Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 नोभेम्बर › नोभेम्बर 21

अर्थोडक्स पात्रो · नोभेम्बर 8 (पुरानो शैली)

अर्थोडक्स दैनिक पाठहरू — 2027 नोभेम्बर 21

आइतबार · स्वर 5

पर्व र सन्तहरू

पेन्तिकोसपछिको 22औँ आइतबार

उपवास

उपवास छैन

यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।

दिनका पाठहरू

साँझको प्रार्थना: पाठ

यहोशू 5:13–15

13यहोशू यरीहोको नजिक हुँदा तिनले माथि हेरे र हेर, एउटा मानिस तिनको सामु उभिरहेका थिए। तिनको हातमा नाङ्गो तरवार थियो। यहोशू तिनीकहाँ गएर सोधे, “तपाईं हाम्रो वा हाम्रा शत्रुको पक्षमा हुनुहुन्छ?” 14तिनले भने, “कुनै पक्षको होइन। किनभने म परमप्रभुको फौजको सेनापति हुँ। अहिले म आएको छु।” अनि यहोशूले जमिनमा घोप्टो परेर आराधना गरे र तिनलाई भने, “मेरा मालिकले उहाँको दासलाई के भन्‍नुहुन्छ?” 15परमप्रभुको फौजका सेनापतिले यहोशूलाई भने, “तेरो खुट्टाको जुत्ता फुकाल्, किनभने तँ उभिरहेको ठाउँ पवित्र छ।” यहोशूले त्यसै गरे।

साँझको प्रार्थना: पाठ

न्यायकर्ताहरू 6:2, 7, 11–24

2मिद्दानीको शक्तिले इस्राएललाई अत्‍याचार गर्‍यो। मिद्दानीका कारणले इस्राएलका मानिसहरूले पहाडका ओडारहरू, गुफाहरू, र किल्‍लाहरू बस्‍न लागे। 7जब मिद्दानीहरूका कारणले इस्राएलका मानिसहरूले परमप्रभुलाई पुकारा गरे, 11यति बेला परमप्रभुका दूत आए र अबीएजेरी योआशको, ओप्रा भन्‍ने ठाउँको फलाँटको रूखमुनि बसे, जति बेला मिद्दानीहरूबाट लुकाउनलाई योआशका छोरा गिदोनचाहिं दाखको कोल भइँमा गहूँ चुटेर छुट्याउँदै थिए। 12परमप्रभुका दूत तिनीकहाँ देखा परे र तिनलाई भने, “तँ बलवान् योद्धा होस्, परमप्रभु तँसँग हुनुहुन्छ!” 13गिदोनले तिनलाई भने, “ओहो, मेरा मालिक, परमप्रभु हामीसँग हुनुहुन्छ भने, किन हामीलाई यी सबै कुरा हुन आएका हुन्? उहाँका सबै आश्‍चर्यपूर्ण कामहरू कहाँ छन् जसका बारेमा हाम्रा पुर्खाहरूले हामीलाई यसो भनेका थिए, ‘के परमप्रभुले हामीलाई मिश्रदेशबाट बाहिर निकाल्नुभएन र?’ तर अहिले परमप्रभुले हामीलाई त्याग्‍नुभएको र हामीलाई मिद्दानीका हातमा दिनुभएको छ।” 14परमप्रभुले तिनलाई हेर्नुभयो र यसो भन्‍नुभयो, “तँसँग भएको बलमा तँ जा। इस्राएललाई मिद्दानीको हातबाट छुटा। के मैले तँलाई पठाएको होइन र?” 15गिदोनले उहाँलाई भने, “कृपया, परमप्रभु, म कसरी इस्राएललाई छुटाउन सक्छु र? हेर्नुहोस्, मेरो परिवार मनश्‍शेमा सबैभन्दा कमजोर छ, र मेरो पिताको घरानामा म सबैभन्दा कम महत्त्वको छु।” 16परमप्रभुले तिनलाई भन्‍नुभयो, “म तँसँग हुनेछु, र तैंले सम्‍पूर्ण मिद्दानी सेनालाई एक जना मानिसलाई झैं गरी परास्त गर्नेछस्।” 17गिदोनले उहाँलाई भने, “तपाईं मसँग खुशी हुनुहुन्छ भने, मसँग बोल्ने तपाईं नै हुनुहुन्छ भनेर तपाईंले मलाई एउटा चिन्ह दिनुहोस्। 18म तपाईंकहाँ आउन र तपाईंलाई मेरो उपहार ल्‍याएर तपाईंको सामु नराखेसम्म, कृपया यहाँबाट नजानुहोस्।” परमप्रभुले भन्‍नुभयो, “तँ नफर्केसम्म म पर्खनेछु।” 19गिदोन गए र एउटा पाठो तयार गरे र पाँच पाथी पिठोबाट अखमिरी रोटी बनाए। उनले मासुलाई एउटा टोकरीमा राखे, र झोलचाहिं एउटा भाँडोमा राखे, अनि ती फलाँटको रूखमुनि उहाँकहाँ ल्‍याए र ती टक्र्याए। 20तब परमप्रभुका दूतले तिनलाई भने, “मासु र अखमिरी रोटी उठा र ती यस चट्टानमाथि राख्, र तीमाथि त्यो झोल खन्‍याइदे।” गिदोनले त्यसै गरे। 21तब परमप्रभुका दूतले आफ्नो हातको लौरोको टुप्पोले त्यो छोए। त्‍यसले उहाँले मासु र अखमिरी रोटीलाई छुनुभयो। त्‍यो चट्टानबाट एउटा आगो निस्कियो, र मासु र अखमिरी रोटीलाई भस्म गर्‍यो। तब परमप्रभुका दूत गइहाले र गिदोनले उनलाई फेरि देखेनन्। 22तिनी परमप्रभुका दूत रहेछन् भनेर गिदोनले बुझे। गिदोनले भने, “हे परमप्रभु परमेश्‍वर! किनकि मैले परमप्रभुका दूतलाई आमने-सामने देखें!” 23परमप्रभुले तिनलाई भन्‍नुभयो, “तँलाई शान्ति होस्! नडरा, तँ मर्नेछैनस्।” 24यसैले गिदोनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए। तिनले त्यसको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ” भने। आजको दिनसम्म त्यो अबीएजेरी वंशको ओप्रामा छ।

साँझको प्रार्थना: पाठ

यशैया 14:7–20

7सम्‍पूर्ण पृथ्वी नै विश्राममा छ र शान्त छ। तिनीहरूले गीत गाउँदै उत्सव मनाउन सुरु गर्छन्। 8सल्लाका रूखहरू लेबनानको देवदारुहरूसँगै तँलाई देखेर रमाउँछन्। तिनीहरू भन्छन्, 'तँलाई तल खसालिएको हुनाले, हामीलाई काटेर ढाल्न काठ काट्ने कुनै मानिस माथि आउनेछैन।' 9तँ चिहानमा जाँदा, तँलाई भेट्न चिहान उत्सुक हुन्छ। पृथ्वीका सबै राजालाई, जातिहरूका सबै राजालाई, आफ्‍ना सिंहासनबाट माथि खडा हुन लगाएर तेरो निम्ति त्‍यसले मृतहरूलाई जगाउँछ। 10तिनीहरू सबै बोल्नेछन् र तँलाई यसो भन्‍नेछन्, 'तँ पनि हामीजस्तै कमजोर भएको छस्। तँ पनि हामीजस्तै भएको छस्। 11तेरो तडकभडकलाई तेरो वीणाहरूको आवाजसँगै चिहनामा ल्याइएको छ। तँमुनि औंसाहरू फैलिएका छन् र तँलाई किराहरूले ढाकेको छ,' 12ए दिनको तारा, बिहानको पुत्र, तँ कसरी स्‍वर्गबाट तल झरेको छस्! जातिहरूमाथि विजय पाएको, तँलाई कसरी भूइँमा ढालिएको छ! 13तैंले आफ्नो हृदयमा भनेको थिइस्, 'म स्वर्गमा चढ्‍नेछु, परमेश्‍वरका ताराहरूभन्दा माथि म आफ्‍नो सिंहासनलाई उचाल्नेछु, र सभाको पहाडमाथि सूदूर उत्तरमा म विराजमान हुनेछु। 14बादलहरूको उचाइभन्दा माथि म चड्‍नेछु। म आफैलाई सर्वोच्‍च परमेश्‍वरजस्तै बनाउनेछु।' 15तापनि तँलाई अब चिहानमा, खडालको गहिराइमा तल खसालिएको छ। 16तँलाई देख्‍नेहरूले तँलाई टुलुटुलु हेर्नेछन् र तिनीहरूले तँलाई ध्यान दिनेछन्। तिनीहरूले सोध्‍नेछन्, 'के यो त्‍यही मानिस हो, जसले पृथ्वीलाई थर्कमान पार्‍यो, जसले राज्यहरूलाई हल्‍लायो, 17जसले संसारलाई उजाड-स्‍थानजस्‍तो बनायो, जसले सहरहरूलाई नष्‍ट पार्‍यो र आफ्‍ना कैदीहरूलाई घर जान दिएन?' 18जातिहरूका सबै राजा, तीमध्‍ये सबै जना, हरेक व्‍यक्‍ति आ-आफ्ना चिहानमा आदरसाथ सुत्‍छन्। 19तर एउटा हाँगालाई फालेझैं, तेरो चिहानबाट तँलाई बाहिर फालिएको छ। तरवारले छेडेर मारिएका खाल्डोका ढुङ्गाहरूतिर जाने मृतकहरूले तँलाई कपडाले झैं ढाक्‍छन्। 20तैंले आफ्नो देशलाई नाश पारेको र आफ्ना मानिसहरूलाई मारेको हुनाले तिनीहरूसँगै तेरो दफन हुनेछैन। दुष्‍ट काम गर्नेहरूका सन्तानलाई फेरि कहिल्यै याद गरिनेछैन।”

बिहानको प्रार्थनाको 11औँ सुसमाचार

यूहन्ना 21:15–25

15तिनीहरूले खाजा खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ?” पत्रुसले उहाँलाई भने, “हो प्रभु, तपाईं जान्‍नुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा थुमाहरूलाई खुवाऊ।” 16उहाँले तिनलाई फेरि दोस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले उहाँलाई जवाफ दिए, “हो प्रभु, तपाईं जानुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूको हेरचाह गर।” 17उहाँले तिनलाई तेस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुस निराश भए, किनकि येशूले तिनलाई “के तिमी मलाई प्रेम गर्छौ?” भनी तेस्रो पटक सोध्‍नुभएको थियो। तिनले उहाँलाई भने, “प्रभु, तपाईं सबै थोक जानुहुन्छ, कि म तपाईंलाई प्रेम गर्छु।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ।” 18साँचो साँचो म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफैँ कपडा लगाउँथ्यौ र जहाँ जान चाहन्थ्यौ त्यतै जान्थ्यौ, तर जब तिमी वृद्ध हुन्छौ, तिमीले आफ्ना हात पसार्नेछौ र कसैले तिमीलाई कपडा लगाइदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमीलाई बोकेर लगिन्छ। 19पत्रुसले कस्तो किसिमको मृत्युले परमेश्‍वरलाई महिमा दिन्छ भनी सङ्केत गर्न येशूले यसो भन्‍नुभयो। उहाँले यो बताउनुभएपछि पत्रुसलाई भन्‍नुभयो, “मलाई पछ्याऊ।” 20पत्रुस फर्केर हेर्दा तिनले येशूले प्रेम गर्नुभएका चेला अर्थात् भोजमा येशूको छातीमा अडेस लगाएर बस्‍ने र उहाँलाई, “प्रभु, तपाईंलाई विश्‍वासघात गर्ने को हो?” भनी सोध्‍ने चेला उहाँहरूको पछिपछि आइरहेको देखे। 21पत्रुसले तिनलाई देखे, र येशूलाई भने, “प्रभु, यी मानिसले चाहिँ के गर्नेछन्?” 22येशूले तिनलाई भन्‍नुभयो, “यदि म नआउञ्‍जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त? मलाई पछ्याऊ।” 23त्यसैले, ती चेला मर्नेछैनन् भन्‍ने यो भनाइ भाइहरूमाझ फैलियो। तरै पनि येशूले पत्रुसलाई अर्का चेला मर्दैनन् भन्‍नुभएन, तर “यदि म नआउञ्‍जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त?” भन्‍नुभएको थियो। 24यी कुराहरूको गवाही दिने, र यी कुराहरू लेख्‍ने यिनै चेला हुन्, र हामी जान्‍दछौँ, कि तिनको गवाही सत्य छ। 25येशूले गर्नुभएका अरू धेरै कुराहरू पनि छन्। यदि ती सबै लेखिएका भए, मलाई लाग्छ, ती लेखिएका पुस्तकहरू संसारमा पनि अटाउने थिएनन्।

पत्र

गलाती 6:11–18

11हेर मैले आफ्नै हातले कति ठुला-ठुला अक्षरहरूमा तिमीहरूलाई लेखिरहेछु। 12शारीरिक रूपमा प्रभाव पार्न चाहनेहरूले तिमीहरूलाई खतना गर्न बाध्य गराउँछन्। ख्रीष्‍टको क्रुसको खातिर सतावट भोग्‍नु नपरोस् भनेर मात्र तिनीहरूले यसो गर्छन्। 13किनकि खतना भएकाहरूले नै व्यवस्थाको पालन गरेका हुँदैनन्। बरु, तिमीहरूका शरीरका विषयमा घमण्ड गर्न सकून् भनेर तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन्। 14हाम्रा प्रभु येशू ख्रीष्‍टको क्रुसबाहेक मैले अरू कुनै कुरामा कहिल्यै गर्व गर्न नपरोस्। उहाँद्वारा नै म संसारको लागि र संसार मेरो लागि क्रुसमा टाँगिएको छ। 15किनकि न त खतना न बेखतना कुनै मूल्यको हो। बरु, नयाँ सृष्‍टि महत्त्‍वपूर्ण छ। 16यही नियमअनुसार जिउने सबैमा अनि परमेश्‍वरको इस्राएलमा शान्ति र कृपा रहोस्। 17अब उप्रान्त मलाई कसैले दु:ख नदेओस्, किनकि म आफ्नो शरीरमा येशूका चिन्हहरू धारण गर्दछु। 18भाइहरू हो, तिमीहरूका आत्मामा हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह रहोस्। आमेन।

पत्र (स्वर्गदूतहरूका निम्ति)

हिब्रू 2:2–10

2यदि स्वर्गदूतहरूद्वारा बोलिएको सन्देशको मान्यता भयो भने, र हरेक आज्ञा उल्लघङ्न गर्ने र अनाज्ञाकारीहरूले ठिक सजाय पाउँछन् भने र 3हामीले यति ठुलो मुक्‍तिको बेवास्‍ता गर्‍यौँ भने, तब हामी कसरी उम्कन सक्छौँ र? यो मुक्‍ति जुन पहिलो पल्ट प्रभुद्वारा नै घोषणा गरिएको थियो र जसले यो सुने हाम्रा निम्ति त्यो पक्‍का गरियो। 4त्यही समयमा परमेश्‍वरले यसलाई चिह्नहरू, अचम्मका काम र विभिन्‍न शक्‍तिशाली कामहरूबाट अनि उहाँको आफ्नै इच्छाअनुसार पवित्र आत्माका वरदानहरूको वितरणद्वारा प्रमाणित गरिदिनुभयो। 5हामीले कुरा गरिराखेको आउँदो संसारलाई परमेश्‍वरले स्वर्गदूतहरूको अधीनमा राख्‍नुभएन। 6त्यसको सट्टामा, कसैले कुनै ठाउँमा यसरी गवाही दिएको छ, “मानिस के हो, तपाईं त्यसको ख्याल गर्नुहुन्छ? वा मानिसको छोरो के हो जसका निम्ति तपाईं वास्ता गर्नुहुन्छ? 7तपाईंले मानिसलाई स्वर्गदूतभन्दा अलि कम बनाउनुभएको छ; तपाईंले उसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ। 8तपाईंले हरेक कुरा उहाँको अधीनमा राख्‍नुभएको छ।” किनभने परमेश्‍वरले सबै कुरा मानव-जातिको अधीनतामा राख्‍नुभएको थियो। उहाँले कुनै पनि थोक मानिसबाट बाहिर रहन दिनुभएन। तर आज हामी कुनै पनि चिज मानिसको अधीनमा रहेको देख्दैनौँ। 9तर, उहाँलाई केही समयको निम्ति स्वर्गदूतभन्दा कम बनाइएको हामीले देखेका छौँ। उहाँ येशू हुनुहुन्छ। किनभने उहाँका दुःख र मृत्युको कारणले येशू ख्रीष्‍टलाई महिमा र आदरको मुकुट पहिराइएको छ। त्यसकारण, अहिले परमेश्‍वरको अनुग्रहबाट येशू ख्रीष्‍टले हरेक मानिसका निम्ति मृत्यु चाख्‍नुभयो। 10यो परमेश्‍वरका निम्ति उपयुक्त थियो, किनभने हरेक थोक उहाँका निम्ति र उहाँद्वारा अस्तित्वमा आएको छ। धेरै छोराहरू महिमामा ल्याइँदा उहाँको दुःखद्वारा तिनीहरूको मुक्‍तिलाई पुरा गर्न उहाँ एक अगुवा बनाइनुभयो।

सुसमाचार

लुका 8:41–56

41हेर, याइरस नाउँ गरेका एक जना मानिस त्यहाँ आए, जो सभाघरका अगुवाहरूमध्ये एक थिए। याइरस प्रभु येशूका पाउमा घोप्‍टो परे र उहाँलाई उनको घरमा आउन बिन्ती गरे। 42किनभने उनको एउटै मात्र बाह्र वर्षकी छोरी मर्नै लागेकी थिइन्। तर उहाँ जाँदै गर्नुहुँदा मानिसहरूको भिडले उहाँलाई घचेटिरहेको थियो। 43त्यहाँ एउटी बाह्र वर्षसम्म रगत बग्‍ने समस्या भएकी स्‍त्री थिइन्। तिनले आफ्नो सम्पूर्ण पैसा डाक्टरहरूकहाँ औषधी उपचारमा खर्चे गरिसकेकी थिइन्, तर तिनीहरूमध्ये कसैले पनि निको पार्न सकेका थिएनन्। 44तिनी येशूको पछिल्तिर आइन् र उहाँको कपडाको छेऊ छोइन् र तुरुन्तै तिनको रक्‍तश्राव रोकियो। 45येशूले भन्‍नुभयो, “मलाई कसले छोयो?” जब सबैले यसलाई इन्कार गरे, पत्रुसले भने, “प्रभु मानिसहरूको भिडले तपाईंलाई घेरेर घचेट्दै छन्।” 46तर येशूले भन्‍नुभयो, “कसैले मलाई छोयो, किनभने शक्‍ति मबाट बाहिर गइरहेको मैले थाहा पाएँ।” 47जब त्यस स्‍त्रीले आफूले गरेको कुरा लुकाउन नसक्‍ने देखिन्, तब काँप्दै येशूको चरणमा घोप्‍टो परिन्, तिनले येशूलाई छुनुको कारण र कसरी तुरुन्तै निको भइन् सबै मानिसहररूका सामु बताइन्। 48त्यसपछि उहाँले तिनलाई भन्‍नुभयो, “छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ। शान्तिसँग जाऊ।” 49जब उहाँ अझै बोल्दै हुनुहुन्थ्यो, सभाघरका अगुवाको घरबाट एक जना आएर भने, “तिम्री छोरी मरिसकिन्। गुरुलाई दुःख नदेऊ।” 50तर जब येशूले त्यो सुन्‍नुभयो, उहाँले उसलाई जवाफ दिनुभयो, “नडराऊ, विश्‍वास मात्र गर र तिनी बचाइनेछिन्।” 51जब उहाँ घरमा आउनुभयो, तब पत्रुस, यूहन्‍ना र याकूब, केटीको बुबा र आमाबाहेक अरू कसैलाई पनि भित्र पस्‍ने अनुमति दिनुभएन। 52अनि त्यहाँ सबै मानिसहरू ती केटीका निम्ति रुँदै र विलाप गर्दै थिए। तर उहाँले भन्‍नुभयो, “नरोऊ, तिनी मरेकी छैनन्, तर निदाएकी मात्र छिन्।” 53तर तिनीहरू केटी मरेको थाहा पाएर, येशूलाई गिल्ला गर्दै हाँसे। 54तर उहाँले केटीलाई हातमा लिएर यसो भनेर बोलाउनुभयो, “नानी उठ।” 55तिनको आत्मा फर्क्यो, र तिनी तुरुन्तै उठिन्। उहाँले तिनलाई केही खान दिनका लागि आज्ञा दिनुभयो। 56तिनका बुबा-आमा अचम्मित भए, तर त्यहाँ जे भएको थियो त्यो कसैलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो।

सुसमाचार (स्वर्गदूतहरूका निम्ति)

लुका 10:16–21

16जसले तिमीहरूले भनेको सुन्छ, त्यसले मैले भनेको सुन्छ, जसले तिमीहरूलाई इन्कार गर्छ, त्यसले मलाई इन्कार गर्छ, र जसले मलाई इन्कार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई इन्कार गर्छ। 17सत्तरी जना आनन्दित हुँदै फर्के र भने, “प्रभु, तपाईंको नाउँमा भूतहरू पनि हाम्रो वशमा आउँछन्।” 18येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुलीजस्तै खसेको देखिरहेको थिएँ। 19हेर, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्‍तिमाथि कुल्चने अधिकार दिएको छु र कुनै कुराले तिमीहरूलाई हानि पुर्‍याउनेछैन। 20तथापि आत्माहरू तिमीहरूको वशमा पर्छन् भनेर मात्र नरमाओ, तर तिमीहरूको नाम स्वर्गमा लेखिएका छन् भनेर अझ बढी आनन्दित होओ।” 21त्यही समय उहाँ पवित्र आत्मामा आनन्दित हुनुभयो, “हे पिता, पृथ्वी र स्वर्गका प्रभु, म तपाईंको प्रशंसा गर्छु, किनभने तपाईंले यी कुराहरू बुद्धिमान् र समझदारहरूबाट लुकाउनुभयो र साना बालकहरूजस्ता अन्जानहरूलाई प्रकट गर्नुभयो। हे पिता, किनभने यो नै तपाईंको दृष्‍टिमा असल थियो।”

मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको नोभेम्बर 8 नागरिक पात्रोमा नोभेम्बर 21 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार