Bible Explorer एप लिनुहोस्

बाइबल › व्यवस्था › 1

ULB · अध्याय 1 / 34

व्यवस्था 1

1यर्दन नदीको बेँसीको मैदानमा सुपको सामुन्‍ने अराबामा पारान, तोफेल, लाबान, हसेरोत र दीसाहाबका बिचमा यर्दनपारिको उजाड-स्थानमा मोशाले सबै इस्राएलीलाई दिएका वचन यिनै हुन्।

2होरेबदेखि सेइर पर्वतको बाटो भएर कादेश-बर्नेसम्म पुग्‍न एघार दिन लाग्छ।

3चालिसौँ वर्षको एघारौँ महिनाको पहिलो दिनमा मोशाले इस्राएलका सबै मानिसलाई परमप्रभुले तिनीहरूको बारेमा मोशालाई आज्ञा गर्नुभएका सबै कुरा तिनले तिनीहरूलाई बताइदिए।

4हेश्बोनमा बस्‍ने एमोरीहरूका राजा सीहोन र एद्रईको अस्तारोतमा बस्‍ने बाशानका राजा ओगलाई परमप्रभुले आक्रमण गर्नुभएपछि यो भएको थियो।

5यर्दनपारि मोआब देशमा मोशाले यी निर्देशनहरू दिन थाले,

6“परमप्रभु हाम्रा परमेश्‍वर यसो भन्दै होरेबमा हामीसित बोल्नुभयो, 'तिमीहरू यस डाँडामा बसेको धेरै भइसकेको छ।

7आफ्नो यात्रा सुरु गरी एमोरीहरूको पहाडी देश र त्यसका छेउछाउका सबै ठाउँ अर्थात् यर्दन नदीको बेँसीको मैदान, पहाडी देश, तराई, नेगेव र समुद्रीतटमा कनानीहरूको देश र लेबनान र महानदी यूफ्रेटिससम्म जाओ।

8हेर, मैले यो देश तिमीहरूको सामु राखिदिएको छु। परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरू अर्थात् अब्राहाम, इसहाक र याकूबसित तिनीहरू र तिनीहरूका सन्तानहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा गएर यसलाई कब्जा गर।'

9त्यस बेला मैले तिमीहरूलाई यसो भनेँ, 'म एक्लै तिमीहरूलाई अगुवाइ गर्न सक्दिनँ।

10परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको वृद्धि गराउनुभएको छ, अब हेर आज तिमीहरू आकाशका तारापुञ्‍जजस्तै धेरै भएका छौ।

11परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले आफूले प्रतिज्ञा गरेअनुसार तिमीहरूलाई हजारौँ गुणा वृद्धि गरी तिमीहरूलाई आशिष् दिनुभएको होस्।

12तर म आफैले मात्र कसरी तिमीहरूका भार, तिमीहरूका बोझ र तिमीहरूका झगडाहरू बोक्‍न सक्छु?

13हरेक कुलबाट बुद्धिमान् मानिसहरू, समझशक्ति भएकाहरू र असल नाम चलेकाहरूलाई छान र म तिनीहरूलाई तिमीहरूका नायक नियुक्त गर्ने छु।'

14तिमीहरूले जवाफ दिई मलाई भन्यौ, 'तपाईंले भन्‍नुभएको कुरो हाम्रो निम्ति असल छ।'

15त्यसैले मैले तिमीहरूका कुलहरूबाट मुख्य मानिसहरू, बुद्धिमान् मानिसहरू, असल नाउँ चलेकाहरूलाई छानी तिनीहरूलाई तिमीहरूका नायक बनाएँ ताकि तिनीहरूले कुल-कुलअनुसार हजार, सय, पचास र दसको रेखदेख गरून्।

16त्यस बेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यसो भनी आज्ञा दिएँ, 'तिमीहरूका दाजुभाइहरूका बिचमा भएको झगडालाई सुनी कुनै मानिस, भाइ र तिमीहरूका परदेशीको बिचमा धार्मिकतापूर्वक न्याय गर।

17झगदा हुँदा कसैको पक्षपात नगर। साना-ठुला दुवैको कुरामा समान रूपमा ध्यान देओ। मानिसको अनुहारदेखि नडराओ किनकि न्याय परमेश्‍वरको हो। तिमीहरूले मिलाउन नसक्‍ने झगडा मकहाँ ल्याओ र म त्यो सुन्‍ने छु।'

18तिमीहरूले गर्नुपर्ने सबै कुरा मैले त्यस बेला नै तिमीहरूलाई आज्ञा गरेको थिएँ।

19हामी होरेबबाट यात्रा गरी परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई आज्ञा गर्नुभएअनुसार तिमीहरूले देखेका विशाल र डरलाग्दो उजाड-स्थानबाट भएर एमोरीहरूको पहाडी देशतर्फ जाने बाटो लाग्यौँ अनि हामी कादेश-बर्ने आइपुग्यौँ।

20मैले तिमीहरूलाई भनेँ, 'तिमीहरू एमोरीहरूको पहाडी देशमा आइपुगेका छौ जुन देश परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिँदै हुनुहुन्छ।

21हेर, परमप्रभु तिमीहरूका परमेश्‍वरले यो देश तिमीहरूका सामु राखिदिनुभएको छ। तिमीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएअनुसार माथि उक्लेर यसको अधिकार गर। नडराओ, न त निरुत्साहित होओ।'

22तिमीहरू हरेक मकहाँ आएर भन्यौ, 'हामीभन्दा अगिअगि मानिसहरू पठाऔँ ताकि तिनीहरूले हाम्रो निम्ति त्यस देशको भेद लिई हामीले त्यस देशलाई कसरी आक्रमण गर्नुपर्छ र हामी कुन-कुन सहरमा आइपुग्‍नुपर्ने हो भन्‍ने बारेमा तिनीहरूले बताऊन्।'

23त्यो सल्लाहले मलाई ज्यादै खुसी पार्‍यो। मैले तिमीहरूमध्ये हरेक कुलबाट एक-एक गरी बाह्र जना मानिस छानेँ।

24तिनीहरू पहाडी देशमा गए। तिनीहरू एश्कोलको बेँसीमा पुगी यसको जासुसी गरे।

25तिनीहरूले आ-आफ्ना हातमा त्यस देशका केही उत्पादनहरू हामीकहाँ ल्याए। तिनीहरूले हामीकहाँ यस्तो समाचार पनि ल्याए, 'परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिन लाग्‍नुभएको यो देश असल छ।'

26तर तिमीहरूले आक्रमण गर्न इन्कार गरी परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञाको विरुद्धमा गयौ।

27तिमीहरूका पालहरूमा गनगन गर्दै तिमीहरूले भन्यौ, “परमप्रभुले हामीलाई घृणा गर्नुभएको छ। त्यसैले, एमोरीहरूको हातमा सुम्पी हामीलाई नष्‍ट गर्न उहाँले हामीलाई मिश्र देशबाट बाहिर ल्याउनुभएको छ।

28अब हामी कहाँ जाने? हाम्रा दाजुभाइहरूले यसो भनी हामीलाई निराश बनाएका छन्, 'ती मानिसहरू हामीभन्दा ठुला र अग्ला छन्। तिनीहरूका सहरहरू विशाल छन् र आकाशसम्मै पर्खाल लगाइएका छन्। त्यस बाहेक, त्यहाँ हामीले अनाकीहरूका सन्तानहरूलाई पनि देखेका छौँ'।”

29तब मैले तिमीहरूलाई भनेँ, 'भयभीत नहोओ, न त तिनीहरूदेखि डराओ।

30तिमीहरूका अगिअगि जानुहुने तिमीहरूका परमप्रभु परमेश्‍वर नै तिमीहरूका पक्षमा लड्नुहुने छ जस्तो तिमीहरूकै आँखाका सामुन्‍ने मिश्रमा तिमीहरूका निम्ति उहाँले गर्नुभएको थियो।

31तिमीहरू यस ठाउँमा नआइपुगुञ्‍जेलसम्म बुबाले आफ्नो छोरोलाई बोकेजस्तै उजाड-स्थानसाथै हरेक ठाउँमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बोक्‍नुभएको तिमीहरूले देखेकै छौ।'

32यस वचनका बाबजुत पनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरमा विश्‍वास गरेनौ

33जो रातमा आगो र दिनमा बादल बनेर तिमीहरूलाई छाउनी बनाउने ठाउँ पत्ता लगाउन तिमीहरूका अगिअगि जानुभयो।

34परमप्रभुले तिमीहरूको आवाज सुन्‍नुभयो र उहाँ रिसाउनुभयो। उहाँले शपथ खाएर भन्‍नुभयो,

35'निश्‍चय नै यो दुष्‍ट पुस्ताको एउटै मान्छेले पनि मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनेको असल देश देख्‍ने छैन।

36तर यपुन्‍नेका छोरा कालेबले यो देश देख्‍नेछ। त्यसले पूर्ण रूपमा परमप्रभुलाई पछ्याएकोले म त्यसलाई र त्यसका सन्तानहरूलाई त्यसले पाइला टेकेको यो देश दिने छु।'

37तिमीहरूका कारणले परमप्रभु मसित पनि रिसाउनुभयो, 'तँ पनि त्यहाँ जाने छैनस्।

38मेरो सामु खडा हुने नूनका छोरा यहोशू त्यहाँ जाने छ। त्यसलाई उत्साह दे किनकि त्यसले यस देशको कब्जा गर्न इस्राएललाई अगुवाइ गर्नेछ।

39यस बाहेक, तेरा स-साना बालबालिकाहरू जसको विषयमा तैँले तिनीहरू सिकार हुने छन् भनी बताएको थिइस्, जससित आज असल र खराबको ज्ञान छैन, तिनीहरू नै त्यहाँ जाने छन्। तिनीहरूलाई म यो देश दिने छु र तिनीहरूले यसको अधिकार गर्ने छन्।

40तर तिमीहरू भने फर्केर उजाड-स्थानको बाटो हुँदै नर्कटहरूको समुद्रको दिशातर्फ जाओ।'

41तब तिमीहरूले मलाई जवाफ दियौ, 'हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौँ। हामी माथि उक्लेर लडाइँ गर्ने छौँ, र परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई गर्नू भनी आज्ञा दिनुभएका सबै कुरा हामी गर्नेछौँ। तिमीहरूका बिचमा भएका हरेक पुरुषले आ-आफ्नो हतियार उठाएर त्यस पहाडी देशलाई आक्रमण गर्न तयार भयौ।

42परमप्रभुले मलाई भन्‍नुभयो, 'तिनीहरूलाई भन्, “आक्रमण नगर्; लडाइँ नगर् किनकि म तिमीहरूसँग हुने छैनँ, र तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुने छौ।'

43मैले तिमीहरूलाई यसरी नै भनेँ, तर तिमीहरूले मेरो कुरा सुनेनौ। तिमीहरू परमप्रभुको आज्ञाको विरुद्धमा गयौ। तिमीहरू हठी भयौ र त्यस पहाडी देशलाई आक्रमण गर्न गयौ।

44तर त्यस पहाडी देशमा बस्‍ने एमोरीहरू तिमीहरूको विरुद्धमा आएर तिमीहरूलाई मौरीलाई झैँ लखेटे अनि सेइरदेखि होर्मासम्मै तिमीहरूलाई प्रहार गरे।

45तिमीहरू फर्केर पमरप्रभुको सामु रोयौ। तर पमरप्रभुले तिमीहरूको रुवाइ सुन्‍नुभएन, न त उहाँले तिमीहरूलाई ध्यानै दिनुभयो।

46त्यसैले तिमीहरू कादेशमा धेरै दिनसम्म बस्यौ। तिमीहरूले त्यहाँ पुरै दिनहरू बितायौ।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org