Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › राजाहरू र इतिहास सँगसँगै › सोलोमन

राजाहरू र इतिहास सँगसँगै · सोलोमन

सन्दुक मन्दिरभित्र ल्याइन्छ

१ राजाहरू 8:1–11 · २ इतिहास 5:2–14

१ राजाहरू

१ राजाहरू 8:1–11

1तब सोलोमनले इस्राएलका सबै धर्म-गुरु, कुल-कुलका नायकहरू र इस्राएलका परिवारका मुख्य-मुख्य व्यक्तिहरूलाई सियोन अर्थात् दाऊदको सहरबाट परमप्रभुको सन्दुक ल्याउनलाई यरूशलेममा जम्मा गरे।

2एतानीम महिना अर्थात् सातौँ महिनामा चाडको अवसरमा इस्राएलका सबै मानिस सोलोमन राजाको सामु भेला भए।

3इस्राएलका सबै धर्म-गुरु आए, अनि पुजारीहरूले सन्दुक उठाए।

4तिनीहरूले परमप्रभुको सन्दुक, भेट हुने पाल र पालभित्र भएका सजावटका सबै पवित्र सामान ल्याए। पुजारी र लेवीहरूले यी सामानहरू ल्याएका थिए।

5सोलोमन राजा र इस्राएलका सारा समुदाय सन्दुकको सामु भेला भए, अनि तिनीहरूले असङ्ख्य भेडाहरू र गोरुहरू बलिदान चढाए।

6पुजारीहरूले परमप्रभुको करारको सन्दुकलाई त्यसको उचित स्थान अर्थात् करूबहरूको छायामुनि मन्दिरको महा-पवित्रस्थानमा लगेर राखे।

7किनकि करूबहरूले सन्दुक राखिएको ठाउँको माथि आ-आफ्ना पखेटा फैलाएका थिए, र ती पखेटाले सन्दुक र त्यसका डन्डाहरूमाथि छाया पारेका थिए।

8यी डन्डाहरू यति लामा-लामा थिए, कि तिनका टुप्पाहरू महा-पवित्रस्थानको सामु पवित्रस्थानबाट देख्न सकिन्थे, तर तिनलाई बाहिरबाट भने देख्न सकिँदैनथ्यो। ती आजको दिनसम्म त्यहीँ छन्।

9इस्राएलीहरू मिश्र देशबाट आउँदा परमप्रभुले तिनीहरूसित करार बाँध्नुहुँदा होरेब पर्वतमा मोशाले दुईवटा शिला-पाटी सन्दुकभित्र राखेका थिए, र सन्दुकभित्र यी शिला-पाटीहरू मात्र थिए।

10पुजारीहरू पवित्रस्थानबाट बाहिर आउँदा परमप्रभुको मन्दिर बादलले भरियो।

11बादलको कारणले पुजारीहरूले सेवा गर्न सकेनन् किनकि परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएको थियो।

२ इतिहास

२ इतिहास 5:2–14

2त्‍यसपछि सोलोमनले इस्राएलका धर्म-गुरुहरू, कुलका सबै नायकहरू र इस्राएलका परिवारका अगुवाहरूलाई परमप्रभुका करारको सन्‍दूक दाऊदको सहर, अर्थात्‌ सियोनबाट ल्‍याउन यरूशलेममा भेला गराए।

3इस्राएलका सबै मानिस सातौं महिनामा भएको चाडको समयमा राजाको सामु भेला भए।

4इस्राएलका सबै धर्म-गुरु आए, र लेवीहरूले सन्‍दूक लगे।

5तिनीहरूले सन्‍दूक र भेट हुने पाल र त्‍यसमा भएका सबै सामानहरू उठाएरमाथि लगे। लेवीका कुलका पुजारीहरूले ती बोकेर माथि लगे।

6सोलोमन राजा र इस्राएलका सारा समुदाय अनगिन्ति भेडा र साँढेको बलिदान चढाउँदै सन्दुकको अघि भेला भए।

7पुजारीहरूले परमप्रभुका करारको सन्‍दूक मन्‍दिरको भित्री पवित्रस्‍थान, अर्थात्‌ महा-पवित्रस्‍थानमा त्‍यसकै ठाउँमा ल्‍याएर करूबहरूका पखेटामुनि राखे।

8करूबहरूले आफ्‍ना पखेटा सन्‍दूक राखिएको ठाउँमाथि फैलाएका थिए, र तिनले सन्‍दूक र त्‍यसलाई बोक्‍ने डन्‍डाहरूलाई ढाके।

9डन्‍डाहरूचाहिं यति लामा थिए कि तिनका टुप्‍पाहरूभित्री पवित्रस्‍थानबाट देखिन्थ्यो, तर ती बाहिरबाट देखिंदैनथे। ती आजक दिनसम्‍म त्‍यहीं छन्‌।

10इस्राएलका मानिसहरूले मिश्रदेश छोड्‌दा परमप्रभुले तिनीहरूसित करार बाँध्‍नुभएको ठाउँ होरेबमा मोशाले सन्‍दूकभित्र राखेका दुई वटा शिला-पाटीबाहेक त्‍यसमा अरू केही थिएन।

11पुजारीहरू पवित्रस्‍थानबाट बाहिर निस्‍केर आए। त्‍यहाँ हाजिर भएका सबै पुजारीले आआफ्‍नो दलअनुसार क्रमवद्ध नगरीकनै आफैलाई पवित्र गरेका थिए।

12सबै लेवी गायक, अर्थात् आसाप, हेमान र यदूतून, तिनीहरूका छोराहरू र दाजुभाइसमेत सबै जना, मलमलका कपडा लगाएर झ्‍याली, वीणा र सारङ्गीहरू लिएर वेदीको पूर्वपट्टि खडा भए। तिनीहरूका साथमा एक सय बिस जना तुरही बजाउने पुजारीहरू थिए।

13तुरही बजाउनेहरू र गीत गाउनेहरूले परमप्रभुको प्रशंसा र धन्‍यवादको निम्‍ति एक सोर गरी आवाज निकाले। तिनीहरूले तुरही, झ्‍याली र अरू बाजाहरूसित सोर उचाले र तिनीहरूले परमप्रभुको प्रशंसा गरे। तिनीहरूले गाए, “उहाँ भलो हुनुहुन्‍छ, किनकि उहाँको करारको बफादारीता सदासर्वदा रहन्‍छ।” तब त्‍यो मन्‍दिर, परमप्रभुको मन्‍दिर बादलले भरियो।

14बादलले गर्दा पुजारीहरूले सेवा गर्न सकेनन्, किनकि परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएको थियो।

चिनो लगाइएका: तपाईंले पढ्ने अनुवादमा हरेक विवरणमा भएका शब्दहरू। सबैभन्दा धेरै आउने शब्दहरू (“र”, “उनी”) मा चिनो लगाइँदैन; अर्को रूपमा भएको शब्दमा नलाग्न सक्छ।

स्रोतहरू: OpenBible.info, CC BY 4.0 · पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार