गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 मे › मे 14
अर्थोडक्स पात्रो · मे 1 (पुरानो शैली)
अर्थोडक्स दैनिक पाठहरू — 2027 मे 14
शुक्रबार · पास्काको दोस्रो हप्ता · स्वर 1
पर्व र सन्तहरू
Prophet Jeremiah (6th C BC)
उपवासको दिन
माछा चल्छ
यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।
दिनका पाठहरू
पत्र
1अब एक जना हननिया नाउँ गरेका मानिसले आफ्नी पत्नी सफिरासँग मिलेर एक टुक्रा जमिन बेचे। 2र उनले त्यो पैसाको केही अंश आफूसँगै राखे (यो कुरा उनकी पत्नीलाई पनि थाहा थियो) र यसको बाँकी अंश ल्याएर प्रेरितहरूको पाउमा राखिदिए। 3तर पत्रुसले भने, “हननिया, पवित्र आत्मालाई झुट बोल्न र त्यस जमिनको मूल्यको केही अंश राख्नलाई तिम्रो हृदयलाई शैतानले किन भर्यो? 4यसलाई बिक्री नगर्दा पनि के यो तिम्रो आफ्नो थिएन र? अनि यसलाई बेचिसकेपछि पनि यो तिम्रो आफ्नै नियन्त्रणमा नै थिएन र? तिमीले तिम्रो हृदयमा यस्तो कुरा कसरी सोच्यौ? तिमीले मानिसहरूलाई होइन तर परमेश्वरलाई झुट बोलेका छौ। 5यी कुराहरू सुनेर हननिया भुइँमा लडे र उनको मृत्यु भयो र यो कुरा सुन्नेहरू सबैमा ठुलो डर छायो। 6जवान मानिसहरू अगाडि आए र उनलाई कपडाले बेह्रे र तिनीहरूले उनलाई बोकेर बाहिर लगे र गाडे। 7त्यसको झण्डै तिन घण्टापछि उनकी पत्नी त्यहाँ के भएको थियो भन्ने थाहै नपाई भित्र आइन्। 8पत्रुसले उनलाई भने, “तिमीहरूले सो जमिनलाई त्यत्ति नै मूल्यमा बेचेका हौ या होइनौ, मलाई बताऊ।” उनले भनिन्, “हो, त्यत्तिमा नै हो।” 9तब पत्रुसले उनलाई भने, “तिमीहरू परमप्रभुको आत्मालाई जाँच गर्न कसरी सँगै सहमत भयौ? हेर, तिम्रो पतिलाई गाड्नेहरूका पाउ ढोकामा नै छन् र तिनीहरूले तिमीलाई पनि बोकेर बाहिर लानेछन्। 10तिनी तुरुन्तै उनको पाउमा लडिन् र तिनको मृत्यु भयो र ती जवान मानिसहरू भित्र आए र तिनलाई मृत भेट्टाए; तिनीहरूले तिनलाई बोकेर बाहिर लगे र तिनलाई तिनको पतिको नजिकै गाडिदिए। 11पुरै मण्डलीमा र यी कुराहरू सुन्ने सबैमा ठुलो डर छायो।
सुसमाचार
30म आफैँले केही गर्न सक्दिनँ। म जस्तो सुन्छु त्यस्तै न्याय गर्छु र मेरो न्याय धार्मिक हुन्छ, किनकि मैले आफ्नो इच्छा खोजिरहेको छैनँ, तर मलाई पठाउनुहुनेको इच्छा खोजिरहेको छु। 31यदि म आफैँले आफ्नै बारेमा गवाही दिने हो भने मेरो गवाही सत्य हुँदैनथ्यो। 32मेरो बारेमा गवाही दिनुहुने अर्को एक जना हुनुहुन्छ, र म जान्दछु, कि उहाँले मेरो विषयमा दिनुहुने गवाही सत्य हुन्छ। 33तिमीहरूले यूहन्नाकहाँ पठाएका छौ र उनले सत्य गवाही दिएका छन्। 34तर मैले प्राप्त गर्ने त्यो गवाही मानिसबाट आएको होइन। तिमीहरूलाई बचाइयोस् भनी म यी कुराहरू भन्छु। 35यूहन्ना बोलिरहेका र चम्किरहेका बत्ती थिए र तिमीहरू उनको ज्योतिमा केही क्षणका लागि आनन्द मनाउन तत्पर थियौ। 36तैपनि मसँग भएको गवाही त्योभन्दा पनि महान् छ, किनकि पिताले मलाई पुरा गर्न दिनुभएका कामहरू र मैले गर्ने कामहरूले नै मलाई पिताले पठाउनुभएको हो भन्ने गवाही दिन्छन्। 37मलाई पठाउनुहुने पिता आफैँले मेरो विषयमा गवाही दिनुभएको छ। तिमीहरूले न उहाँको सोर सुनेका छौ न उहाँको रूप नै कहिल्यै देखेका छौ। 38तिमीहरूमा उहाँको वचन रहेको छैन, किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्वास गरिरहेका छैनौ। 39तिमीहरू धर्मशास्त्रमा खोज्दछौ, किनकि तिनमा तिमीहरूको निम्ति अनन्त जीवन छ भन्ने सोच्दछौ र यी नै धर्मशास्त्रहरूले मेरो विषयमा गवाही दिन्छन्, 40र तिमीहरू जीवन पाउन मकहाँ आउन तत्पर छैनौ। 41म मनिसहरूबाट प्रशंसा प्राप्त गर्दिनँ, 42तर म जान्दछु, तिमीहरू आफैँमा परमेश्वरको प्रेम छैन। 43म मेरा पिताको नाउँमा आएको छु, र तिमीहरू मलाई स्वीकार गर्दैनौ। यदि आफ्नै नाउँमा अर्को कोही आउने हो भने तिमीहरूले त्यसलाई स्वीकार गर्छौ। 44एक अर्कोबाट प्रशंसा खोज्ने तर परमेश्वरबाट मात्र आउने प्रशंसा नखोज्नलाई तिमीहरूले कसरी विश्वास गर्न सक्छौ? 45पिताको सामु तिमीहरूलाई म आफैँले दोष लगाउँछु भन्ने तिमीहरू नसोच। तिमीहरूले आशा राखेका मोशाले नै तिमीहरूलाई दोष लगाउँछन्। 46यदि तिमीहरूले मोशामा विश्वास गर्थ्यौ भने तिमीहरूले ममा पनि विश्वास गर्ने थियौ, किनकि उनले मेरो विषयमा लेखे। 47यदि तिमीहरूले उनले लेखेका कुराहरूमा विश्वास गर्दैनौ भने तिमीहरूले मेरो वचनमा कसरी विश्वास गर्छौ र?” 6:1यी कुराहरूपछि येशू गालील समुद्र अर्थात् तिबेरियास समुद्रको पारिपट्टि जानुभयो। 2एउटा ठुलो भिडले उहाँलाई पच्छ्याइरहेको थियो, किनकि बिरामी मानिसहरूमा उहाँले गरिरहनुभएको चिह्नहरू तिनीहरूले देखेका थिए।
मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको मे 1 नागरिक पात्रोमा मे 14 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार