ULB · अध्याय 41 / 48
इजकिएल 41
1त्यसपछि ती मानिसले मलाई मन्दिरको पवित्र स्थानमा ल्याए र ढोकाका चौकोसहरू नापे। ती दुवैपट्टि छ हात चौडा थिए।
2ढोकाको चौडाइ दश हात थियो। हरेक तर्फको भित्ता पाँच हात थियो। तब ती मानिसले पवित्र स्थानको क्षेत्रफल नापे। त्यो चालिस हात लामो र बिस हात चौडा थियो।
3त्यसपछि ती मानिस महा-पवित्र स्थानभित्र गए र ढोकाको चौकोसहरू नापे। ती दुई हात थिए, र ढोकाको चौडाइ छ हात थियो। दुवैतिरका भित्ताका चौडाइ सात हात थियो।
4तब तिनले कोठाको लमाइ बिस हात नापे। मन्दिरको सभामन्दिरको अगाडिको भागसम्म त्यो बिस हात चौडा थियो। अनि तिनले मलाई भने, “यो महा-पवित्र स्थान हो।”
5त्यसपछि ती मानिसले मन्दिरको भित्ता नापे। त्यो छ हात बाक्लो थियो। मन्दिर वरिपरि भएका छेउका कोठाहरू चार हात चौडा थिए।
6छेउका कोठाहरू तिन तहमा थिए, एउटामाथि अर्को कोठा, र दुवैतिर तिस कोठा थिए। छेउका सबै कोठालाई टेवा दिनको निम्ति मन्दिर भित्तामाथि पालीहरू थिए, किनभने मन्दिरका भित्तामा टेवाको निम्ति केही पनि राखिएको थिएन।
7ती छेउका कोठाहरू जति माथि-माथि गए ती त्यति नै फराकिलो भए, र त्यो मन्दिर चारैतिर झन्-झन् अग्लो हुँदै गयो र मन्दिर जति अग्लो हुँदै गयो कोठाहरू पनि त्यति नै फराकिलो हुँदै गए, र तल्लो तहदेखि माथिल्लो तहसम्म एउटा भर्याङ थियो।
8अनि मैले मन्दिरको चारैतिर उठेको भाग देखें, जुन छेउका कोठाहरूका निम्ति जग थिए। त्यो एक लौरो अग्लो अर्थात् छ हात थियो।
9छेउका कोठाहरूका बाहिरी भागको चौडाइ पाँच हात थियो। पवित्र-स्थानमा यी कोठाहरूको बाहिरपट्टि खुला ठाउँ थियो।
10यस खुला ठाउँको अर्को पट्टि पुजारीहरूका बाहिरी भागका कोठाहरू थिए। पवित्र-स्थानभरि नै त्यसको चौडाइ बिस हात थियो।
11भित्री कोठाहरूका निम्ति अर्को खुला ठाउँबाट ढोकाहरू थिए। एउटा ढोकाको उत्तर भागमा थियो र अर्कोचाहिं दक्षिण भागमा। यो खुला ठाउँको चौडाइ चारैतिर पाँच हात थियो।
12पश्चिमबाट चोक तर्फ फर्केको भवन सत्तरी हात चौडा थियो। त्यसको भित्ता सबैतिर पाँच हात बाक्लो थियो, र त्यसको लमाइ नब्बे हात थियो।
13अनि ती मानिसले पवित्र-स्थानको नाप लिए। त्यसको लमाइ एक सय हात थियो। बेग्लै रहेको भवनको भित्ता र चोक पनि एक सय हात लामो थियो।
14पवित्र-स्थानको अगाडिको चोकको अगाडि भागको चौडाइ पनि एक सय हात थियो।
15अनि ती मानिसले पवित्र-स्थानको पछाडिको पश्चिममा रहेको भवन, र दुवैपट्टिको बार्दलीको लमाइ नापे, ती एक सय हात थिए। पवित्र-स्थान र दलान,
16भित्री भित्ताहरू र झ्यालहरू, साना झ्यालहरू, र तिनै तहमा वरिपरि भएका बार्दलीहरू काठले मोहोरिएका थिए।
17भित्री पवित्र-स्थानको ढोकामाथि र भित्ताहरूमा भएका खाली ठाउँमा एउटा ढाँचा थियो।
18त्यो करूबहरू र खजूरका रूखहरूले सुसज्जित थिए। हरेक करूबका बिचमा एउटा खजूरको रूख थिए, र हरेक करूबका दुईवटा अनुहार थिएः
19एकापट्टि मानिसको अनुहारले खजूरको रूखतिर हेरिरहेको थियो, र अर्को पट्टि जवान सिंहको अनुहारले खजूरको रूखतिर हेरिरहेको थियो। ती मन्दिरको सबैतिर खोपिएका थिए।
20जमिनदेखि माथि ढोकासम्म, करूबहरू र खजूरका रूखहरू मन्दिरको बाहिरी भित्तामा खोपिएका थिए।
21पवित्र-स्थानका ढोकाको चौकोस वर्गाकार थिए। हेर्दा तिनीहरूको बनावट,
22पवित्र-स्थानको अगाडिको काठको वेदीजस्तो थियो, जुन सबैतिर तिन हात अग्लो र दुई हात लामो थियो। त्यसको कुनाका चौकोसहरू, आधार, र पाटाहरू काठले बनेका थिए। अनि ती मानिसले मलाई भने, “यो त्यो टेबल हो जुन परमप्रभुको सामु रहन्छ।”
23पवित्र-स्थान र महा-पवित्र स्थानका निम्ति दुईवटा ढोका थिए।
24यी ढोकाहरूमा दुईवटा खापा थिए, एउटा ढोकाको निम्ति दुई वटा खापा र अर्कोको निम्ति दुईवटा।
25पवित्र-स्थानका ढोकाहरूमा खोपिएका करूबहरू र खजूरका रूखहरू भित्ताहरूका जस्तै थिए, र अगाडिको भागमा दलानमाथि काठको पाली-छानो थियो।
26दलानको दुवै भागमा साँघुरा झ्यालहरू र खजूरका रूखहरू थिए। यी मन्दिरका छेउका कोठाहरू थिए, र यी कोठाहरूमा पनि पाली-छानोहरू थिए।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org