गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 जुलाई › जुलाई 19
क्याथोलिक पात्रो
दैनिक बाइबल-पाठहरू (क्याथोलिक) — 2027 जुलाई 19
सोमबार · सामान्य कालको 16औँ हप्ता
पर्व र सन्तहरू
सामान्य कालको 16औँ हप्ताको सोमबार
साधारण दिन · धर्मविधिको रङ: हरियो
दिनका पाठहरू
पहिलो पाठ
5इस्राएलीहरू भागे भनी जब मिश्रका राजालाई बताइयो फारो र तिनका अधिकारीहरूको मन इस्राएलीहरूको विरुद्धमा फर्कियो। तिनीहरूले भने, “हामीले के गर्यौँ? हामीले इस्राएललाई हाम्रो सेवा गर्नबाट छाडिदिएछौँ।” 6तब फारोले आफ्ना रथहरू तयार पारे र आफ्नो सेना लिएर अगाडि बढे। 7तिनले छ सयवटा रोजाइका रथसाथै मिश्रका अन्य सबै रथहरू र तीमाथि अधिकृतहरूलाई लिएर गए। 8परमप्रभुले मिश्रका राजा फारोको ह्रदय कठोर पारिदिनुभएको थियो। त्यसैले राजाले इस्राएलीहरूको पिछा गरे। इस्राएलीहरू विजयका साथ गइसकेका थिए। 9तर मिश्रीहरूले आफ्ना सबै घोडा, रथ, घोडचढी र सेना लिएर तिनीहरूको पिछा गरे। तिनीहरूले इस्राएलीहरूलाई बाल-सेफोनको अगाडि पी-हहीरोतनेर पाल टाँगेर बसिरहेको भेट्टाए। 10जब फारो नजिक आइपुगे इस्राएलीहरूले माथि हेरे र तिनीहरू छक्क परे। मिश्रीहरू तिनीहरूको पिछा गर्दै अगाडि बढ्दै थिए। इस्राएलीहरू अत्यन्तै डराए। तिनीहरूले परमप्रभुलाई पुकारे। 11तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहान नभएकोले तपाईंले हामीलाई यस उजाड-स्थानमा मर्न ल्याएउनुभएको हो? मिश्रबाट बाहिर निकाली किन तपाईंले हामीसित यसरी व्यवहार गर्नुभएको? 12के मिश्रमा छँदा नै हामीले यसको भनेका थिएनौँ र? हामीले तपाईंलाई भन्यौँ, 'मिश्रीहरूका निम्ति काम गर्न हामीलाई एक्लै छाडिदिनुहोस्।' उजाड-स्थानमा मर्नुभन्दा त तिनीहरूकै निम्ति काम गर्नु असल हुनेथियो।” 13मोशाले मानिसहरूलाई भने, “नडराओ। स्थिर रहो, र आज परमप्रभुले तिमीहरूलाई दिनुहुने छुटकारालाई हेर। किनकि आज तिमीहरूले देखेका यी मिश्रीहरूलाई तिमीहरूले फेरि कहिल्यै देख्नेछैनौ। 14परमप्रभु तिमीहरूका पक्षमा लड्नुहुनेछ। तिमीहरू केवल स्थिर भएर बस।” 15तब परमप्रभुले मोशालाई भन्नुभयो, “ए मोशा, किन तँ मेरो पुकार गर्दै छस्? इस्राएलीहरूलाई अगाडि बढ्न आज्ञा दे। 16तेरो लट्ठी उठाएर तेरो हात समुद्रतिर पसार् र यसलाई दुई भागमा विभाजन गर् ताकि इस्राएलका मानिसहरू सुक्खा भूमिबाट हिँडेर जान सकून्। 17मिश्रीहरू तिमीहरूका पिछा गरून् भनेर म तिनीहरूका ह्रदय कठोर पारिदिनेछु भन्ने कुरामा सचेत हो। फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउनेछु। 18तब फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउँदा म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन्।”
प्रत्युत्तर भजन
1तब मोशा र इस्राएलका मानिसहरूले परमप्रभुको निम्ति यो गीत गाए। तिनीहरूले भने, “म परमप्रभुको निम्ति गाउनेछु किनकि उहाँले महिमामा विजय हासिल गर्नुभएको छ। घोडा र यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ। 2परमप्रभु मेरो शक्ति र गीत हुनुहुन्छ, र उहाँ मेरा उद्धार हुनुभएको छ। उहाँ मेरा परमेश्वर हुनुहुन्छ, र म उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा पिता-पुर्खाका परमेश्वर हुनुहुन्छ र म उहाँलाई उचाल्छु। 3परमप्रभु मेरा योद्धा हुनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो। 4उहाँले फारोका रथहरू र सेनालाई समुद्रमा फालिदिनुभएको छ। फारोका छानिएका अधिकृतहरू लाल समुद्रमा डुबे। 5गहिराइले तिनीहरूलाई छोप्यो। तिनीहरू पत्थरजस्तै गहिराइमा डुबे। 6हे परमप्रभु, तपाईंको दाहिने बाहुली शक्तिमा महिमित छ। हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुलाई चकनाचुर पारिदिएको छ।
सुसमाचार
38त्यसपछि केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई उत्तर दिँदै भने, “गुरु, हामी तपाईंबाट केही चिन्हहरू हेर्न चाहन्छौँ।” 39तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्नुभयो, “एउटा दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्छ। तर त्यसलाई योना अगमवक्ताको चिन्हबाहेक अरू चिन्ह दिइनेछैन। 40किनकि जसरी योना तिन दिन र तिन रात माछाको पेटमा थिए, त्यसरी नै मानिसका पुत्र तिन दिन र तिन रात पृथ्वीको गर्भभित्र रहनेछन्। 41निनवेका मानिसहरू न्यायको दिनमा यस पुस्तासँग खडा हुनेछन् र यस जातिको निन्दा गर्नेछन्। किनकि योनाको सन्देश सुनेर तिनीहरूले पश्चात्ताप गरेका थिए, र हेर, योनाभन्दा अझै महान् कोही यहाँ छन्। 42दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसँग न्यायको दिनमा उठ्नेछिन् र यसको निन्दा गर्नेछिन्। तिनी पृथ्वीका कुनाबाट सोलोमनका ज्ञानका कुराहरू सुन्न आइन्, तर हेर, सोलोमनभन्दा महान् कोही यहाँ छन्।
सामान्य रोमी पात्रो; बिशपहरूको सम्मेलनले केही पर्वहरू (प्रभुको प्रकटीकरण, स्वर्गारोहण, ख्रीष्टको शरीर र रगतको पर्व) आइतबारमा सार्न वा आफ्नै पर्व थप्न सक्छ। पाठ-सङ्ग्रह: आइतबारको चक्र B, साताका दिनहरूको वर्ष I।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार