ULB · अध्याय 7 / 12
उपदेशक 7
1महङ्गो अत्तरभन्दा असल नाउँ उत्तम हुन्छ, र जन्मको दिनभन्दा मृत्युको दिन राम्रो हुन्छ।
2भोजको घरमा जानुभन्दा शोकको घरमा जानु उत्तम हुन्छ, किनकि जीवनको अन्त्यमा सबै मानिसका शोक आउँछ। जीवित मानिसहरूले यसलाई मनमा राख्नैपर्छ।
3हाँसोभन्दा अफसोस उत्तम हो, किनकि शोकित अनुहारपछि हृदयको प्रसन्नता आउँछ।
4बुद्धिमान्को हृदय शोकको घरमा हुन्छ, तर मूर्खहरूको हृदय भोजको घरमा हुन्छ।
5मूर्खहरूको गीत सुन्नुभन्दा बुद्धिमान्को हप्की सुन्नु उत्तम हो।
6किनभने मूर्खहरूको हाँसो भाँडामुनि पड्कने काँढाको आगोझैँ हुन्छ। यो पनि बाफ हो।
7करकापले निश्चय नै बुद्धिमान् मानिसलाई मूर्ख बनाउँछ, र घुसले हृदयलाई भ्रष्ट पार्छ।
8कुनै पनि कुरो सुरुभन्दा अन्त्य राम्रो हो, र हृदयमा घमण्ड हुनुभन्दा हृदयमा धैर्यवान् हुनु उत्तम हुन्छ।
9आत्मामा क्रोधित हुन हतार नगर्, किनकि क्रोधले मूर्खहरूको हृदयमा बास गर्छ।
10यसो नभन्, “यीभन्दा पाकाहरूका दिन किन उत्तम हुन्छ?” किनकि बुद्धिको कारण तैँले यो प्रश्न सोधेको होइन।
11पैतृक-सम्पत्तिजस्तै बुद्धि राम्रो कुरो हो। यसले सूर्य देख्नेहरूलाई लाभ दिन्छ।
12किनकि रुपियाँ-पैसाले सुरक्षा दिएजस्तै बुद्धिले पनि सुरक्षा दिन्छ, तर ज्ञानको फाइदा यही हो, कि बुद्धि भएको मानिसलाई यसले जीवन दिन्छ।
13परमेश्वरका कामहरूलाई विचार गर्: उहाँले बाङ्गो बनाउनुभएकोलाई कसले सिधा पार्न सक्छ?
14समय राम्रो हुँदा त्यस राम्रो समयमा खुसी भएर बस्, तर समय नराम्रो हुँदा यो कुरा विचार गर्: परमेश्वरले दुवैलाई आमनेसामने रहने अनुमति दिनुभएको छ। यही कारणले गर्दा मानिसको पछि के हुँदै छ भनी कसैले पत्ता लगाउने छैन।
15मेरा बेकम्मा दिनहरूमा मैले धेरै कुराहरू देखेको छु। धर्मात्माहरूको धार्मिकताको बाबजुत पनि तिनीहरू नष्ट हुन्छ, र दुष्टहरूको दुष्टताको बाबजुत पनि तिनीहरू धेरै वर्षसम्म बाँच्छन्।
16स्वधर्मी नबन्; तेरो आफ्नै दृष्टिमा बुद्धिमान् नबन्। तँ किन आफैलाई नष्ट गर्छस्?
17ज्यादै दुष्ट र मूर्ख नबन्। तेरो समय आउनुअगि नै तँ किन मर्छस्?
18यो बुद्धिलाई पक्रेर राख्नु र धार्मिकतालाई जान नदिनु तेरो लागि राम्रो हुन्छ। किनकि परमेश्वरको भय मान्ने मानिसले त्यसका सबै कर्तव्य पुरा गर्ने छ।
19कुनै सहरमा भएको दस जना शासकभन्दा बुद्धिमान् मानिससित भएको बुद्धि शक्तिशाली हुन्छ।
20पृथ्वीमा भलाइ गर्ने र कहिल्यै पाप नगर्ने धर्मी मानिस छैन।
21बोलिएको हरेक वचनलाई नसुन्, किनकि त्यसो गर्दा तैँले तेरो नोकरको श्रापलाई पनि सुन्लास्।
22त्यसै गरी, तेरो हृदयमा तैँले प्रायः धेरैलाई सरापेको छस् भनी तँलाई थाहा छ।
23मैले बुद्धिले यी सबै प्रमाणित गरेको छु। मैले भनेँ, “म बुद्धिमान् बन्ने छु,” तर यो मैले सक्नेभन्दा परको कुरो थियो।
24बुद्धि धेरै टाढा र निकै गहिरो छ। कसले यसलाई पाउन सक्छ र?
25बुद्धि र वास्तविकताको विषयमा सिक्न, जाँच गर्न र खोज्न अनि खराबी बेवकुफ हो र मूर्खताचाहिँ पागलपन हो भनी बुझ्न मैले मेरो मन लगाएँ।
26पासो र जालहरूले भरिएकी कुनै पनि स्त्रीको मृत्यभन्दा त्योचाहिँ बढी तितो भएको मैले पाएँ। परमेश्वरलाई खुसी पार्ने जो कोही त्यस स्त्रीबाट भाग्ने छ, तर पापीलाई भने त्यसले लिएर जान्छे।
27“मैले जे पत्ता लगाएको छु, त्यसलाई विचार गर्,” उपदेशक भन्छन्। “वास्तविकताको व्याख्या पत्ता लगाउन मैले एकपछि अर्को खोज थप्दै आएको छु।
28मैले अझै पनि यसको खोजी गर्दै छु, तर मैले यसलाई भेट्टाएको छैनँ। मैले एक हजार पुरुषका बिचमा एउटा धर्मी मानिस भेट्टाएँ, तर स्त्रीहरूका बिचमा एउटै पनि भेट्टाइनँ।
29मैले पत्ता लगाएको कुरो केवल यही होः परमेश्वरले मानव-जातिलाई सोझो सृष्टि गर्नुभयो, तर धेरै कठिनाइको खोजी गर्दै तिनीहरू तर्केर गएका छन्।”
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org