ULB · अध्याय 2 / 5
याकूब 2
1मेरा भाइहरू हो, केही मानिसहरूप्रति पक्षपात गर्दै महिमाका प्रभु हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूले विश्वास नगर।
2विचार गर कि कोही मानिस तिमीहरूको सभामा सुनका औँठीहरू र राम्रा-राम्रा लुगाहरू लगाएर प्रवेश गर्यो र त्यहाँ एउटा गरिब मानिस पनि फोहोर पहिरनमा आयो।
3यदि तिमीहरूले त्यस राम्रा-राम्रा लुगा लगाएको मानिसतर्फ हेर्छौ र “कृपया यहाँ यस राम्रो स्थानमा बस्नुहोस्” भनेर भन्छौ, तर तिमीहरूले त्यस गरिब मानिसलाई “तँ यहीँ उभी” वा “मेरो पाउनेर बस्” भनेर भन्छौ भने,
4के तिमीहरूले आफैँबिच न्याय गरिरहेका छैनौ र? के तिमीहरू दुष्ट विचारहरू भएका न्यायकर्ताहरू बनेनौ र?
5मेरा प्रिय भाइहरू हो, सुन, के परमेश्वरले संसारका गरिबहरूलाई विश्वासमा धनी हुनको निम्ति र उहाँलाई प्रेम गर्नेहरूका निम्ति उहाँले प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारीहरू हुनलाई चुन्नुभएन र?
6तर तिमीहरूले गरिबहरूलाई अनादर गरेका छौ। के तिमीहरूमाथि दमन गर्ने धनीहरू नै होइनन् र? र तिमीहरूलाई अदालतमा तानेर लैजाने तिनीहरू नै होइनन् र?
7तिमीहरू जसका हौ, उहाँको सुनामलाई तिनीहरूले नै अपमान गर्दैनन् र?
8तथापि, यदि तिमीहरूले “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्ने धर्मशास्त्रको राजकीय व्यवस्थालाई पुरा गर्दछौ भने, तिमीहरूले असलै गर्दछौ।
9तर यदि तिमीहरूले कोही मानिसहरूप्रति भेदभाव देखायौ भने, तिमीहरूले पाप गरेका हुन्छौ, र तिमीहरू व्यवस्थाद्वारा व्यवस्थाको उल्लङ्घन गर्नेहरू भनी दोषी ठहरिन्छौ।
10किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्दछ, तर एउटै कुरामा मात्र ठक्कर खान्छ भने, त्यो सम्पूर्ण व्यवस्थाको उल्लङ्घन गरेकोमा दोषी ठहरिन्छ।
11किनभने जसले “व्यभिचार नगर” भनेर भन्नुभयो उहाँले “हत्या नगर” पनि भन्नुभयो। यदि तिमीहरूले व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरूले व्यवस्थाको उल्लङ्घन गर्छौ।
12यसकारण, स्वतन्त्रताको व्यवस्थाद्वारा न्याय हुनेहरूझैँ गरी बोल र व्यवहार गर।
13किनकि कृपा नदेखाउनेहरूमाथि कृपाविना नै न्याय आउँदछ। कृपा न्यायमाथि विजयी हुन्छ।
14मेरा भाइहरू हो, यदि कोही मानिसले उसित विश्वास छ भनी भन्दछ तर उसले कुनै काम गर्दैन भने, त्यसबाट के लाभ? के त्यस विश्वासले उसलाई बचाउन सक्छ र?
15विचार गर, कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र उसको निम्ति दैनिक भोजनको अभाव छ।
16विचार गर, कि तिमीहरूमध्ये कसैले उसलाई “शान्तिसँग जाऊ, न्यानो गरी बस र पेटभरि खाऊ” भनेर भन्छौ। यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरूचाहिँ तिनीहरूलाई दिँदैनौ भने, त्यसबाट के लाभ भयो र?
17यसै गरी, विश्वासले पनि काम गर्दैन भने त्यो मरेतुल्य हुन्छ।
18तर पनि कसैले यसो भन्ला, “तिमीहरूसँग विश्वास छ, र मसँग कामहरू छन्।” कामविना तिमीहरूको विश्वास मलाई देखाऊ र मैले मेरा कामहरूद्वारा आफ्नो विश्वास तिमीहरूलाई देखाउनेछु।
19परमेश्वर एउटै हुनुहुन्छ भनेर तिमीहरू विश्वास गर्दछौ; तिमीहरूले त्यो असल गर्दछौ। तर भूतात्माहरूले पनि विश्वास गर्दछन्, र तिनीहरू थरथर काम्छन्।
20मूर्ख मानिस हो, के तिमी यो जान्न चाहन्छौ, कि कामविनाको विश्वास व्यर्थ हुन्छ?
21जब हाम्रा पुर्खा अब्राहामले वेदीमा आफ्ना पुत्र इसहाकलाई अर्पण गरे, के उनी कामद्वारा नै धर्मी ठहरिएका थिएनन् र?
22तिमीहरू देख्दछौ, कि उनका कामहरूसँगै विश्वासले कार्य गर्यो, र कामहरूद्वारा नै उनको विश्वास पूर्ण भयो।
23धर्मशास्त्रको यस्तो भन्ने वचन पुरा भयो, “अब्राहामले परमेश्वरमा विश्वास गरे, र त्यो उनको निम्ति धार्मिकता गनियो।” र उनि परमेश्वरको मित्र कहलिए।
24तिमीहरू देख्दछौ, कि कामद्वारा मानिस धर्मी ठहरिन्छ, विश्वासद्वारा मात्र होइन।
25त्यसै गरी, राहाब वेश्याले पनि गुप्तचरहरूलाई स्वागत गरेर अर्कै बाटोबाट पठाइदिँदा, के तिनी कामद्वारा नै धर्मी ठहरिएकी होइनन् र?
26जसरी आत्मादेखि अलग हुँदा शरीर मर्दछ, त्यसै गरी कामबाट अलग हुँदा विश्वास पनि मर्दछ।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org