ULB · अध्याय 18 / 31
१ शमूएल 18
1जब तिनले शाऊलसँग कुरा गरिसकेका थिए, तब जोनाथनको प्राण दाऊदको प्राणसँग बाँधियो र जोनाथनले तिनलाई आफ्नै प्राणलाई झैं प्रेम गरे।
2त्यस दिन शाऊलले दाऊदलाई आफ्नो सेवामा लिए। उनले तिनलाई आफ्नो बुबाको घरमा फर्कन दिएनन्।
3तब जोनाथन र दाऊदले मित्रताको करार बाँधे, किनभने जोनाथनले तिनलाई आफ्नै प्राणलाई झैं प्रेम गरे।
4जोनाथनले आफूले लगाइरहेका पोशाक फुकाले र आफ्नो हतियार, तरवार, धनु र पेटी सहित त्यो तिनले दाऊदलाई दिए।
5शाऊलले जहाँ पठाए पनि दाऊद जान्थे, र तिनी सफल भए। शाऊलले तिनलाई युद्ध गर्ने मानिसहरूको उच्च पदमा स्थापित गरे। सबै मानिसहरू र शाऊलका सेवकहरूकै दृष्टिमा पनि यो कुरा असलै लाग्यो।
6जब तिनीहरू पलिश्तीहरूलाई पराजित गरेर आए, तब इस्राएलका सहरहरूबाट स्त्रीहरू खैंजडी र अन्य साङ्गितिक साधनहरूसँगै आनन्द साथ गाउँदै र चाँच्दै निस्के शाऊल राजालाई भेट्न आए।
7ती स्त्रीहरूले संगीतका साधनहरू बजाउँदै एकसाथ गीतहरू गाए। तिनीहरूले यसरी गाएः “शाऊलले हजारौंलाई मारेका छन् र दाऊदले दसौं हजारलाई मारेका छन्।”
8शाऊल रिसले चुर भए र यो गितले तिनलाई अप्रसन्न बनायो। तिनलेल भने, “तिनीहरूले दाऊदलाई दसौं हजारको श्रेय दिए, तर तिनीहरूले मलाई भने हजारौं मात्रको श्रेय दिए। राजाको दर्जाबाहेक अब अरू बढी उसले के पाउनु छ र?”
9शाऊलले त्यस दिनदेखि दाऊदलाई शंकाको दृष्टिे हेरे।
10भोलि पल्ट शाऊलमा परमेश्वरबाटको हानिकारक आत्मा आयो र तिनले घरभित्र नै अगमवाणी बोले। त्यसैले दाऊदले हरेक दिन गरेझैं आफ्नो सङ्गीतको साधन बजाए। शाऊलको हातमा भाला थियो।
11शाऊलले भाला हाने, किनकि तिनले सोचे, “म दाऊदलाई भित्तामा छेडिदिन्छु।” तर त्यो दिन दाऊद दुईपल्ट यसरी नै शाऊलको उपस्थितिबाट उम्के।
12परमप्रभु दाऊदसँग हुनुहुन्थ्यो, तर शाऊलसँग फेरि हुनुभएन, यसैले शाऊल तिनीसँग डराए।
13त्यसैले शाऊलले तिनलाई आफ्नो उपस्थितिबाट हटाए र तिनलाई हजारको कमाण्डरमा नियुक्त गरे। यसरी दाऊद बाहिर निस्के र मानिसहरूको सामु आए।
14दाऊद आफ्ना मार्गमा सफलता पाए, किनभने परमप्रभु तिनीसँग हुनुहुन्थ्यो।
15जब शाऊलले तिनको फलिफाप भएको देखे, तब उनलाई तिनको डर भयो।
16तर सारा इस्राएल र यहूदाले दाऊदलाई प्रेम गरे, किनभने उनीहरूका सामु तिनी भित्र-बाहिर गर्थे।
17तब शाऊलले दाऊदलाई भने, “मेरी जेठी छोरी मेराब यहाँ छिन्। तिनलाई म तिम्रो पत्नी हुनलाई दिनेछु। मेरो निम्ति मात्र साहसी हुनु र परमप्रभुको युद्ध लड्नुपर्छ।” किनकि शाऊलले सोचे, “तिनीमाथि मेरो हात नपरोस्, तर तिनीमाथि पलिश्तीहरूको हात परोस्।”
18दाऊदले शाऊललाई भने, “म राजाको ज्वाइँ बन्न, म को हुँ र मेरा नातेदारहरू वा इस्राएलमा मेरो बुबाको कुल को हो र?”
19तर शाऊलकी छोरी मेराबलाई दाऊदलाई पत्नीको रूपमा दिने बेलामा, तिनलाई महोलाको अद्रिएलको पत्नीको रूपमा दिइयो।
20तर शाऊलकी छोरी मीकलले दाऊदलाई प्रेम गर्थिन्। तिनीहरूलले दाऊदलाई भने र यो कुराले तिनी खुसी भए।
21तब शाऊलले सोचे, “दाऊदसँग म त्यसकै विवाह गरिदिनेछु, ताकि त्यसको निम्ति यो एउटा पासो होस् र पलिश्तीहरूका हात उसको विरुद्धमा परोस्।” यसरी शाऊलले दाऊदलाई दोस्रोपल्ट यसो भने, “तिमी मेरो ज्वाइँ हुनेछौ।”
22शाऊललले आफ्ना सेवकहरूलाई आज्ञा दिए, “दाऊदसँग गोप्यमा कुरा गर र यसो भन, 'हेर, राजा तिमीसँग खुसी हुनुहुन्छ, र उनका सबै सेवकहरूले तपाईंलाई मन पराउँछन्। त्यसो हो भने, अब राजाको ज्वाइँ हुनुहोस्'।”
23त्यसैले शाऊलका सेवकहरूले यी कुराहरू दाऊदलाई भने। तब दाऊदले भने, “के राजाको ज्वाइँ हुनु तपाईंहरूका निम्ति सानो कुरा हो, किनकि म त गरीब र तुच्छ मानिस हुँ?”
24शाऊलका सेवहरूले दाऊदले भनेका यी कुराहरू उनलाई बताए।
25त्यसपछि शाऊलले भने, “दाऊदलाई यसो भन, 'राजाले आफ्ना शत्रुहरूमाथि बद्ला लिनलाई दुलहीको मूल्य पलिश्तीहरूको सयवटा खलडीबाहेक कुनै कुरा चाहनुहुन्न'।” दाऊद पलिश्तीहरूको हातबाट मरून् भन्ने शाऊलको विचार थियो।
26जब तिनका सेवकहरूले दाऊदलाई यी कुराहरू बताए, तब दाऊद राजाको ज्वाइँ हुन राजी भए।
27ती दिन सिद्धिनअगि नै, दाऊद आफ्ना मानिसहरूसँग गए र दुई सय जना पलिश्तीहरूलाई मारे। दाऊदले तिनीहरूका खलडी ल्याए र तिनीहरूले राजालाई त्यो पूर्ण संख्यामा दिए, ताकि तिनी राजाका ज्वाइँ हुन सकून्। त्यसैले शाऊलले तिनकी छोरी मीकललाई उनको पत्नी हुनलाई दिए।
28परमप्रभु दाऊदसँग हुनुभएको र शाऊलकी छोरी मीकलले तिनलाई प्रेम गरेको जब शाऊलले देखे र थाहा पाए,
29तब दाऊदसँग शाऊल झन् धेरै डराए। शाऊल निरन्तर रूपमा दाऊदका शत्रु भए।
30त्यसपछि पलिश्तीहरूका शासकहरू युद्ध गर्न आए र तिनीहरू जति पटक युद्ध गर्न आए पनि दाऊदचाहिं तिनीहरूमाथि शाऊलका अन्य सेवकहरूभन्दा धेरै सफल भए, जसले गर्दा तिनको नाउँको उच्च कदर गरिएको थियो।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org