Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 मे › मे 13

अर्थोडक्स पात्रो · अप्रिल 30 (पुरानो शैली)

अर्थोडक्स दैनिक पाठहरू — 2027 मे 13

बिहीबार · पास्काको दोस्रो हप्ता · स्वर 1

पर्व र सन्तहरू

Holy Apostle James Zebedee, brother of John the Theologian († 44)

उपवास

उपवास छैन

यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।

दिनका पाठहरू

साँझको प्रार्थना: पाठ (सन्त याकूबका निम्ति)

याकूब 1:1–12

1परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टका सेवक याकूबबाट, छरपष्‍ट भएका बाह्र कुललाई अभिवादन। 2मेरा भाइहरू हो, तिमीहरूले अनेकौँ किसिमका समस्याहरूको अनुभव गर्दा त्यसलाई पूर्ण रूपमा आनन्द सम्झ, 3तिमीहरू जान्दछौ, कि तिमीहरूको विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँदछ। 4धैर्यलाई पूर्ण रूपमा काम गर्न देओ, ताकि तिमीहरू सम्पूर्ण रूपमा सुधारिएको र पूर्ण हुन सक र तिमीहरूमा कुनै कुराको कमी नहोस्। 5तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने, माग्‍ने जति सबैलाई उदारतासँग र नहप्काइकन दिनुहुने परमेश्‍वरसँग उसले मागोस् र उहाँले उसलाई त्यो दिनुहुनेछ। 6तर उसले शङ्का नगरी विश्‍वाससाथ मागोस्। किनभने शङ्का गर्नेचाहिँ बतासले हुत्त्याउने र यताउता पल्टाउने समुद्रको छालजस्‍तो हुन्छ। 7त्यस्तो व्यक्‍तिले परमप्रभुबाट कुनै पनि कुरा पाउनेछु भनी नसोचोस्। 8त्यस्तो व्यक्‍ति दोहोरो मनको हुन्छ, र आफ्ना सबै चालमा ऊ अस्थिर हुन्छ। 9दीन भाइले आफ्नो उच्‍च अवस्थामा गर्व गरोस्, 10तर धनी मानिसले आफ्नो दीनतामा गर्व गरोस्, किनभने ऊ घाँसमा फलेको जङ्गली फुलझैँ ओइलाएर बितिजानेछ। 11किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्‍छ। फुल झर्छ, र त्‍यसको सौन्‍दर्य नष्‍ट हुन्छ। त्यसै गरी, धनी मानिस आफ्नो यात्राको बिचमा नै बिलाएर जानेछ। 12त्‍यो मानिस धन्‍यको हो जो परीक्षामा स्‍थिर रहन्‍छ। किनभने परीक्षामा सफलता प्राप्‍त गरिसकेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्‍वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ।

साँझको प्रार्थना: पाठ (सन्त याकूबका निम्ति)

याकूब 1:13–27

13परीक्षामा पर्दा “यो परीक्षा परमेश्‍वरबाट आएको हो” भनी कसैले पनि नभनोस् किनभने दुष्‍टबाट परमेश्‍वरको परीक्षा हुँदैन र उहाँ आफैँले पनि कसैको परीक्षा गर्नुहुन्‍न। 14तर हरेक व्यक्‍ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्दछ, जसले उसलाई बहकाउँछ र प्रलोभनमा पार्दछ। 15अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ। अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ। 16मेरा प्रिय भाइहरू हो, धोकामा नपर। 17हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो। ज्योतिका पिताबाट त्यो तल आउँछ। उहाँ बद्‌लिरहने छायाजस्तो बद्‌लिनुहुन्‍न। 18उहाँले सृष्‍टि गर्नुभएका सबै कुरामध्‍ये हामी पहिलो फलझैँ हुन सकौँ भनेर परमेश्‍वरले सत्यको वचनद्वारा हामीलाई जीवन दिनलाई चुन्‍नुभयो। 19मेरो प्रिय भाइहरू हो, तिमीहरू यो जान्‍दछौः हरेक मानिस सुन्‍नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा होस्। 20किनभने मानिसको रिसले परमेश्‍वरको धार्मिकताको काम गर्दैन। 21यसकारण, सबै पापमय घिनलाग्‍दा कुरा र दुष्‍टताको प्रचुरतालाई मिल्‍काइदेओ। रोपिएको वचनलाई विनम्रतामा धारण गर जसले तिमीहरूका प्राणलाई बचाउन सक्‍छ। 22आफैँलाई धोका दिने गरी वचन सुन्‍ने मात्र होइन, तर पालन पनि गर। 23किनकि यदि कोही वचन सुन्‍ने मात्र व्यक्‍ति हो, तर पालन गर्ने व्यक्‍ति होइन भने ऊ ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्‍ने मानिसजस्तै हो। 24उसले आफैँलाई जाँच्छ र गइहाल्छ र ऊ कस्‍तो थियो भन्‍ने कुरा तुरुन्तै बिर्सिहाल्‍छ। 25तर सुनेर बिर्सने व्यक्‍ति मात्र नभई स्‍वतन्‍त्रताको सिद्ध व्‍यवस्‍थालाई होसियारीपूर्वक ध्यान दिने र निरन्तर त्यस्तै गरिरहने व्यक्‍तिचाहिँ उसले गर्ने कामहरूमा आशिषित हुनेछ। 26यदि कसैले आफैँलाई धार्मिक ठान्दछ, तर उसले आफ्नो जिब्रोलाई नियन्‍त्रण गर्दैन भने उसले आफ्‍नो हृदयलाई धोका दिन्छ र उसको धर्म व्यर्थको हुन्‍छ। 27हाम्रा परमेश्‍वर र पिताको सामु पवित्र र निष्कलङ्क धर्म यही होः अनाथ र विधवाहरूको कष्‍टमा तिनीहरूलाई सहायता गर्नु, अनि आफैँलाई संसारबाट दोषरहित राख्‍नु।

साँझको प्रार्थना: पाठ (सन्त याकूबका निम्ति)

याकूब 2:1–13

1मेरा भाइहरू हो, केही मानिसहरूप्रति पक्षपात गर्दै महिमाका प्रभु हाम्रा प्रभु येशू ख्रीष्‍टमा तिमीहरूले विश्‍वास नगर। 2विचार गर कि कोही मानिस तिमीहरूको सभामा सुनका औँठीहरू र राम्रा-राम्रा लुगाहरू लगाएर प्रवेश गर्‍यो र त्यहाँ एउटा गरिब मानिस पनि फोहोर पहिरनमा आयो। 3यदि तिमीहरूले त्यस राम्रा-राम्रा लुगा लगाएको मानिसतर्फ हेर्छौ र “कृपया यहाँ यस राम्रो स्थानमा बस्‍नुहोस्” भनेर भन्छौ, तर तिमीहरूले त्यस गरिब मानिसलाई “तँ यहीँ उभी” वा “मेरो पाउनेर बस्” भनेर भन्छौ भने, 4के तिमीहरूले आफैँबिच न्याय गरिरहेका छैनौ र? के तिमीहरू दुष्‍ट विचारहरू भएका न्यायकर्ताहरू बनेनौ र? 5मेरा प्रिय भाइहरू हो, सुन, के परमेश्‍वरले संसारका गरिबहरूलाई विश्‍वासमा धनी हुनको निम्ति र उहाँलाई प्रेम गर्नेहरूका निम्ति उहाँले प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारीहरू हुनलाई चुन्‍नुभएन र? 6तर तिमीहरूले गरिबहरूलाई अनादर गरेका छौ। के तिमीहरूमाथि दमन गर्ने धनीहरू नै होइनन् र? र तिमीहरूलाई अदालतमा तानेर लैजाने तिनीहरू नै होइनन् र? 7तिमीहरू जसका हौ, उहाँको सुनामलाई तिनीहरूले नै अपमान गर्दैनन् र? 8तथापि, यदि तिमीहरूले “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्‍ने धर्मशास्‍त्रको राजकीय व्यवस्थालाई पुरा गर्दछौ भने, तिमीहरूले असलै गर्दछौ। 9तर यदि तिमीहरूले कोही मानिसहरूप्रति भेदभाव देखायौ भने, तिमीहरूले पाप गरेका हुन्छौ, र तिमीहरू व्यवस्थाद्वारा व्यवस्थाको उल्लङ्घन गर्नेहरू भनी दोषी ठहरिन्छौ। 10किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्दछ, तर एउटै कुरामा मात्र ठक्‍कर खान्छ भने, त्यो सम्पूर्ण व्यवस्थाको उल्लङ्घन गरेकोमा दोषी ठहरिन्छ। 11किनभने जसले “व्यभिचार नगर” भनेर भन्‍नुभयो उहाँले “हत्या नगर” पनि भन्‍नुभयो। यदि तिमीहरूले व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरूले व्यवस्थाको उल्लङ्घन गर्छौ। 12यसकारण, स्वतन्‍त्रताको व्यवस्थाद्वारा न्याय हुनेहरूझैँ गरी बोल र व्यवहार गर। 13किनकि कृपा नदेखाउनेहरूमाथि कृपाविना नै न्याय आउँदछ। कृपा न्यायमाथि विजयी हुन्छ।

बिहानको प्रार्थना: सुसमाचार

यूहन्ना 21:15–25

15तिनीहरूले खाजा खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ?” पत्रुसले उहाँलाई भने, “हो प्रभु, तपाईं जान्‍नुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा थुमाहरूलाई खुवाऊ।” 16उहाँले तिनलाई फेरि दोस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले उहाँलाई जवाफ दिए, “हो प्रभु, तपाईं जानुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूको हेरचाह गर।” 17उहाँले तिनलाई तेस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुस निराश भए, किनकि येशूले तिनलाई “के तिमी मलाई प्रेम गर्छौ?” भनी तेस्रो पटक सोध्‍नुभएको थियो। तिनले उहाँलाई भने, “प्रभु, तपाईं सबै थोक जानुहुन्छ, कि म तपाईंलाई प्रेम गर्छु।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ।” 18साँचो साँचो म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफैँ कपडा लगाउँथ्यौ र जहाँ जान चाहन्थ्यौ त्यतै जान्थ्यौ, तर जब तिमी वृद्ध हुन्छौ, तिमीले आफ्ना हात पसार्नेछौ र कसैले तिमीलाई कपडा लगाइदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमीलाई बोकेर लगिन्छ। 19पत्रुसले कस्तो किसिमको मृत्युले परमेश्‍वरलाई महिमा दिन्छ भनी सङ्केत गर्न येशूले यसो भन्‍नुभयो। उहाँले यो बताउनुभएपछि पत्रुसलाई भन्‍नुभयो, “मलाई पछ्याऊ।” 20पत्रुस फर्केर हेर्दा तिनले येशूले प्रेम गर्नुभएका चेला अर्थात् भोजमा येशूको छातीमा अडेस लगाएर बस्‍ने र उहाँलाई, “प्रभु, तपाईंलाई विश्‍वासघात गर्ने को हो?” भनी सोध्‍ने चेला उहाँहरूको पछिपछि आइरहेको देखे। 21पत्रुसले तिनलाई देखे, र येशूलाई भने, “प्रभु, यी मानिसले चाहिँ के गर्नेछन्?” 22येशूले तिनलाई भन्‍नुभयो, “यदि म नआउञ्‍जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त? मलाई पछ्याऊ।” 23त्यसैले, ती चेला मर्नेछैनन् भन्‍ने यो भनाइ भाइहरूमाझ फैलियो। तरै पनि येशूले पत्रुसलाई अर्का चेला मर्दैनन् भन्‍नुभएन, तर “यदि म नआउञ्‍जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त?” भन्‍नुभएको थियो। 24यी कुराहरूको गवाही दिने, र यी कुराहरू लेख्‍ने यिनै चेला हुन्, र हामी जान्‍दछौँ, कि तिनको गवाही सत्य छ। 25येशूले गर्नुभएका अरू धेरै कुराहरू पनि छन्। यदि ती सबै लेखिएका भए, मलाई लाग्छ, ती लेखिएका पुस्तकहरू संसारमा पनि अटाउने थिएनन्।

पत्र

प्रेरित 4:23–31

23तिनीहरूलाई स्वतन्‍त्र छोडेपछि, पत्रुस र यूहन्‍ना आफ्नै मानिसहरूकहाँ आए र प्रधान पूजाहारीहरू र एल्डरहरूले तिनीहरूलाई भनेका सबै कुराको प्रतिवेदन दिए। 24तिनीहरूले यो सुनेपछि आफ्ना आवाज परमेश्‍वरमा एकसाथ उचाले र भने, “हे प्रभु, तपाईं जसले आकास र पृथ्वी र समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो, 25तपाईं जो पवित्र आत्माद्वारा तपाईंका सेवक हाम्रा पिता दाऊदको मुखद्वारा बोल्नुभयो, ‘अरू जातिहरू किन क्रोधित भए र मानिसहरूले अर्थहीन कुराहरू कल्पना गरे? 26परमप्रभु र उहाँका ख्रीष्‍टको विरुद्धमा पृथ्वीका राजाहरू एक मत भए र शासकहरू एकसाथ भेला भए। 27वास्तवमा, गैरयहूदीहरू र इस्राएलका मानिसहरूसँगै हेरोद र पन्तियस पिलातस दुवै यो शहरमा तपाईंले अभिषेक गर्नुभएका तपाईंका पवित्र सेवक येशूको विरुद्धमा भेला भए। 28तपाईंको बाहुली र इच्छाले यो हुनुभन्दा पहिले नै निर्णय गर्नुभएको सबै कुरा गर्नलाई तिनीहरू सँगसँगै भेला भए। 29हे प्रभु, अब तिनीहरूका चेताउनीलाई हेर्नुहोस् र तपाईंका सेवकहरूलाई तपाईंको वचन पुरा साहससित बोल्न दिनुहोस्। 30ताकि जब तपाईंले निको पार्नका लागि आफ्नो हात पसार्नुहुन्छ तपाईंका पवित्र सेवक येशूको नाउँद्वारा चिन्हहरू र आश्‍चर्यहरू होऊन्।” 31तिनीहरूले प्रार्थना गरेर सिध्याएपछि तिनीहरू भेला भएको ठाउँ हल्लियो र तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले परमेश्‍वरको वचन साहससित बोले।

पत्र (सन्त याकूबका निम्ति)

प्रेरित 12:1–11

1त्यसै समयमा हेरोद राजाले केही मानिसहरूमाथि हात हाल्न र समूहका केहीलाई दुर्व्यवहार समेत गर्न थाले। 2उनले यूहन्‍नाको भाइ याकूबलाई तरवारले मारे। 3त्यसपछि यस कुराले यहूदीहरूलाई प्रसन्‍न पारेको देखेपछि, उनी पत्रुसलाई पनि पक्रन अगि बढे। यो अखमिरी रोटीको चाडको समय थियो। 4उनलाई पक्रेपछि, तिनले झ्यालखानामा हाले र उनलाई सुरक्षा गर्न चारवटा सैनिक दललाई खटाए। निस्तार चाडपछि उनलाई मनिसहरूका बिचमा ल्याउने तिनले विचार गरिरहेका थिए। 5त्यसकारण पत्रुस झ्यालखानामा हालिए, तर उनको निम्ति समूहले यत्‍नपूर्वक परमेश्‍वरसँग प्रार्थना गरेका थिए। 6हेरोदले तिनलाई बाहिर ल्याउन खोजेको अघिल्लो दिन, त्यस रातमा पत्रुस दुई जना सिपाहीका बिचमा दुईवटा साङ्लाले बाँधिएर सुतिरहेका थिए। ढोकाको अगाडि पहरेदारहरूले झ्यालखानाको सुरक्षा दिइरहेका थिए। 7तब अचानक तिनको छेउमा प्रभुका दूत देखा परे र त्यस कोठामा ज्योति चम्क्यो। उनले पत्रुसको कोखामा हिर्काएर तिनलाई उठाए र भने, “छिटो उठ।” त्यसपछि तिनका हातहरूबाट साङ्लाहरू झरे। 8स्वर्गदूतले तिनलाई भने, “तिमी आफैँले कपडाहरू र चप्पलहरू लगाऊ।” पत्रुसले त्यसै गरे। स्वर्गदूतले तिनलाई भने, “आफ्ना बाहिरी वस्‍त्रहरू लगाऊ र मलाई पछ्याऊ।’’ 9त्यसकारण पत्रुसले स्वर्गदूतलाई पछयाए र बाहिर गए। स्वर्गदूतले जुन काम गरेका थिए त्यो वास्तविक थियो भन्‍ने कुरा पत्रुसलाई थाहा नै थिएन। उनले दर्शन देखिरहेको छु भनी विचार गरे। 10त्यसपछि पहिलो र दोस्रो पहरेदारलाई पार गरी सकेपछि, तिनीहरू सहरतिर डोर्‍याउने फलामे ढोकामा आइपुगे; यो तिनीहरूका निम्ति आफैँ खोलियो। तिनीहरू बाहिर गए र तलतिरको गल्लीमा गए र ठिक त्यही समयमा स्वर्गदूतले तिनलाई छाडेर गए। 11जब पत्रुस आफ्नो होशमा आए, उनले भने, “अहिले मलाई साँच्‍चै थाहा भयो कि प्रभुले आफ्ना स्वर्गदूत पठाएर हेरोदको हातबाट यहूदी मानिसहरूले आशा गरेको कुराबाट मलाई छुटकारा दिनुभयो।”

सुसमाचार

यूहन्ना 5:24–30

24साँचो, साँचो, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ। 25साँचो, साँचो म तिमीहरूलाई भन्छु, समय आइरहेको छ र यो अहिले नै हो, जब मृतकहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्, र ती सुन्‍नेहरू बाँच्‍नेछन्। 26किनकि जसरी पिता आफैँसँग जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि दिनुभएको छ, ताकि ऊ आफैँसँग जीवन होस्, 27र पिताले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ। किनकि ऊ मानिसका पुत्र हो। 28यस कुरामा तिमीहरू अचम्म नमान, किनकि चिहानमा हुनेहरूले उसको सोर सुन्‍ने समय आइरहेको छ, 29र तिनीहरू चिहानबाट बाहिर आउनेछन्ः असल गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र दुष्‍ट काम गर्नेहरू न्यायको पुनरुत्थानको निम्ति। 30म आफैँले केही गर्न सक्दिनँ। म जस्तो सुन्छु त्यस्तै न्याय गर्छु र मेरो न्याय धार्मिक हुन्छ, किनकि मैले आफ्नो इच्छा खोजिरहेको छैनँ, तर मलाई पठाउनुहुनेको इच्छा खोजिरहेको छु।

सुसमाचार (सन्त याकूबका निम्ति)

लुका 5:1–11

1जब मानिसहरू येशूकहाँ परमेश्‍वरको वचन सुन्‍नको लागि जम्मा भए, त्यो समयमा येशू गनेसरेतको तालमा उभिनुभएको थियो। 2उहाँले तालको किनारमा दुईवटा डुङ्गा राखेको देख्‍नुभयो। जालहारीहरूले बाहिर निस्‍केर आफ्ना जालहरू धोइरहेका थिए। 3येशू तीमध्ये एउटा डुङ्गामा चढ्नुभयो जुनचाहिँ सिमोनको थियो र उनलाई जमिनभन्दा पर पानी भएको ठाउँतिर लैजान भन्‍नुभयो। त्यसपछि उहाँले डुङ्गामा बसेर मानिसहरूलाई सिकाउनुभयो। 4उहाँले बोलिसक्‍नुभएपछि सिमोनलाई भन्‍नुभयो, “माछाहरू समात्‍नलाई तिम्रो डुङ्गा गहिरो पानीतिर लैजाऊ र जाल हान।” 5सिमोनले जवाफ दिएर भने, “प्रभु, हामीले रातभरि जाल हान्यौँ, तर केही पनि पक्रन सकेनौँ। तरै पनि तपाईं भन्‍नुहुन्छ भने म जाल हान्‍नेछु।” 6जब तिनीहरूले यसो गरे, तिनीहरूले धेरै सङ्ख्यामा माछाहरू बटुले र तिनीहरूको जाल फाट्न लागिरहेको थियो। 7त्यसैले, तिनीहरूले आफ्ना डुङ्गाका अरू साथीहरूलाई सहयोग गर्न आउनको लागि इसारा गरे। तिनीहरू आए र सबै डुङ्गाहरू भरे अनि ती डुब्‍न थाले। 8तर सिमोन पत्रुसले जब यो देखे, येशूको अगाडि घुँडा टेकेर भने, “हे प्रभु, मबाट टाढा जानुहोस् किनकि म पापी हुँ।” 9तिनीहरूले माछा समातेको देखेर उनी र तिनीसँग भएका सबै जना आश्‍चर्य चकित भए। 10यस कार्यमा जब्दियाका छोराहरू याकूब र यूहन्‍ना पत्रुससँग साझेदार थिए। येशूले पत्रुसलाई भन्‍नुभयो, “नडराऊ, किनभने अबदेखि तिमीले मानिसहरू पक्रनेछौ।” 11जब तिनीहरूले आफ्नो डुङ्गालाई जमिनमा ल्याए, उनीहरूले आफूसँग भएका सबै कुरा छोडेर उहाँको पछि लागे।

मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको अप्रिल 30 नागरिक पात्रोमा मे 13 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार