Bible Explorer एप लिनुहोस्

बाइबल › विलाप › 5

ULB · अध्याय 5 / 5

विलाप 5

1हे परमप्रभु, हामीमाथि जे भएको छ, सो सम्झनुहोस्। हाम्रो अपमान हेर्नुहोस्, र विचार गर्नुहोस्।

2हाम्रो उत्तराधिकार पराईहरू र हाम्रा घरहरू विदेशीहरूलाई दिइए।

3हामी अनाथ, पितृहीन भएका छौँ, र हाम्रा आमाहरू विधवाजस्ता छन्।

4हामीले पिउने पानीको लागि र हाम्रै दाउरा किन्‍न हामीले चाँदीको दाम तिर्नुपर्छ।

5हामीलाई पछ्याउनेहरू हाम्रो छेउमा छन्। हामी थाकेका छौँ, र हामीलाई चैन छैन।

6पर्याप्‍त खानाको लागि हामीले आफैलाई मिश्र र अश्शूरमा सुम्पिदिएका छौँ।

7हाम्रा पिता-पुर्खाहरूलेपाप गरे, र अब तिनीहरू छैनन्, र हामीले तिनीहरूका अधर्मको फल भोग्दछौँ।

8कमाराहरूले हामीमाथि शासन गर्छन्, र हामीलाई तिनीहरूको हातबाट छुटकारा दिने कोही छैन।

9उजाड-स्थानमा भएको तरवारको कारण हाम्रा जीवन जोखिममा पारेर मात्रै हामी रोटी पाउँछौँ।

10भोकको रापले गर्दा हाम्रो छाला चुलोझैँ तातिएको छ।

11सियोनमा स्‍त्रीहरू र यहूदाका सहरहरूमा कन्याहरू बलत्कार गरिएका छन्।

12राजकुमारहरू तिनीहरूका आफ्नै हातद्वारा झुण्ड्याइएका छन्, र धर्म-गुरुहरूलाई कुनै आदर देखाइएको छैन।

13युवाहरू जाँतोमा अन्‍न पिँध्‍न बाध्य पारिएका छन्, र ठिटाहरू दाउराको भारीले थिचिएर लडबडाउँदै हिँड्छन्।

14धर्म-गुरुहरूले सहरको मूल ढोका छोडेका छन्, र युवाहरूले तिनीहरूको सङ्गीत छोडिदिएका छन्।

15हाम्रो हृदयको आनन्द हटेको छ, र हाम्रो नाच शोकमा परिणत भएको छ।

16मुकुट हाम्रो शिरबाट खसेको छ। हामीलाई धिक्‍कार छ! किनकि हामीले पाप गरेका छौँ।

17हाम्रो यो हृदय दुर्बल भएको छ, र यिनै कुराको कारण हाम्रो आँखा धमिलिएका छन्।

18सियोन पर्वत उजाड छ, जहाँ स्यालहरू घुमिहिँड्छन्।

19तर हे परमप्रभु, तपाईंले सदासर्वदा शासन गर्नुहुन्छ, र तपाईं पुस्तादेखि पुस्तासम्म आफ्नो सिंहासनमा विराजमान हुनुहुने छ।

20तपाईंले हामीलाई किन सदाको निम्ति बिर्सनुहुन्छ? तपाईंले हामीलाई यति धेरै दिनसम्म किन त्याग्‍नुहुन्छ?

21हे परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस्, र हामी पुनर्स्थापित हुने छौँ।

22तपाईंले हामीलाई बिलकुलै इन्कार गर्नुभएको छैन, र सम्झनै नसक्‍ने गरी तपाईं हामीसित रिसाउनुभएको छैन भने धेरै पहिले भएजस्तै हाम्रा दिन नवीकरण गरिदिनुहोस्।

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org