ULB · अध्याय 16 / 21
यूहन्ना 16
1तिमीहरू पछि नहट भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको छु।
2तिनीहरूले तिमीहरूलाई सभाघरबाट बाहिर निकाल्नेछन्। तर यस्तो समय आउँदै छ कि तिमीहरूलाई मार्ने हरेकले तिनीहरूले परमेश्वरको सेवा गरिरहेका छन् भनी ठान्नेछन्।
3तिनीहरूले यी कुराहरू गर्नेछन्, किनकि तिनीहरूले न त पितालाई न मलाई नै चिनेका छन्।
4मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि त्यो घडी आउँदा मैले तिमीहरूलाई तिनीहरूको बारेमा भनेको कुरा तिमीहरूले सम्झन सक। मैले तिमीहरूलाई यी कुराहरू पहिले नै भनिनँ, किनकि म तिमीहरूसँगै नै थिएँ।
5तर अहिले म मलाई पठाउनुहुनेकहाँ जाँदै छु, तर पनि तिमीहरू कसैले पनि ‘तपाईं कहाँ जाँदै हुनुहन्छ?’ भनी मलाई सोध्दैनौ।
6तर मैले तिमीहरूलाई यी कुराहरू भनेको कारण, तिमीहरूको हृदय निराशाले भरिएको छ।
7म तिमीहरूलाई साँचो भन्दछुः म जानु नै तिमीहरूको निम्ति असल छ। किनकि म गइनँ भने सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन, तर यदि म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु।
8जब सल्लाहकार आउनुहुन्छ, उहाँले संसारलाई पाप र धार्मिकता र न्यायको बारेमा गलत साबित गर्नुहुनेछ–
9पापको बारेमा, किनभने तिनीहरूले ममा विश्वास गर्दैनन्;
10धार्मिकताको बारेमा, किनकि म पिताकहाँ जाँदै छु र अब उप्रान्त तिमीहरूले मलाई देख्नेछैनौ;
11अनि न्यायको बारेमा, किनकि यस संसारको शासकको न्याय गरिएको छ।
12मैले तिमीहरूलाई धेरै कुरा भन्नु छ, तर तिमीहरू अहिल्यै ती कुराहरू बुझ्दैनौ।
13तर जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ, किनकि उहाँ आफ्नो निम्ति बोल्नुहुनेछैन। तर उहाँले जे सुन्नुहुन्छ, त्यही बोल्नुहुनेछ र के हुनेछ भनी उहाँले तिमीहरूलाई बताउनुहुनेछ।
14उहाँले मलाई महिमित तुल्याउनुहुनेछ, किनकि उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले ती तिमीहरूलाई बताउनुहुनेछ।
15पितासँग भएका सबै थोक मेरा हुन्। यसकारण उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले यो तिमीहरूलाई बताउनुहुनेछ भनी मैले भनेको हुँ।
16अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्नेछौ।
17तब उहाँका चलाहरूमध्ये केहीले एक आपसमा भने “‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्नेछौ।’ र ‘किनकि म पिताकहाँ जाँदै छु’ भनेर उहाँले हामीलाई के भन्नुभएको हो?”
18त्यसैले तिनीहरूले भने, “उहाँले ‘केही बेरमा’ भनेर के भन्नुभएको? उहाँले केको बारेमा बताउँदै हुनुहुन्छ? सो हामी जान्दैनौ।”
19तिनीहरूले येशूलाई सोध्न चाहेको उहाँले देख्नुभयो, र उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले एक आपसमा सोधेको कुरा यही हो कि जसको बारेमा मैले भनेँ ‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्नेछौ’।”
20म तिमीहरूलाई साँचो साँचो भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार खुसी हुनेछ; तिमीहरू निराशाले भरिनेछौ, तर तिमीहरूको निराशा आनन्दमा बद्लिनेछ।
21जब स्त्रीले जन्म दिन्छिन्, तिनी निराश हुन्छिन्, किनकि तिनको समय आएको छ, तर जब तिनले बच्चा जन्माउँछिन्, संसारमा एक बालक जन्मिएको छ भन्ने आनन्दले तिनलाई पीडाको सम्झना हुँदैन।
22त्यसैले तिमीहरू पनि अहिले निराश हुन्छौ, तर म तिमीहरूलाई फेरि भेट्नेछु; अनि तिमीहरूको हृदय खुसी हुनेछ र तिमीहरूको आनन्द तिमीहरूबाट कसैले लैजान सक्नेछैन।
23त्यस दिन तिमीहरूले मलाई कुनै पनि कुरा माग्नेछैनौ। साँचो साँचो म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले मेरो नाउँमा मेरा पितासँग कुनै थोक माग्यौ भने यो उहाँले तिमीहरूलाई दिनुहुनेछ।
24अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ। माग र तिमीहरूले पाउनेछौ, ताकि तिमीहरूको आनन्द पूर्ण होस्।
25मैले तिमीहरूलाई यी कुराहरू आलङ्कारिक भाषामा भनेको छु, तर मैले आलङ्कारिक भाषा नबोली तिमीहरूलाई पिताको बारेमा स्पष्ट रूपमा बताउने समय आउँदै छ।
26त्यस दिन तिमीहरूले मेरो नाउँमा माग्नेछौ, र म तिमीहरूको निम्ति पितासँग प्रार्थना गर्नेछु भनेर म तिमीहरूलाई भन्दिनँ,
27किनकि तिमीहरूले मलाई प्रेम गरेका हुनाले र म पिताबाट आएँ भनी तिमीहरूले विश्वास गरेका हुनाले पिता आफैँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ।
28म पिताबाट आएँ। म संसारमा आएको छु। फेरि म संसार छोड्दै छु, र म पिताकहाँ जाँदै छु।”
29उहाँका चेलाहरूले भने, “हेर्नुहोस्, अहिले तपाईं स्पष्ट रूपमा बोल्दै हुनुहुन्छ अनि तपाईंले आलङ्कारिक भाषा प्रयोग गरिरहनुभएको छैन।
30अब हामी जान्दछौँ, कि तपाईं सबै थोक जन्नुहुन्छ, अनि कसैले तपाईंलाई प्रश्न सोध्नु आवश्यक छैन। त्यही कारणले हामी विश्वास गर्छौं, कि तपाईं परमेश्वरबाट आउनुभएको हो।”
31येशूले जवाफ दिनुभयो, “के तिमीहरू अब विश्वास गर्छौ?
32हेर, तिमीहरू छरपष्ट हुने अर्थात् सबै आ-आफ्नो घरतिर जाने, र मलाई एकलै छोड्ने समय आउँदै छ,। वास्तवमा त्यो समय आइसकेको छ। तरै पनि म एकलो हुन्नँ, किनभने पिता मसँग हुनुहुन्छ।
33मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस्। संसारमा तिमीहरूलाई कष्ट हुन्छ, तर साहस गरः मैले संसारलाई जितेको छु।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org