Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › राजाहरू र इतिहास सँगसँगै › सोलोमन

राजाहरू र इतिहास सँगसँगै · सोलोमन

सोलोमन र हीराम निर्माणको तयारी गर्छन्

१ राजाहरू 5:1–12 · २ इतिहास 2:1–16

१ राजाहरू

१ राजाहरू 5:1–12

1टुरोसका राजा हीरामले सोलोमनकहाँ आफ्ना सेवकहरू पठाए किनकि आफ्नो पिताको सट्टामा सोलोमन राजा अभिषेक गरिएका थिए भनी तिनले सुनेका थिए। हीरामले दाऊदलाई सधैँ माया गर्थे।

2सोलोमनले यसो भन्दै हीरामलाई वचन पठाए,

3“मेरा पिता दाऊद युद्धले घेरिएकाले परमप्रभु उहाँका परमेश्वरको नाउँमा उहाँले मन्दिर बनाउन सक्नुभएन भनी तपाईंलाई थाहै छ। उहाँको जीवनभर परमप्रभुले उहाँका शत्रुहरूलाई उहाँको खुट्टाको पैतालामुनि ल्याउनुभयो।

4तर अहिले परमप्रभु मेरा परमेश्वरले मलाई हरेक क्षेत्रमा विश्राम दिनुभएको छ।

5त्यसैले परमप्रभु मेरा परमेश्वरको नाउँमा एउटा मन्दिर बनाउने मेरो इच्छा छ जस्तो परमप्रभुले मेरा पिता दाऊदलाई यसो भन्नुभएको थियो, 'म तेरो छोरोलाई तेरो सिंहासनमा बसाउने छु, र त्यसले नै मेरो नाउँमा मन्दिर बनाउने छ।'

6त्यसकारण, अब तिनीहरूलाई मेरो निम्ति देवदारुका रुखहरू काट्न आज्ञा दिनुहोस्। मेरा दासहरू तपाईंका दासहरूसित मिल्ने छन्, र तपाईंले तोक्नुभएको ज्याला म तिनीहरूलाई दिने छु। किनकि तपाईंलाई थाहा छ, कि सीदोनीहरूजस्तै रुख ढाल्ने सिपालु मानिसहरू हाम्रा बिचमा कोही छैन।”

7हीरामले सोलोमनको कुरा सुनेपछि तिनी अत्यन्तै खुसी भए र भने, “आज परमप्रभु धन्यका होऊन् जसले दाऊदलाई आफ्ना जातिको रेखदेख गर्न एउटा बुद्धिमान् छोरा दिनुभएको छ।

8हीरामले सोलोमनलाई यस्तो वचन पठाए, “तपाईंले मलाई पठाउनुभएको सन्देश मैले सुनेको छु। म तपाईंले चाहना गर्नुभएका सबै देवदारु र सल्लाका काठ जुटाइदिने छु।

9मेरा दासहरूले लेबनानबाट समुद्रसम्म मूढाहरू ल्याउने छन्, र ती बाँधेर तपाईंले तोक्नुभएको ठाउँमा म बगाएर पठाउन लगाउने छु। म त्यहाँ खोल्न लगाउने छु, र तपाईंले ती लैजान सक्नुहुने छ। मेरो घरानालाई भोजन जुटाइदिएर तपाईंले चाहनुभएको कुरा पुरा गर्नुहोस्।”

10त्यसैले सोलोमनले चाहेका सबै देवदारु र सल्लाका मूढा हीरामले तिनलाई दिए।

11सोलोमनले हीरामको घरानालाई भोजनको निम्ति पचास हजार मुरी गहुँ र साढे चार हजार लिटर शुद्ध तेल दिए। सोलोमनले यो वर्षैपिच्छे हीरामलाई दिन्थे।

12आफूले प्रतिज्ञा गर्नुभएझैँ परमप्रभुले सोलोमनलाई बुद्धि दिनुभयो। सोलोमन र हीरामको बिचमा शान्ति कायम थियो, र तिनीहरू दुई जनाले एउटा करार बाँधे।

२ इतिहास

२ इतिहास 2:1–16

1सोलोमनले परमप्रभुका नाउँको निम्‍ति एउटा मन्‍दिर र आफ्नो राज्यको निम्ति एउटा राजमहल निर्माण गर्ने आदेश दिए।

2सोलोमनले भारी बोक्‍नलाई सत्तरी हजार, र पहाडहरूमा ढुङ्गा काट्नलाई असी हजार र तिनीहरूको निरीक्षण गर्न छत्तिस सय मानिसलाई जिम्मा दिए।

3सोलोमनले टुरोसका राजा हीरामलाई यसो भनेर समाचार पठाए, “तपाईंले जसरी मेरा बुबा दाऊदको निम्ति आवासीय भवन बनाउनलाई देवदारुका काठहरू पठाउनुभएको थियो, मेरो निम्ति पनि त्‍यसै गर्नुहोस्।

4हेर्नुहोस्, मैले परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्न, त्‍यसलाई उहाँको निम्‍ति अलग गर्न, उहाँको सामु सुगन्‍धित मसलाका धूप बाल्‍न, उपस्‍थितिको रोटी राख्‍न, अनि बिहान-बेलुकी, शबाथहरूमा, औंसीहरूमा र परमप्रभु हाम्रा परमेश्‍वरका तोकिएका चाडहरूमा होमबलि चढाउन लागेको छु। यो इस्राएलको निम्‍ति सदासर्वदाको लागि हो।

5मैले निर्माण गर्न लागेको मन्‍दिर अत्‍यन्‍तै ठूलो भवन हुनेछ, किनकि हाम्रा परमेश्‍वर अरू सबै देवताभन्‍दा महान्‌ हुनुहुन्‍छ।

6तर सारा विश्‍व र स्‍वर्ग नै पनि परमेश्‍वरको निम्‍ति सानो हुन्‍छ भने, कसले उहाँको निम्‍ति मन्‍दिर निर्माण गर्न सक्‍छ? उहाँको सामु बलिदान चढाउनुबाहेक उहाँको निम्‍ति मन्‍दिर निर्माण गर्ने म को हुँ र?

7यसकारण मेरो निम्‍ति सुन, चाँदी, काँसा र फलाम, अनि बैजनी, रातो र नीलो ऊनी धागोको काम गर्न सक्‍ने एक जना निपुण कारीगर पठाइदिनुहोस्‌। तिनी काठ कुँदेर सबै कुरा बनाउन जान्‍ने मानिस पनि होऊन्‌। तिनले मेरा बुबा दाऊदले जुटाउनुभएका यहूदा र यरूशलेममा भएका निपुण कारीगरहरूसँग काम गर्नेछन्‌।

8मलाई लेबनानबाट देवदारु, सल्‍ला र चन्‍दनका काठहरू पनि पठाइदिनुहोस्, किनकि मलाई थाहा छ कि तपाईंका सेवकहरूले लेबनानमा काठहरू कसरी काट्‌नुपर्छ भनी जान्दछन्। हेर्नुहोस्, मेरा सेवकहरू तपाईंका सेवकहरूसित हुनेछन्,

9ताकि मेरो निम्‍ति प्रशस्त काठहरू तयार गर्न सकून्, किनकि मैले बनाउन लागिरहेको मन्‍दिर महान् र आश्‍चर्यको हुनेछ।

10हेर्नुहोस्, तपाईंका सेवकहरू, मुढा काट्‍ने मानिसहरूलाई म पचास हजार मुरी गहूँ, पचास हजार मुरी जौ, एक लाख पाथी दाखमद्य र एक लाख पाथी तेल दिनेछु।”

11टुरोसका राजा हीरामले पत्रद्वारा सोलोमनलाई लेखेर जावाफ दिए: “परमप्रभुले आफ्ना मानिसहरूलाई प्रेम गर्नुभएको हुनाले उहाँले तपाईंलाई तिनीहरूमाथि राजा तुल्‍याउनुभयो।”

12साथै पत्रमा हीरामले भने, “इस्राएलका परमप्रभु परमेश्‍वर धन्‍यका होउन्, जसले स्‍वर्ग र पृथ्‍वीको सृष्‍टि गर्नुभयो, जसले दाऊद राजालाई बुद्धि र समझशक्तिको वरदान भएको एउटा बुद्धिमान्‌ छोरा दिनुभएको छ, जसले परमप्रभुको निम्‍ति एउटा मन्‍दिर र आफ्‍नै निम्‍ति एउटा राजमहल बनाउनुहुनेछ।

13अब मैले एक जना सिपालु मानिस हुराम-अब्‍बीलाई पठाएको छु, जससँग सुझबुझको वरदान छ।

14तिनी दानका छोरीमध्येकी एक जना स्‍त्रीका छोरा हुन्‌। तिनका बुबा टुरोसका मानिस हुन्। तिनी सुन र चाँदी, काँसा, फलाम, ढुङ्गा र काठका काम अनि बैजनी, रातो र नीलो ऊनी धागो र मलमलका कपडाका काममा पनि अनुभवी कारीगर हुन्‌। तिनी कुनै पनि किसिमका बुट्टा कुँद्‍ने र कुनै पनि किसिमको नमूनाको काममा सिपालु छन्। तिनी तपाईंका निपुण कारीगरहरूका साथमा, र मेरा स्‍वामी तपाईंका बुबा दाऊदका कारीगरहरूका साथमा काम गर्ने ठाउँको व्यवस्था गरिदिनुहोस्।

15अब मेरा स्‍वामीले आफ्‍ना सेवकहरूका निम्‍ति आफूले प्रतिज्ञा गर्नुभएको गहूँ, जौ, तेल र दाखमद्य पठाइदिनुहोस्‌।

16तपाईंलाई चाहिए जति काठ हामी लेबनानमा काट्नेछौं। मूढाहरू बाँधेर योप्‍पासम्‍म बगाएर पठाइदिनेछौं, र तपाईंले ती यरूशलेमसम्‍म लैजानुहुनेछ।”

चिनो लगाइएका: तपाईंले पढ्ने अनुवादमा हरेक विवरणमा भएका शब्दहरू। सबैभन्दा धेरै आउने शब्दहरू (“र”, “उनी”) मा चिनो लगाइँदैन; अर्को रूपमा भएको शब्दमा नलाग्न सक्छ।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार