Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 मार्च › मार्च 26

क्याथोलिक पात्रो

दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 मार्च 26

शुक्रबार · पास्काको त्रिदिवस

पर्व र सन्तहरू

शुभ शुक्रबार

निस्तार-चाडको त्रिदिवस · धर्मविधिको रङ: रातो

उपवास र प्रायश्चित्त

उपवास र मासुबाट परहेज

हरेक शुक्रबार प्रायश्चित्तको दिन हो; हरेक बिशप सम्मेलनले यो कसरी मानिने भनेर तोक्छ: मासुबाट परहेज वा प्रायश्चित्तको अर्को काम। उपवास 18 देखि 59 वर्षसम्म, परहेज 14 वर्षदेखि लागू हुन्छ।

दिनका पाठहरू

पहिलो पाठ

यशैया 52:13–53:12

13हेर, मेरो सेवकले बुद्धिमान् भएर काम गर्नेछ। ऊ उच्‍च हुनेछ र माथि उचालिनेछ र उसलाई उचालिनेछ। 14जसरी तँसँग धेरै जना त्रसित भएका थिए— उसको अनुहार कुनै मानिसको भन्दा धेरै कुरूप बनाइएको थियो, र उसको स्वरूप कुनै मानिसको जस्तो देखिएन। 15तापनि मेरो सेवकले धेरै जातिहरूलाई छर्कनेछ र उसको कारणले राजाहरूले आफ्‍ना मुख बन्‍द गर्नेछन्। किनकि तिनीहरूलाई नभनिएको कुरा तिनीहरूले देख्‍नेछन् र तिनीहरू नसुनेका कुरा तिनीहरूले बुझ्‍नेछन्। 53:1हामीबाट तिनीहरूले सुनेका कुरा कसले विश्‍वास गरेको छ, र कसलाई परमप्रभुको बाहुली प्रकट गरिएको छ? 2किनकि कलिलो बिरूवाजस्तै र सुख्‍खा जमिनबाट उम्रेको टुसाजस्तै ऊ परमप्रभुको सामु बढ्यो। उसमा हेर्नलायक आकर्षण वा ऐश्‍वर्य थिएन। हामीले उसलाई हेर्दा, हामीलाई आकर्षण गर्ने कुनै सुन्दरता थिएन। 3मानिसहरूद्वारा उसलाई घृणा र तिरस्‍कार गरियो। दुखको मानिस र कष्‍टसँग परिचित। त्‍यस्‍तो जसबाट मानिसहरूले आफ्‍ना अनुहार लुकाउँछन्, उसलाई घृणा गरियो। अनि हामीले उसलाई तुच्‍छ ठान्यौं। 4तर निश्‍चय नै उसले हाम्रा रोगहरू बोकेको र हाम्रा कष्‍टहरू उठाएको छ। तापनि हामीले उसलाई परमेश्‍वरद्वारा दण्ड दिइएको, परमेश्‍वरद्वारा हिर्काइएको र कष्‍टमा परेको ठान्यौं। 5तर हाम्रा विद्रोहपूर्ण कामहरूका कारणले उसलाई घोचिएको थियो। हाम्रा पापहरूका कारणले उसलाई पेलिएको थियो। हाम्रो शान्तिको निम्ति उसमाथि दण्ड पर्‍यो र उसका घाउहरूले हामी निको भएका छौं। 6हामी सबै बह्रालिएका भेडाहरूजस्ता छौं। हामी प्रत्‍येक आ-आफ्नै मार्गतिर लागेका छौं र परमप्रभुले हामी सबैको अधर्म उसमाथि राख्‍नुभएको छ। 7उसलाई अत्याचार गरियो। तापनि उसले आफूलाई होच्याउँदा, उसले आफ्नो मुख खोलेन। जसरी मार्नलाई लगिएको थुमा र ऊन कत्रनेहरूका सामु भेडा चुपचाप बस्‍छ, त्‍यसरी उसले आफ्नो मुख खोलेन। 8जबर्जस्ती र इन्साफद्वारा उसलाई दोषी ठहर गरियो। त्यस पुस्ताबाट कसले उसको बारेमा विचार गर्‍यो र? तर उसलाई जीविहरूको देशबाट अलग गरियो। मेरा मानिसहरूले अपराधहरू गरेका कारणले उसलाई दण्‍ड दिइयो। 9उसले कुनै हिंसा गरेका थिएन, न त उसको मुखमा कुनै छल नै थियो, तापनि अपराधीहरूसँगै तिनीहरूले उसको चिहान बनाए। उसको मृत्युमा एक जना धनी मानिस थियो। 10तापनि उसलाई धुलो पार्ने र उसलाई बिरामी पार्ने परमप्रभुकै इच्छा थियो। जब उसले आफ्नो जीवनलाई पापको निम्ति बलिदान बनाउँछन्, उसले आफ्ना सन्तानहरू देख्‍नेछ, उसले आफ्‍नो समय बढाउनेछ र उसैद्वारा परमप्रभुको उद्देश्य पुरा हुनेछ। 11उसको जीवनको कष्‍टपछि उसले ज्योति देख्‍नेछ र आफ्‍नो ज्ञानद्वारा सन्तुष्‍ट हुनेछ। मेरो धर्मिक सेवकले धेरै जनालाई निर्दोष ठहराउनेछ। उसले तिनीहरूको अधर्म बोक्‍नेछ। 12यसकारण म भीडहरूका माझमा उसको भाग उसैलाई दिनेछु, उसले धेरै जनासित लूटको माल बाँड्नेछ, किनभने उसले आफूलाई मृत्युमा हाल्यो र अपराधीहरूसँगै गनियो। उसले धेरै जनाको पाप बोक्यो र अपराधीहरूका निम्ति मध्‍यस्‍थ-बिन्ती गर्‍यो।

प्रत्युत्तर भजन

भजनसंग्रह 31:1, 5, 11–12, 14–16, 24

1हे परमप्रभु, तपाईंमा म शरण लिन्छु। मलाई कदापि अपमानित हुन नदिनुहोस्। तपाईंको धार्मिकतामा मलाई बचाउनुहोस्। 5मेरो आत्मा म तपाईंको हातमा सुम्पिन्छु। हे परमप्रभु, विश्‍वासनीयताको परमेश्‍वर, तपाईंले मलाई उद्धार गर्नुहुनेछ। 11मेरा सबै शत्रुका कारणले मानिसहरूले मलाई घृणा गर्छन्। मेरो स्‍थिति हेरेर मेरा छिमेकीहरू डराउँन् र मलाई चिन्‍नेहरू भयभीत हुन्छन्। मलाई बाटोमा देख्‍नेहरू मदेखि भाग्छन्। 12मरेको मानिसलाई झैं मलाई भुलिएको जसलाई कसैले विचार गर्दैन। म फुटेको भाँडोजस्तै छु। 14तर हे परमप्रभु, म तपाईंमा भरोसा गर्छु। म भन्छु, “तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ।” 15मेरा समयहरू तपाईंका हातमा छन्। मेरा शत्रुहरू र मलाई खेद्‍नेहरूका हातबाट मलाई बचाउनुहोस्। 16आफ्नो दासमाथि तपाईंको मुहार चम्काउनुहोस्। तपाईंको करारको विश्‍वस्‍ततामा मलाई बचाउनुहोस्। 24ए सबै सहायताको निम्ति परमप्रभुमा भरोसा गर्नेहरू हो, बलियो र दृढ होओ।

दोस्रो पाठ

हिब्रू 4:14–16; 5:7–9

14त्यसकारण, हामीसँग महान् प्रधान पुजारी हुनुहुन्छ जो स्वर्ग भएर जानुभएको छ। उहाँ परमेश्‍वरका पुत्र येशू हुनुहुन्छ। तसर्थ, हामी हाम्रो विश्‍वासलाई दृढतासाथ थामिराखौँ। 15किनकि हामीसँग हाम्रा कमजोरीहरूमा हामीलाई सान्त्वना दिन नसक्‍ने एक जना प्रधान पुजारी हुनुहुन्‍न। त्यसको सट्टामा, हामीसँग एक जना हुनुहुन्छ जो हामीजस्तै परीक्षामा भएर जानुभयो, तरै पनि उहाँ पापरहित हुनुहुन्छ। 16तब हामी परमेश्‍वरको अनुग्रहको सिंहासनमा साहसपूर्वक जाऔँ, ताकि खाँचोको समयमा हामीले कृपा र अनुग्रह पाउन सकौँ। 5:7उहाँ शरीरमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्‍नुहुने परमेश्‍वरसँग उहाँले ठुलो सोरमा क्रन्दन र आँशुकासाथ प्रार्थना र निवेदन गर्नुभयो। उहाँको आदरको कारणले गर्दा उहाँले सुन्‍नुभयो। 8उहाँ एक पुत्र हुनुभएर पनि आफूले भोगेको कष्‍टबाट उहाँले आज्ञापालन गर्न सिक्‍नुभयो। 9उहाँ सिद्ध बनाइनुभएपछि उहाँमा आज्ञाकारी हुने हरेकका निम्ति उहाँ अनन्त मुक्‍तिको कारण बन्‍नुभयो।

सुसमाचार

यूहन्ना 18:1–19:42

1यी कुराहरू बोलिसक्‍नुभएपछि येशू आफ्ना चेलाहरूसित किद्रोन उपत्यकाको अर्कोपट्टि जानुभयो। त्यहाँ एउटा बगैँचा थियो जसमा उहाँ र उहाँका चेलाहरू प्रवेश गर्नुभयो। 2उहाँलाई विश्‍वासघात गर्ने यहूदालाई पनि त्यो ठाउँ थाहा थियो, किनकि येशू आफ्ना चेलाहरूसित प्रायः त्यस बगैँचामा जानुहुन्थ्यो। 3अनि मुख्य पुजारीहरू, फरिसीहरू र अधिकारीहरूसहित सिपाहीहरूको एक समूह लिएर यहूदा लालटिन, राँको र हतियारहरूसहित त्यहाँ आए। 4के भइरहेको थियो भनी सबै थोक जान्‍नुहुने येशू अगाडि आउनुभयो र भन्‍नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?” 5तिनीहरूले उहाँलाई जवाफ दिए, “नासरतका येशूलाई।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म उही हुँ।” उहाँलाई विश्‍वासघात गर्ने यहूदा पनि सिपाहीहरूसँगै उभिरहेको थियो। 6त्यसैले, जब येशूले “म उही हुँ” भन्‍नुभयो तिनीहरू पछाडि हटे अनि जमिनमा ढले। 7अनि उहाँले तिनीहरूलाई फेरि सोध्‍नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?” तिनीहरूले फेरि भने, “नासरतका येशूलाई।” 8येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनेँ, म उही हुँ। त्यसैले, यदि तिमीहरू मलाई खोजिरहेका छौ भने, यिनीहरूलाई जान देओ।” 9यो “तपाईंले मलाई दिनुभएकाहरूमध्‍ये, मैले कसैलाई पनि गुमाइनँ” भनी उहाँले भन्‍नुभएको वचन पुरा हुनको निम्ति थियो। 10तब सिमोन पत्रुस जससँग तरवार थियो, तिनले त्यो थुतेर प्रधान पुजारीका नोकरलाई प्रहार गरे, र उसको दायाँ कान काटिदिए। त्यस नोकरको नाम माल्खस थियो। 11येशूले पत्रुसलाई भन्‍नुभयो, “तरवारलाई म्यानमा नै राख। के पिताले मलाई दिनुभएको कचौरा मैले पिउनु पर्दैन र?” 12त्यसैले, सिपाहीहरूको समूह, कप्‍तान र यहूदी अधिकारीहरूले येशूलाई पक्रे र बाँधे। 13तिनीहरूले पहिले उहाँलाई हन्‍नासकहाँ लगे, किनकि तिनी कैयाफाका ससुरा थिए जो त्यस वर्षका प्रधान पुजारी थिए। 14मानिसहरूको निम्ति एक जना मर्नु उत्तम हुन्छ भनी यहूदीहरूलाई सल्लाह दिने व्यक्‍ति कैयाफा नै थिए। 15सिमोन पत्रुस येशूको पछिपछि लागे, र अर्का चेलाले पनि त्यसै गरे। ती चेलाको प्रधान पुजारीसँग चिनजान थियो, र तिनी येशूसँगै प्रधान पुजारीका आँगनभित्र पसे। 16तर पत्रुसचाहिँ बाहिर ढोकामा नै उभिरहेका थिए। त्यसैले, प्रधान पुजारीसँग चिनजान भएका अर्का चेला बाहिर गए र ढोकाकी महिला पालेसँग कुरा गरे, र पत्रुसलाई भित्र ल्याए। 17तब महिला दासी अर्थात् ढोकाकी पालेले पत्रुसलाई भनिन्, “के तिमी पनि यी मानिसका चेलाहरूमध्ये एक जना होइनौ र?” तिनले भने, “म होइनँ।” 18अब नोकरहरू र अधिकारीहरू त्यहाँ उभिरहेका थिए, र तिनीहरूले आगोको भुङ्‌ग्रो बनाएका थिए, किनकि जाडो थियो, अनि तिनीहरूले आफैँलाई न्यानो बनाइराखेका थिए। आफूलाई न्यानो पार्दै पत्रुस पनि तिनीहरूसँगै उभिरहेका थिए। 19प्रधान पुजारीले येशूलाई उहाँका चेलाहरू र उहाँको शिक्षाको बारेमा सोधपुछ गरे। 20येशूले तिनलाई जवाफ दिनुभयो, “म संसारसँग खुल्लमखुल्ला बोलेको छु। मैले सधैँ मन्दिर र सभाघरहरूमा शिक्षा दिइरहेको थिएँ जहाँ सबै यहूदीहरूसँगै आउँछन्। मैले कुनै पनि कुरा गुप्‍तमा भनेको छैन। 21तपाईंहरूले मलाई किन सोध्‍नुहुन्छ? तिनीहरूलाई नै सोध्‍नुहोस् जसले मैले भनेको सुनेका छन्। हेर, मैले भनेका कुरा यी मानिसहरूले जान्दछन्।” 22जब येशूले यो कुरा भन्‍नुभयो, त्यहाँ उभिरहेकाहरूमध्ये एक जनाले येशूलाई एक मुक्‍का हाने, र भने, “के प्रधान पुजारीलाई जवाफ दिने तेरो तरिका त्यही हो?” 23येशूले त्यसलाई जवाफ दिनुभयो, “यदि मैले गलत तवरले बोलेँ भने, त्यो गलत कुराको गवाही देऊ, तर यदि मैले ठिकसँग बोलेको छु भने तिमी मलाई किन हिर्काउँछौ?” 24अनि हन्‍नासले येशूलाई बाँधेकै अवस्थामा प्रधान पुजारी कैयाफाकहाँ पठाए। 25अब सिमोन पत्रुसचाहिँ उभिएर आफूलाई न्यानो पार्दै थिए। अनि मानिसहरूले तिनलाई भने, “के तिमी पनि त्यसका चेलाहरूमध्येका एक जना होइनौ?” तिनले यसलाई इन्कार गरे, र भने, “म होइनँ।” 26अनि प्रधान पुजारीका नोकरहरूमध्ये पत्रुसले कान काटिदिएका नोकरका एक जना नातेदारले भने, “के मैले तिमीलाई बगैँचामा तिनीसित देखिनँ र?” 27पत्रुसले फेरि इन्कार गरे र तुरुन्तै भाले बास्यो। 28त्यसपछि तिनीहरूले येशूलाई कैयाफाबाट राज्यपालको महलमा लगे। बिहान सबेरै थियो, तिनीहरू राज्यपालको महलमा पसेनन्, ताकि तिनीहरूले अशुद्ध नहोऊन् तर निस्तार-चाड खान सकून्। 29त्यसैले पिलातस तिनीहरूकहाँ बाहिर गए र भने, “तिमीहरूले यी मानिसको विरुद्धमा के आरोप ल्याउँदै छौ?” 30तिनीहरूले तिनलाई जवाफ दिए, र भने, “यदि यो मानिसले खराबी नगरेको भए हामीले यसलाई तपाईंकहाँ सुम्‍पने थिएनौँ।” 31त्यसकारण, पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैँले यिनलाई लैजाऊ र आफ्नो व्यवस्थाअनुसार यिनको न्याय गर।” अनि यहूदीहरूले तिनलाई भने, “कुनै मानिसलाई मृत्युदण्ड दिनु हाम्रो लागि न्यायसङ्गत छैन। 32उहाँको मृत्यु कस्तो किसिमले हुनेछ भनी येशूले सङ्केत गरेर भन्‍नुभएको उहाँको वचन पुरा होस् भनेर यसो भएको थियो। 33त्यसपछि पिलातस फेरि राज्यपालको महलभित्र पसे, अनि येशूलाई बोलाए र तिनले उहाँलाई भने, “के तिमी यहूदीहरूका राजा हौ?” 34येशूले जवाफ दिनुभयो, “तपाईं आफैँले भन्‍नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भनेको हो?” 35पिलातसले जवाफ दिए, “म यहूदी होइनँ, हुँ र? तिम्रा आफ्‍नै मानिसहरू र तिम्रा मुख्य पुजारीहरूले नै तिमीलाई मकहाँ सुम्‍पेका छन्। तिमीले के गर्‍यौ?” 36येशूले जवाफ दिनुभयो, “मेरो राज्य यो संसारको होइन। यदि मेरो राज्य यस संसारको हिस्सा थियो भने, मेरा सेवकहरू लड्ने थिए, ताकि मलाई यहूदीहरूको हातमा सुम्पियोस्। तर मेरो राज्य यस संसारको होइन।” 37तब पिलातसले उहाँलाई भने, “त्यसो भए तिमी राजा नै हौ त?” येशूले जवाफ दिनुभयो, “तपाईं नै मलाई राजा भन्‍नुहुन्छ। म यही उद्देश्‍यको निम्ति जन्मिएको हुँ, अनि म यही उद्देश्‍यको निम्ति म यस संसारमा आएको छु, ताकि मैले सत्यको गवाही दिऊँ। सत्यका सबैले मेरो आवाज सुन्छन्।” 38पिलातसले उहाँलाई भने, “सत्य के हो?” जब तिनले यसो भने, तिनी फेरि यहूदीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “म यस मानिसमा कुनै अपराध पाउँदिन।” 39तर निस्तार-चाडमा मैले तिमीहरूका निम्ति एक जनालाई छोडिदिने तिमीहरूको प्रचलन छ। त्यसैले, के म तिमीहरूका निम्ति यहूदीहरूका राजालाई छोडी दिऊँ भन्‍ने तिमीहरू चाहन्छौ?” 40तब तिनीहरूले फेरि कराए, र भने, “यस मानिसलाई होइन, तर बारब्बालाई छोडिदिनुहोस्।” बारब्बाचाहिँ एक डाँकु थिए। 19:1तब पिलातसले येशूलाई लगे र उहाँलाई कोर्रा लगाए। 2सिपाहीहरूले काँडाको मुकुट बनाए। तिनीहरूले यसलाई येशूको शिरमा लगाइदिए, अनि उहाँलाई बैजनी रङको वस्‍त्र पहिर्‍याइदिए। 3तिनीहरू उहाँकहाँ आए, र भने, “यहूदीहरूका राजाको जय होस्!” अनि तिनीहरूले उहाँलाई मुक्‍का हाने। 4तब पिलातस फेरि बाहिर गए, र तिनीहरूलाई भने, “हेर, मैले यिनलाई तिमीहरूकहाँ बाहिर ल्याउँदै छु, ताकि मैले यिनमा कुनै दोष पाउँदिनँ भन्‍ने तिमीहरूले जान्‍न सक।” 5त्यसैले, येशू बाहिर आउनुभयो। उहाँले काँडाको मुकुट र बैजनी रङको वस्‍त्र लगाउनुभएको थियो। तब पिलातसले तिनीहरूलाई भने, “यी मानिसलाई हेर!” 6जब मुख्य पुजारीहरू र अधिकारीहरूले येशूलाई देखे, तिनीहरू उच्‍च सोरले कराए, र भने, “त्यसलाई क्रुसमा टाँग, त्यसलाई क्रुसमा टाँग!” पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैँले लैजाओ र यिनलाई क्रुसमा टाँग, किनकि म यिनमा कुनै दोष भेट्टाउँदिनँ।” 7यहूदीहरूले तिनलाई जवाफ दिए, “हामीसँग व्यवस्था छ, अनि त्यो व्यवस्थाअनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्‍वरका पुत्र हुँ भनी दाबी गर्छ।” 8जब पिलातसले यो भनाइ सुने, तिनी झन् डराए, 9अनि तिनी फेरि राज्यपालको महलभित्र पसे, र येशूलाई भने, “तिमी कहाँबाट आएका हौ?” तर येशूले तिनलाई जवाफ दिनुभएन। 10तब पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्दैनौ? मसित तिमीलाई छोडिदिने र क्रुसमा टाँग्‍ने शक्‍ति छ भन्‍ने के तिमीलाई थाहा छैन?” 11येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट दिइएको बाहेक तपाईंसँग ममाथि कुनै शक्‍ति छैन। यसकारण, जसले मलाई तपाईंको हातमा सुम्प्यो त्यसको पाप अझ ठुलो हुन्छ।” 12यस जवाफमा पिलातसले उहाँलाई छोड्ने कोसिस गरे, तर यहूदीहरू यसो भन्दै कराए, “तपाईंले यो मानिसलाई छोड्नुभयो भने तपाईं कैसरको मित्र हुनुहुन्‍नः जसले आफैँलाई राजा तुल्याउँछ, त्यो कैसरको विरुद्ध बोल्छ।” 13जब पिलातसले यी कुराहरू सुने, तिनले येशूलाई बाहिर ल्याए, र “ढुङ्गाको पेटी” (हिब्रूमा “गब्बथा”) भनिने ठाउँको न्याय आसनमा बसे। 14निस्तारको तयारीको दिनको करिब छैठौँ पहर भएको थियो। पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा यहाँ हुनुहुन्छ!” 15तिनीहरू ठुलो सोरमा कराए, “यसलाई लानुहोस्, यसलाई लानुहोस्, यसलाई क्रुसमा टाँग्‍नुहोस्!” पिलातसले तिनीहरूलाई भने, “के तिमीहरूका राजालाई मैले क्रुसमा टाँग्‍नुपर्ने हो?” मुख्य पुजारीहरूले जवाफ दिए, “हामीसँग कैसरबाहेक अरू कुनै राजा छैन।” 16तब पिलातसले क्रुसमा टाँग्‍नको लागि येशूलाई तिनीहरूकहाँ सुम्पे। 17तब तिनीहरूले येशूलाई लगे, अनि उहाँ आफ्‍नो क्रुस आफैँ बोकी, “खप्परे ठाउँ” भन्‍ने ठाउँतिर जानुभयो, जसलाई हिब्रूमा “गलगथा” भनिन्छ। 18त्यहाँ तिनीहरूले येशूलाई क्रुसमा टाँगे, उहाँसँगै अरू दुई जना मानिसलाई पनि येशूलाई बिचमा पारेर दुवैपट्टि एक-एक जनालाई क्रुसमा टाँगे। 19पिलातसले एउटा चिन्ह पनि लेखे र क्रुसमाथि राखे। त्यहाँ यस्तो लेखिएको थियोः नासरतका येशू, यहूदीहरूका राजा। 20यहूदीहरूमध्ये धेरैले यो चिन्ह पढे, किनभने येशूलाई टाँगिएको ठाउँ सहरको नजिकै थियो। यो चिन्ह हिब्रू, ल्याटिन र ग्रिकमा लेखिएको थियो। 21तब यहूदीहरूका मुख्य पुजारीहरूले पिलातसलाई भने, “यहूदीहरूका राजा नलेख्‍नुहोस् बरु यसले, ‘म यहूदीहरूका राजा हुँ’ भनेको थियो भनी लेख्‍नुहोस्।” 22पिलातसले जवाफ दिए, “मैले जे लेखेँ सो लेखेँ।” 23सिपाहीहरूले येशूलाई क्रुसमा टाँगेपछि तिनीहरूले उहाँको वस्‍त्र लिए अनि चार भाग बनाए। हरेक सिपाहीको लागि एक-एक भाग पर्‍यो र लबेदा पनि। अब लबेदाचाहिँ सिउनीविनाको माथिदेखि पुरै बुनेको थियो। 24तब तिनीहरूले एक आपसमा भने, “यसलाई नच्यातौँ, बरु यो कसको हुनेछ भनी निर्णय गर्न चिट्ठा हालौँ।” धर्मशास्‍त्रको वचन पुरा होस् यसो भएको थियो, “तिनीहरूले मेरो वस्‍त्र आपसमा भाग लगाए; तिनीहरूले मेरो वस्‍त्रको लागि चिट्ठा हाले।” 25सिपाहीहरूले यी कुराहरू गरे। येशूकी आमा, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्‍नी मरियम र मरियम मग्दलिनी येशूको क्रुसको छेउमा उभिरहेका थिए। 26जब येशूले आफ्नी आमा र आफूले माया गर्नुभएका चेलालाई नजिकै उभिएको देख्‍नुभयो, उहाँले आफ्नी आमालाई भन्‍नुभयो, “हे नारी, हेर्नुहोस्, तपाईंका छोरा!” 27तब उहाँले ती चेलालाई भन्‍नुभयो, “हेर, तिम्री आमा!” त्यस बेलादेखि ती चेलाले तिनलाई आफ्नो घरमा लगे। 28यसपछि येशूले सबै थोक पुरा गरिएको थियो भन्‍ने जान्‍नुभएको हुनाले धर्मशास्‍त्र पुरा हुनको लागि उहाँले भन्‍नुभयो, “मलाई तिर्खा लाग्यो।” 29अमिलो मद्यले भरिएको एउटा भाँडा त्यहाँ राखिएको थियो। त्यसैले, तिनीहरूले अमिलो दाखमद्यले भरिएको स्पन्जलाई हिसपको हाँगामा चोपेर उहाँको मुखमा राखिदिए। 30जब येशूले अमिलो लिनुभयो, उहाँले भन्‍नुभयो, “सिद्धियो।” उहाँले आफ्नो शिर झुकाउनुभयो र आफ्नो आत्मा त्याग्‍नुभयो। 31यो तयारीको दिन भएको, र शबाथको अवधिमा शरीर क्रुसमा नरहोस् भन्‍ने हेतुले (किनकि शबाथ महत्त्‍वपूर्ण दिन थियो), यहूदीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर तिनीहरूलाई हटाउनलाई आग्रह गरे। 32तब सिपाहीहरू आए, र येशूसँगै क्रुसमा टाँगिएका पहिलो र दोस्रो मानिसका खुट्टा भाँचीदिए। 33जब तिनीहरू येशूकहाँ आए, तिनीहरूले उहाँको मृत्यु अगि नै भइसकेको देखे। त्यसैले, तिनीहरूले उहाँका खुट्टा भाँचेनन्। 34तापनि सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखमा भालाले घोचे, र तत्कालै रगत र पानी निस्क्यो। 35जसले यो देखे तिनले यो गवाही दिएका छन्, र तिनको गवाही सत्य छ। तिनले भनेको सत्य हो भनी तिनी जान्‍दछन् छन्, र तिमीहरूले विश्‍वास गर। 36यी कुराहरू यस हेतुले भए, ताकि धर्मशास्‍त्र पुरा होस्, “उहाँको एउटै पनि हड्डी भाँचिनेछैन।” 37फेरि, अर्को धर्मशास्‍त्रले भन्छ, “तिनीहरूले उहाँलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचे।” 38यी कुराहरूपछि अरिमाथियाका योसेफ येशूका चेला भएका हुनाले (तर यहूदीहरूको डरले तिनी गुप्‍तमा मात्र चेला थिए) तिनले येशूको शरीरलाई लान पाऊँ भनी पिलातससँग अनुरोध गरे। पिलातसले तिनलाई अनुमति दिए। त्यसकारण योसेफ आए, र उहाँको शरीर लगे। 39निकोदेमस पनि आए जो पहिले येशूकहाँ राति आएका थिए। तिनले झण्डै तेत्तिस किलो मूर्र र एलवाको मिश्रण ल्याए। 40त्यसैले, तिनीहरूले येशूको शरीरलाई लगे र दफनको निम्ति यहूदीहरूको चलनअनुसार मसलासहित सुती कपडाले बेह्रे। 41अब उहाँलाई क्रुसमा झुण्ड्याइएको ठाउँमा एउटा बगैँचा थियो, र त्यो बगैँचामा एउटा नयाँ चिहान थियो जसमा अहिलेसम्म कुनै व्यक्‍तिलाई गाडिएको थिएन। 42यो दिन यहूदीहरूका निम्ति तयारीको दिन भएको र चिहान पनि नजिकै भएको हुनाले तिनीहरूले येशूलाई त्यसैमा राखे।

सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार