Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › राजाहरू र इतिहास सँगसँगै › यहूदाका राजाहरू

राजाहरू र इतिहास सँगसँगै · यहूदाका राजाहरू

इस्राएलले रहबामविरुद्ध विद्रोह गर्छ

१ राजाहरू 12:1–19 · २ इतिहास 10:1–19

१ राजाहरू

१ राजाहरू 12:1–19

1रहबाम शकेममा गए किनकि सारा इस्राएल तिनलाई राजा बनाउन शकेममा आउँदै थिए।

2नबातका छोरा यारोबामले यो कुरा सुन्दा (तिनी अझैसम्म मिश्रमा नै थिए जहाँ तिनी सोलोमन राजाको उपस्थितिबाट भागेर गएका थिए) तिनी मिश्रमा नै बसेका थिए।

3त्यसैले, तिनीहरूले यारोबामलाई बोलाइपठाए, अनि यारोबाम र इस्राएलका सारा समुदाय रहबामकहाँ आएर भने,

4“तपाईंका पिताले हाम्रो जुवा गरुङ्गो बनाइदिनुभयो। अब तपाईंका पिताले हामीमाथि राखिदिनुभएको भारी र जुवा हलुङ्गो बनाइदिनुहोस्, अनि हामी तपाईंको सेवा गर्ने छौँ।

5रहबामले तिनीहरूलाई भने, “तपाईंहरू जानुहोस् र तिनदिनपछि फर्केर आउनुहोस्।” त्यसैले मानिसहरू प्रस्थान गरे।

6रहबाम राजाले आफ्ना पिता सोलोमन जीवित छँदा तिनको सामु खडा हुने पाका मानिसहरूसित सरसल्लाह लिए र भने, “यी मानिसहरूलाई जवाफ दिन तपाईंहरू मलाई के सल्लाह दिनुहुन्छ?”

7तिनीहरूले तिनलाई जवाफ दिए, “आज तपाईं तिनीहरूका सेवक बनी तिनीहरूको सेवा गर्नुभयो र तिनीहरूलाई असल जवाफ दिनुभयो भने तिनीहरू सधैँ तपाईंका सेवकहरू हुने छन्।”

8तर रहबामले यी पाका मानिसहरूले दिएको सल्लाहलाई बेवास्ता गरे, र आफूसँगै हुर्केर आफ्नो सामु खडा हुने युवाहरूसित सल्लाह लिए।

9तिनले तिनीहरूलाई भने, “'तपाईंका पिताले हामीमाथि राखिदिनुभएको जुवा हलुको पारिदिनुहोस्' भनी बताउने मानिसहरूलाई मैले कस्तो जवाफ दिनुपर्छ भनी तिमीहरू मलाई के सल्लाह दिन्छौ?”

10आफूसँगै हुर्केका युवाहरूले रहबामलाई यसो भने, “तपाईंका पिता सोलोमनले तिनीहरूको जुवा गरुङ्गो बनाइदिनुभयो र अब तपाईंले यसलाई हलुको बनाइदिनुपर्छ भनी बताउने मानिसहरूलाई गएर यसो भन्नुहोस्, ‘मेरो कान्छी औँला मेरा पिताको कम्मरभन्दा मोटो छ।

11त्यसैले अब मेरा पिताले तिमीहरूमाथि गरुङ्गो जुवा बोकाउनुभएको थियो। म त्यो अझै गरुङ्गो पारिदिने छु। मेरा पिताले तिमीहरूलाई कोर्रा लगाउनुभएको थियो, तर म तिमीहरूलाई बिच्छीहरूले डस्न लगाउने छु'।”

12त्यसैले तेस्रो दिनमा यारोबाम र सारा मानिस रहबामकहाँ आए। किनकि राजाले यसो भनी निर्देशन दिएका थिए, “तेस्रो दिनमा मकहाँ फर्केर आओ।”

13राजाले मानिसहरूलाई कडा तवरले जवाफ दिए, र तिनले पाका मानिसहरूले तिनलाई दिएको सल्लाहको बेवास्ता गरे।

14तिनले युवाहरूको सल्लाह मानी तिनीहरूलाई भने, “मेरा पिताले तिमीहरूमाथि गरुङ्गो जुवा बोकाउनुभएको थियो। म त्यो अझै गरुङ्गो पारिदिने छु। मेरा पिताले तिमीहरूलाई कोर्रा लगाउनुभएको थियो, तर म तिमीहरूलाई बिच्छीहरूले डस्न लगाउने छु।”

15यसरी राजाले मानिसहरूको कुरा सुनेनन् किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई उहाँले भन्नुभएको वचन पुरा होस् भनेर परमप्रभुले यस्तो परिस्थिति ल्याउनुभएको थियो।

16जब सारा इस्राएलको कुरा राजाले नसुनेको तिनीहरूले देखे तब मानिसहरूले तिनलाई जवाफ दिए, “दाऊदमा हाम्रो के हिस्सा छ र? यिशैका छोरामा हाम्रो कुनै उत्तराधिकार छैन! हे इस्राएली हो, आ-आफ्ना पालमा जाओ। हे दाऊद, तिमी आफ्नै घर सम्हाल।” यसरी इस्राएलीहरू आ-आफ्ना पालमा फर्केर गए।

17तर रहबाम यहूदाका सहरहरूमा बस्ने इस्राएलीहरूका राजा बने।

18तब रहबाम राजाले बेगार काममा लगाउने मानिसहरूका जिम्मावाल अदोनीरामलाई पठाए, तर सारा इस्राएलले तिनलाई ढुङ्गाले हानेर मारे। रहबाम राजा आफ्नो रथमा चढेर झट्टै यरूशलेममा भागे।

19त्यसैले आजको दिनसम्म इस्राएल दाऊदको घरानाको विरुद्धमा बागी बनेको छ।

२ इतिहास

२ इतिहास 10:1–19

1रहबाम शकेममा गए, किनकि सारा इस्राएल तिनलाई राजा तुल्‍याउन शकेममा आइरहेका थिए।

2जब नबातका छोरा यारोबामले यो कुरा सुने (किनकि तिनी मिश्रदेशमा थिए, जहाँ तिनी सोलोमन राजादेखि भागेर गएका थिए), तब तिनी मिश्रदेशबाट फर्के।

3यसैले तिनीहरूले मानिस पठाए र तिनलाई बोलाए, र रहबाम र सबै इस्राएल आए। तिनीहरूले रहबामसित कुरा गरे र भने,

4“तपाईंका बुबाले हाम्रो जुवा गाह्रो बनाउनुभयो। यसकारण, अब तपाईंका बुबाको कठोर कामलाई सजिलो बनाउनुहोस्, र उहाँले हामीमाथि लाद्‍नुभएको गह्रौं जुवा हलुङ्गो गरिदिनुहोस्, र हामी तपाईंको सेवा गर्नेछौं।”

5रहबामले तिनीहरूलाई भने, “तिन दिनपछि फेरि मकहाँ आओ।” यसैले मानिसहरू गए।

6राजा रहबामले आफ्‍नो बुबा सोलोमन जीवित छँदा तिनका सेवा गर्ने पाका मानिसहरूसँग सल्‍लाह मागे। तिनले भने, “यी मानिसलाई जवाफ दिन तपाईंहरू कस्‍तो सल्‍लाह दिनुहुन्‍छ?”

7उनीहरूले तिनलाई यसो भने, “यी मानिसप्रति तपाईं असल हुनुभयो र तिनीहरूलाई खुसी पार्नुभयो, र तिनीहरूलाई असल वचन दिनुभयो भने, तिनीहरूले सधैं तपाईंका सेवकहरू हुनेछन्‌।”

8तर ती पाका मानिसले आफूलाई दिएको सल्‍लाहलाई रहबामले बेवास्‍ता गरे, र आफूसित हुर्केका र आफ्‍नो सामु खडा भएका जवान मानिसहरूका सल्‍लाह तिनले मागे।

9तिनले उनीहरूलाई भने, “तिमीहरू मलाई कस्‍तो सल्लाह दिन्छौ, ताकि मसित यसो भनेर कुरा गर्ने मानिसहरूलाई हामीले जवाफ दिन सकौं, ‘तपाईंका बुबाले हामीमाथि लाद्‍नुभएको गह्रौं जुवा हलुङ्गो गरिदिनुहोस्’?”

10रहबामसित हुर्केका ती जवान मानिसहरूले यसो भनेर तिनीसित कुरा गरे, “तपाईंको बुबा सोलोमोनले तिनीहरूका जुवा गह्रौं बनाउनुभयो, तर तपाईंले त्‍यो हलुङ्गो बनाउनुपर्छ भन्‍ने यी मानिसलाई तपाईंले यसो भन्‍नुपर्छ। तिनीहरूलाई तपाईंले यसो भन्‍नुपर्छ, ‘मेरो कान्‍छी औंला मेरा बुबाको कम्‍मरभन्‍दा मोटो छ।

11यसैले अब, मेरा बुबाले तिमीहरूमाथि गह्रौं जुवा बोकाउनुभए तापनि, तिमीहरूका जुवामाथि म थप्‍नेछु। मेरा बुबाले तिमीहरूलाई कोर्राले दण्‍ड दिनुहुन्‍थ्‍यो, तर म तिमीहरूलाई बिच्‍छीहरूले दण्‍ड दिनेछु’।”

12यसैले, “तिन दिनपछि फेरि मकहाँ आओ,” भन्‍ने राजाको हुकुमबमोजिम यारोबाम र ती सबै मानिस तेस्रो दिन रहबामकहाँ आए।

13अनि ती पाका मानिसका सल्लाहलाई बेवास्‍ता गरेर रहबामले तिनीहरूसँग कठोर किसिमले बोले।

14ती जवान मानिसका सल्‍लाहको अनुसरण गरेर उनीहरूसँग तिनले यसो भनेर, “मेरा बुबाले तिमीहरूको जुवा गह्रौं बनाउनुभयो, तर म त्‍यसमा थप्‍नेछु। मेरा बुबाले तिमीहरूलाई कोर्राले दण्‍ड दिनुहुन्‍थ्‍यो, तर म तिमीहरूलाई बिच्‍छीहरूले दण्‍ड दिनेछु।”

15यसरी राजाले ती मानिसका कुरा सुनेनन्, किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई परमप्रभुले भन्‍नुभएको वचन पूरा हुनलाई परमेश्‍वरले नै यस्‍ता घटनाहरू हुन दिनुभयो।

16जब राजाले आफ्‍ना कुरा नसुनेका सारा इस्राएलले देखे, तब तिनीहरूले जवाफ दिए र भने, “दाऊदमा हाम्रो के हिस्‍सा छ र? यिशैका छोरामा हाम्रो केही उत्तराधिकार छैन! ए इस्राएल, तिमीहरू हरेका आआफ्‍नै पालमा जानुपर्छ। अब ए दाऊद, तिम्रो आफ्‍नै घरको रेखदेख गर।” यसैले सबै इस्राएल आआफ्‍ना पालहरूमा फर्के।

17तर यहूदाका सहरहरूमा बस्‍ने इस्राएलका मानिसहरूका सम्‍बन्‍धमा तिनीहरूमाथि रहबामले राज्‍य गरे।

18तब राजा रहबामले ज्‍यालाबिना काममा लगाइएका मानिसहरूका निरीक्षक अदोनीरामलाई पठाए, तर इस्राएलका मानिसहरूले तिनलाई ढुङ्गाले हानेर मारे। राजा रहबामचाहिं आफ्‍नो रथमा चढेर तुरुन्‍तै यरूशलेमतर्फ भागे।

19अनि आजको दिनसम्‍म पनि दाऊदका घरानाप्रति इस्राएलचाहिं विद्रोही भएको छ।

चिनो लगाइएका: तपाईंले पढ्ने अनुवादमा हरेक विवरणमा भएका शब्दहरू। सबैभन्दा धेरै आउने शब्दहरू (“र”, “उनी”) मा चिनो लगाइँदैन; अर्को रूपमा भएको शब्दमा नलाग्न सक्छ।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार