Bible Explorer एप लिनुहोस्

बाइबल › उपदेशक › 3

ULB · अध्याय 3 / 12

उपदेशक 3

1हरेक कुराको लागि तोकिएको समय छ, र आकाशमूनि हरेक उद्धेश्यको लागि बेलाछ।

2जन्मने एउटा समय छ, र मर्ने एउटा समय। रोप्‍ने एउटा समय छ, र उखेल्ने एउटा समय।

3मार्ने एउटा समय छ, र निको पार्ने एउटा समय। भत्काउने एउटा समय छ, र बनाउने एउटा समय।

4रुने एउटा समय छ, र हाँस्‍ने एउटा समय। शोक गर्ने एउटा समय छ, र नाच्ने एउटा समय।

5ढुङ्गा फ्याँक्‍ने एउटा समय छ, र ती बटुल्ने एउटा समय। अरू मानिसलाई अङ्गाल्ने एउटा समय छ, र त्यसबाट अलग रहने एउटा समय।

6खोजी गर्ने एउटा समय छ, र खोज्न छाड्ने एउटा समय। राख्‍ने एउटा समय छ, र फाल्ने एउटा समय।

7लुगा च्यात्‍ने एउटा समय छ, र त्यसलाई मर्मत गर्ने एउटा समय। चुप लाग्‍ने एउटा समय छ, र बोल्ने एउटा समय।

8प्रेम गर्ने एउटा समय छ, र घृणा गर्ने एउटा समय। युद्ध गर्ने एउटा समय छ, र मिलाप गर्ने एउटा समय।

9कामदारले आफ्नो परिश्रमबाट के लाभ पाउँछ र?

10मानव-जातिलाई पुरा गर्न परमेश्‍वरले दिनुभएको काम मैले देखेको छु।

11परमेश्‍वरले हरेक कुरोलाई त्यसको आफ्नो समयमा सुयोग्य बनाउनुभएको छ। उहाँले मानिसहरूका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ। तर मानव-जातिले सुरुदेखि अन्त्यसम्म परमेश्‍वरले गर्नुभएका कामहरू बुझ्न सक्दैन।

12मानिस बाँचुञ्‍जेलसम्म त्यो आनन्दित रहनु र असल गर्नुभन्दा त्यसको लागि अर्को कुनै उत्तम कुरो छैन भनी मलाई थाहा छ।

13हरेकले खानुपर्छ र पिउनुपर्छ, अनि आफ्ना सबै कामबाट आउने असल कुराहरूमा कसरी आनन्द मनाउने भनी बुझ्नुपर्छ। यो नै परमेश्‍वरको उपहार हो।

14मलाई थाहा छ, कि परमेश्‍वरले जे गर्नुहुन्छ, त्यो रहिरहन्छ। त्यसमा केही थप्‍न सकिँदैन, न त त्यसबाट हटाउन सकिन्छ, किनकि परमेश्‍वरले नै त्यो गर्नुभएको हो ताकि मानिसहरू आदरसाथ उहाँकहाँ जाऊन्।

15जे अस्तित्वमा छ, त्यो पहिलेदेखि नै अस्तित्वमा रहेको छ। जे अस्तित्वमा रहने छ, त्यो पहिलेदेखि नै अस्तित्वमा रहेको छ। लुकिएका कुराहरूको खोजी गर्न परमेश्‍वरले मानिसहरूलाई बनाउनुहुन्छ।

16सूर्यमूनिको दुष्‍टतालाई मैले देखेको छु, जहाँ न्याय हुनुपर्थ्यो, र धार्मिकताको सट्टामा दुष्‍टता थियो।

17मैले मेरो मनमा भनेँ, “हरेक विषय र हरेक कामको लागि ठिक समयमा परमेश्‍वरले धर्मीहरू र दुष्‍टहरूको न्याय गर्नुहुने छ।”

18मैले मेरो हृदयमा भनेँ, “मानिसहरू पशुहरूजस्तै हुन् भनी देखाउन परमेश्‍वरले तिनीहरूको जाँच गर्नुहुन्छ।”

19किनकि मानव-जातिको अन्त्य र पशुहरूको अन्त्य समान छ। एउटाको मृत्यु अर्कोको जस्तै छ। तिनीहरू सबैको एउटै सास छ। मानव-जातिलाई पशुहरूलाई भन्दा बढी लाभ छैन। किनकि के सबै कुरा सास नै होइन र?

20हरेक कुरा उहाँ ठाउँमा जान्छ। हरेक कुरा धुलोबाट आउँछ, र धुलोमा नै फर्केर जान्छ।

21मानिसको आत्मा उँभोतिर र पशुको प्राण तलतिर माटोमा जान्छ भनी कसलाई थाहा छ र?

22त्यसैले मानिसको लागि आफ्नो काममा आनन्द लिनुभन्दा उत्तम कुरो छैन भनी फेरि मैले बुझेँ, किनकि त्यो नै त्यसको जिम्मेवारी हो। त्योभन्दा पछि के हुन्छ भनी देखाउन त्यसलाई कसले फर्काएर ल्याउन सक्छ र?

पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org