Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 अक्टोबर › अक्टोबर 19

अर्थोडक्स पात्रो · अक्टोबर 6 (पुरानो शैली)

अर्थोडक्स दैनिक पाठहरू — 2027 अक्टोबर 19

मङ्गलबार · पेन्तिकोसपछिको 18औँ हप्ता · स्वर 8

पर्व र सन्तहरू

Holy and Glorious Apostle Thomas (1st C)

उपवास

उपवास छैन

यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।

दिनका पाठहरू

पत्र (प्रेरित थोमाका निम्ति)

१ कोरिन्थी 4:9–16

9किनकि मलाई यस्तो लाग्छ कि परमेश्‍वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै मारिनेको भिडको पछिल्लो लहरमा प्रदर्शनमा राख्‍नुभएको छ। हामी संसार, स्वर्गदूतहरू र मानिसहरूका बिचमा तमाशा भएका छौँ। 10हामी ख्रीष्‍टको निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्‍टमा बुद्धिमानी छौ। हामी दुर्बल छौँ, तर तिमीहरू बलिया छौ। तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौँ। 11यो वर्तमान घडीमा हामी भोकाएका र तिर्खाएका छौँ; हाम्रा कपडाहरू फाटिएका छन्; हामी नराम्ररी कुटिएका छौँ; हामी घरवारविहीन भएका छौँ। 12हामी आफ्नै हातले कडा परिश्रम गर्दछौँ। मानिसहरूले गिल्ला गर्दा हामी तिनीहरूलाई आशिष्‌ दिन्छौँ। सतावटमा पर्दा हामी सहन्छौँ। 13मानिसले हामीलाई निन्‍दा गर्दा हामी दयापूर्वक बोल्‍छौँ। हामी संसारले इन्‍कार गरेको फोहोर कुराहरू र सबैभन्दा घिनलाग्दा कुराहरूजस्‍ता भएका छौँ र अझ पनि हामीलाई यस्तै ठानिन्छ। 14तिमीहरूलाई शर्ममा पार्न मैले यो कुरा लेखेको होइनँ, तर मेरा प्रिय बालकहरूको रूपमा तिमीहरूलाई सुधार गर्नको निम्ति लेख्छु। 15किनकि ख्रीष्‍टमा तिमीहरूका दस हजार अभिभावक भए तापनि तिमीहरूका धेरै जना पिता छैनन्। किनकि सुसमाचारद्वारा म ख्रीष्‍टमा तिमीहरूका पिता बनेँ। 16त्यसैले, मेरो अनुकरण गर्ने होओ भनी म तिमीहरूलाई आग्रह गर्छु।

सुसमाचार

लुका 6:37–45

37कसैको न्याय नगर र तिम्रो न्याय गरिनेछैन। दोष नलगाऊ र तिमी दोषी ठहरिनेछैनौ; अरूलाई क्षमा देऊ र तिमीलाई पनि क्षमा गरिनेछ। 38अरूहरूलाई देऊ र तिमीहरूलाई पनि दिइनेछ। प्रशस्त परिमाणमा खाँदी-खाँदी, हल्लाई-हल्लाई पोखिने गरी, तिनीहरूले तिमीहरूका पोल्टामा खन्याउनेछन्। जुन नापले तिमीहरू नाप्‍तछौ, त्यहीँ नापले तिमीहरू पनि नापिनेछौ।” 39त्यसपछि उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्त पनि भन्‍नुभयो, “के एक जना अन्धा मानिसले अर्को अन्धा मानिसलाई डोर्‍याउन सक्छ? त्यसो गरे दुवै जना खाल्डोमा पर्दैनन् र? 40एउटा चेला आफ्नो गुरुभन्दा महान् हुन सक्दैन। तर हेरक जसले तालिम प्राप्‍त गर्छ, तब ऊ आफ्नो गुरुजस्तै हुनेछ। 41तिमीले तिम्रो भाइको आँखामा मात्र किन सानो कसिङ्गर देख्‍तछौ तर आफ्नै आँखामा भएको मुढाचाहिँ किन देख्दैनौ? 42कसरी तिमीले आफ्नो भाइलाई भन्‍न सक्छौ, भाइ मलाई तिम्रा आँखामा भएको कसिङ्गर निकाल्न देऊ जब कि तिमीले आफ्नै आँखामा भएको मुढा देख्दैनौ? हे पाखण्डी हो! पहिले तिम्रा आँखाबाट मुढा निकाल तब तिमीले तिम्रो भाइको आँखामा भएको कसिङ्गर निकाल्न स्पष्‍टसँग देख्‍नेछौ। 43किनकि कुनै असल रुखले कुहिएको फल फलाउँदैन, न त कुहिएको रुखले असल फल फलाउन सक्छ। 44किनभने प्रत्येक रुख त्यसको फलले नै चिनिन्छ। किनकि काँडाको रुखबाट कसैले अञ्‍जीर बटुल्न सक्दैन, न त काँडे झाडीबाट अङ्गुर बटुल्न सक्छ। 45असल मान्छेले आफ्नो हृदयको भण्डारबाट असल कुरा निकाल्छ र खराब मान्छेले आफ्नो हृदयको भण्डारबाट खराब कुरा नै निकाल्दछ। किनकि उसले आफ्नो हृदयको प्रशस्तबाट त्यही बोल्दछ र जे भण्डार गरी राखेको छ, त्यहीँ निकाल्छ।

पत्र

एफिसि 5:20–26

20येशू ख्रीष्‍टको नाउँमा, सधैँ सबै कुराहरूको निम्ति पिता परमेश्‍वरलाई धन्यवाद चढाओ। 21ख्रीष्‍टको आदरको लागि एकअर्काको अधिनमा रहो। 22पत्‍नीहरू हो, प्रभुको अधीनमा रहे जस्तो आफ्ना पतिहरूको अधीनमा बस। 23किनकि पति पत्‍नीको शिर हो, जसरी ख्रीष्‍ट पनि मण्डलीको शिर हुनुहुन्छ। उहाँ शरीरको उद्धारकर्ता हुनुहुन्छ। 24तर जसरी मण्डली ख्रीष्‍टप्रति समर्पित छ, त्यसरी नै पत्‍नीहरूलेपनि आफ्ना पतिहरूप्रति सबैथोकमा त्यसै गर्नुपर्दछ। 25पतिहरू हो, जसरी ख्रीष्‍टले मण्डलीलाई प्रेम गर्नुभयो र आफैँलाई तिनको निम्ति समर्पित गर्नुभयो, त्यसरी नै आफ्ना पत्‍नीहरूलाई प्रेम गर। 26उहाँले तिनलाई पवित्र गर्न यसो गर्नुभयो। उहाँले तिनलाई वचनमा पानीले धोएर शुद्ध पार्नुभयो।

सुसमाचार (प्रेरित थोमाका निम्ति)

यूहन्ना 20:19–31

19हप्‍ताको पहिलो दिनको साँझपख यहूदीहरूको डरले चेलाहरू जहाँ बसेका थिए, त्यसका ढोकाहरू बन्द गरिएको हुँदा, येशू आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!” 20जब उहाँले तिनीहरूलाई यो भन्‍नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनुभयो। चेलाहरूले प्रभुलाई देखेपछि तिनीहरू खुसी भए। 21तब येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्। जसरी पिताले मलाई पठाउनुभएको छ त्यसरी नै म तिमीहरूलाई पनि पठाउँदै छु।” 22जब येशूले यसो भन्‍नुभयो उहाँले तिनीहरूमाथि सास फुक्‍नुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “पवित्र आत्मा लेओ। 23तिमीहरूले जसका पापहरू क्षमा गर्छौ ती तिनीहरूका निम्ति क्षमा गरिन्छन्; जसका पापहरू तिमीहरू कायम राख्‍छौ, ती कायम राखिन्छन्।” 24येशू आउनुहुँदा बाह्र जना चेलामध्ये दिदुमस भनिने थोमाचाहिँ तिनीहरूसँग थिएनन्। 25पछि अरू चेलाहरूले “हामीले प्रभुलाई देख्यौँ” भनी तिनलाई बताए। तिनले तिनीहरूलाई भने, “मैले उहाँका हातका काँटीहरूका डोबहरू नदेखेसम्म र मेरो औँला त्यहाँ नहालेसम्म, र उहाँको कोखमा मेरो हात नहालेसम्म म विश्‍वास गर्नेछैनँ।” 26आठ दिनपछि उहाँका चेलाहरू फेरि कोठाभित्र थिए, र थोमा पनि तिनीहरूसँगै थिए। ढोकाहरू बन्द गरिएको अवस्थामा नै येशू तिनीहरूकहाँ आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!” 27त्यसपछि उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रा औला यहाँ हाल, र मेरा हातहरू हेर अनि मेरो कोखामा तिम्रो हात हाल, अविश्‍वासी नहोऊ, तर विश्‍वास गर।” 28थोमाले जवाफ दिए, र उहाँलाई भने, “मेरा प्रभु, मेरा परमेश्‍वर!” 29येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई देखेको कारणले विश्‍वास गरेका छौ। धन्य हुन् तिनीहरू जसले देखेका छैनन् र पनि विश्‍वास गरेका छन्।” 30यस पुस्तकमा नलेखिएका अरू धेरै चिन्हहरू येशूले चेलाहरूको उपस्थितिमा गर्नुभयो, 31तर यीचाहिँ लेखिएका छन्, ताकि येशू नै ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी तिमीहरूले विश्‍वास गर्न सक र विश्‍वास गरेर उहाँको नाउँमा तिमीहरूले जीवन पाउन सक।

मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको अक्टोबर 6 नागरिक पात्रोमा अक्टोबर 19 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार