Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2026 नोभेम्बर › नोभेम्बर 29

अर्थोडक्स पात्रो · नोभेम्बर 16 (पुरानो शैली)

अर्थोडक्स दैनिक पाठहरू — 2026 नोभेम्बर 29

आइतबार · स्वर 1

पर्व र सन्तहरू

पेन्तिकोसपछिको 26औँ आइतबार

जन्मोत्सवको उपवास

माछा चल्छ

यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।

दिनका पाठहरू

साँझको प्रार्थना: पाठ

१ पत्रुस 1:1–2:6

1पोन्टस, गलातिया, कापाडोकिया, एसिया र बिथिनियाभरि छरिएर रहेका परदेशीहरूलाई येशू ख्रीष्‍टका प्रेरित पत्रुसबाट। 2येशू ख्रीष्‍टप्रतिको आज्ञाकारिता र उहाँको रगतको छिट्काइको निम्ति परमेश्‍वर पिताको पूर्वज्ञानअनुसार पवित्र आत्माको शुद्धिकरणद्वारा चुनिएकाहरू। तिमीहरूमा अनुग्रह होस् र तिमीहरूको शान्तिको वृद्धि होस्। 3परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता धन्यको हुनुभएको होस्। उहाँको महान् दयामा मृतकहरूबाट येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा ईश्‍वरीय उत्तराधिकारको निश्‍चयतको लागि हामीलाई नयाँ जन्म दिनुभयो। 4किनकि कहिल्यै नष्‍ट नहुने ईश्‍वरीय उत्तराधिकारमा कहिल्यै दाग लाग्दैन र यो कहिल्यै बिलाएर पनि जाँदैन। यो तिमीहरूका निम्ति स्वर्गमा संरक्षित छ। 5अन्तिम समयमा प्रकट हुने उद्धारको निम्ति तिमीहरू विश्‍वासद्वारा परमेश्‍वरको शक्‍तिले सुरक्षित राखिएका छौ। 6अहिले तिमीहरूले विभिन्‍न किसिमका धेरै कष्‍टको अनुभव गर्न जरुरी भए तापनि तिमीहरू यसमा रमाउँछौ। 7तिमीहरूको विश्‍वास जाँचियोस् भनेर यो भएको हो, जुन विश्‍वास आगोमा नष्‍ट भएर जाने सुनभन्दा धेरै बहुमूल्य छ। येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूको विश्‍वास स्थापित भएर यसले प्रशंसा, महिमा र आदर उत्पन्‍न गरोस् भनेर यसो भएको हो। 8तिमीहरूले उहाँलाई देखेका छैनौ, तर तिमीहरू उहाँलाई प्रेम गर्छौ। तिमीहरू अहिले उहाँलाई देख्‍दैनौ, तर तिमीहरू उहाँमा विश्‍वास गर्छौ र व्यक्त गर्न नसकिने महिमाले भरिपूर्ण आनन्दमा तिमीहरू धेरै खुसी छौ। 9अहिले तिमीहरूले आफ्नै निम्ति तिमीहरूको विश्‍वासको प्रतिफल पाइरहेका छौ, जुनचाहिँ तिमीहरूका प्राणको मुक्ति हो। 10अगमवक्ताहरूले तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा यही मुक्तिको विषयमा ध्यानसित खोजतलास गरेका थिए। 11तिनीहरूले कस्तो प्रकारको मुक्ति आउँदै छ भनी खोजी गरे। तिनीहरूमा हुनुभएका ख्रीष्‍टका आत्माले कुन समयको विषयमा बोलिरहनुभएको छ भन्‍ने कुराको पनि तिनीहरूले खोजी गरे। यो कार्य त्यति बेला भइरहेको थियो जति बेला उहाँले अगाडिबाट नै तिनीहरूलाई येशू ख्रीष्‍टका कष्‍टहरू र त्यसपछि आउने महिमाको बारेमा बताउँदै हुनुहुन्थ्यो। 12यो अगमवक्तालाई प्रकट गरिएको थियो जुन तिनीहरूले यी कुराहरूको सेवा गरिरहेका थिए, तिनीहरू आफ्नै लागि होइन तर तिमीहरूका लागि। यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार ल्याउनेहरूद्वारा तिमीहरूलाई सुनाइएको छ। यी कुराहरू प्रकट होऊन् भनेर स्वर्गदूतहरू पनि इच्छा गर्छन्। 13त्यसकारण, तिमीहरूका मनलाई बाँध। आफ्नो सोचाइमा संयमी होओ। येशू ख्रीष्‍ट तिमीहरूकहाँ प्रकट हुनुहुँदा तिमीहरूकहाँ ल्याइने अनुग्रहमा पूर्ण आशा राख। 14आज्ञाकारी छोराछोरीहरू भएकाले तिमीहरूसँग अन्जान हुँदा तिमीहरूले पछ्याएका इच्छाहरूमा नचल। 15तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू पनि आ-आफ्ना जीवनका सबै व्यवहारमा पवित्र होओ। 16किनकि यस्तो लेखिएको छ, “तिमीहरू पवित्र होओ किनकि म पवित्र छु।” 17जसले प्रत्येक व्‍यक्तिलाई उसको कामअनुसार भेदभाव नगरी न्याय गर्नुहुनेलाई तिमीहरू “पिता” भन्छौ भने, आफ्नो यात्राको समय आदरमा बिताओ। 18तिमीहरूलाई थाहा छ, कि तिमीहरूले तिमीहरूका सांसारिक पिताहरूबाट सिकेका मूर्ख बानीहरूबाट नष्‍ट भएर जाने चाँदी वा सुनबाट छुटकारा पाएका होइनौ। 19तर तिमीहरूले येशू ख्रीष्‍टको आदरयोग्य रगतद्वारा छुटकारा पाएका छौ, जो दोषरहित र दागरहित थुमा हुनुहुन्छ। 20येशू संसारको जग बसालिनुभन्दा पहिले नै छानिनुभएको थियो, तर यी अन्तिम समयहरूमा उहाँ तिमीहरूका निम्ति प्रकट हुनुभएको छ। 21तिमीहरू उहाँद्वारा परमेश्‍वरमा विश्‍वास गर्छौ, जसलाई तिमीहरूका विश्‍वास र आशा परमेश्‍वरमा रहून् भनेर परमेश्‍वरले मृतकहरूबाट पुनर्जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो। 22सत्यताको आज्ञाकारिताद्वारा निष्कपट भातृ-प्रेमको निम्ति तिमीहरूले आफ्नो प्राण शुद्ध बनायौ। त्यसैले, आफ्नो हृदयबाट एक-अर्कालाई प्रेम गर। 23तिमीहरू नयाँ गरी जन्मेका छौ, त्यो नाशवान् वीर्यबाट होइन, तर जीवित र रहिरहने परमेश्‍वरको वचनको अविनाशी वीर्यबाट। 24किनकि “सबै देह घाँसजस्तै हुन् र तिनका सबै महिमा घाँसका फुलजस्तै हुन्। घाँस सुक्छ र फुल ओइलाउँछ।” 25तर परमेश्‍वरको वचन सदासर्वदा रहिरहन्छ। सुसमाचारको रूपमा यही सन्देशलाई तिमीहरूकहाँ घोषणा गरिएको थियो। 2:1त्यसकारण सबै दुष्‍ट्याइँ, छल, पाखण्डीपन, डाहा र बदख्वाइँलाई टाढै राख। 2नवजात शिशुहरूले जस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर ताकि तिमीहरू त्यसबाट मुक्तिमा बढ्न सक, 3यदि प्रभु भला हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ भने, 4उहाँमा आओ, जो मानिसहरूद्वारा इन्कार गरिनुभएका जीवित पत्थर हुनुहुन्छ, तर त्यही पत्थर नै परमेश्‍वरबाट चुनिएको छ र उहाँका निम्ति बहुमूल्य पत्थर हुनुभएको छ। 5तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको निम्ति ग्रहणयोग्य आत्मिक बलिदानहरू चढाउने पवित्र पुजारीहरू हुनको निम्ति आत्मिक भवन निर्माण गर्ने जीवित पत्थरहरूजस्तै हौ। 6धर्मशास्‍त्रले भन्दछ, “हेर म सियोनमा एउटा कुने-ढुङ्गो बसाल्नेछु, जुन मुख्य, चुनिएको र बहुमूल्य हुनेछ। जसले उहाँमाथि विश्‍वास गर्छ, त्यो शर्ममा पर्नेछैन।”

साँझको प्रार्थना: पाठ

१ पत्रुस 2:21–3:9

21यसैको निम्ति तिमीहरू बोलाइएका थियौ, किनकि तिमीहरूले उहाँका पाइला पछ्याओ भनेर ख्रीष्‍टले पनि दुःख भोग्‍नुभयो र तिमीहरूका निम्ति उदाहरण छोड्नुभयो। 22उहाँले कुनै पाप गर्नुभएन, न उहाँका मुखमा कुनै छलको कुरो पाइयो। 23उहाँको अपमान हुँदा उहाँले त्यसको बदला लिनुभएन। उहाँले दुःख भोग्‍नुहुँदा पनि आफैँलाई उचित न्याय गर्नुहुनेकहाँ सुम्पिनुभयो। 24हामी पापको भागीदार नबनौँ र धार्मिकताको खातिर जिऔँ भनेर उहाँले हाम्रा सबै पाप आफ्नो शरीरमा बोकी क्रुसमा चढ्नुभयो। उहाँका चोटले तिमीहरू निको भएका छौ। 25तिमीहरू सबै हराएका भेडाझैँ भौतारिँदै थियौ, तर अब तिमीहरू आत्माका गोठालो र संरक्षककहाँ फर्किएका छौ। 3:1यसरी नै पत्‍नीहरू हो, तिमीहरूका आ-आफ्ना पतिको अधीनमा रहो, ताकि यदि कोही वचनमा आज्ञाकारी छैन भने तापनि तिनीहरूका पत्‍नीहरूको आचरणको कारण तिनीहरूलाई वचनैविना जित्‍न सकिन्छ। 2किनकि तिनीहरूले तिमीहरूका शुद्ध आचरणलाई आफ्नो सम्मानको रूपमा देख्‍नेछन्। 3यसको लागि केशको शृङ्गार, सुनका गरगहनाहरू, शृङ्गारका वस्‍त्रहरूजस्ता बाहिरी सजावट नगर। 4तर तिमीहरूका भित्री हृदयबाट र सदैव रहने भलो र शान्त आत्माद्वारा परमेश्‍वरको दृष्‍टिमा अनमोल हुने किसिमले यसो गर। 5किनकि पहिलेका पवित्र स्‍त्रीहरूले यसरी नै आफ्नो शृङ्गार गर्थे। तिनीहरूले परमेश्‍वरमा आशा राख्थे र आफ्ना पतिहरूका अधीनमा बस्दथे। 6यसरी नै सारा अब्राहामप्रति आज्ञाकारी हुन्थिन् र तिनलाई “स्वामी” भनेर बोलाउँथिन्। अब यदि तिमीहरूले जे असल छ त्यही गर्‍यौ र समस्याहरूसँग डराएनौ भने तिमीहरू तिनकै छोरीहरू ठहरिन्छौ। 7त्यसरी नै पतिहरू हो, आफ्ना पत्‍नीहरूलाई अबला र जीवनका वरदानहरू प्राप्‍त गर्ने साझेदार सम्झी तिनीहरूसँग बस। तिमीहरूका प्रार्थनामा अवरोध नहोस् भनेर यसो गर। 8अन्त्यमा तिमीहरू सबै एकै मनका, दयावान्, भातृत्वलाई प्रेम गर्ने, कोमल हृदयका र नम्र होओ। 9खराबीको बदला खराबी र अपमानको बदला अपमान नगर। तर त्यसको विपरीत निरन्तर आशीर्वाद देओ किनकि आशिष्‌मा सहभागी हुन सक भनेर तिमीहरू यसैको निम्ति बोलाइएका हौ।

साँझको प्रार्थना: पाठ

१ पत्रुस 4:1–11

1यसैकारण, जसरी ख्रीष्‍टले शरीरमा कष्‍ट भोग्‍नुभयो, तिमीहरूले पनि त्यस्तै उद्देश्य धारण गर। जसले शरीरमा कष्‍ट भोगेको छ उसले पाप गर्न छोडेको हुन्छ। 2यो व्यक्‍तिले अब उसो मानवीय अभिलाषामा होइन, तर आफ्नो बाँकी जीवन परमेश्‍वरको इच्छाको निम्ति जिउँछ। 3किनकि अन्यजातिले इच्छा गरेजस्तो कामुकता, कुवासना, मद्यपान, मोजमज्‍जा, पियक्‍कडपन, असभ्य भोजहरू अनि घृणित मूर्तिपूजाहरूमा धेरै समय खर्च भइसकेको छ। 4तिमीहरू यी कुरामा तिनीहरूसँग सहमत नभएको कारण तिनीहरू अचम्म मान्छन्। त्यसैले, तिनीहरूले तिमीहरूको बारेमा खराब कुरा गर्छन्। 5तिनीहरूले जीवित र मरेकाहरूको न्याय गर्न तयार हुनुहुनेलाई लेखा दिनेछन्। 6त्यसैले, मरिसकेकाहरूलाई यो वचन प्रचारिएको थियो। शरीरमा मानिसको रूपमा तिनीहरूको न्याय गरिएको भए तापनि आत्मामा तिनीहरू परमेश्‍वरअनुसार जिऊन्। 7सबै कुराको अन्त्य आउँदै छ। त्यसैले, आफ्नो मन ठिक ठाउँमा लगाओ र तिमीहरूका प्रार्थनाको खातिर आफ्नो विचारमा सचेत रहो। 8सबै कुराभन्दा बढी एक-अर्कालाई उत्कट प्रेम गर, किनकि प्रेमले एक-अर्काको दोष पत्ता लगाउँदैन। 9गनगन नगरी एक-अर्काको अतिथि सत्कार गर, 10जसरी तिमीहरू हरेकले वरदान पाएका छौ। परमेश्‍वरले दिनुभएका सित्तैँका वरदानहरू उहाँको असल भण्डारेजस्तै एक-अर्काको सेवाको लागि प्रयोग गर। 11यदि कोही बोल्‍छ भने उसले परमेश्‍वरको मुखबाट निस्केको कुरा बोलोस्; यदि कसैले सेवा गर्छ भने उसले परमेश्‍वरले दिनुहुने शक्‍तिमा गरोस्, ताकि सबै कुरामा ख्रीष्‍टद्वारा परमेश्‍वर महिमित हुनुभएको होस्। महिमा र शक्‍ति सदासर्वदा उहाँकै हुन्। आमेन।

बिहानको प्रार्थनाको चौथो सुसमाचार

लुका 24:1–12

1हप्‍ताको पहिलो दिन सबेरै आफूले तयार गरेको सुगन्धित मसला लिएर उनीहरू चिहानमा आए। 2तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए। 3तिनीहरू भित्र पसे, तर प्रभु येशूको शरीरलाई भेट्टाएनन्। 4जब तिनीहरू यस विषयमा अन्योलमा परिरहेका थिए, तुरुन्तै चम्किलोवस्‍त्र लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए। 5ती स्‍त्रीहरू डरले भरिएर आफ्नो अनुहार भुइँतिर निहुराइरहेका थिए, तिनीहरूले स्‍त्रीहरूलाई भने, “किन तिमीहरूले जीवितलाई मृतकहरूका बिचमा खोज्छौ?” 6उहाँ यहाँ हुनुहुन्‍न, तर जीवित हुनुभएको छ! उहाँ गालीलमा हुनुहुँदा तिमीहरूलाई के भन्‍नुभएको थियो, सो सम्झ। 7मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु र क्रुसमा टाँगिनु, र तेस्रो दिनमा फेरि जीवित हुन आवश्यक छ।” 8तब ती स्‍त्रीहरूले उहाँका वचनलाई सम्झे। 9र चिहानबाट फर्के, र ती सबै कुराहरू एघार जना र अरू सबैलाई बताइदिए। 10अब मरियम मग्दलिनी, योअन्‍ना, याकूबकी आमा मरियम र उनीहरूसँग अरू स्‍त्रीहरू पनि थिए र प्रेरितहरूलाई ती सबै कुराहरूको जानकारी गराए। 11तर यो सन्‍देश प्रेरितहरूलाई बेकारको कुराजस्तो लग्यो, र तिनीहरूले स्‍त्रीहरूको कुरामा विश्‍वास गरेनन्। 12यथापि पत्रुस उठे, र चिहानतिर दौडेर गए र निहुरेर भित्र हेर्दा सूती कपडाको पट्टीलाई देखे। तब पत्रुस आश्‍चर्य चकित हुँदै के भएको होला भन्दै आफ्नो घर तर्फलागे।

पत्र (सन्त मत्तीका निम्ति)

१ कोरिन्थी 4:9–16

9किनकि मलाई यस्तो लाग्छ कि परमेश्‍वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै मारिनेको भिडको पछिल्लो लहरमा प्रदर्शनमा राख्‍नुभएको छ। हामी संसार, स्वर्गदूतहरू र मानिसहरूका बिचमा तमाशा भएका छौँ। 10हामी ख्रीष्‍टको निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्‍टमा बुद्धिमानी छौ। हामी दुर्बल छौँ, तर तिमीहरू बलिया छौ। तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौँ। 11यो वर्तमान घडीमा हामी भोकाएका र तिर्खाएका छौँ; हाम्रा कपडाहरू फाटिएका छन्; हामी नराम्ररी कुटिएका छौँ; हामी घरवारविहीन भएका छौँ। 12हामी आफ्नै हातले कडा परिश्रम गर्दछौँ। मानिसहरूले गिल्ला गर्दा हामी तिनीहरूलाई आशिष्‌ दिन्छौँ। सतावटमा पर्दा हामी सहन्छौँ। 13मानिसले हामीलाई निन्‍दा गर्दा हामी दयापूर्वक बोल्‍छौँ। हामी संसारले इन्‍कार गरेको फोहोर कुराहरू र सबैभन्दा घिनलाग्दा कुराहरूजस्‍ता भएका छौँ र अझ पनि हामीलाई यस्तै ठानिन्छ। 14तिमीहरूलाई शर्ममा पार्न मैले यो कुरा लेखेको होइनँ, तर मेरा प्रिय बालकहरूको रूपमा तिमीहरूलाई सुधार गर्नको निम्ति लेख्छु। 15किनकि ख्रीष्‍टमा तिमीहरूका दस हजार अभिभावक भए तापनि तिमीहरूका धेरै जना पिता छैनन्। किनकि सुसमाचारद्वारा म ख्रीष्‍टमा तिमीहरूका पिता बनेँ। 16त्यसैले, मेरो अनुकरण गर्ने होओ भनी म तिमीहरूलाई आग्रह गर्छु।

पत्र

एफिसि 5:8–19

8किनकि तिमीहरू एकचोटी अन्धकार थियौ, तर अब तिमीहरू परमप्रभुमा ज्योति भएका छौ। यसैले ज्योतिका सन्तान जस्तै गरी हिँड। 9किनकि ज्योतिको फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ। 10परमप्रभुलाई खुशी तुल्याउने कुराहरू पत्ता लगाऊ। 11अन्धकारका फलहिन कार्यहरूमा सहभागी नहोओ। बरु, तिनीहरूलाई प्रकट गर। 12किनकि तिनीहरूद्वारा गोप्यमा गरिएका कार्यहरू वर्णन गर्न पनि लाजमर्दो छ। 13सबै थोक जब ज्योतिमा आउँछन्, तब ती प्रकट हुन्छन्, 14किनकि प्रकट भएका सबै कुरा ज्योतिमा प्रकाशमान हुन्छन्। त्यसकारण यस्तो भनिएको छ कि, “सुताहा हो जाग, र मरेकाहरूबाट उठ, र ख्रीष्‍ट तिमीमा चम्कनुहुनेछ।” 15त्यसकारण तिमी कसरी हिँड्छौ भन्‍ने कुरामा होसियार होओ, मूर्ख जस्तो होइन तर बुद्धिमानजस्तो। 16समयलाई बचाओ, किनकि दिनहरू खराब छन्। 17मूर्ख नबन। बरु, प्रभुको इच्छा के हो, सो बुझ। 18र दाखमद्यले नमात्तीओ, किनकि त्यसले विनाशतर्फ डोर्‍याउँछ। तर त्यसको सट्टामा, पवित्र आत्माले भरिओ। 19एक-अर्कामा भजनहरूमा र आत्मिक गीतहरूमा बोल। परमप्रभुको निम्ति तिमीहरूका हृदयमा गीतहरू गाउँदै प्रशंसा गर।

सुसमाचार (सन्त मत्तीका निम्ति)

मत्ती 9:9–13

9येशू त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले मत्ती नाउँ गरेको व्यक्‍तिलाई देख्‍नुभयो, जो कर उठाउने ठाउँमा बसिरहेका थिए। उहाँले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ।” तिनी उठे र उहाँको पछि लागे। 10जब येशू खाना खान घरमा बस्‍नुभयो, हेर, धेरै कर उठाउने र पापी मानिसहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाए। 11जब फरिसीहरूले यो देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्छन्?” 12जब येशूले यो सुन्‍नुभयो, उहाँले भन्‍नुभयो, “शरीरमा बलियो भएकाहरूलाई वैद्यको खाँचो पर्दैन, केवल तिनीहरूलाई मात्र खाँचो हुन्छ जो बिरामी छन्।” 13जाओ र यसको अर्थ के हो सिक, ‘म दया चाहन्छु, तर बलिदान होइन।’ किनकि म, धर्मीहरूलाई पश्‍चात्ताप गर्नलाई बोलाउन आएको होइनँ, तर पापीहरूका लागि आएको हुँ।

सुसमाचार

लुका 10:25–37

25हेर, एउटा यहूदी व्यवस्थाका शिक्षक खडा भएर यसो भन्दै उहाँलाई जाँचे “गुरु, मैले अनन्त जीवन पाउन के गर्नुपर्छ?” 26येशूले तिनलाई भन्‍नुभयो, “व्यवस्थामा के लेखिएको छ? तिमीहरू यसलाई कसरी पढ्छौ?” 27तिनले जवाफ दिँदै भने, “तिमीले आफ्ना सारा हृदयले, आफ्ना सारा प्राणले, आफ्ना सारा सामर्थ्यले र आफ्ना सारा मनले परमेश्‍वरलाई प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर्नू।” 28येशूले तिनलाई भन्‍नुभयो, “तिमीले ठिकसँग जवाफ दियौ। यसै गर, र तिमी बाँच्‍नेछौ।” 29तर ती व्यवस्थाको शिक्षकले आफैँलाई धर्मी ठहराउने विचारले येशूलाई यसो भने, “मेरो छिमेकी को हो?” 30येशूले जवाफ दिँदै भन्‍नुभयो, एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदै थियो। ऊ लुटेराहरूको हातमा पर्‍यो, जसले उसका सम्पत्तिहरू लुटे र उसलाई पिटे, अनि उसलाई अर्ध-मृत अवस्थामा छोडे। 31त्यसै बेला एक जना पुजारी त्यही बाटो भएर झरे र जब उनले त्यसलाई देखे, तिनी अर्को छेउबाट भएर गए। 32यसै गरी, एक जना लेवी पनि त्यस ठाउँमा आइपुगे र त्यसलाई देखे र अर्को छेउबाट भएर गए। 33तर एक जना सामरी पनि यात्रा गर्दा त्यो भएको ठाउँमा आइपुगे। जब उनले त्यसलाई देखे, उनी दयाले भरिए। 34उनी त्यसको नजिक गए र उसको घाउमा पट्टी बाँधिदिए अनि तेल र दाखमद्य लगाइदिए। उनले आफ्नो जनावरमाथि राखेर त्यसलाई धर्मशालामा ल्याए र उसको हेरचाह गरे। 35अर्को दिन उनले दुई दिनार झिकेर धर्मशालाका चौकीदारलाई दिएर भने, “यसको हेरचाह गर, तिमीले गरेको अन्य खर्च पछि म फर्कंदा तिमीलाई तिर्नेछु।” 36यी लुटेराहरूको हातमा पर्नेको छिमेकी यी तिनजनामध्ये कुनचाहिँ हो जस्तो तिमीलाई लाग्छ?” 37ती शिक्षकले भने, “जसले त्यसलाई दया देखायो।” येशूले तिनलाई भन्‍नुभयो, “जाऊ र तिमीले पनि त्यसै गर।”

मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको नोभेम्बर 16 नागरिक पात्रोमा नोभेम्बर 29 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार