Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 जनवरी › जनवरी 14

अर्थोडक्स पात्रो · जनवरी 1 (पुरानो शैली)

अर्थोडक्स दैनिक पाठहरू — 2027 जनवरी 14

बिहीबार · पेन्तिकोसपछिको 33औँ हप्ता · स्वर 7

पर्व र सन्तहरू

Circumcision of our Lord

ख्रीष्ट-जन्मोत्सवका दिनहरू (स्भ्यात्की)

उपवास छैन

यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।

दिनका पाठहरू

साँझको प्रार्थना: पाठ

उत्पत्ति 17:1–2, 4–12, 14

1अब्राम उनान्सय वर्षको हुँदा परमप्रभु तिनीकहाँ देखा पर्नुभयो र तिनलाई भन्‍नुभयो, “म सर्वशक्‍तिमान् परमेश्‍वर हुँ। मेरो सामु आज्ञाकारी भएर हिँड्, र निर्दोष हो। 2त्यसपछि मेरो र तेरो बिचको आफ्नो करार म पक्‍का गर्नेछु, र तँलाई अत्यन्तै वृद्धि गराउनेछु।” 4“निश्‍चय नै मेरो करार तँसँगै छ। तँ धेरै जातिहरूका पिता बन्‍नेछस्।” 5तेरो नाम अब्राम हुनेछैन, तर अब्राहाम हुनेछ। किनकि म तँलाई धेरै जातिका पिता हुनलाई नियुक्‍त गर्छु। 6म तँलाई अत्यन्तै फल्दो-फुल्दो तुल्याउनेछु, र तँबाट धेरै जातिहरू बनाउनेछु। तँबाट राजाहरू उत्‍पन्‍न हुनेछन्। 7तँ र तँपछिका तेरा सन्तानका परमेश्‍वर हुनलाई तेरो र मेरो र तँपछिका तेरा सन्‍तानको बिचमा नित्य रहिरहने करार म स्थापित गर्नेछु। 8तँ बसेको देश अर्थात् सारा कनान तँ र तँपछि आउने तेरा सन्तानलाई सधैँको निम्ति अधिकारको रूपमा दिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु।” 9त्यसपछि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तैँलेचाहिँ मेरो करार पालन गर्नुपर्छ, तँ र तँपछिका तेरा सन्तानहरूले तिनीहरूका पुस्तौँसम्म। 10यो मेरो र तेरो र तँपछि आउने तेरा सन्‍तानहरूका बिचमा भएको तिमीहरूले पालन गर्नुपर्ने मेरो करार होः तिमीहरूका बिचमा भएका हरेक पुरुषको खतना हुनुपर्छ। 11तिमीहरूको खलडीको खतना हुनुपर्छ। मेरो र तिमीहरूको बिचको करारको चिन्ह यही हुनेछ। 12तिमीहरूका पुस्तौँसम्म तिमीहरूमा आठ दिन पुगेका हरेक पुरुषको खतना गरिनुपर्छ। यसमा तेरो घरमा जन्मेका र तेरो सन्‍तान नभए पनि विदेशीबाट दाम हालेर किनेका व्यक्‍ति पनि पर्दछन्। 14खलडीको खतना नगरिएको पुरुष उसका मानिसहरूबाट बहिष्कार गरिनेछ। त्यसले मेरो करार भङ्‍ग गरेको छ।”

साँझको प्रार्थना: पाठ

हितोपदेश 8:22–30

22परमप्रभुले मलाई सुरुमा अर्थात् उहाँका सुरुका कार्यहरूभन्दा पहिले नै सृष्‍टि गर्नुभयो। 23पृथ्वीको आरम्भदेखि नै युगौँ पहिले मलाई बनाइएको थियो। 24महासागरहरू हुनुभन्दा पहिले नै, पानीले भरिपूर्ण खोला-नालाहरू हुनुभन्दा पहिले नै मलाई जन्म दिइयो। 25पहाडहरू स्थापित गरिनुअगि, डाँडाहरू बनाइनुअगि म जन्मेको थिएँ। 26परमप्रभुले पृथ्वी वा जमिनहरू वा संसारको पहिलो धुलो बनाउनुअगि म जन्मेको थिएँ। 27उहाँले आकाशहरू स्थापित गर्नुहुँदा, महासागरको सतहमा घेरा लगाउनुहुँदा म त्यहाँ थिएँ। 28उहाँले माथि बादलहरू स्थापित गर्नुहुँदा र महासागरका मूलहरूलाई तिनीहरूका स्थानमा बसाल्नुहुँदा म त्यहाँ थिएँ। 29उहाँको आज्ञाविना पानी आफ्नो सिमानाभन्दा बाहिर नजाओस् भन्‍नाका लागि उहाँले समुद्रको सिमा तोकिदिनुहुँदा र सुक्खा भूमिका जगहरू बसाल्नुहुँदा म त्यहाँ थिएँ। 30एउटा सिपालु कारीगरझैँ म उहाँको छेउमा थिएँ। दिनप्रति दिन म उहाँको आनन्द भएँ र सधैँभरि उहाँको सामु आनन्दित हुन्थेँ।

साँझको प्रार्थना: पाठ

हितोपदेश 10:31–11:12

31धर्मात्माको मुखबाट बुद्धिको फल निस्कन्छ, तर भड्काउने जिब्रो काटिने छ। 32धर्मात्माको ओठले स्वीकारयोग्य कुरा जान्दछ, तर दुष्‍टको मुखले बाङ्गोटिङ्गो कुरा मात्र जान्दछ। 11:1बेठिक तराजुलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर ठिक तौलमा उहाँ आनन्द मनाउनुहुन्छ। 2जब घमण्ड आउँछ, तब अपमान आउँछ, तर विनम्रतासित बुद्धि आउँछ। 3सोझाहरूको निष्‍ठाले तिनीहरूलाई अगुवाइ गर्छ, तर विश्‍वासघातीहरूका टेडा मार्गहरूले तिनीहरूलाई नष्‍ट गर्छन्। 4क्रोधको दिनमा धन-सम्पत्ति बेकामको हुन्छ, तर ठिक गर्नाले मृत्युबाट जोगाउँछ। 5खोटरहित व्यक्तिको ठिक आचरणले उसको मार्ग सिधा बनाउँछ, तर दुष्‍टहरूको दुष्‍टताको कारण तिनीहरूको पतन हुने छ। 6परमेश्‍वरलाई खुसी पार्नेहरूको ठिक आचरणले तिनीहरूलाई सुरक्षित राख्छन्, तर विश्‍वासघातीहरू तिनीहरूकै अभिलाषाद्वारा पासोमा पर्छन्। 7दुष्‍ट मानिस मर्दा त्यसको आशा नष्‍ट हुन्छ, र त्यसको शक्तिमा भएको आशा निरर्थक हुन्छ। 8धर्मात्मा सङ्कष्‍टबाट बचाइन्छ, र त्यसको साटो यो दुष्‍टमाथि आइपर्छ। 9ईश्‍वरहीन व्यक्तिले आफ्नो मुखले त्यसको छिमेकीलाई नष्‍ट गर्छ, तर धर्मी मानिसहरू ज्ञानद्वारा सुरक्षित हुन्छन्। 10धर्मी मानिसहरूले उन्‍नति गर्दा सहर नै रमाउँछ, तर दुष्‍टहरू नष्‍ट हुँदा रमाहट हुन्छ। 11परमेश्‍वरलाई खुसी पार्नेहरूका असल उपहारहरूद्वारा सहर महान् हुन्छ, तर दुष्‍टहरूको मुखद्वारा सहर भताभुङ्ग हुन्छ। 12आफ्नो साथीलाई तिरस्कार गर्ने मानिस बेसमझको हुन्छ, तर समझशक्ति भएको मानिस चुप लागेर बस्छ।

बिहानको प्रार्थना: सुसमाचार

यूहन्ना 10:9–16

9म ढोका हुँ। यदि कोही मद्वारा भएर भित्र पस्छ भने, त्यो बचाइनेछ; त्यो भित्र र बाहिर जानेछ र त्यसले चर्ने मैदान भेट्टाउनेछ। 10यदि चोरले नचोर्ने, नमार्ने र नष्‍ट नगर्ने भए, त्यो आउँदैन नै। म आएको छु, ताकि तिनीहरूले जीवन पाऊन् र यो प्रशस्त मात्रामा पाऊन्। 11म असल गोठालो हुँ। असल गोठालोले आफ्ना भेडाहरूका लागि आफ्नो ज्यान पनि दिन्छ। 12भाडामा लिएको नोकर गोठालो हुँदैन, र त्यसका भेडाहरू हुँदैनन्। त्यसले ब्वाँसाहरू आउँदै गरेको देख्छ, अनि भेडाहरूलाई छोड्छ, र भाग्छ। अनि ब्‍वाँसाहरूले तिनीहरूलाई पक्रन्छन् र तिनीलाई तितर बितर पार्छन्। 13त्यो भाडामा लिएको हुनाले भाग्छ र त्यसले भेडाहरूको हेरचाह गर्दैन। 14म असल गोठालो हुँ र मैले मेरा आफ्नालाई चिन्छु र मेरा आफ्नाले मलाई चिन्छ्न्। 15पिताले मलाई चिन्‍नुहुन्छ र म पितालाई चिन्छु र मेरा भेडाहरूका लागि म मेरो ज्यान पनि दिन्छु। 16मेरा अरू भेडाहरू छन् जो यो भेडाको खोरका होइनन्। मैले तिनीहरूलाई पनि ल्याउनुपर्छ र तिनीहरूले मेरो सोर सुन्‍नेछन्, ताकि त्यहाँ एउटै बगाल र एउटै गोठालो हुन सकोस्।

पत्र (प्रभुको खतनाको निम्ति)

कलस्सी 2:8–12

8तिमीहरूलाई कसैले पनि दर्शनद्वारा र ख्रीष्‍टअनुसार नभई यस संसारका तत्त्वहरूअनुसार मानिसहरूका परम्पराको रित्तोपनको धोकाबाट वशमा पार्न नदेओ। 9किनकि उहाँमा परमेश्‍वरको पूर्णता शरीरमा बास गर्दछ। 10र तिमीहरू उहाँमा पूर्ण रूपमा भरिएका छौ। उहाँ नै सबै शक्‍ति र अधिकारको शिर हुनुहुन्छ। 11उहाँमा नै तिमीहरूको खतना भएको थियो, जुन खतना मानिसहरूद्वारा मासुको शरीरमा गरिएको थिएन, तर यो ख्रीष्‍टमा गरिएको थियो। 12तिमीहरू उहाँसँगै बप्‍तिस्मामा गाडिएका थियौ। र उहाँलाई मृतकहरूबाट ब्युँताउनुहुने परमेश्‍वरको शक्‍तिमाथि विश्‍वासद्वारा तिमीहरू उहाँसँगै ब्युँताइएका थियौ।

पत्र (सन्त बासिलका निम्ति)

हिब्रू 7:26–8:2

26किनकि यस्तै प्रकारको प्रधान पुजारी हाम्रा निम्ति सुहाउँदो छ। उहाँ पापरहित हुनुहुन्छ; उहाँ दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिनुभएका र आकाशभन्दा उच्‍च हुनुभएको छ। 27प्रधान पुजारीले जस्तै पहिले आफ्नै पापका निम्ति र त्यसपछि मानिसहरूका पापका निम्ति उहाँले दिनहुँ बलिदान चढाई रहनुपर्दैन। जब उहाँले आफैँलाई अर्पण गर्नुभयो, तब उहाँले यो एकै पटक सधैँका निम्ति गर्नुभयो। 28किनकि व्यवस्थाले मानिसहरूलाई प्रधान पुजारीको रूपमा नियुक्त गर्‍यो, जससँग कमजोरी हुन्थे। तर उहाँ व्यवस्थापछि आएको शपथको वचनले नियुक्त हुनुभएका पुत्र हुनुहुन्छ जो सदाकालका निम्ति सिद्ध बनाइनुभएको छ। 8:1अब हामीले भनिरहेको कुरा यही होः हामीसँग एक जना प्रधान पुजारी हुनुहुन्छ जो स्‍वर्गको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। 2मानिसले बनाएको होइन, तर परमेश्‍वरले बनाउनुभएको साँचो पवित्र बासस्थानमा उहाँ एक सेवक हुनुहुन्छ।

सुसमाचार (प्रभुको खतनाको निम्ति)

लुका 2:20–21, 40–52

20तिनीहरूलाई भनेअनुसार सुनेका र देखेका हरेक कुराका निम्ति परमेश्‍वरलाई महिमा दिँदै र प्रशंसा गर्दै फर्के। 21जब आठौँ दिन भयो, तब बालकको खतना गर्ने समय भयो। तिनीहरूले उहाँको नाउँ येशू राखे, जुन नाउँ स्वर्गदूतद्वारा उहाँ गर्भधारण हुनुभन्दा अगि दिइएको थियो। 40बालक बुद्धिमा र कदमा बढ्दै जानुभयो, र परमप्रभुको अनुग्रह उहाँमाथि थियो। 41उहाँका आमाबुबा निस्तार-चाड मनाउनका निम्ति हरेक वर्ष यरूशलेममा जान्थे। 42जब उहाँ बाह्र वर्षको हुनुहुन्‍थ्‍यो, तिनीहरू सधैँझैँ चाड मनाउनका निम्ति फेरि गए। 43चाडका पुरा दिनहरू त्यहाँ बिताएपछि तिनीहरू आफ्ना घर फर्किन थाले, तर बालक येशू यरूशलेममा नै रहनुभयो जुन कुरा उहाँका बुबाआमालाई थाहा थिएन। 44तर तिनीहरूले बालक येशू यात्रीहरूकै दलमा हुनुहुन्छ भनी विचार गरे र एक दिनको यात्रा गरी सिद्धायाए। त्यसपछि उनीहरूले उहाँलाई नातेदार र साथीहरूको बिचमा खोज्‍न थाले। 45जब उनीहरूले उहाँलाई भेट्टाएनन्, यरूशलेममा फर्केर उहाँलाई खोज्‍न थाले। 46तिन दिनपछि, उनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बिचमा सुन्दै र तिनीहरूलाई प्रश्‍न गर्दै गरेको भेट्टाए। 47जतिले उहाँका कुरा सुन्थे, उहाँको समझशक्‍ति र जवाफमा आश्‍चर्य चकित हुन्थे। 48जब उनीहरूले उहाँलाई देखे, तब अचम्मित भए। उहाँकी आमा मरियमले उहाँलाई भनिन् “छोरा, किन तिमीले हामीसँग यस्तो व्यवहार गर्‍यौ? सुन! तिम्रा बुबा र मैले कति चिन्तित हुँदै तिमीलाई खोजिरहेका थियौँ।” 49उहाँले उनीहरूलाई भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनुभएको? म मेरा पिताको घरमा हुनुपर्छ भनेर के तपाईंहरूलाई थाहा छैन?” 50तर उहाँले उनीहरूलाई के भन्‍नुभएको थियो भनी उनीहरूले बुझ्‍न सकेनन्। 51त्यसपछि उहाँ तिनीहरूसँग आफ्नो घर नासरत फर्कनुभयो र आज्ञाकारी भई रहनुभयो। उहाँकी आमाले यी सबै कुरा मनमै राखिन्। 52तर येशू बुद्धिमा, कदमा र परमेश्‍वर अनि मानिसको निगाहमा निरन्तर बढ्दै जानुभयो।

सुसमाचार (सन्त बासिलका निम्ति)

लुका 6:17–23

17त्यसपछि येशू तिनीहरूसँगै डाँडाबाट तल ओर्लनुभयो र समथर ठाउँमा उभिनुभयो। त्यहाँ उहाँका चेलाहरूको ठुलो भिड थियो र त्यसै गरी ठुलो सङ्ख्यामा यहूदिया, र यरूशलेम, र सिदोन, टुरोसको समुद्री तटका बासिन्दाहरू पनि थिए। 18तिनीहरू उहाँका वचन सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुनलाई आएका थिए। अशुद्ध आत्माले सताइएका मानिसहरू पनि निको भए। 19भभिडमा भएका सबैले उहाँलाई छुन खोजे, किनभने निको पार्ने शक्‍ति उहाँबाट गइहेको थियो र उहाँले सबैलाई निको पार्नुभयो। 20उहाँले चेलाहरूतर्फ हेर्नुभयो र भन्‍नुभयो, “धन्य तिमीहरू जो दीन छौ, परमेश्‍वरको राज्य तिमीहरूकै हो। 21धन्य तिमीहरू जो अहिले भोकाउँदछौ, तिमीहरू तृप्‍त हुनेछौ। धन्य तिमीहरू जो अहिले रुन्छौ, तिमीहरू हाँस्‍नेछौ। 22जब मानिसका पुत्रका खातिर बहिष्कार गरी साथीहरूबाट अलग गरेर तिमीहरूलाई निकाल्दछन् र दुष्‍ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्दछन्। धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई घृणा गर्दछन्। 23त्यसदिन तिमीहरू रमाओ र आनन्दले उफ्र, किनकि निश्‍चय नै स्वर्गमा तिमीहरूका लागि ठुलो इनाम हुनेछ। किनकि तिनीहरूका पुर्खाहरूले पनि अगमवक्‍ताहरूलाई त्यसै गरेका थिए।

मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको जनवरी 1 नागरिक पात्रोमा जनवरी 14 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार