गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 जुन › जुन 13
अर्थोडक्स पात्रो · मे 31 (पुरानो शैली)
अर्थोडक्स दैनिक पाठहरू — 2027 जुन 13
आइतबार · स्वर 6
पर्व र सन्तहरू
पास्काको सातौँ आइतबार
पहिलो विश्वव्यापी महासभाका पवित्र पिताहरू
उपवास
उपवास छैन
यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।
दिनका पाठहरू
साँझको प्रार्थना: पाठ
14जब अब्रामले तिनका नातेदारलाई शत्रुहरूले कब्जा गरेको कुरा सुने, तिनले आफ्ना घरमा नै जन्मेका तालिम प्राप्त ३१८ जना मानिसहरू लिएर तिनले तिनीहरूलाई दानसम्म नै खेदे। 15तिनले आफ्ना मानिसहरूलाई राती तिनीहरू विरुद्ध समूह-समूहमा विभाजन गरे र तिनीहरूलाई आक्रमण गरे अनि तिनीहरूलाई होबासम्म खेदे, जुन दमस्कसको उत्तर पर्छ। 16तिनले आफ्ना सबै सम्पत्तिहरू पनि फिर्ता ल्याए र तिनका नातेदार र तिनका मालसामानहरू साथै महिलाहरू र अन्य मानिसहरू पनि ल्याए। 17अब्रामले कदोर्लाओमेर र तिनीसँग भएका राजाहरूलाई पराजित गरेर फर्केपछि, सदोमका राजा तिनलाई भेट्न शावेको (अर्थात् राजाको उपत्यका) उपत्यकामा गए। 18शालेमका राजा मल्कीसेदेकले रोटी र दाखमद्य लिएर आए। तिनी सर्वोच्चका पूजाहारी थिए। 19तिनले उनलाई यसो भन्दै आशोष् दिए, “स्वर्ग र पृथ्वी सृष्टि गर्नु हुने परमेश्वरले अब्रामलाई आशिष् दिनुभएको होस्। 20सर्वोच्च परमेश्वर धन्यको हौऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्पनुभएको छ।” तब अब्रामले तिनका सबै थोकको दशांश उनलाई दिए।
साँझको प्रार्थना: पाठ
8हेर, मैले यो देश तिमीहरूको सामु राखिदिएको छु। परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरू अर्थात् अब्राहाम, इसहाक र याकूबसित तिनीहरू र तिनीहरूका सन्तानहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा गएर यसलाई कब्जा गर।' 9त्यस बेला मैले तिमीहरूलाई यसो भनेँ, 'म एक्लै तिमीहरूलाई अगुवाइ गर्न सक्दिनँ। 10परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको वृद्धि गराउनुभएको छ, अब हेर आज तिमीहरू आकाशका तारापुञ्जजस्तै धेरै भएका छौ। 11परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले आफूले प्रतिज्ञा गरेअनुसार तिमीहरूलाई हजारौँ गुणा वृद्धि गरी तिमीहरूलाई आशिष् दिनुभएको होस्। 15त्यसैले मैले तिमीहरूका कुलहरूबाट मुख्य मानिसहरू, बुद्धिमान् मानिसहरू, असल नाउँ चलेकाहरूलाई छानी तिनीहरूलाई तिमीहरूका नायक बनाएँ ताकि तिनीहरूले कुल-कुलअनुसार हजार, सय, पचास र दसको रेखदेख गरून्। 16त्यस बेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यसो भनी आज्ञा दिएँ, 'तिमीहरूका दाजुभाइहरूका बिचमा भएको झगडालाई सुनी कुनै मानिस, भाइ र तिमीहरूका परदेशीको बिचमा धार्मिकतापूर्वक न्याय गर। 17झगदा हुँदा कसैको पक्षपात नगर। साना-ठुला दुवैको कुरामा समान रूपमा ध्यान देओ। मानिसको अनुहारदेखि नडराओ किनकि न्याय परमेश्वरको हो। तिमीहरूले मिलाउन नसक्ने झगडा मकहाँ ल्याओ र म त्यो सुन्ने छु।'
साँझको प्रार्थना: पाठ
14हेर, आकाश, आकाशमण्डलहरू, पृथ्वी र तिनमा भएका सबै परमप्रभु तिमीहरूका परमेश्वरकै हुन्। 15परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नमा उहाँ खुसी हुनुभयो र उहाँले तिमीहरू, तिमीहरूका सन्तानहरू र त्यसपछि आउनेहरूलाई चुन्नुभयो जस्तो तिमीहरू देख्छौ। 16त्यसकारण, तिमीहरूका ह्रदयको खतना गर, र अबदेखि उसो हठी नहोओ। 17किनकि परमप्रभु तिमीहरूका परमेश्वर नै देवहरूका परमेश्वर र प्रभुहरूका प्रभु, महान् परमेश्वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ जसले कसैको पक्षपात गर्नुहुन्न र घुस लिनुहुन्न। 18उहाँले अनाथ र विधवाहरूको पक्षमा न्याय गर्नुहुन्छ, र परदेशीलाई भोजन र वस्त्र दिएर प्रेम देखाउनुहुन्छ। 19त्यसकारण परदेशीलाई प्रेम गर। किनकि तिमीहरू पनि मिश्र देशमा परदेशी नै थियौ। 20परमप्रभु तिमीहरूका परमेश्वरको भय मान। उहाँको आराधना गर। उहाँमै टाँसिरहो, र उहाँको नाउँमा मात्र शपथ खाओ। 21उहाँ तिमीहरूको प्रशंसा हुनुहुन्छ, उहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ जसले तिमीहरूका आँखाले देख्ने गरी यी महान् र भययोग्य कुराहरू गर्नुभएको छ।
बिहानको प्रार्थनाको 10औँ सुसमाचार
1यी कुराहरूपछि येशू आफैँ फेरि तिबेरियास समुद्रमा चेलाहरूकहाँ देखा पर्नुभयो, उहाँ यसरी देखा पर्नुभयो। 2सिमोन पत्रुस, दिदुमस भनिने थोमा, गालीलको कानाका नथानेल, जब्दियाका छोराहरू, र येशूका अरू दुई चेलासँगै थिए। 3सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदै छु।” तिनीहरूले तिनलाई भने, “हामी पनि तिमीसँगै आउनेछौँ।” तिनीहरू गए, र डुङ्गामा चढे, तर रातभरिमा तिनीहरूले कुनै पनि माछा पक्रेनन्। 4अब बिहान सबेरै थियो। येशू समुद्रको किनारमा खडा हुनुभयो, तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिनेनन्। 5त्यसैले, येशूले तिनीहरूलाई भन्नुभयो, “ए जवान मानिसहरू, के तिमीहरूसँग कुनै खानेकुरा छ?” उनीहरूले उहाँलाई जवाफ दिए, “छैन।” 6उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि तिमीहरूले केही भेट्टाउनेछौ।” त्यसैले, तिनीहरूले आफ्नो जाल हाने, तर माछाहरू अति धेरै भएकोले तिनीहरूले त्यो तान्न सकेनन्। 7तब येशूले प्रेम गर्नुभएका चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्छ।” जब सिमोन पत्रुसले उहाँ प्रभु हुनुहुन्छ भन्ने सुने, तिनले तिनको बाहिरी वस्त्र बाँधे (किनकि तिनले त्यो फुकालेका थिए), र समुद्रमा आफैँ हाम्फाले। 8अरू चेलाहरू डुङ्गामा चढे (किनकि तिनीहरू जमिनबाट धेरै टाढा थिएनन्, करिब सय मिटर टाढा मात्र थिए), र तिनीहरूले माछाले भरिएको जाल तानिरहेका थिए। 9जब तिनीहरू जमिनमा उत्रे, तिनीहरूले आगोको भुङ्ग्रो र त्यसमा रोटीसँगै माछा राखेको देखे। 10येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले भर्खरै पक्रेका केही माछाहरू ल्याओ।” 11तब सिमोन पत्रुस गए, र एक सय त्रिपन्नवटा ठुला-ठुला माछाले भरिएको त्यो जाल जमिनमा ल्याए। त्यहाँ यति धैरै माछाहरू थिए, तर पनि जाल च्यातिएन। 12येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, र खाजा खाओ।” कुनै पनि चेलाले “तपाईं को हुनुहुन्छ?” भनी उहाँलाई सोध्ने साहस गरेन। 13येशू आउनुभयो र रोटी लिनुभयो, र तिनीहरूलाई दिनुभयो र माछा पनि दिनुभयो। 14मृत्युबाट जीवित हुनुभएपछि येशूले आफूलाई चेलाहरूकहाँ प्रकट गर्नुभएको यो तेस्रो पटक थियो।
पत्र
16सम्भव भएसम्म पावल पेन्तिकोसको दिनमा यरूशलेममा पुग्नलाई हतार गरिरहेका थिए, त्यसैले उनले एसियामा कुनै समय नबिताइकन एफिसस भएर यात्रा गर्ने निर्णय गरे। 17मिलेटसबाट उनले एफिससमा मानिसहरूलाई पठाए अनि मण्डलीका एल्डरहरूलाई आफूकहाँ बोलाए। 18तिनीहरू उनीकहाँ आएपछि, उनले तिनीहरूलाई भने, “तपाईंहरू आफैँ जान्नुहुन्छ कि एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले सधैँ तपाईंहरूसँग आफ्नो समय कसरी बिताएँ। 28त्यसकारण तपाईंहरू आफ्नै निम्ति र सारा बगालको बारेमा होसियार हुनुहोस्, जुन बगालका लागि पवित्र आत्माले तपाईंहरूलाई देखरेख गर्ने तुल्याउनु भयो ताकि प्रभुले आफ्नै रगतले किन्नुभएका उहाँको बगालका गोठाला भई तपाईंहरू काम गर्नुहोस्। 29मलाई थाहा छ कि म यहाँबाट गएपछि, खतरनाक ब्वाँसाहरू तपाईंहरूका बिचमा प्रवेश गर्नेछन् र बगाललाई बाँकी राख्ने छैनन्। 30मलाई थाहा छ कि तपाईंहरूमध्येबाटै केही मानिसहरू आउनेछन् र चेलाहरूलाई आफ्नोपछि तान्नका लागि भ्रष्ट कुराहरू गर्नेछन्। 31त्यसैले होसियार हुनुहोस्। यो सम्झना गर्नुहोस् कि तिन वर्षसम्म दिन र रात आँशु बगाउँदै तपाईंहरू हरेक जनालाई निर्देशन दिन म पछि परिनँ। 32र अब म तपाईंहरूलाई परमेश्वरमा र उहाँको अनुग्रहको वचनमा सुम्पिन्छु, जुन तपाईंहरूलाई निर्माण गर्न र परमेश्वरमा समर्पित भएकाहरू सबैका माझमा तपाईंहरूलाई उत्तराधिकार दिन सक्षम छ। 33मैले कुनै मानिसको सुन, चाँदी वा कपडाको लोभ गरिनँ। 34तपाईंहरू आफैँ जान्नुहुन्छ कि यी हातहरूले मेरा आफ्नै र मसँग भएकाहरूका आवश्यकताहरू पुरा गरेका छन्। 35सबै कुरामा मैले तपाईंहरूलाई कसरी काम गरेर कमजोरहरूको सहायता गर्नुपर्छ र प्रभु येशूका वचनहरूको सम्झना गर्नुपर्छ भन्ने उदाहरण दिएको छु, जसरी उहाँ आफैँले यी वचनहरू भन्नुभयो, ʻलिनुभन्दा दिनु अझ बढी आशिष्को कुरो हो।ʼ” 36उनले यसरी बोलिसकेपछि उनले घुँडा टेके र सबै जनासँग प्रार्थना गरे।
सुसमाचार
1येशूले यी कुराहरू भनिसक्नुभएपछि स्वर्गतिर आफ्ना आँखा उचालेर भन्नुभयो, “पिता, समय आएको छ; आफ्ना पुत्रलाई महिमित पार्नुहोस्, ताकि पुत्रले तपाईंलाई महिमित पारोस्, 2जसरी तपाईंले पुत्रलाई सारा शरीरमाथि अधिकार दिनुभयो, ताकि जसलाई तपाईंले तिनलाई दिनुभएको छ तिनीहरू सबैलाई अनन्त जीवन मिलोस्। 3यो अनन्त जीवन होः तिनीहरूले तपाईंलाई अर्थात् एक मात्र साँचा परमेश्वर, र जसलाई तपाईंले पठाउनुभएको छ अर्थात् येशू ख्रीष्टलाई चिनून्। 4मैले संसारमा तपाईंलाई महिमित तुल्याएको छु। तपाईंले मलाई गर्न दिनुभएको काम मैले सिद्ध्याएको छु। 5अब, हे पिता, संसार बनिनुभन्दा अगि नै मसँग तपाईंमा भएको महिमाले मलाई तपाईंसँगै महिमित पार्नुहोस्। 6तपाईंले मलाई संसारबाट दिनुभएका मानिसहरूकहाँ मैले तपाईंको नाउँ प्रकट गरेँ। तिनीहरू तपाईंका थिए, र तपाईंले तिनीहरू मलाई दिनुभयो, अनि तिनीहरूले तपाईंको वचन पालन गरेका छन्। 7अब तपाईंले मलाई दिनुभएका सबै थोक तपाईंबाट नै आउँदछन् भनी तिनीहरू जान्दछन्, 8किनकि मैले सबै वचनहरू तिनीहरूलाई दिएको छु जुन तपाईंले मलाई दिनुभयो। तिनीहरूले ती ग्रहण गरे र म तपाईंबाटै आएको हुँ भनेर तिनीहरूले साँच्चै जाने र तपाईंले नै मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्वास गरे। 9म तिमीहरूका लागि प्रार्थना गर्दछु। म संसारको निम्ति प्रार्थना गर्दिनँ, तर तपाईंले मलाई दिनुभएकाहरूका निम्ति प्रार्थना गर्छु, किनकि तिनीहरू तपाईंका हुन्। 10सबै जो मेरा हुन्, ती तपाईंका हुन् र तपाईंका सबै मेरा हुन्; म तिनीहरूमा महिमित हुन्छु। 11अब उप्रान्त म संसारमा हुन्नँ, तर यी मानिसहरू संसारमा छन् र म तपाईंकहाँ आउँदै छु। हे पवित्र पिता, यिनीहरूलाई तपाईंको नाउँमा सुरक्षा दिनुहोस् जसलाई तपाईंले मलाई दिनुभएको छ, ताकि जसरी हामी एक छौँ त्यसरी नै तिनीहरू एक होऊन्। 12म तिनीहरूसँग हुँदा मैले तिनीहरूलाई तपाईंको नाउँमा सुरक्षा दिएँ, जसलाई तपाईंले मलाई दिनुभएको छ। मैले तिनीहरूलाई सुरक्षा दिएँ, र विनाशको पुत्रबाहेक तिनीहरूमध्ये कोही पनि नष्ट भएन, ताकि धर्मशास्त्र पुरा होस्। 13अब म तपाईंकहाँ आउँदै छु, तर म यी कुराहरू संसारमा नै भनिरहेको छु, ताकि तिनीहरूले मेरो आनन्द तिनीहरूमा पुरा गरून्।
मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको मे 31 नागरिक पात्रोमा जुन 13 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार