ULB · अध्याय 17 / 21
यूहन्ना 17
1येशूले यी कुराहरू भनिसक्नुभएपछि स्वर्गतिर आफ्ना आँखा उचालेर भन्नुभयो, “पिता, समय आएको छ; आफ्ना पुत्रलाई महिमित पार्नुहोस्, ताकि पुत्रले तपाईंलाई महिमित पारोस्,
2जसरी तपाईंले पुत्रलाई सारा शरीरमाथि अधिकार दिनुभयो, ताकि जसलाई तपाईंले तिनलाई दिनुभएको छ तिनीहरू सबैलाई अनन्त जीवन मिलोस्।
3यो अनन्त जीवन होः तिनीहरूले तपाईंलाई अर्थात् एक मात्र साँचा परमेश्वर, र जसलाई तपाईंले पठाउनुभएको छ अर्थात् येशू ख्रीष्टलाई चिनून्।
4मैले संसारमा तपाईंलाई महिमित तुल्याएको छु। तपाईंले मलाई गर्न दिनुभएको काम मैले सिद्ध्याएको छु।
5अब, हे पिता, संसार बनिनुभन्दा अगि नै मसँग तपाईंमा भएको महिमाले मलाई तपाईंसँगै महिमित पार्नुहोस्।
6तपाईंले मलाई संसारबाट दिनुभएका मानिसहरूकहाँ मैले तपाईंको नाउँ प्रकट गरेँ। तिनीहरू तपाईंका थिए, र तपाईंले तिनीहरू मलाई दिनुभयो, अनि तिनीहरूले तपाईंको वचन पालन गरेका छन्।
7अब तपाईंले मलाई दिनुभएका सबै थोक तपाईंबाट नै आउँदछन् भनी तिनीहरू जान्दछन्,
8किनकि मैले सबै वचनहरू तिनीहरूलाई दिएको छु जुन तपाईंले मलाई दिनुभयो। तिनीहरूले ती ग्रहण गरे र म तपाईंबाटै आएको हुँ भनेर तिनीहरूले साँच्चै जाने र तपाईंले नै मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्वास गरे।
9म तिमीहरूका लागि प्रार्थना गर्दछु। म संसारको निम्ति प्रार्थना गर्दिनँ, तर तपाईंले मलाई दिनुभएकाहरूका निम्ति प्रार्थना गर्छु, किनकि तिनीहरू तपाईंका हुन्।
10सबै जो मेरा हुन्, ती तपाईंका हुन् र तपाईंका सबै मेरा हुन्; म तिनीहरूमा महिमित हुन्छु।
11अब उप्रान्त म संसारमा हुन्नँ, तर यी मानिसहरू संसारमा छन् र म तपाईंकहाँ आउँदै छु। हे पवित्र पिता, यिनीहरूलाई तपाईंको नाउँमा सुरक्षा दिनुहोस् जसलाई तपाईंले मलाई दिनुभएको छ, ताकि जसरी हामी एक छौँ त्यसरी नै तिनीहरू एक होऊन्।
12म तिनीहरूसँग हुँदा मैले तिनीहरूलाई तपाईंको नाउँमा सुरक्षा दिएँ, जसलाई तपाईंले मलाई दिनुभएको छ। मैले तिनीहरूलाई सुरक्षा दिएँ, र विनाशको पुत्रबाहेक तिनीहरूमध्ये कोही पनि नष्ट भएन, ताकि धर्मशास्त्र पुरा होस्।
13अब म तपाईंकहाँ आउँदै छु, तर म यी कुराहरू संसारमा नै भनिरहेको छु, ताकि तिनीहरूले मेरो आनन्द तिनीहरूमा पुरा गरून्।
14मैले तिनीहरूको वचन दिएको छु, संसारले तिनीहरूलाई घृणा गरेको छ, किनभने जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्।
15तपाईंले तिनीहरूलाई संसारबाट लैजानु होस् भनेर होइन, तर तिनीहरूलाई दुष्टबाट बचाउनुहोस् भनी म तपाईंसँग बिन्ती गर्दछु।
16जस्तो म संसारको होइन, तिनीहरू पनि संसारका होइनन्।
17तिनीहरूलाई सत्यतामा आफ्नै लागि समर्पण गर्नुहोस्। तपाईंको वचन सत्य छ।
18जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, त्यसरी नै मैले तिनीहरूलाई संसारमा पठाएको छु।
19तिनीहरूका खातिर म आफैँलाई समर्पण गर्दछु, ताकि तिनीहरू आफैँ पनि सत्यतामा तपाईंमा समर्पण गरिनेछन्।
20म यिनीहरूका लागि मात्र होइन तर तिनीहरूका लागि पनि प्रार्थना गर्दछु जसले तिनीहरूको वचनद्वारा मलाई विश्वास गर्नेछन्,
21ताकि जसरी तपाईं अर्थात् पिता ममा हुनुहुन्छ, र म तपाईंमा छु त्यसरी नै तिनीहरू सबै एक होऊन्। म यो प्रार्थना गर्दछु, कि तिनीहरू पनि हामीमा होऊन् ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्वास गरोस्।
22तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन्।
23म तिनीहरूमा छु, र तपाईं ममा हुनुहुन्छ, ताकि तिनीहरू एक भएर पूर्ण होऊन्, ताकि तपाईंले मलाई पठाउनुभएको थियो भनी संसारले जानोस्, अनि तपाईंले मलाई प्रेम गर्नुभएजस्तै मैले तिनीहरूलाई पनि प्रेम गरेँ।
24हे पिता, जसलाई तपाईंले मलाई दिनुभएको छ तिनीहरू म जहाँ छु त्यहीँ होऊन् भन्ने म चाहन्छु, ताकि तिनीहरूले मेरो महिमा देखून् जुन तपाईंले मलाई दिनुभएको छ। किनभने तपाईंले मलाई संसारको सृष्टिअगि देखि नै प्रेम गर्नुभएको छ।
25हे धर्मी पिता, यो संसारले तपाईंलाई चिनेन, तर म तपाईंलाई चिन्दछु; र तपाईंले मलाई पठाउनुभयो भनी यिनीहरू जान्दछन्।
26मैले तपाईंको नाउँलाई तिनीहरूका बिचमा परिचित तुल्याएको छु र मैले यसलाई परिचित तुल्याउनेछु, ताकि जुन प्रेमले तपाईंले मलाई प्रेम गर्नुभयो, त्यो तिनीहरूमा रहोस् र म तिनीहरूमा रहनेछु।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org