Bible Explorer एप लिनुहोस्

बाइबल › इजकिएल › 9

ULB · अध्याय 9 / 48

इजकिएल 9

1तब उहाँले ठुलो सोरमा कराएर यसो भन्‍नुभएको मैले सुनें, “रक्षकहरू हरेकले आफ्‍ना हातमा नष्‍ट गर्ने हतियार लिएर सहरमा आऊन्।”

2तब हेर, छ जना मानिसहरू हरेकले आ-आफ्‍नो हातमा हत्‍या गर्ने हतियार लिएर उत्तरतिर फर्केको माथिल्‍लो ढोकाबाट आए। तिनीहरूका माझमा सूती कपडा लगाएका र कलम भिरेका एक जना मानिस थिए। यसरी तिनीहरू भित्र गए र काँसाको वेदीको छेउमा खडा भए।

3तब इस्राएलका परमेश्‍वरको महिमाचाहिं करूबहरूदेखि मास्‍तिर हटेर मन्‍दिरको सँघारमा पुगिसकेको थियो। तब परमप्रभुले त्‍यो सूती कपडा लगाएको र कलम भिरेको मानिसलाई आफ्‍नो छेउमा बोलाउनुभयो।

4परमप्रभुले तिनलाई भन्‍नुभयो, “सहरको बिचबाट— यरूशलेमको बिचबाट भएर जा र सहरमा गरिएका सबै घिनलाग्‍दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदारहरूमा एउटा चिन्‍ह लगा।”

5मैले सुनिरहँदा उहाँले अरूलाई भन्‍नुभयो, “उसको पछिपछि सहरभरि जाओ र मार। तिमीहरूका आँखामा दया आउन नदेओ, र नछोड,

6वृद्ध मानिस, जवान मानिस, कन्‍या, साना बालकहरू र स्‍त्रीहरू। ती सबैलाई मार! तर निधारमा त्‍यो चिन्‍ह भएको कसैलाई पनि नछोओ। मेरो पवित्रस्‍थानदेखि नै सुरु गर।” यसैले मन्‍दिरको सामु भएका धर्म-गुरुहरूदेखि नै तिनीहरूले सुरु गरे।

7उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मन्‍दिर बिटुलो पार, र त्‍यसका चोकहरूलाई लाशहरूले भर। जाओ!” यसैले तिनीहरू गए र सहरलाई आक्रमण गरे।

8जब तिनीहरूले त्‍यसलाई आक्रमण गर्दैथिए, र मचाहिं एक्लै छोडिएँ, तब घोप्‍टो परें र रुँदै भनें, “हे परमप्रभु परमेश्‍वर, यरूशलेममाथि आफ्‍नो क्रोध खन्‍याउनुहुँदा इस्राएलका बचेकाहरू जम्‍मैलाई तपाईंले सर्वनाश गर्नुहुनेछ?”

9उहाँले मलाई भन्‍नुभयो, “इस्राएल र यहूदाका घरानाको पाप असाध्‍य ठुलो छ। देश रक्तपातले भरिएको छ, र सहरचाहिं विकृतिले भरिपूर्ण छ, किनकि तिनीहरू भन्‍छन्, 'परमप्रभुले देशलाई त्‍याग्‍नुभएको छ, र ‘परमप्रभुले देख्‍नुहुन्‍न'।

10यसैले मेरा आँखामा दया हुनेछैनँ, र म तिनीहरूलाई छोड्‌नेछैनँ। बरु म ती सबै तिनीहरूकै शिरमा खन्‍याइदिनेछु।”

11हेर, त्‍यो सूती कपडा लगाएको र कम्‍मरमा कलम भिरेको मानिस आऐ। तिनले यसो भने, “तपाईंले मलाई आज्ञा गर्नुभएबमोजिम मैले गरेको छु।”

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org