Bible Explorer एप लिनुहोस्

बाइबल › इजकिएल › 6

ULB · अध्याय 6 / 48

इजकिएल 6

1परमप्रभुको यो वचन मकहाँ यसो भनेर आयो,

2“ए मानिसको छोरो, इस्राएलका पर्वतहरूतिर तेरो मुख फर्का र तिनीहरूका विरुद्धमा अगमवाणी गर्।

3यसो भन्, “ए इस्राएलका पर्वतहरू हो, परमप्रभु परमेश्‍वरको यो वचन सुन। पर्वतहरू र डाँडाहरू, खोल्‍साहरू र बेसीहरूलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर, तिमीहरूका विरुद्धमा म तरवार ल्‍याउँदैछु, र तिमीहरूका अल्‍गा-अल्‍गा ठाउँहरूलाई म नाश गर्नेछु।

4तब तिमीहरूका वेदीहरू उजाड हुनेछन्, र खम्‍बाहरू नाश पारिनेछ र तिमीहरूका मरेकाहरूलाई तिनीहरूकै मूर्तिहरूका सामु म फाल्नेछु।

5इस्राएलका मानिसहरूका लाशहरूलाई तिनीहरूकै मूर्तिहरूका सामु म राखिदिनेछु, र तिमीहरूका हड्‍डीहरू तिमीहरूकै वेदीहरूका चारैतिर छरपष्‍ट पारिदिनेछु।

6तिमीहरू जहाँ बसे तापनि तिमीहरूका नगरहरू उजाड पारिनेछन्, र अल्‍गा-अल्‍गा ठाउँहरू नष्‍ट हुनेछन्, ताकि तिमीहरूका वेदीहरू उजाड र नष्‍ट हुनेछन्। तब तिनीहरू चकनाचुर हुनेछन् र हराउनेछन्, तिमीहरूका खम्बाहरू काटिनेछन् र तिमीहरूका कामहरू लोप हुनेछन्।

7मृतहरू तिमीहरूकै माझमा ढल्‍नेछन्, र म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ।

8तर तिमीहरूका बिचमा बचेकालाई म जोगाएर राख्‍नेछु, र तिमीहरू देश-देशमा तितरबितर हुँदा, त्‍यहाँ जातिहरूका बिचमा तरवारबाट उम्‍केका कोही हुनेछन्।

9तब मबाट तर्केका तिनीहरूका व्‍यभिचारी हृदय र मूर्तिहरूका पछि लाग्‍ने तिनीहरूका कुदृष्‍टहरूले म दुःखित भएको थिएँ भनी ती बाँचेकाहरूले आफूलाई कैद गरिएका जातिहरूका बिचमा मेरो बारेमा विचार गर्नेछन्। तब तिनीहरूले गरेको दुष्‍टता र तिनीहरूका सबै घृणित कामहरूको कारण तिनीहरूले आफ्नो अनुहारमा घृणा देखाउनेछन्।

10यसरी तिनीहरूले जान्‍नेछन्, कि म नै परमप्रभु हुँ। यही कारणले म तिनीहरूमाथि हानि ल्‍याउँछु भनी मैले भनें।

11परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः “आफ्‍नो ताली बजा र आफ्‍ना खुट्टा बजार्! यसो भन् ‘इस्राएलका घरानाका सबै दुष्‍ट र घिनलाग्‍दा व्‍यवहारहरूका कारण, धिक्‍कार!’ किनभने तरवार, अनिकाल र रूढीले तिनीहरू नष्‍ट हुनेछन्‌।

12टाढा हुने रूढीले मर्नेछन्, र नजिकमा हुने तरवारले ढल्‍नेछन्। छोडिएर बाँचेकाहरू अनिकालले मर्नेछन्‌। यसरी तिनीहरूका विरुद्धमा भएको मेरो क्रोधलाई म पुरा गर्नेछु!

13जब तिनीहरूका मूर्तिहरूका बिचमा, तिनीहरूका वेदीहरूका चारैतिर, सबै अल्‍गा-अल्‍गा ठाउँहरूमा, सबै पर्वतहरूका टाकुराहरूमाथि, सबै झ्‍याम्‍म परेका रूखहरूमुनि र सबै पात भएका बजराँटका रूखहरूमुनि— जहाँ-जहाँ तिनीहरूले आफ्‍ना मूर्तिहरूका निम्‍ति धूप बाल्‍थे, त्‍यहाँ-त्‍यहाँ जब तिनीहरूका मारिएकाहरू लडिरहनेछन्, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌।

14अनि म आफ्‍नो हातले हिर्काउनेछु र उजाड-स्‍थानदेखि दिब्‍लासम्‍मै तिनीहरूका सबै बस्‍ने ठाउँहरू अर्थात्‌ तिनीहरूको देशलाई उजाड र सुनसान बनाइदिनेछु। तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org