Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 मे › मे 26

अर्थोडक्स पात्रो · मे 13 (पुरानो शैली)

अर्थोडक्स दैनिक पाठहरू — 2027 मे 26

बुधबार · पास्काको चौथो हप्ता · स्वर 3

पर्व र सन्तहरू

पेन्तिकोसको मध्य-पर्व

उपवासको दिन

माछा चल्छ

यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।

दिनका पाठहरू

साँझको प्रार्थना: पाठ

मिका 4:2–3, 5; 6:2–5, 8; 5:4–5

2धेरै जातिहरू गएर भन्‍नेछन्, “आओ, परमप्रभुको पर्वत, अर्थात् याकूबका परमेश्‍वरको वासस्थानसम्म जाऔँ। उहाँले हामीलाई उहाँका मार्ग सिकाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिँड्नेछौँ।” किनभने सियोनबाट व्यवस्था र यरूशलेमबाट परमप्रभुको वचन बाहिर निस्कनेछ। 3उहाँले धेरै जातिहरूको न्याय गर्नुहुनेछ र टाढा-टाढा भएका धेरै जातिहरूका विषयमा निर्णय गर्नुहुनेछ। तिनीहरूले आफ्ना तरवारहरूलाई पिटेर हलोका फाली र आफ्ना भालाहरूलाई छिमल्ने हँसिया बनाउँनेछन्। एउटा जातिले अर्को जातिको विरुद्ध तरवार उठाउने छैन, नत तिनीहरूले अबदेखि युद्धको निम्ति तालिम लिनेछन्। 5किनभने हरेक जातिहरू तिनीहरूका ईश्‍वरहरूका नाममा हिँड्छन्। तर हामी हाम्रा परमेश्‍वर परमप्रभुको नाउँमा सदा सर्वदा हिँड्नेछौँ। 6:2ए पर्वतहरू र पृथ्वीका बलिया जगहरू परमप्रभुको अभियोगलाई सुन। किनभने आफ्ना मानिसहरूको विरुद्ध परमप्रभुको एउटा अभियोग छ, र उहाँ इस्राएलको विरुद्ध न्यायलयमा लड्नुहुनेछ।” 3“मेरा मानिस हो, मैले तिमीहरूलाई के गरेको छु? मैले तिमीहरूलाई कसरी थकित पारेको छु? मेरो विरुद्धमा साक्षी देओ! 4किनभने मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ र दासत्वको घरबाट बचाएँ। मैले मोशा, हारून, र मिरियमलाई तिमीहरूकहाँ पठाएँ। 5मेरा मानिस हो, तिमीहरू शित्तीमदेखि गिलगालसम्म जाँदा, मोआबका राजा बालाकले कल्पना गरेका कुरा, र बओरको छोरो बालामले कसरी जवाफ दिएका थिए त्यो सम्झ, ताकि तिमीहरूले परमप्रभुका धार्मिक कामहरू जान्‍न सक।” 8ए मानिस, उहाँले तँलाई जे असल छ त्यो, र तँबाट परमप्रभुले चाहनुभएको कुरा बताउनुभएको छ। न्यायपूर्ण काम गर, कृपालाई प्रेम गर, र आफ्ना परमेश्‍वरसँग नम्र भएर हिँड। 5:4परमप्रभुको शक्ति, र परमप्रभु उहाँका परमेश्‍वरको नाउँको महिमामा उहाँ खडा भएर आफ्नो बगालको हेरचाह गर्नुहुन्छ। तिनीहरू बाँकी रहनेछन्, किनकि पृथ्वीको कुना-कुनासम्म उहाँको महानता रहिरहनेछ। 5किनभने हाम्रो शान्तिचाहिँ यो हुनेछ - जब अश्शूरीहरू हाम्रो देशभित्र प्रवेश गर्नेछन्, र जब तिनीहरू हाम्रा किल्लाहरूतर्फ अगि बढ्‍छन्, त्यसबेला हामी तिनीहरूका विरुद्ध सात गोठाला र मानिसहरूमाथि आठ अगुवा खडा गर्नेछौँ।

साँझको प्रार्थना: पाठ

यशैया 55:1; 12:3–4; 55:2–13

1“आओ, हरेक व्‍यक्‍ति जो तिर्खाएको छौ आओ, पानीमा आओ, अनि तिमीहरू जोसँग पैसा छैन, आओ, किन र खाओ! आओ, पैसाविना र मूल्यविना दाखमद्य र दूध किन। 12:3आनन्दसाथ तिमीहरूले मुक्‍तिको इनारहरूबाट पानी तान्‍नेछौ। 4त्यस दिन तिमीहरूले भन्‍नेछौ, “परमप्रभुलाई धन्यवाद देऊ र उहाँको नाउँ पुकार। मानिसहरूका माझमा उहाँको कामहरूको घोषणा गर, उहाँको नाउँ उचालिएको छ भनी बताऊ। 55:2जे रोटी होइन त्यसको लागि किन चाँदी तौलन्छौ र जे कुराले सन्तुष्‍टि दिंदैन त्यसको निम्ति तिमिहरू किन परिश्रम गर्छौ? मेरो कुरा ध्यानसित सुन र जे असल छ सो खाओ, अनि मोटोपनमा आफूलाई खुसी पार। 3आफ्‍ना कान थाप र मकहाँ आओ। सुन, ताकि तिमीहरू बाँच्‍न सक्‍छौ। मैले दाऊदलाई प्रतिज्ञा गरेको मेरो भरपर्दो र विश्‍वायोग्य प्रेमले— तिमीहरूसँग म अनन्त करार गर्नेछु। 4हेर, मैले उसलाई जातिहरूका निम्ति गवाहीको रूपमा, मानिसहरूका निम्ति अगुवा र कमाण्‍डरको रूपमा राखेको छु। 5हेर, परमप्रभु तिमीहरूका परमेश्‍वर, इस्राएलको परमपवित्र, जसले तिमीहरूलाई महिमित पार्नुभएको छ, उहाँको कारणले तिमीहरूले नचिनेको जातिलाई बोलाउनेछौ, अनि तिमीहरूलाई नचिन्‍ने एउटा जाति तिमीहरूतिर दौडेर आउनेछ। 6जबसम्‍म परमप्रभुलाई भेट्टाउन सक्‍छौ, तबसम्‍म उहाँलाई खोज। उहाँ नजिक हुनुहुँदा नै उहाँको खोजी गर। 7दुष्‍टले आफ्नो बाटो र पापको मानिसले आफ्ना विचारहरू त्यागोस्। ऊ परमप्रभुमा फर्कोस्, र उहाँले उसलाई दया गर्नुहुनेछ र हाम्रा परमेश्‍वरमा जसले उसलाई प्रशस्‍त गरी क्षमा गर्नुहुनेछ। 8“किनभने मेरा विचारहरू तिमीहरूका विचारहरू होइनन्, न त तिमीहरूका उपायहरू मेरा उपायहरू हुन्— यो पमरप्रभुको घोषणा हो— 9किनकि जसरी पृथ्वीभन्दा आकाश उच्‍च छ, त्यसरी नै तिमीहरूका उपायहरूभन्‍दा मेरा उपायहरू र तिमीहरू विचारहरूभन्‍दा मेरा विचारहरू उच्‍च छन्। 10किनकि जसरी झरी र हिउँ आकाशबाट तल आउँछ, अनि जबसम्‍म तिनले पृथ्वीलाई भिजाउँदैनन्, र त्‍यसलाई उब्‍जाउने तथा उमार्ने बनाउँदैनन्, र छर्ने किसानलाई बीउ र खानेलाई रोटी दिंदैनन्, तबसम्‍म ती त्‍यहाँ फर्कंदैनन्, 11त्‍यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ— त्‍यो मकहाँ रित्तै फर्कनेछैन, तर जुन उद्देश्यको निम्ति मैले त्‍यसलाई पठाएँ, त्‍यसमा त्‍यो सफल हुनेछ। 12किनकि तिमीहरू आनन्दमा जानेछौ र शन्तिसित डोर्‍याइनेछौ। तिमीहरूका सामु पर्वतहरू र पहाडहरू आनन्दको सोरमा गाउनेछन्, अनि मैदानका सबै रूखले आफ्‍ना हातले ताली बजाउनेछन्। 13काँढे झाडीको सट्टामा सल्ला उम्रनेछ। अनि सिउँडीको सट्टामा मेहँदी उम्रनेछ र यो परमप्रभुको निम्‍ति, उहाँको नाउँको निम्ति अनन्त चिन्हको रूपमा हुनेछ, जुन कहिल्यै काटिनेछैन।

साँझको प्रार्थना: पाठ

हितोपदेश 9:1–11

1बुद्धिले आफ्नै घर बनाएको छ। त्यसले चट्टानबाट सातवटा खम्बा गाडेको छ। 2त्यसले आफ्ना पशुहरू मारेको छ। त्यसले आफ्नो दाखमद्य मिसाएको छ, र त्यसले आफ्नो टेबुल तयार पारेको छ। 3त्यसले आफ्ना दासीहरूलाई बाहिर पठाएको छ। त्यो सहरको सबैभन्दा अग्लो टाकुराबाट चिच्‍च्याउँछ। 4“निर्बुद्धि को हो? त्यो यहाँ फर्कोस्।” त्यो समझ नभएको व्यक्तिसित बोल्छ। 5“आएर मेरो खाना खाओ, र मैले मिसाएको दाखमद्य पिओ। 6आफ्ना निर्बुद्धि चालहरू त्यागेर बाँच। समझशक्तिको मार्गमा हिँड। 7गिल्ला गर्नेलाई अनुशासनमा राख्‍नेले दुर्व्यवहार पाउँछ, र दुष्‍ट व्यक्तिलाई हप्काउनेले अपमान पाउँछ। 8गिल्ला गर्नेलाई नहप्का, नत्रता त्यसले तँलाई घृणा गर्ने छ। बुद्धिमान् मानिसलाई हप्का, र त्यसले तँलाई प्रेम गर्ने छ। 9बुद्धिमान् व्यक्तिलाई निर्देशन दे, र त्यो अझै बुद्धिमान् हुने छ। धर्मी व्यक्तिलाई सिका, र त्यो अझै सिपालु हुने छ। 10परमप्रभुको भय नै बुद्धिको सुरु हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो। 11किनकि मद्वारा तेरा दिनहरू धेरै हुने छन्, र तेरो आयु लामो हुने छ।

पत्र

प्रेरित 14:6–18

6यो कुरा थाहापाएपछि तिनीहरू लुकोनिया, लुस्‍त्रा, र डर्बी सहरहरू र वरिपरिका क्षेत्रतिर भागेर गए 7र त्यहाँ तिनीहरूले सुसमाचार प्रचार गरिरहे। 8लुस्‍त्रामा एकजना मानिस बसिरहेको थियो जसको खुट्टा शक्तिहीन् र आमाको गर्भमै लङ्गडो थियो र ऊ कहिलै हिँडेको थिएन। 9पावलले बोलिरहेको त्यो मानिसले सुन्यो। पावलले आफ्ना आँखा उसलाई एकटक लगाएर हेरे र त्यो मानिसमा निको हुनसक्‍ने विश्‍वास भएको देखे। 10यसकारण उनले ठुलो स्वरमा त्यसलाई भने, “आफ्नो खुट्टामा उठ।” अनि त्यो मानिस उफ्रियो र वरिपरि हिँड्न थाल्यो। 11जब भिडले पावलले गरेका काम देखे, तब तिनीहरूले आफ्ना स्वर उच्‍चालेर कराउँदै लुकोनियाको भाषामा भने, “देवहरू मानिसहरूका रूपमा हामीकहाँ तल ओर्ली आएछन्।” 12तिनीहरूले बारनाबासलाई “जिउस,” र पावललाई “हर्मेस” भने किनकि उनी चाहिँ प्रमुख वक्ता थिए। 13जिउसका पूजाहारी, जसको मन्दिर सहरको बाहिरपट्टि थियो, उनले र भिडले ढोकामा गोरुहरू र फूलका मालाहरू ल्याए, किनभने तिनीहरूले बलिदान चढाउन चाहन्थे। 14तर जब प्रेरित पावल र बारनाबासले यो सुने, र तिनीहरूले आफ्ना लुगा च्याते र झट्टै कराउँदै मानिसहरूका भीडतिर गए। 15र भने, “ए मानिसहरू हो, यी कुराहरू तपाईंहरूले किन गरिरहनु भएको छ? हामी पनि तपाईंहरूजस्तै भावना भएका मानव जाति हौँ। हामीले तपाईंहरूलाई अर्थविहीन् कुराहरूबाट ती जीवित परमेश्‍वरतिर फर्कनुपर्छ भनेर सुसमाचार ल्याएका छौँ जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका हरेक थोक बनाउनु भयो। 16विगतका समयहरूमा, उहाँले सबै जातिहरूलाई आ-आफ्ना मार्गमा हिँड्न अनुमति दिनुभयो। 17तथापि उहाँले आफैँलाई गवाहीबिना छोड्नु भएन त्यसका निम्ति उहाँले असल गर्नुभयो र तपाईंहरूलाई स्वर्गबाट वर्षा, र फलदायी ऋतुहरू अनि भोजन र आनन्दले तपाईंहरूका हृदयलाई भर्नुभएको छ।’’ 18यी वचनहरूले पनि पावल र बारनाबासले तिनीहरूले भिडलाई बलिदान गर्नबाट बढो मुस्किलले रोके।

सुसमाचार

यूहन्ना 7:14–30

14जब चाड आधा सिद्धिएको थियो, येशू मन्दिरमा जानुभयो र सिकाउन सुरु गर्नुभयो। 15यहूदीहरू अचम्मित भएर यसो भने, “यो मानिसले कसरी यति धेरै जान्दछ? यसलाई त कहिल्यै पनि शिक्षा दिइएको छैन।” 16येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “मैले दिएको शिक्षा मेरो होइन, तर उहाँको हो जसले मलाई पठाउनुभयो। 17यदि कसैले उहाँको इच्छा पालन गर्ने इच्छा गर्छ भने यो परमेश्‍वरबाट आएको हो वा म मेरो आफ्नै तर्फबाट बोल्छु भनी त्यसले यो शिक्षाबारे जान्‍नेछ। 18आफ्नै तर्फबाट बोल्नेले उसको आफ्नै महिमा खोज्दछ, तर जसले आफूलाई पठाउनुहुनेको महिमा खोज्दछ, त्यो व्‍यक्‍ति सत्य हो र उसमा कुनै अधार्मिकता हुँदैन। 19के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन् र? तैपनि तिमीहरू कसैले व्यवस्था पालन गर्दैनौ। तिमीहरू मलाई किन मार्न चाहन्छौ?” 20भिडले जवाफ दियो, “तिमीलाई भूत लागेको छ। तिमीलाई कसले मार्न खोज्छ?” 21येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “मैले एउटा काम गरेँ, र यसको कारण तिमीहरू सबै चकित हुन्छौ। 22मोशाले तिमीहरूलाई खतनाको रीति दिए (यो मोशाबाट आएको होइन, तर पुर्खाहरूबाट आएको हो) अनि तिमीहरूले मानिसलाई विश्रामको दिनमा खतना गर्दछौ। 23मोशाको व्यवस्था भङ्ग नहोस् भनेर यदि एक जना मानिसले विश्रामको दिनमा खतना गर्न स्‍वीकार गर्छ भने तब मैले विश्रामको दिनमा एक जना मानिसलाई पूर्ण रूपमा स्वस्थ बनाएकोमा तिमीहरू मसँग किन रिसाउँछौ?” 24बाहिरी रूप हेरेर न्याय नगर, तर धार्मिकतापूर्वक न्याय गर। 25यरूशलेमबाट आएका केहीले भने, “के तिनीहरूले मार्न खोजेका यिनी नै होइनन्? 26अनि हेर, यिनी खुलमखुला बोल्छन् र तिनीहरू यिनलाई केही पनि भन्दैनन्। वास्तवमा शासकहरूले यिनी नै ख्रीष्‍ट हुन् भन्‍ने जान्‍न सक्दैनन्, जान्‍न सक्छन् त? 27तापनि यो मानिस कहाँबाट आएको हो हामी जान्दछौँ। तर जब ख्रीष्‍ट आउनुहुन्छ उहाँ कहाँबाट आउनुहुन्छ कसैले पनि जान्‍नेछैन।” 28त्यसपछि येशूले मन्दिरमा सिकाइरहनुहुँदा ठुलो सोरमा यसो भन्‍नुभयो, “तिमीहरूले मलाई र म कहाँबाट आएको भनी दुवै जान्दछौ। म आफ्नै तर्फबाट आएको होइन, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ जसलाई तिमीहरू चिन्दैनौँ। 29म उहाँलाई चिन्दछु, किनभने म उहाँबाट आएको हुँ र उहाँले मलाई पठाउनुभयो।” 30तिनीहरूले उहाँलाई पक्रन कोसिस गरिरहेका थिए, तर उहाँमाथि कसैले पनि हात हालेन, किनभने उहाँको समय अझ पनि आएको थिएन।

पत्र (जलको आशीर्वाद)

हिब्रू 2:11–18

11किनकि समर्पण गर्ने र समर्पण गरिएकाहरू दुवै एउटै स्रोतबाट आउँछन्। त्यसैकारण, उहाँ तिनीहरूलाई भाइहरू भनी बोलाउन शर्माउनुहुन्‍न। 12उहाँ भन्‍नुहुन्छ, “म तपाईंको नाउँ मेरा दाजुभाइहरूलाई घोषणा गर्नेछु; म सभाको बिचबाट तपाईंको गीत गाउनेछु।” 13र फेरि, “म उहाँमा भरोसा गर्नेछु।” र फेरि, “हेर, यहाँ म र मेरा छोराछोरीहरू जसलाई परमेश्‍वरले मलाई दिनुभएको छ।” 14त्यसकारण, पहिले नै परमेश्‍वरका छोराछोरीहरू मासु र रगतको एक भाग भएका हुनाले येशूले पनि त्यही कुराहरू तिनीहरूसँग बाँड्नुभयो। त्यसैले, येशूले मृत्यु सहेर मृत्युको शक्ति भएकोलाई अर्थात् शैतानलाई नष्‍ट पार्नुभयो। 15मृत्युको डरद्वारा र सधैँ शैतानका दास भएर जिएकाहरूको लागि स्वतन्त्रता दिन उहाँले त्यसो गर्नुभयो। 16किनकि वास्तवमा उहाँले स्वर्गदूतहरूको वास्ता गर्नुहुन्‍न; बरु, उहाँले वास्ता गर्ने त अब्राहामका सन्तानको हो। 17त्यसैले, उहाँका भाइहरूजस्तै बन्‍न उहाँका निम्ति सबै क्षेत्रमा आवश्यक थियो। त्यसकारण, उहाँ परमेश्‍वरका कुराहरूसम्बन्धी दयापूर्ण र विश्‍वासयोग्य हुनुभई परमेश्‍वरका महान् पुजारी हुनुभयो। त्यसैले, उहाँले सबै मानिसका पापको क्षमा ल्याउन सक्‍नुभयो। 18किनभने येशू आफैँले दुःख भोग्‍नुभयो, र परीक्षित हुनुभयो; उहाँले परीक्षामा पर्नेहरूलाई सहायता गर्न सक्‍नुहुन्छ।

सुसमाचार (जलको आशीर्वाद)

यूहन्ना 5:1–4

1यसपछि यहूदीहरूको चाड थियो, र येशू यरूशलेम जानुभयो। 2यरूशलेमको भेडा-ढोका नजिकै एउटा तलाउ छ जसलाई हिब्रूमा बेथस्दा भनिन्छ जसको छानासहितका पाँचवटा दलान छन्। 3त्यहाँ ठुलो सङ्ख्यामा बिरामीहरू, अन्धा, लङ्गडा र पक्षाघातीहरू त्यो तलाउको नजिक पडिरहेका थिए। तिनीहरूले पानी छचल्किएको पर्खिरहेका थिए। 4“परमेश्‍वरका स्वर्गदूत तल ओर्लिएर पानीलाई कुनै समयमा हल्लाइदिन्थे र त्यो पानी छचल्किरहँदा जो पहिले पानीमा पस्थ्यो त्यसको जस्तोसुकै रोग भए तापनि निको भइहाल्थ्यो।

मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको मे 13 नागरिक पात्रोमा मे 26 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार