जे गर्ने सोच बनाएको थियो, त्यसलाई त्यसै गर्नू। यसरी तिमीहरूले आफ्ना बिचबाट दुष्टता हटाउनू।
20तब बाँकी हुनेहरू यो सुनेर डराने छन्, अनि त्यसपछि कसैले पनि तिमीहरूका बिचमा यस्तो दुष्टता गर्ने छैन।
21तिमीहरूले दया नदेखाउनू। ज्यानको सट्टा ज्यान, आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात र गोडाको सट्टा गोडा हुने छ।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org