Bible Explorer एप लिनुहोस्

बाइबल › मत्ती › 10

ULB · अध्याय 10 / 28

मत्ती 10

1येशूले आफ्ना बाह्र जना चेलालाई एकै ठाउँमा बोलाउनुभयो र तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अधिकार दिनुभयो अनि हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्ने अधिकार पनि दिनुभयो।

2यी बाह्र जना प्रेरितका नाम यस प्रकार छ। पहिलो, सिमोन (जसलाई उहाँले पत्रुस पनि भनेर बोलाउनुहुन्थ्यो), र तिनका भाइ अन्द्रियास; जब्दियाका छोरा याकूब, र तिनका भाइ यूहन्‍ना;

3फिलिप र बारथोलोमाइ; थोमा र कर उठाउने मत्ती, अल्फयसका छोरा याकूब र थेदियस;

4सिमोन कनानी र यहूदा इस्करियोत, जसले येशूलाई पक्राइदिने थियो।

5यी बाह्रै जनालाई येशूले बाहिर पठाउनुभयो। उहाँले तिनीहरूलाई निर्देशन दिनुभयो र भन्‍नुभयो, “गैरयहूदीहरू बस्‍ने कुनै पनि ठाउँमा नजाओ, र सामरीहरूको कुनै पनि सहरमा प्रवेश नगर।”

6यसको सट्टा, इस्राएलको घरानाको हराएको भेडाकहाँ जाओ।

7अनि जसै तिमीहरू जान्छौ, ‘स्वर्गको राज्य नजिकै आइसकेको छ’ भनी प्रचार गर।

8रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्‍ठरोगीहरूलाई शुद्ध पार र भूतात्माहरूलाई धपाओ। तिमीहरूले सित्तैँमा पाएका छौ, सित्तैँमा देओ।

9तिमीहरूका थैलीमा कुनै पनि सुन, चाँदी वा पित्तल नबोक।

10तिमीहरूका यात्राको निम्ति झोला वा फाल्तु दौरा वा जुत्ता वा लौरो नबोक, किनकि खेतालाले आफ्नो भोजन पाउनुपर्छ।

11तिमीहरू जुनसुकै सहर वा गाउँमा प्रवेश गर्छौ, त्यहाँ को योग्यको छ भनी पत्ता लगाओ र नगइन्जेलसम्म तिमीहरू त्यहीँ बस।

12जब तिमीहरू घरमा पस्छौ, तब त्यसलाई अभिवादन गर।

13यदि त्यो घर योग्यको छ भने, तिमीहरूको शान्ति त्यसमाथि आओस्। तर यदि त्यो योग्यको छैन भने, तिमीहरूका शान्ति तिमीहरूकहाँ नै फर्केर आओस्।

14जसले तिमीहरूलाई ग्रहण गर्दैन वा तिमीहरूका वचन सुन्दैन, तिमीहरू त्यस सहर वा गाउँबाट निस्केर जाँदा, तिमीहरूका खुट्टाबाट धुलो टकटक्याइदेओ।

15साँच्‍चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा सदोम र गमोराको इन्साफ बढी सहनीय हुन्छ।

16हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बिचमा भेडाझैँ पठाउँदै छु। यसकारण, सर्पझैँ चनाखो र ढुकुरझैँ सोझो होओ।

17मानिसहरूदेखि होसियार बस! तिनीहरूले तिमीहरूलाई परिषद्हरूमा सुम्पिदिनेछन् र तिनीहरूले आफ्ना सभाघरहरूमा तिमीहरूलाई कोर्रा लगाउनेछन्।

18अनि शासकहरू र राजाहरू र अन्यजातिहरूका निम्ति गवाहीको रूपमा मेरो खातिर तिमीहरू तिनीहरूका सामु ल्याइनेछौ।

19जब तिनीहरूले तिमीहरूलाई सुम्पिदिनेछन्, तब तिमीहरूले कसरी वा के बोल्ने भन्‍ने विषयमा चिन्ता नगर, किनकि तिमीहरूलाई बोल्नुपर्ने कुरा सोही घडी दिइनेछ।

20किनकि बोल्ने तिमीहरू होइनौ, तर तिमीहरूमा बोल्नुहुने तिमीहरूका पिताका आत्मा हुनुहुन्छ।

21दाजुले भाइलाई मृत्युको निम्ति पक्राइदिनेछ, र बुबाले आफ्नो छोरालाई। छोराछोरीहरू आफ्ना बुबा-आमाका विरुद्धमा उठ्नेछन् र मृत्युका निम्ति तिनीहरूलाई सुम्पिदिनेछन्।

22मेरो नाउँको खतिर तिमीहरू सबैबाट घृणित हुनेछौ। तर जसले अन्तिम घडीसम्म सहन्छ, त्यस व्यक्‍तिको उद्धार हुनेछ।

23जब तिनीहरूले यस सहरमा तिमीहरूलाई सताउँछन्, अर्को सहरमा भाग, किनकि साँच्‍चै म तिमीहरूलाई भन्दछु, मानिसका पुत्र नआउञ्‍जेलसम्म तिमीहरू इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ।

24चेला आफ्नो गुरुभन्दा श्रेष्‍ठ हुँदैन, न त नोकर आफ्नो मालिकभन्दा ठुलो हुन्छ।

25चेला आफ्नो गुरु र नोकर आफ्नो मालिकजस्तो हुनु नै उसको निम्ति पर्याप्‍त हुन्छ। यदि तिनीहरूले घरका मालिकलाई नै बालजिबुल भनेका छन् भने, तिनीहरूले उनका घरानालाई झन् कति बढी बदनाम गर्लान्!

26त्यसकारण, तिनीहरूसँग नडराओ, किनकि कुनै कुरा पनि ढाकिएको छैन जुन प्रकट हुनेछैन, र कुनै कुरा पनि लुकाइएको छैन जुन थाहा हुनेछैन।

27जे म तिमीहरूलाई अँध्यारोमा भन्दछु, त्यो उज्यालोमा भनिदेओ र जे तिमीहरूले आफ्नो कानमा मधुर रूपमा सुन्छौ, त्यो घरको धुरीबाट घोषणा गर।

28तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्दछन्, तर आत्मालाई मार्न सक्दैनन्। बरु, आत्मा र शरीर दुवैलाई नरकमा नष्‍ट गर्न सक्‍नुहुनेसँग डराओ।

29के सानो सिक्‍कामा दुईवटा भङ्गेरा बिक्दैनन् र? तापनि तिमीहरूका पिताको इच्छाविना तीमध्ये एउटा पनि भुइँमा खस्दैन।

30तर तिमीहरूका शिरका केशहरू पनि गन्ती भएका छन्।

31नडराओ। तिमीहरू धेरै भङ्गेराभन्दा बढी मूल्यवान् छौ।

32यसकारण, जसले मलाई मानिसहरूका सामुन्‍ने ग्रहण गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु ग्रहण गर्नेछु।

33तर जसले मानिसहरूका सामुन्‍ने मलाई इन्कार गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु इन्कार गर्नेछु।

34म पृथ्‍वीमा शान्‍ति ल्याउन आएँ भनी विचार नगर। म शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएँ।

35किनकि म मानिसलाई उसको पिताको विरुद्ध र छोरीलाई उसकी आमाको विरुद्ध र बुहारीलाई उसकी सासूको विरुद्ध गराउन आएँ।

36मानिसका शत्रुहरू उसको आफ्नै घरानाभित्रका हुनेछन्।

37जसले मलाई भन्दा आफ्नो बुबा वा आमालाई प्रेम गर्छ, त्यो मेरो निम्ति योग्यको हुँदैन। र जसले आफ्नो छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्छ, ऊ मेरो निम्ति योग्यको हुँदैन।

38जसले आफ्नो क्रुस उठाएर मेरो पछि लाग्दैन, ऊ मेरो निम्ति योग्यको हुँदैन।

39जसले आफ्नो जीवन भेट्टाउँछ, उसले त्यो गुमाउनेछ। तर जसले मेरो खतिर आफ्नो जीवन गुमाउँछ, उसले जीवन पाउनेछ।

40जसले तिमीहरूलाई स्वागत गर्दछ, उसले मलाई स्वागत गर्दछ र जसले मलाई स्वागत गर्दछ, उसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्दछ।

41जसले अगमवक्‍तालाई तिनी अगमवक्‍ता भएको कारणले स्वागत गर्दछ, उसले अगमवक्‍ताको इनाम पाउनेछ। अनि जसले धर्मी मानिसलाई तिनी धर्मी भएको कारणले स्वागत गर्दछ, उसले धर्मी मानिसको इनाम पाउनेछ।

42जसले यी सानाहरूमध्ये कसैलाई चेला भएको कारणले एक कचौरा चिसो पानी मात्र पनि पिउन देला, साँच्‍चै म तिमीहरूलाई भन्दछु, उसले कुनै रीतिले आफ्नो इनाम गुमाउनेछैन्।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org