गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 जनवरी › जनवरी 3
अर्थोडक्स पात्रो · डिसेम्बर 21 (पुरानो शैली)
अर्थोडक्स दैनिक पाठहरू — 2027 जनवरी 3
आइतबार · स्वर 6
पर्व र सन्तहरू
पेन्तिकोसपछिको 31औँ आइतबार
ख्रीष्ट-जन्मोत्सवअघिको आइतबार
जन्मोत्सवको उपवास
उपवास: तेलसहित
यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।
दिनका पाठहरू
साँझको प्रार्थना: पाठ
14जब अब्रामले तिनका नातेदारलाई शत्रुहरूले कब्जा गरेको कुरा सुने, तिनले आफ्ना घरमा नै जन्मेका तालिम प्राप्त ३१८ जना मानिसहरू लिएर तिनले तिनीहरूलाई दानसम्म नै खेदे। 15तिनले आफ्ना मानिसहरूलाई राती तिनीहरू विरुद्ध समूह-समूहमा विभाजन गरे र तिनीहरूलाई आक्रमण गरे अनि तिनीहरूलाई होबासम्म खेदे, जुन दमस्कसको उत्तर पर्छ। 16तिनले आफ्ना सबै सम्पत्तिहरू पनि फिर्ता ल्याए र तिनका नातेदार र तिनका मालसामानहरू साथै महिलाहरू र अन्य मानिसहरू पनि ल्याए। 17अब्रामले कदोर्लाओमेर र तिनीसँग भएका राजाहरूलाई पराजित गरेर फर्केपछि, सदोमका राजा तिनलाई भेट्न शावेको (अर्थात् राजाको उपत्यका) उपत्यकामा गए। 18शालेमका राजा मल्कीसेदेकले रोटी र दाखमद्य लिएर आए। तिनी सर्वोच्चका पूजाहारी थिए। 19तिनले उनलाई यसो भन्दै आशोष् दिए, “स्वर्ग र पृथ्वी सृष्टि गर्नु हुने परमेश्वरले अब्रामलाई आशिष् दिनुभएको होस्। 20सर्वोच्च परमेश्वर धन्यको हौऊन्, जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्पनुभएको छ।” तब अब्रामले तिनका सबै थोकको दशांश उनलाई दिए।
साँझको प्रार्थना: पाठ
8हेर, मैले यो देश तिमीहरूको सामु राखिदिएको छु। परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरू अर्थात् अब्राहाम, इसहाक र याकूबसित तिनीहरू र तिनीहरूका सन्तानहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा गएर यसलाई कब्जा गर।' 9त्यस बेला मैले तिमीहरूलाई यसो भनेँ, 'म एक्लै तिमीहरूलाई अगुवाइ गर्न सक्दिनँ। 10परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको वृद्धि गराउनुभएको छ, अब हेर आज तिमीहरू आकाशका तारापुञ्जजस्तै धेरै भएका छौ। 11परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले आफूले प्रतिज्ञा गरेअनुसार तिमीहरूलाई हजारौँ गुणा वृद्धि गरी तिमीहरूलाई आशिष् दिनुभएको होस्। 15त्यसैले मैले तिमीहरूका कुलहरूबाट मुख्य मानिसहरू, बुद्धिमान् मानिसहरू, असल नाउँ चलेकाहरूलाई छानी तिनीहरूलाई तिमीहरूका नायक बनाएँ ताकि तिनीहरूले कुल-कुलअनुसार हजार, सय, पचास र दसको रेखदेख गरून्। 16त्यस बेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यसो भनी आज्ञा दिएँ, 'तिमीहरूका दाजुभाइहरूका बिचमा भएको झगडालाई सुनी कुनै मानिस, भाइ र तिमीहरूका परदेशीको बिचमा धार्मिकतापूर्वक न्याय गर। 17झगदा हुँदा कसैको पक्षपात नगर। साना-ठुला दुवैको कुरामा समान रूपमा ध्यान देओ। मानिसको अनुहारदेखि नडराओ किनकि न्याय परमेश्वरको हो। तिमीहरूले मिलाउन नसक्ने झगडा मकहाँ ल्याओ र म त्यो सुन्ने छु।'
साँझको प्रार्थना: पाठ
14हेर, आकाश, आकाशमण्डलहरू, पृथ्वी र तिनमा भएका सबै परमप्रभु तिमीहरूका परमेश्वरकै हुन्। 15परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नमा उहाँ खुसी हुनुभयो र उहाँले तिमीहरू, तिमीहरूका सन्तानहरू र त्यसपछि आउनेहरूलाई चुन्नुभयो जस्तो तिमीहरू देख्छौ। 16त्यसकारण, तिमीहरूका ह्रदयको खतना गर, र अबदेखि उसो हठी नहोओ। 17किनकि परमप्रभु तिमीहरूका परमेश्वर नै देवहरूका परमेश्वर र प्रभुहरूका प्रभु, महान् परमेश्वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ जसले कसैको पक्षपात गर्नुहुन्न र घुस लिनुहुन्न। 18उहाँले अनाथ र विधवाहरूको पक्षमा न्याय गर्नुहुन्छ, र परदेशीलाई भोजन र वस्त्र दिएर प्रेम देखाउनुहुन्छ। 19त्यसकारण परदेशीलाई प्रेम गर। किनकि तिमीहरू पनि मिश्र देशमा परदेशी नै थियौ। 20परमप्रभु तिमीहरूका परमेश्वरको भय मान। उहाँको आराधना गर। उहाँमै टाँसिरहो, र उहाँको नाउँमा मात्र शपथ खाओ। 21उहाँ तिमीहरूको प्रशंसा हुनुहुन्छ, उहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ जसले तिमीहरूका आँखाले देख्ने गरी यी महान् र भययोग्य कुराहरू गर्नुभएको छ।
बिहानको प्रार्थनाको 9औँ सुसमाचार
19हप्ताको पहिलो दिनको साँझपख यहूदीहरूको डरले चेलाहरू जहाँ बसेका थिए, त्यसका ढोकाहरू बन्द गरिएको हुँदा, येशू आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति!” 20जब उहाँले तिनीहरूलाई यो भन्नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनुभयो। चेलाहरूले प्रभुलाई देखेपछि तिनीहरू खुसी भए। 21तब येशूले तिनीहरूलाई फेरि भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्। जसरी पिताले मलाई पठाउनुभएको छ त्यसरी नै म तिमीहरूलाई पनि पठाउँदै छु।” 22जब येशूले यसो भन्नुभयो उहाँले तिनीहरूमाथि सास फुक्नुभयो, र तिनीहरूलाई भन्नुभयो, “पवित्र आत्मा लेओ। 23तिमीहरूले जसका पापहरू क्षमा गर्छौ ती तिनीहरूका निम्ति क्षमा गरिन्छन्; जसका पापहरू तिमीहरू कायम राख्छौ, ती कायम राखिन्छन्।” 24येशू आउनुहुँदा बाह्र जना चेलामध्ये दिदुमस भनिने थोमाचाहिँ तिनीहरूसँग थिएनन्। 25पछि अरू चेलाहरूले “हामीले प्रभुलाई देख्यौँ” भनी तिनलाई बताए। तिनले तिनीहरूलाई भने, “मैले उहाँका हातका काँटीहरूका डोबहरू नदेखेसम्म र मेरो औँला त्यहाँ नहालेसम्म, र उहाँको कोखमा मेरो हात नहालेसम्म म विश्वास गर्नेछैनँ।” 26आठ दिनपछि उहाँका चेलाहरू फेरि कोठाभित्र थिए, र थोमा पनि तिनीहरूसँगै थिए। ढोकाहरू बन्द गरिएको अवस्थामा नै येशू तिनीहरूकहाँ आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र भन्नुभयो, “तिमीहरूलाई शान्ति!” 27त्यसपछि उहाँले थोमालाई भन्नुभयो, “तिम्रा औला यहाँ हाल, र मेरा हातहरू हेर अनि मेरो कोखामा तिम्रो हात हाल, अविश्वासी नहोऊ, तर विश्वास गर।” 28थोमाले जवाफ दिए, र उहाँलाई भने, “मेरा प्रभु, मेरा परमेश्वर!” 29येशूले तिनलाई भन्नुभयो, “तिमीले मलाई देखेको कारणले विश्वास गरेका छौ। धन्य हुन् तिनीहरू जसले देखेका छैनन् र पनि विश्वास गरेका छन्।” 30यस पुस्तकमा नलेखिएका अरू धेरै चिन्हहरू येशूले चेलाहरूको उपस्थितिमा गर्नुभयो, 31तर यीचाहिँ लेखिएका छन्, ताकि येशू नै ख्रीष्ट अर्थात् परमेश्वरका पुत्र हुनुहुन्छ भनी तिमीहरूले विश्वास गर्न सक र विश्वास गरेर उहाँको नाउँमा तिमीहरूले जीवन पाउन सक।
पत्र (ख्रीष्ट-जन्मोत्सवअघिको आइतबारको निम्ति)
9तिनी विश्वासद्वारा नै प्रतिज्ञाको देशमा एक परदेशीको रूपमा बसे। तिनी पालहरूमा इसहाक र याकूबसँगै उही प्रतिज्ञाको सङ्गी उत्तराधिकारीको रूपमा बसे। 10किनकि तिनले जगहरू भएको सहरलाई हेरिरहेका थिए, जुन सहरको रचनाकार र निर्माणकर्ता परमेश्वर स्वयम् हुनुहुन्छ। 17आफ्नो जाँच हुँदा विश्वासद्वारा नै अब्राहामले इसहाकलाई बलि चढाए, जो उनको एक मात्र छोरा थिए जसलाई उनले बलिदान चढाए। उनले नै प्रतिज्ञाहरू प्राप्त गरेका थिए। 18यिनी तिनै अब्राहाम थिए जसलाई यसो भनिएको थियो, “इसहाकद्वारा नै तेरो सन्तानको नाउँ रहनेछ।” 19परमेश्वरले इसहाकलाई मृत्युबाट जीवित पार्न सक्नुहुने थियो भन्ने कुरा अब्राहामलाई थाहा थियो, र साङ्केतिक अर्थमा भन्नुपर्दा उनले तिनिहरूबाट आफ्ना छोरालाई फिर्ता पाएका थिए। 20आउन लागेका थोकहरूको बारेमा इसहाकले विश्वासद्वारा नै याकूब र एसावलाई आशिष् दिए। 21याकूब मर्नै लागेका बेलामा विश्वासद्वारा नै उनले योसेफका हरेक छोरालाई आशिष् दिए। लौरोको टुप्पोमा अडेस लागेर याकूबले आराधना गरे। 22योसेफको अन्त्य नजिकिँदा विश्वासद्वारा नै तिनले मिश्रबाट इस्राएलीहरू प्रस्थान हुने विषयमा बोलेका थिए र तिनका अस्थिहरूको बारेमा तिनीहरूलाई आदेश दिएका थिए। 23मोशा जन्मँदा तिनी सुन्दर भएको कारणले गर्दा उनका आमाबुबाले विश्वासद्वारा नै तिनलाई तिन महिनासम्म लुकाएर राखे र तिनीहरू राजाको आदेशसित डराएनन्। 32अनि योभन्दा बढी म के भनौँ? यदि मैले गिदोन, बाराक, शिमशोन, यिप्ता, दाऊद, शमूएल र अगमवक्ताहरूको बारेमा भनेँ भने, मलाई समय नै पुग्दैन। 33विश्वासद्वारा नै तिनीहरूले राज्यहरूलाई जिते; न्यायपूर्ण काम गरे; र प्रतिज्ञाहरू प्राप्त गरे। तिनीहरूले सिंहहरूको मुखलाई बन्द गरिदिए। 34तिनीहरूले आगोको ज्वालालाई निभाए; तरवारको धारबाट भागे; रोगहरूबाट निको पारिए; युद्धमा शक्तिशाली भए; र विदेशी सेनाहरूलाई भगाए। 35स्त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा प्राप्त गरे। अरूले अझ उत्तम पुनरुत्थान प्राप्त गर्नलाई तिनीहरूले छुटकारालाई स्वीकार गरेनन्। त्यसैले, तिनीहरूले दण्ड भोगे। 36अरूहरूले निन्दा, कोर्रा, साङ्ला र कैदजस्ता आदि कुराहरू सहे। 37तिनीहरूलाई ढुङ्गाले हानियो। तिनीहरूलाई दुई भाग हुने गरी चिरियो। तिनीहरूलाई तरवारले मारियो। तिनीहरूले भेडा र बाख्राको छाला लगाएर हिँड्डुल गर्नुपर्यो र विभिन्न किसिमका दुःख, निर्दयता र अमानवीय कुराहरू सहनुपर्यो। 38यो संसार तिनीहरूका लागि योग्य थिएन। तिनीहरू मरुभूमि, पहाड, गुफा र जमिनका ओडारहरूतिर तितर-बितर हुनुपर्यो। 39यहाँसम्म यी सबै मानिसहरू तिनीहरूका विश्वासको कारण परमेश्वरद्वारा प्रमाणित भए, तापनि तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू प्राप्त गर्न सकेनन्। 40हामीविना तिनीहरू सिद्ध नहोऊन् भनी परमेश्वरले हाम्रा लागि अझ उत्तम कुरा अघिबाटै योजना गरिदिनुभएको थियो।
सुसमाचार (ख्रीष्ट-जन्मोत्सवअघिको आइतबारको निम्ति)
1दाऊदका पुत्र अब्राहामका पुत्र येशू ख्रीष्टको वंशावलीको पुस्तक। 2अब्राहाम इसहाकका पिता थिए, र इसहाक याकूबका पिता थिए, र याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता थिए। 3यहूदा तामारद्वारा फारेस र जाहेरका पिता थिए, फारेस हेस्रोनका पिता, र हेस्रोन आरामका पिता थिए। 4आराम अम्मीनादाबका पिता, अम्मीनादाब नहशोनका पिता, र नहशोन सल्मोनका पिता थिए। 5सल्मोन राहाबद्वारा बोअजका पिता, बोअज रूथद्वारा ओबेदका पिता, ओबेद यिशैका पिता थिए, 6यिशै दाऊद राजाका पिता थिए। दाऊद उरियाहकी पत्नीद्वारा सोलोमनका पिता थिए। 7सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आसाका पिता थिए। 8आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, र यहोराम उज्जियाहका पिता थिए। 9उज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता थिए। 10हिजकिया मनश्शेका पिता, मनश्शे अमोनका पिता, अमोन योशियाहका पिता थिए। 11बेबिलोनमा निर्वासनको समयमा योशियाह यकोनियास र तिनका दाजुभाइहरूका पिता भए। 12र बेबिलोनमा निर्वासनपछि यकोनियास शालतिएलका पिता भए, शालतिएल यरुबाबेलका पूर्वज थिए। 13यरुबाबेल अबिउदका पिता, अबिउद एल्याकीमका पिता, र एल्याकीम आजोरका पिता थिए। 14आजोर सादोकका पिता, सादोक आखिमका पिता, र आखिम एलिउदका पिता थिए। 15एलिउद एलाजारका पिता, एलाजार मत्तानका पिता, र मत्तान याकूबका पिता थिए। 16याकूब तिनै मरियमका पति योसेफका पिता थिए, जसबाट येशू जन्मनुभयो, जसलाई ख्रीष्ट भनिन्छ। 17अब्राहामदेखि दाऊदसम्म जम्मा पुस्ता चौध पुस्ता, दाऊददेखि बेबिलोनको निर्वासनसम्म चौध पुस्ता र बेबिलोनको निर्वासनदेखि येशू ख्रीष्टसम्म चौध पुस्ता थिए। 18येशू ख्रीष्टको जन्म यस प्रकारले भयो। उहाँकी आमा मरियमको योसेफसँग विवाहको निम्ति मगनी भएको थियो, तर उनीहरूको सहवास हुनुभन्दा अगाडि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा हुन आयो। 19तिनका पति योसेफ धर्मी मानिस थिए र उनले तिनलाई सबैका सामु शर्ममा पार्न चाहेनन्। यसैले, उनले गोप्य प्रकारले तिनीसँगको मगनीलाई रद्द गर्ने निर्णय गरे। 20जसै उनले यी कुराहरूको बारेमा विचार गरे, सपनामा परमप्रभुका एक जना स्वर्गदूत उनको सामु देखा परे र यसो भने, “हे दाऊदका पुत्र योसेफ, मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार्न नडराऊ, किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माद्वारा गर्भधारण हुनुभएको हो। 21तिनले एक जना पुत्र जन्माउनेछिन् र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।” 22अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको यस्तो भनाइ पुरा हुनलाई यी सबै भए, 23“हेर, कन्या गर्भवती हुनेछिन् र एक जना पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्नेछन्”, जसको अर्थ हुन्छ, “परमेश्वर हामीसँग।” 24योसेफ निद्राबाट ब्युँझे र उनले परमप्रभुका दूतले आज्ञा गरेअनुसार गरे र उनले तिनलाई उनकी पत्नीको रूपमा स्वीकारे। 25तर, तिनले पुत्रलाई जन्म नदिएसम्म उनले तिनीसँग शारीरिक सम्बन्ध राखेनन्। र उनले उहाँको नाउँ येशू राखे।
मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको डिसेम्बर 21 नागरिक पात्रोमा जनवरी 3 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार