ULB · अध्याय 44 / 48
इजकिएल 44
1त्यसपछि ती मानिसले मलाई पूर्व फर्केको बाहिरी पवित्र स्थानको ढोकामा ल्याए। त्यो बलियो गरी बन्द थियो।
2परमप्रभुले मलाई भन्नुभयो, “यो ढोकाको बन्द गरी मोहर लगाइएको छ। यो खोलिनेछैन। कोही पनि मानिस त्यहाँबाट जानेछैन, किनकि परमप्रभु, इस्राएलका परमेश्वर त्यहाँबाट आउनुभएको छ, यसैले त्यो बलियो गरी बन्द गरिएको छ।
3इस्राएलको शासक परमप्रभुको अगि भोजन गर्नलाई त्यहाँ बस्नेछ। त्यो ढोकाको दलानबाट भित्र आउनेछ र त्यही बाटो बाहिर जानेछ।”
4तब तिनले मलाई उत्तरी ढोकाको बाटो हुँदै मन्दिरको अगाडि लगे। मैले हेरें, र हेर, परमप्रभुको महिमाले परमप्रभुको मन्दिरलाई ढाक्यो, र मैले आफ्नो शिर घोप्टो पारें।
5तब परमप्रभुले मलाई भन्नुभयो, “ए मानिसको छोरो, मैले तँलाई घोषणा गर्ने सबै कुरा, परमप्रभुको मन्दिरका सबै विधि र त्यसका सबै नियमतिर आफ्नो हृदयलाई तयार पार् र ती आफ्ना आँखाले हेर् र कानले सुन्। मन्दिरका भित्र आउने ढोकाको र बाहिर निस्कने ढोकाहरूका बारेमा विचार गर्।
6तब विद्रोही इस्राएलको घरानालाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ए इस्राएलको घराना, तेरा सबै घिनलाग्दा कामहरू अब अति भएका छन्,
7तिमीहरूले मलाई भोजन, बोसो र रगत चढाउँदा, खतना नभएका हृदय र खतना नभएका शरीरका परदेशीहरूलाई तिमीहरूले मेरो पवित्र-स्थानमा ल्याएर मेरो मन्दिरलाई अशुद्ध बनयौ। तिमीहरूका घिनलाग्दा कामहरूले तिमीहरूले मेरो करार भङ्ग गरेका छौ।
8मेरा पवित्र कुराहरूका बारेमा तिमीहरूले आफ्ना कर्तव्य पुरा गरेका छैनौ, तर तिमीहरूले आफ्ना कर्तव्यहरू पुरा गर्न अरू नियुक्त गर्यौ र तिमीहरूले तिनीहरूलाई नै मेरो पवित्र स्थानको रेखदेख गर्न लगायौ।
9परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: इस्राएलका मानिसहरूका बिचमा बसोबास गर्ने कोही परदेशी जसको हृदय र शरीरको खतना भएको छैन, त्यो मेरो पवित्र ठाउँमा प्रवेश नगरोस्।
10तापनि लेवीहरू भने मबाट टाढा भए— आफ्ना मूर्तिहरूका पछि लागेर तिमीहरू मबाट टाढा भट्किए, तर तिनीहरूले आफ्ना पापको मोल तिर्नेछन्।
11तिनीहरू मेरो पवित्र-स्थानमा सेवकहरू हुन्, र तिनीहरूले मन्दिरका ढोकाहरूका रेखदेख गर्छन् र मन्दिरमा सेवा गर्छन् र तिनीहरूले होमबलि र मानिसहरूका बलिदानहरूलाई मार्छन्, र तिनीहरू मानिसहरूको अगि खडा हुन्छन् र तिनीहरूको सेवा गर्छन्।
12तर तिनीहरूले आफ्ना मूर्तिहरूका अगाडि बलिदान चढाएका हुनाले, इस्राएलको घरानाको निम्ति तिनीहरू पापको कारण बने। यसैकारण म आफ्नो हात उठाएर तिनीहरूको विरुद्ध शपथ खान्छु, कि तिनीहरूले आफ्नो दण्ड पाउनेछन्, यो परमप्रभु परमेश्वरको घोषणा हो।
13तिनीहरू मेरा पुजारीहरूको काम गर्न वा मेरा पवित्र, अति पवित्र कुराहरू भएको ठाउँमा मेरो नजिक आउनेछैनन्। बरु, तिनीहरूले गरेका घिनलाग्दा कामहरूको कारण तिनीहरूले निन्दा र दोष भोग्नेछन्।
14तर म तिनीहरूलाई मेरो मन्दिरमा त्यसका सारा कर्तव्यहरू र त्यहाँ गरिने सबै कुरामाथि जिम्मा दिनेछु।
15अनि इस्राएलका मानिसहरू मबाट टाढा भट्किरहेका बेलामा, मेरो पवित्र-स्थानका कर्तव्यहरूलाई पुरा गर्ने सादोकका छोराहरू अर्थात् लेवी पुजारीहरू मेरो अगि मेरो आराधना गर्न आउनेछन्। मलाई बोसो र रगत चढाउन तिनीहरू मेरो अगि खडा हुनेछन्, यो परमप्रभु परमेश्वरको घोषणा हो।
16तिनीहरू मेरो पवित्र-स्थानमा आउनेछन्। मेरो आराधना गर्न र मेरो निम्ति आफ्ना कर्तव्यहरू पुरा गर्न तिनीहरू मेरो टेबल नजिक आउनेछन्।
17यसरी तिनीहरू भित्री चोकका ढोकाहरूमा आउँदा, तिनीहरूले सूतिको कपडा लगाउनुपर्छ, किनभने चोकको ढोका र मन्दिरभित्र आउन तिनीहरूले ऊनको वस्त्र लगाउनुहुँदैन।
18तिनीहरूका शिरमा सूतिको फेटा र कम्मरमा सूतिको भित्री लुगा हुनुपर्छ। तिनीहरूले पसिना आउने कुनै पनि लुगा लगाउनुहुँदैन।
19जब तिनीहरू मानिसहरूकहाँ बाहिरी चोकमा जान्छन्, तब तिनीहरूले सेवा गर्दा लगाइरहेको वस्त्र खोल्नुपर्छ। तिनीहरूले ती खोल्नैपर्छ र ती पवित्र कोठामा राक्नुपर्छ, ताकि ती विशेष पहिरनको छुवाइले तिनीहरूले अरू मानिसहरूलाई पवित्र नबनाऊन्।
20तिनीहरू आफ्नो कपाल खौरिन पनि हुँदैन, न त ती खुला छोड्न हुन्छ, तर तिनीहरूले आफ्ना शिरका कपाललाई छोटो गरी काटून्।
21भित्री चोकमा आउँदा कुनै पनि पुजारीले दाखमद्य पिएको हुनुहुँदैन,
22त्यसले विधवा वा सम्बन्ध-विच्छेद भएकी स्त्रीलाई आफ्नी पत्नी बनाउनुहुँदैन, तर त्यसले इस्राएलको घरानाको कन्ये केटी वा पुजारीसँग विवाह गरेर विधवा भएकीसँग मात्र विवाह गरोस्।
23किनकि तिनीहरूले मेरा मानिसहरूलाई पवित्र र अपवित्र बिचको भिन्नताबारे सिकाउनेछन्। तिनीहरूले उनीहरूलाई शुद्ध र अशुद्ध बारे चिनाउनेछन्।
24कुनै विवाद भएमा, तिनीहरूले मेरा विधिहरूअनुसार न्याय गर्नेछन्। तिनीहरू न्यायपूर्ण हुनुपर्छ। तिनीहरूले हरेक चाडमा मेरा नियम र विधिहरू पालना गर्नेछन्, र तिनीहरूले मेरा पवित्र शबाथहरू मनाउनेछन्।
25तिनीहरू अशुद्ध हुनलाई मरेको मानिसको अगाडि जानेछैनन्, तर आफ्ना बुबा, आमा, छोरो, छोरी, दाजुभाइ, वा कन्ये दिदीबहिनी भएमा तिनीहरू जान सक्छन्। नत्रता तिनीहरू अशुद्ध हुनेछन्।
26कुनै पुजारी अधुद्ध भएपछि, तिनीहरूले त्यसको निम्ति सात दिन गन्नेछन्।
27अनि त्यो पवित्र-स्थानमा, अर्थात् पवित्र-स्थानमा सेवा गर्नलाई भित्री चोकमा प्रवेश गर्ने दिनमा, त्यसले आफ्नो निम्ति पापबलि ल्याओस्, यो परमप्रभु परमेश्वरको घोषणा हो।
28तिनीहरूको उत्तराधिकार यही हुनेछ: म नै तिनीहरूको उत्तराधिकार हुँ, र इस्राएलमा तिमीहरूले तिनीहरूलाई कुनै सम्पत्ति नदिनू। म नै तिनीहरूको सम्पत्ति हुनेछु।
29तिनीहरूले अन्नबलि, पापबलि, र दोषबलिबाट खानेछन्, र इस्राएलमा परमप्रभुको निम्ति चढाइएको हरेक कुरा तिनीहरूकै हुनेछ।
30सबै कुराका पहिलो फलबाट असल फल र तिमीहरूका सबै उपहारहरू पुजारीहरूकै हुनेछन्, र तिमीहरूले तिमीहरूका भोजनबाट उत्कृष्ट अन्नबलि पुजारीहरूलाई दिनू ताकि तिमीहरूको घरमा आशिष् आओस्।
31जङ्गली पशुले मारेको चरा वा पशुको सिनुबाट पुजारीहरूले खानुहुँदैन।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org