Bible Explorer एप लिनुहोस्

बाइबल › इजकिएल › 35

ULB · अध्याय 35 / 48

इजकिएल 35

1त्‍यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

2“ए मानिसको छोरो, सेइर पर्वतको विरुद्धमा आफ्‍नो मुख फर्का र त्यसको विरुद्धमा अगमवाणी गर्।

3त्यसलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर्, सेइर पर्वत, म तेरो विरुद्धमा छु, र तँलाई म आफ्‍नो हातले प्रहार गर्नेछु र तँलाई निर्जन र उजाड बनाउनेछु।

4तेरा सहरहरूलाई म भग्‍नावशेष बनाउनेछु, र तँ आफैचाहिं उजाड हुनेछस्। तब म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्।

5किनभने तैंले सधैं इस्राएलका मानिसहरूसँग शत्रुतापूर्ण व्यवहार गरिस्, र किनभने तिनीहरूका निराशाको समयमा, र तिनीहरूका ठुलो दण्‍डको समयमा तैंले तिनीहरूलाई तरवारको हातहरूमा सुम्पिस्।

6यसकारण, यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जस्‍तो म जीवित छु, म तँलाई रक्तपातको निम्ति तयार गर्नेछु, र रक्तपातले तँलाई खेद्‍नेछ। तैंले रक्तपातलाई घृणा नगरेको कारणले रक्तपात तँलाई खेद्‍नेछ।

7सेइर पर्वतको नजिकबाट जाने र फेरि फर्किने कुनै पनि व्‍यक्‍तिलाई जब म हटाउँछु तब म त्यसलाई पूरा उजाड बनाउनेछु।

8मारिएकाहरूले म त्यसका पर्वतहरूलाई भरिदिनेछु। तरवारद्वारा मारिएकाहरूचाहिं तेरा अग्ला पहाडहरू र बेसीहरू र तेरा सबै खोलाहरूमा ढल्‍नेछन्।

9तँलाई म सधैंको निम्ति उजाड बनाउनेछु। तेरा सहरहरूमा कोही बास गर्नेछैनन्, तर म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्।

10तैंले यसो भनेको छस्, “यी दुई जाति र यी दुई देश मेरा हुनेछन्, र हामी तीमाथि अधिकार गर्नेछौं।” तापनि परमप्रभु तिनीहरूसँग हुनुभयो।

11यसकारण यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जस्‍तो म जीवित छु, इस्राएलको बारेमा तेरो घृणामा भएको तेरो डाहअनुसार र तेरो रिसअनुसार म व्यवहार गर्नेछु, र मैले तेरो न्याय गर्दा म आफैलाई तिनीहरूकहाँ प्रकट गर्नेछु।

12यसरी म परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्। तैंले इस्राएलका पर्वतहरूको विरुद्धमा सबै अपमान्‌साथ यसो भन्‍दा, “तिनीहरू नष्‍ट भएका छन्, र तिनीहरूलाई सखाप पार्न हामीलाई सुम्पिएको छ,” मैले सुनेको छु।

13तैंले जे भनिस् त्‍यसले तैंले आफैलाई मेरो विरुद्ध उचालिस्, र मेरो विरुद्धमा तैंले भनेका कुरामा तैंले धेरै बढाइस्। अनि मैले ती सबै सुनें।

14परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: सारा पृथ्वीले खुशी मनाइरहँदा म तँलाई उजाड बनाउनेछु।

15इस्राएलका मानिसको उत्तराधिकार उजाड भएको हुनाले जसरी तँ आनन्‍दित भइस्, तँलाई म त्यस्तै गर्नेछु। ए सेइर पर्वत, र सारा एदोम, तिमीहरू उजाड हुनेछस्। तब म परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्।’”

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org