Bible Explorer एप लिनुहोस्

गृहपृष्ठ › दैनिक बाइबल-पाठहरू › 2027 फेब्रुअरी › फेब्रुअरी 16

अर्थोडक्स पात्रो · फेब्रुअरी 3 (पुरानो शैली)

अर्थोडक्स दैनिक पाठहरू — 2027 फेब्रुअरी 16

मङ्गलबार · पेन्तिकोसपछिको 38औँ हप्ता · स्वर 4

पर्व र सन्तहरू

Afterfeast of the Meeting of the Lord

उपवास

उपवास छैन

यो मठको नियमअनुसार हो। मण्डलीमा उपवासको मात्रा स्वास्थ्य, उमेर र परिस्थितिअनुसार आफ्नो पाप-स्वीकार सुन्ने पुरोहितसँग मिलेर तोकिन्छ।

दिनका पाठहरू

पत्र (सोमबारको निम्ति)

१ पत्रुस 2:21–3:9

21यसैको निम्ति तिमीहरू बोलाइएका थियौ, किनकि तिमीहरूले उहाँका पाइला पछ्याओ भनेर ख्रीष्‍टले पनि दुःख भोग्‍नुभयो र तिमीहरूका निम्ति उदाहरण छोड्नुभयो। 22उहाँले कुनै पाप गर्नुभएन, न उहाँका मुखमा कुनै छलको कुरो पाइयो। 23उहाँको अपमान हुँदा उहाँले त्यसको बदला लिनुभएन। उहाँले दुःख भोग्‍नुहुँदा पनि आफैँलाई उचित न्याय गर्नुहुनेकहाँ सुम्पिनुभयो। 24हामी पापको भागीदार नबनौँ र धार्मिकताको खातिर जिऔँ भनेर उहाँले हाम्रा सबै पाप आफ्नो शरीरमा बोकी क्रुसमा चढ्नुभयो। उहाँका चोटले तिमीहरू निको भएका छौ। 25तिमीहरू सबै हराएका भेडाझैँ भौतारिँदै थियौ, तर अब तिमीहरू आत्माका गोठालो र संरक्षककहाँ फर्किएका छौ। 3:1यसरी नै पत्‍नीहरू हो, तिमीहरूका आ-आफ्ना पतिको अधीनमा रहो, ताकि यदि कोही वचनमा आज्ञाकारी छैन भने तापनि तिनीहरूका पत्‍नीहरूको आचरणको कारण तिनीहरूलाई वचनैविना जित्‍न सकिन्छ। 2किनकि तिनीहरूले तिमीहरूका शुद्ध आचरणलाई आफ्नो सम्मानको रूपमा देख्‍नेछन्। 3यसको लागि केशको शृङ्गार, सुनका गरगहनाहरू, शृङ्गारका वस्‍त्रहरूजस्ता बाहिरी सजावट नगर। 4तर तिमीहरूका भित्री हृदयबाट र सदैव रहने भलो र शान्त आत्माद्वारा परमेश्‍वरको दृष्‍टिमा अनमोल हुने किसिमले यसो गर। 5किनकि पहिलेका पवित्र स्‍त्रीहरूले यसरी नै आफ्नो शृङ्गार गर्थे। तिनीहरूले परमेश्‍वरमा आशा राख्थे र आफ्ना पतिहरूका अधीनमा बस्दथे। 6यसरी नै सारा अब्राहामप्रति आज्ञाकारी हुन्थिन् र तिनलाई “स्वामी” भनेर बोलाउँथिन्। अब यदि तिमीहरूले जे असल छ त्यही गर्‍यौ र समस्याहरूसँग डराएनौ भने तिमीहरू तिनकै छोरीहरू ठहरिन्छौ। 7त्यसरी नै पतिहरू हो, आफ्ना पत्‍नीहरूलाई अबला र जीवनका वरदानहरू प्राप्‍त गर्ने साझेदार सम्झी तिनीहरूसँग बस। तिमीहरूका प्रार्थनामा अवरोध नहोस् भनेर यसो गर। 8अन्त्यमा तिमीहरू सबै एकै मनका, दयावान्, भातृत्वलाई प्रेम गर्ने, कोमल हृदयका र नम्र होओ। 9खराबीको बदला खराबी र अपमानको बदला अपमान नगर। तर त्यसको विपरीत निरन्तर आशीर्वाद देओ किनकि आशिष्‌मा सहभागी हुन सक भनेर तिमीहरू यसैको निम्ति बोलाइएका हौ।

पत्र

१ पत्रुस 3:10–22

10“जसले आफ्नो जीवनलाई प्रेम गर्न चाहन्छ र असल दिनहरू देख्‍ने इच्छा गर्दछ उसले आफ्नो जिब्रोलाई खराबबाट र उसको ओठलाई छल कुरा गर्नबाट रोकोस्। 11ऊ खराब कुराहरूबाट फर्की जे असल छ त्यही गरोस्। उसले शान्तिको खोजी गरोस् र त्यसैमा लागिरहोस्। 12परमेश्‍वरका आँखाले धर्मी जनलाई देख्छन्; उहाँका कानले तिनीहरूका निवेदनहरू सुन्छन्। तर परमेश्‍वरको मुहार खराबी गर्नेहरूको विरुद्धमा हुन्छ।” 13तिमीहरूले असल गर्ने चाहना गर्दा तिमीहरूलाई कसले खराबी गर्छ? 14तर यदि तिमीहरू धार्मिकताको लागि सताइन्‍छौ भने तिमी आशिषित् हुनेछौ। तिनीहरू डराउने कुरादेखि तिमीहरू नडराओ। हतास नहोओ। 15बरु, प्रभु येशूलाई पवित्र मानेर तिमीहरूका हृदयमा राख। तिमीहरू किन परमेश्‍वरमा आशा राख्छौ भनेर कसैले सोधेमा त्यसको जवाफ दिन सधैँ तयार बस? यो काम नम्रता र आदरपूर्वक गर। 16असल विवेक कायम राख ताकि ख्रीष्‍टमा तिमीहरूका असल जीवनको निन्दा गर्न खोज्‍नेहरू लाजमा परून्, किनकि तिनीहरूले दुष्‍ट मानिसहरूको रूपमा तिमीहरूको विरुद्धमा कुरा गरिरहेका छन्। 17परमेश्‍वरले इच्छा गर्नुभयो भने तिमीहरूले खराब काम गरेर दुःख भोग्‍नुभन्दा असल काम गरेर दुःख भोग्‍नु असल हुन्छ। 18ख्रीष्‍टले पनि पापका निम्ति एक पटक दुःख भोग्‍नुभयो। धर्मी भएर पनि उहाँले हामीलाई परमेश्‍वरमा ल्याउनको निम्ति हामी अधर्मीहरूका लागि दुःख भोग्‍नुभयो। उहाँले शारीरिक रूपमा मृत्यु वरण गर्नुभयो, तर उहाँ आत्मामा जीवित पारिनुभयो। 19उहाँ आत्मामा जानुभयो र कैदमा परेका आत्माहरूलाई प्रचार गर्नुभयो। 20नोआको समयमा जहाज बनाइँदा परमेश्‍वरले धैर्य गरेर पर्खिरहेको बेला तिनीहरू आज्ञाकारी भएनन्, र परमेश्‍वरले पानीबाट आठ जना आत्मा बचाउनुभयो। 21यो अहिले तिमीहरूलाई बचाउने बप्‍तिस्माको एउटा सङ्केत हो जुनचाहिँ शरीरको फोहोर सफा गरेजस्तो नभई येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा परमेश्‍वरमा असल विवेकको निवेदनको रूपमा हो। 22उहाँ परमेश्‍वरको दाहिने हातपट्टि हुनुहुन्छ। उहाँ स्वर्गमा जानुभयो। स्वर्गदूतहरू, अधिकारहरू र शक्‍तिहरू सबै उहाँमा झुक्‍नुपर्छ।

पत्र (सन्त सिमियोन र सन्त हन्नाका निम्ति)

हिब्रू 9:11–14

11ख्रीष्‍ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीको रूपमा आउनुभयो। उहाँ अझ बढी महान् र सिद्ध पवित्रस्थानमा प्रवेश गर्नुभयो, जुन मानवीय हातद्वारा बनाइएको होइन, जुन यस सृजित संसारको होइन। 12बोका र बाछाहरूको रगतले नभई उहाँ आफ्नै रगतद्वारा सबैका निम्ति एकै चोटि त्यस महा-पवित्रस्थानभित्र प्रवेश गर्नुभयो र हाम्रो अनन्तको छुटकारलाई सुरक्षित गर्नुभयो। 13किनकि यदि बोका र साँढेहरूको रगत अनि कोरेलीको खरानीले छर्किंदा तिनीहरू अशुद्ध हुन्छन् र तिनीहरूका शरीरलाई शुद्ध पार्न तिनीहरू परमेश्‍वरमा समर्पित हुनुपर्छ भने, 14झन् कति धेरै ख्रीष्‍टको रगतले हाम्रा विवेकलाई मृत कामहरूबाट शुद्ध पार्दछ र जीवित परमेश्‍वरको सेवा गर्न जसले अनन्त आत्माद्वारा दोषरहित प्रकारले आफैँलाई अर्पण गर्नुभयो?

सुसमाचार (सोमबारको निम्ति)

मर्कूस 12:13–17

13अनि तिनीहरूले उहाँलाई उहाँकै वचनहरूमा फसाउन हेरोदियासहरू र केही फरिसीहरू पठाए। 14तिनीहरू आए र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौँ, कि तपाईंले कसैको विचारको वास्ता गर्नुहुन्‍न, र तपाईंले मानिसहरूबिच कुनै भेदभाव गर्नुहुन्‍न। तपाईंले साँच्‍चै परमेश्‍वरको मार्ग सिकाउनुहुन्छ। कैसरलाई कर तिर्नु उचित हो वा होइन? हामी कर तिरौँ कि नतिरौँ?” 15तर येशूले तिनीहरूको कपटलाई जान्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले मलाई किन जाँच्छौ? मलाई एउटा सिक्‍का ल्याओ ताकि मैले हेर्न सकौँ।” 16तिनीहरूले एउटा सिक्‍का येशूकहाँ ल्याए। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो कसको स्वरूप र छाप हो?” तिनीहरूले भने, “कैसरको हो।” 17येशूले भन्‍नुभयो, “कैसरका चिजहरू कैसरलाई नै देओ र परमेश्‍वरका चिजहरू परमेश्‍वरलाई नै।” तिनीहरू चकित भए।

सुसमाचार

मर्कूस 12:18–27

18त्यसपछि पुनरुत्थान हुँदैन भन्‍ने सदुकीहरू उहाँकहाँ आए। तिनीहरूले उहाँलाई यसो भनेर सोधे, 19“गुरुज्यू, मोशाले हाम्रो लागि लेखे, ‘यदि कुनै मानिसको दाजु कुनै बालबच्‍चा नभईकन मर्छ भने, त्यो मानिसले आफ्‍नो दाजुकी पत्‍नीलाई विवाह गरेर आफ्नो दाजुको लागि बच्‍चा जन्माउनुपर्छ।’ 20त्यहाँ सात जना दाजुभाइ थिए, पहिलोले आफ्नी पत्‍नी ल्याए र बच्‍चा नभई मरे। 21दोस्रोले दाजुकी पत्‍नी लगे र कुनै बालबच्‍चा नभई तिनी मरे। अनि तेस्रोलाई पनि त्यस्तै भयो। 22अनि सातै जना कुनैको पनि बालबच्‍चा भएन। अन्तमा ती स्‍त्री पनि मरिन्। 23पुनरुत्थानमा जब तिनीहरू फेरि जीवित भई उठ्नेछन्, तिनी कसकी पत्‍नी हुनेछिन्? किनभने ती सातै दाजुभाइले तिनलाई पत्‍नीको रूपमा लिए। 24येशूले भन्‍नुभयो, “तिमीहरूले न त धर्मशास्‍त्र न परमेश्‍वरको शक्‍तिको बारेमा जानेका हुनाले नै के तिमीहरूले गल्ती गरेका होइनौ र? 25किनभने जब तिनीहरू मृत्युबाट जीवित भई उठ्नेछन्, तिनीहरूले न विवाह गर्छन् न त विवाह गर्न नै दिन्छन्, तर तिनीहरू स्वर्गका स्वर्गदूतहरूजस्ता हुनेछन्। 26तर जीवित भई उठ्ने मृतकहरूको विषयमा के तिमीहरूले मोशाको पुस्तकमा झाडीको विवरणमा परमेश्‍वर उनीसँग कसरी बोल्नुभयो र, ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ’ भन्‍नुभयो भन्‍ने पढेका छैनौ?” 27उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ। तिमीहरू गलत छौ।”

सुसमाचार (सन्त सिमियोन र सन्त हन्नाका निम्ति)

लुका 2:25–38

25हेर, यरूशलेममा एक जना सिमियोन नाउँ गरेका व्यक्‍ति थिए। उनी धर्मी र ईश्‍वरभक्‍त मानिस थिए। उनले इस्राएलका सान्त्वना दाताको प्रतीक्षा गरिराखेका थिए र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्‍यो। 26पवित्र आत्माद्वारा उनलाई यो प्रकट गराइएको थियो कि परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्म उनको मृत्यु हुनेछैन। 27एक दिन तिनी मन्दिरमा पवित्र आत्माको अगुवाइमा आए। व्यवस्थाले जे माग गरेको थियो, त्यो पुरा गर्न आमाबुबाद्वारा बालक येशूलाई मन्दिरमा ल्याइयो। 28त्यसपछि शिमियोनले बालक येशूलाई काखमा लिएर परमेश्‍वरको प्रशंसा गर्दै भने, 29“तपाईंको वचनअनुसार, अब हे परमप्रभु, आफ्ना दासलाई शान्‍तिसँग बिदा दिनुहोस्। 30किनभने मेरा आँखाले तपाईंको उद्धारलाई देखेका छन्, 31जुन तपाईंले सबै मानिसहरूको दृष्‍टिमा तयार गर्नुभएको छ। 32तपाईंका जन इस्राएलीहरूका महिमा र अन्यजातिहरूलाई प्रकाश दिने ज्योति हुनुहुन्छ।” 33बालकका बुबाआमा बालकका विषयमा भनिएका कुरामा अचम्मित भए। 34त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए र उहाँकी आमा मरियमलाई भने, “होसियारीसँग सुन, यो बालक इस्राएलमा धेरैको उत्थान र पतनका निम्ति र धेरैको विरुद्धमा बोलिने चिह्नको निम्ति नियुक्‍त गरिएको छ। 35साथै तरवारले तिम्रो आफ्नै प्राण छेड्नेछ, ताकि धेरैका हृदयका विचारहरू प्रकट होऊन्।” 36एक जना हन्‍ना नामकी अगमवादिनी पनि त्यहाँ थिइन्। उनी आशेर कुलकी फनुएलकी छोरी थिइन्। उनी धेरै वृद्ध भइसकेकी थिइन्। विवाहपछि उनी जम्मा सात वर्ष आफ्ना पतिसँग बसेकी थिइन्। 37त्यसपछि उनी चौरासी वर्ष विधवा नै रहिन्। उनले मन्दिर कहिल्यै नछोडी निरन्तर दिनरात प्रार्थना र उपवास गर्दै परमेश्‍वरको आराधना गर्दै रहिन्। 38त्यही समयमा उनी त्यहाँ आइन् र परमेश्‍वरलाई धन्यवाद चढाउन थालिन्। यरूशलेमको उद्धार पर्खिरहेका हरेकलाई उनले बालकको बारेमा बताइन्।

मितिहरू रुसी मण्डलीको जुलियन पात्रोअनुसार छन् (सर्बियाली र जर्जियाली मण्डलीहरू र आथोस पर्वतझैँ): मण्डलीको पात्रोको फेब्रुअरी 3 नागरिक पात्रोमा फेब्रुअरी 16 हो। नयाँ पात्रो मान्ने मण्डलीहरूले (ग्रीस, रोमानिया, बुल्गेरिया, युक्रेन…) निश्चित-मितिका पर्व र सन्तहरू त्यही नागरिक मितिमा, 13 दिनअघि, मनाउँछन्, र तिनका केही पाठ फरक छन्; इस्टर र त्यसमा भर पर्ने दिनहरू उस्तै छन्।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार